स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिई यातायात सञ्चालन गर्नुपर्ने

३० भाद्र २०७७, मंगलवार मा प्रकाशित

विराटनगर,

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिई यातायात सञ्चालन गर्नुपर्ने बताउनु भएको छ ।

आगामी असोज ५ गतेबाट सार्वजनिक यातायात सञ्चालन हुने निर्णय भएपछि यातायात क्षेत्रका सरोकारवाला निकायहरुसँग मुख्यमन्त्री राईले आज भर्चुअल छलफलमा उक्त आग्रह गर्नु भएको हो । लामो समयपछि यातायात सञ्चालन हुने भएपछि यसलाई कसरी सुरक्षित र व्यवस्थित गर्ने भन्ने बारेमा मुख्यमन्त्री राईले सरोकारवालाहरुसँग छलफल गर्नुभएको हो ।

छलफलमा मुख्यमन्त्री राईले असोज ५ गते अगाडि व्यवसायीलाई स्वास्थ्य सजगता अपनाउँदै आफ्ना कर्मचारीको विवरण तयार गर्न आग्रह गर्नुभएको छ । उहाँले यातायात व्यवसायीको साझा समस्यालाई सरकारले सम्बोधन गर्दै जाने बताउँदै मास्क, स्यानिटाइजर जस्ता स्वास्थ्य सुरक्षाका साधन प्रयोग गरेर सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले लामो दूरीका यात्रुको विवरण राख्न पर्ने बताउनुभयो ।

छलफलमा व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णयलाई स्वागत गरेका थिए । उनीहरुले स्वास्थ्य सजगता अपनाउँदै यातायातका साधन चलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । छलफलमा यातायात व्यवसायीका साथै यातायात क्षेत्रका मजदुर सङ्गठनका प्रतिनिधिको सहभागिता थियो ।

१३८ सङ्क्रमित थप

प्रदेश नं। १ मा गएको २४ घण्टामा १३८ सङ्क्रमित थपिएका छन् । सो अवधिमा एक हजार ७७४ जनाको पिसिआर परीक्षण गरेकोमध्ये ५२ महिला र ८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा १०८, सुनसरीमा २२, झापामा दुई, सङ्खुवासभा, पाँचथर, ताप्लेजुङमा एक÷एक र प्रदेश बाहिर तीनजना सङक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार विराटनगरमा ७० जनामा सङ्क्रमण देखिएकामध्ये २८ महिला र ४२ पुरुष छन् ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ९६७ पुगेको छ । प्रदेशमा आज ६४ जना सङक्रमित निको भै घर फर्केका छन् । प्रदेशमा हालसम्म दुई हजार १४२ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा हाल सम्म एक लाख १० हजार ७९० जनाको पिसिआर परीक्षण सम्पन्न भएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here