एकका लागि एक अभियान: राहत वितरणदेखि पीसीआर ल्यावसम्म

३१ भाद्र २०७७, बुधबार मा प्रकाशित

‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक ।’ भन्ने उक्ति आज पर्यन्त उत्तिकै चर्चित छ । ठूलो उद्देश्य राखेर कुनै कार्य शुरु ग¥यो भने सवैको साथ सहयोगले त्यो कार्य पूरा गर्न सकिन्छ भन्ने मलाई अनुभव भएको छ यतिबेला । विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणले आजसम्म पनि विश्वका धेरै मुलुकलाई आक्रान्त तुल्याएको छ । यस महामारीबाट हाम्रो देश नेपाल पनि अछुतो रहन सकेको छैन । कोरोना भाइरसको संक्रमणले नेपाललाई पनि गाँज्न थालेपछि त्यसबाट बच्न सरकारले चैत ११ गतेदेखि लकडाउन शुरु ग¥यो ।

कोरोना भाइरसको संक्रमणबाट बच्न सुरक्षाका सावधानी अपनाएर लकडाउनको समयमा सबै घरमै सुरक्षितरुपमा बस्न थाल्यौं । लकडाउनको समयमा सबै क्षेत्र ठप्प बनेपछि हुने खानेभन्दा पनि हुँदा खाने वर्ग बढी मारमा परे । यसैक्रममा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीले बशाख ४ गते फेसबुकमा लेखेको स्टाटसले मेरो मन छोयो । उहाँले लेख्नुुभएको थियो– ‘हामी सबै सम्पन्न एक घरले विपन्न एक परिवारका लागि राहत सहयोग गरौं । सरकारले सरकारी बजेट सबैको स्वास्थ्य सेवामा खर्च गरोस् ।’ उक्त स्टाटसमा समर्थन जनाउने र कमेन्ट बक्समा सहयोग गर्ने बचन दिने बढेपछि बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा सामाजिक अगुवा महेन्द्रकुमार गिरीले मलाई बोलाएर लकडाउनको मारमा परेका विपन्न परिवारलाई सहयोग गर्न एक अभियान सञ्चालन गरौं भन्नुभयो, मैंले यो त साह्रै राम्रो हो । सबैलाई बोलाएर छलफल गरौं भन्ने सल्लाह दिएँ । त्यसपछि हामी दुई÷चार जना भएर छलफल ग¥यौं । उक्त छलफलबाट विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्न सामाजिक अगुवा महेन्द्रकुमार गिरीको संयोजकत्वमा ‘एकका लागि एक’ अभियान शुरु गरियो ।

‘एकका लागि एक’ अभियानको सल्लाहकारमा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाललाई चयन गरियो भने हामी ‘एकका लागि एक’ अभियानको सदस्यमा रहेर काम गर्न थाल्यौं । लकडाउनको समयमा खाद्यान्न अभाव भएर भोकभोकै अवस्थामा रहेका विपन्न परिवारका लागि २५ केजी चामल, दुई केजी दाल, एक लिटर तेल, दुई केजी नुन र दुई थान साबुनका दरले राहत वितरण गर्ने र त्यसका लागि ‘एकका लागि एक’ अभियानको सदस्य बन्न दुई हजार रुपैयाँ सहयोग गर्नुपर्ने मापदण्ड बनाएर सहयोगको आह्वान गर्यौं ।

दुई हजार रुपैयाँ सहयोग गरेर ‘एकका लागि एक’ अभियानमा जोडिएर सामाजिक कार्यमा सहभागिता जनाउन पाउने भएपछि जो कोही पनि आर्थिक सहयोग गर्न तयार भए । जसले गर्दा हामी अभियानकर्मीलाई थप हौसला मिल्यो । सहारा नेपालको अगुवाईमा १८ वटा सामाजिक संघ–संस्थाको सहभागिता र संवाद समूहको संयोजनमा ‘एकका लागि एक’ अभियान शुरु गरी वैशाख १९ गते अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १)का दिन अति विपन्न परिवारलाई २५ केजी चामल, दुई केजी दाल, एक लिटर तेल, दुई केजी नुन र दुई थान साबुनका दरले राहत वितरण गर्न शुरु गर्यौं ।

‘एकका लागि एक’ अभियान मार्फत एक हजार अति विपन्न परिवारलाई राहत वितरण गर्ने गरी अघि बढेका हामी त्यसका लागि चाहिने रकम दुई–चार दिनभित्रै जुटे पनि सहयोग आउनेक्रम नरोकिएपछि हामीले झापा र मोरङका दुई हजारभन्दा बढी अति विपन्न परिवारलाई खाद्यान्न वितरण गर्न सफल भयौं । अति विपन्न परिवारलाई खाद्यान्न वितरण गर्दैगर्दा मात्र ‘एकका लागि एक’ अभियानको सहसंयोजकमा मलाई जिम्मेवारी दिएको मैंले थाह पाएँ । सहारा नेपालका कर्मचारी घनश्याम रायले मलाई उक्त कुरा सुनाउँदा मलाई अझ जिम्मेवार भएर अभियानलाई अघि बढाउनुपर्छ भन्ने भावना पैदा भयो । कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण बजार क्षेत्रका होटल बन्द भएपछि होटलमै आश्रित असक्त, सडक मानव, अस्पतालका बिरामी कुरुवा लगायतको अवस्था झन् नाजुक भयो । उनीहरुको त्यस्तो अवस्था देखेर उनीहरुको चहर्याई रहेको घाउमा मल्हमपट्टि लगाउन वैशाख २८ गतेदेखि बिर्तामोडको वनस्टप मलमा स्टल राखेर लकडाउन नखुलेसम्म हरेक दिन बिहान ९ बजेदेखि १२ बजेसम्म निःशुल्क खाना वितरण गर्न शुरु गरियो । ‘एकका लागि एक’ अभियानका सदस्य सञ्जीव घिमिरेको संयोजकत्वमा खाना व्यवस्थापन उपसमिति गठन गरेर शुरु गरेको निःशुल्क खाना वितरण कार्यक्रममा १० हजारभन्दा बढीले खाना खाएका थिए ।

झापामा कोरोनाको त्रास कायमै छ, कोरोना संक्रमितको संख्या पनि बढिरहेको छ । यस्तो बेलामा भारत लगायत विभिन्न देशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन सरकारले शुरु ग¥यो । जेठदेखि भारतका विभिन्न स्थानबाट घर फर्किनेको संख्या ह्वात्तै बढेपछि झापामा स्वाब नमूना संकलन गर्न आवश्यक पर्ने भाइरल ट्रान्सपोर्ट मिडिया (भीटीएम) अभाव हुन थालेपछि जेठ १० गतेदेखि जिल्लास्थित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापाको आग्रहमा ‘एकका लागि एक’ अभियानले भीटीएम किट र आरडीटी किट खरिद गरेर वितरण गरियो । ‘एकका लागि एक’ अभियानका साझेदार संस्था वीरता जेसीजका अध्यक्ष मिजाश पोखरेलको संयोजकत्वमा रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराई सहसंयोजक रहने गरी भीटीएम किट खरिद तथा हस्तान्तरण गरियो । त्यस्तै अभियानको संयोजनमा अन्तर्राष्ट्रिय झापाली समाजले १५ वटै पालिका र प्रमुख जिल्ला अधिकारी उदयवहादुर रानामगरलाई एक हजार छ सय थान भीटीएम किट हस्तान्तरण गरियो ।

कोरोनाको त्रासका कारण भारतबाट आएर बिर्तामोडस्थित कञ्चनजंघा इन्स्टिच्युटमा निर्माण गरिएको होल्डिङ सेन्टरमा बसेका करिब तीन हजार जनालाई ‘एकका लागि एक’ अभियान मार्फत बिहान, दिउँसो र बेलुका खाना खाजा खुवाइयो । कोरोना संक्रमण जोखिम न्यूनीकरण रोकथाम र उपचारका लागि झापामा गठित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समितिले आग्रह गरेपछि जेठ २८ गतेसम्म खाना खुवाइयो भने उनीहरुलाई तन्ना, ब्ल्याङकेट लगायतका सामग्री समेत प्रदान गरियो । अति विपन्न परिवारलाई राहत वितरण गर्न शुरु गरेको ‘एकका लागि एक’ अभियान यो अवस्थासम्म आइपुग्दा ‘एकका लागि एक’ अभियानप्रति सबैको चासो बढेको थियो ।

‘एकका लागि एक’ अभियानले गरेको कामको नेपालमा मात्र नभएर अन्र्तराष्ट्रियस्तरमा समेत चर्चा र प्रशंसा हुन थालेको थियो । कोरोना भाइरसको संक्रमणको समेत कुनै परवाह नगरी अभियानकर्मी जुटेकाले र ‘एकका लागि एक’ अभियानले सामाजिक कार्य गरेको भन्दै अभियानलाई आर्थिक सहयोग गर्नेको संख्या झन् बढेर गयो । जसले गर्दा हामी अभियानकर्मी झन् उत्साहित भयौं । झापा लगायत देशभर कोरोना संक्रमितको संख्या झन्–झन् बढिरहेको थियो । कोरोना संक्रमितको पीसीआर परीक्षण गर्न स्वाब परीक्षणका लागि पीसीआर परीक्षण प्रयोगशालामा पठाउनुपर्ने थियो । झापामा पीसीआर परीक्षण प्रयोगशाला नहुँदा कोरोना संक्रमितको पीसीआर परिक्षण गर्न स्वाब परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा क्याम्प वा कोशी प्रादेशिक अस्पताल विराटनगर पठाउनुपर्ने बाध्यता थियो । कोरोना संक्रमितको पीसीआर परीक्षण गर्न स्वाब परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा क्याम्प वा कोशी प्रादेशिक अस्पताल विराटनगर पठाएको एक सातासम्म पनि रिपोर्ट प्राप्त गर्न सकिरहेको अवस्था थिएन । जसले गर्दा कोरोना संक्रमित मानसिक पीडामा थिए भने उनीहरुका परिवार समेत झन् पीडामा थिए ।

‘एकका लागि एक’ अभियानले यिनै कुराहरुलाई मध्यनजर गर्दै झापामा जनस्तरबाट पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्ने सोच बनायो । संवाद समूहको संयोजनमा ‘एकका लागि एक’ अभियानका साझेदार संस्थाहरुको बिर्तामोडको अतिथि सदनमा बैठक बसेर झापामा कोरोना संक्रमितको पीसीआर परीक्षण गर्न स्वाब परीक्षणका लागि जनस्तरबाट पीसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय ग¥यो । त्यसपछि ‘एकका लागि एक’ अभियानले झापामा कोरोना संक्रमितको पीसीआर परीक्षण गर्न स्वाब परीक्षणका लागि जनस्तरबाट पीसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेपछि झापा जिल्लाबासी मात्र होइन देश–विदेशमा रहेका झापाली समेत उत्साहित बने । जनस्तरबाट पीसीआर प्रयोगशाला स्थापना गर्ने कुरा चानचुने थिएन । त्यतिबेला हामीसँग १५ लाख रुपैयाँ जति थियो । पीसीआर प्रयोगशाला स्थापना गर्न करिब डेढ करोड रुपैयाँ लाग्ने अनुमान थियो । त्यसका लागि ‘एकतामा बल हुन्छ’ भन्ने भनाईलाई आत्मसात गर्दै हामीले सञ्चारमाध्यम र सामाजिक सञ्जाल मार्फत सबैसँग सहयोगको अपिल ग¥यौं । हामीले सञ्चारमाध्यम र सामाजिक सञ्जाल मार्फत गरेको अपिलले जनस्तरबाट पीसीआर प्रयोगशाला स्थापना गर्न सहयोग रकम जुट्न थाल्यो ।

‘एक थुकी सुकी, सय थुकी नदी’ भन्ने उक्तिमा हामी विश्वस्त भएर जनस्तरबाट पीसीआर प्रयोगशाला स्थापना गर्ने कुरामा हामी ढुक्क थियौं । जनस्तरबाट पीसीआर प्रयोगशाला स्थापना गर्न भन्दै मानिसले आफ्ना छोराछोरीको जन्मदिनको खर्च, वैवाहिक वर्षगाँठको खर्च समेत दिन थाले । बिर्तामोड–१ कि ९६ वर्षीया सावित्रादेवी बस्नेत र बिर्तामोड–२ चैतुवारीका ९१ वर्षीय विष्णुप्रसाद ओलीले हामीलाई घरमै बोलाएर पीसीआर प्रयोगशाला स्थापना गर्न भन्दै रकम दिँदा हामीमा हर्षको सीमा नै थिएन । बिर्तामोड अपाङ्गता स्वावलम्वन संस्थामा आवद्ध शारीरिक अपाङ्गता, दृष्टिविहीन, अल्पदृष्टियुक्त, बहिरा, सूस्तश्रवण लगायत शारीरिक अपाङ्गता भएकाले समेत पीसीआर प्रयोगशाला स्थापना गर्न भन्दै रकम दिँदा हामी झन् उत्साहित हुँदै गयौं ।

जनस्तरबाट पीसीआर प्रयोगशाला स्थापना गर्न हामीले गरेको काम जिल्लामै नमूनायोग्य काम भएर विश्वका ४२ मुलुकमा सञ्जाल रहेको ‘अन्तर्राष्ट्रिय झापाली समाज’ले २५ लाख रुपैयाँ र जिल्ला सहकारी संघ झापाले सहकारी अभियान मार्फत २५ लाख रुपैयाँ सहयोग गरे । यो सहयोगले हामी अभियानकर्मीमा झन् हौसला र ऊर्जा थप्यो । सहारा नेपालको अगुवाईमा १८ वटा सामाजिक संघ संस्थाको सहभागितामा शुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरबाट पीसीआर प्रयोगशाला स्थापना गर्न देशभित्रका एक हजार दुई सय ७८ र विदेशबाट ६० जनाले व्यक्तिगत तथा देशभित्रका एक सय २३ र विदेशका नौ वटा संस्थाले आर्थिक सहयोग गरिसकेका छन् भने अझै सहयोग जुट्ने कार्य जारी छ ।
सबैको सहयोगले नै गर्दा आज हामी झापाको कनकाई नगरपालिका–४ कोटीहोममा रहेको समर्पण राष्ट्रिय अभियानको भवनमा जनस्तरबाट पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्न सफल भएका छौं । कनकाई नगरपालिकाको समन्वयमा हामीले पीसीआर परीक्षण प्रयोगशाला भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको मातहत रहने गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेका छौं । जनस्तरवाट स्थापना गरिएको पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनका लागि लागि स्वास्थ्य मन्त्रालयले स्वीकृति प्रदान गरिसकेको छ । सबैको सहयोग र प्रेरणाले गर्दा झापाको कनकाई नगरपालिका–४ कोटीहोममा रहेको समर्पण राष्ट्रिय अभियानको भवनमा जनस्तरबाट पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरी सञ्चालन गर्न थालिसकेका छौं । पीसीआर परिक्षण प्रयोगशालामा परीक्षण गर्न शुरु गरिएको छ भने आज प्रदेश नं.१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको बाहुलीबाट उद्घाटन हुने खबर सुनाउन पाउँदा हामी हर्षित भएका छौं ।

कोरोना महामारीको संकटमा मलमपट्टी गर्न विश्वभरका झापाली तथा समाजिक संघ–संस्थाको अभूतपूर्व एकता, सहभागिता र साझेदारीमा शुरु भएको एकका लागि एक अभियानको अगुवाईमा झापाको कनकाई नगरपालिका कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा कोरोना भाइरसको परीक्षणका लागि पीसीआर प्रयोगशाला स्थापना गर्न १ नं. प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, झापाका कनकाई, बिर्तामोड, अर्जुनधारा, मेचीनगर, शिवसताक्षी नगरपालिका, बुद्धशान्ति, हल्दिबारी र झापा गाउँपालिका, झापाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले गरेको सहयोग र भूमिका अतुलनीय रहेको छ । एकका लागि एक अभियानको परिकल्पना अवधारणा विकास र शुरुवातदेखि नै सहजीकरण गरेर अभियान र राजनीति दल, सरकार नागरिकप्रति सेतुको काम गरेर संवाद समूह झापाले खेलेको भूमिका प्रशंसनस्य छ । त्यस्तै झापाका सञ्चारकर्मी, सञ्चारमाध्यम, नागरिक समाज, चन्दादाता, जेसीजका पदाधिकारीहरु लगायत सबै धन्यवादका पात्र हुनुहुन्छ । राजनीतिभन्दा माथि उठेर निःस्वार्थ भावनाले गरिएको मुलुकमै नयाँ मोडेलको यो काम सफल हुँदा हर्षविभोर हुँदै सहयोग सहकार्य गर्नुहुने सबैमा कोटी–कोटी धन्यवाद छ ।
(बस्नेत एकका लागि एक अभियानका सहसंयोजक हुन् ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here