जीउने एकमात्र माध्यम बुनाई

३१ भाद्र २०७७, बुधबार ०९:३९ मा प्रकाशित
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

इलाम,

Advertisement

इलामको माई नगरपालिका– १० करेलेमा बिगत २१ वर्षदेखि बसोबास गर्दै आएका उनी शारीरिक रुपमा अपाङ्ग हुन् । बाँसको चोयालाई नाङ्लो, डालो, ढोका, झक र चित्रामा परिणत गर्ने सिप भएका दिलबहादुर राईलाई गाउँघरमा ‘बाङ्देल कोपा’ नामले चिनिन्छ ।

उनको जीविकोपार्जनको माध्यम भनेको नै बुनाइ हो । ‘२० वर्षको हुँदा घुँडामा पिलो जस्तो घाउ देखा परेको थियो, त्यही घाउले एक बर्ष थलो पा¥यो, घाउ निको भयो तर खुट्टा सिधा भएन’– उनी भन्छन् । पाँचथरको तमाखे–८मा २०२३ सालमा जन्मेका बाङ्देल कोपाले आर्थिक अवस्था कमजोर भएका कारण अस्पताल, डाक्टर र औषधिको अनुहार देख्न पाएका छैनन् । उपचार गर्न नपाएर नै आफू यो अवस्थामा रहेको उनको भनाइ छ ।

बाहिर कतै हिंड्डुल गर्न नसकेपछि बुबासँग बाँसको नाङ्लो लगायतका समान बुन्न सिकेर अहिले यही माध्यमबाट घरपरिवार चलाउँदै आइरहेको उनले बताए । उनी भन्छन्– ‘मर्नुभन्दा बौलाहा हुनु निको भने जस्तै हो, म अरु काम

गर्न सक्दिनँ । फाइदा केही छैन जङ्गलबाट बाँस ल्याउनुपर्छ, आफू सक्दिनँ, खेताला लगाउनु पर्छ, भनेको बेला मान्छे पाइन्नँ ।’ उनलाई एउटा नाङ्लो बुन्न दुई दिन लाग्छ । त्यसवापत उनी ५ सय रुपैयाँ लिन्छन् । त्यस्तै डालो बुन्न एक दिन लाग्छ । डालोको २ सय, डोकाको २ सय पचास, चित्रा प्रतिगोटा २ सय लिन्छन् । उनलाई त्यति कमाइले पुग्दैन । कहिलेकाहिँ कुनै रात भोकभोकै कटाउनु पर्छ । ‘गरीब भएपछि कसैले पत्याउँदैनन्, त्यसमा म

अपाङ्ग, मर्दा दबाउने जग्गा छैन । बसाइँ आएको ३ बर्षसम्म आफन्तकोमा बसोबास गरियो । १८ वर्षदेखि बार्षिक ३ हजार तिर्दै अर्काको बारीमा बसेका छौं’– बाङ्देल भन्छन् । ओरालो लागेको मृगलाई बाछाले पनि खेद्छ भने झै उनको श्रीमती अमृता राई शरीरले साङ्ग भए पनि बिगत पाँच बर्षदेखि अस्वस्थ छिन् । छालाको रोग देखा परेपछि

श्रीमतीको उपचार गराउन आफूसँग भएको जायजेथा गाईगोरु बेचेर उपचार गराए पनि निको नभएको उनी बताउँछन् । एउटी छोरीलाई पढाउन नसकेर बिबाह गराइदिए । आफूसँग नेपाली नागरिकता नभएको कारण सरकारले दिने अपाङ्गता परिचयपत्र तथा सो अनुसारको सेवा सुबिधाबाट बञ्चित भएको उनी दुखेसो गर्छन् ।

उनी भन्छन्– ‘बिरामी भएर थला परेका बेला गाउँमा नागरिकता बनाउने टोली आएको थियो तर आमाबुबाले पनि वास्ता गरेनन् ।’ कसैले सहयोग गरे र कतैबाट आर्थिक स्रोत जुटाउन सके फेरि एकपटक नागरिकता बनाउन प्रयास गर्ने थिएँ– उनले भने ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here