कसरी जान सक्छौ ?

0
1102

जुना खड्का

कविता

तिम्रो मुख हेरेर स्वर्ग

जाने आश थियो

ढिलै भएपनि कोखमा

तिम्रो बास थियो

कल्पनाको संसार

बनाएथेँ सूर्य घुम्ने

बाटो जस्तो

मनको खुशिले रेटने

तिमी सारङ्गी थियौ

मेरो खल्लो जीवनको

मीठो स्वाद थियौ

बेसाहार जीवनको

साहारा थियौ

अर्थहीन जीवनको

मोल थियौ

तर

नियतिले झटारो हान्यो

असहीय यस्तो

बाबू गर्भबाटै चिर निन्द्रा

सुत्यौ यो कस्तो ?

नि:प्राण थियौ तर

देखिन्थ्यौ प्राण भए जस्तो

ममताको भल बगाउन नपाई

वात्सल्य प्रेमले काखमा राख्न नपाई

च्या च्या आवाजले

कान पबित्र पार्न नपाई

नाना पापा चाचा देख्न नपाई

धर्तीमा पाइला टेकन नपाई

बाबू कसरी जानसक्छौ?

मेरो मुटुको धड्कड रोकेर

मैले टेकेको धर्ती फटाएर

हजारौं खुशिको तार चुडाएर

बाबू कसरी जान सक्छौ?

हो तिमी कसरी जान सक्छौ ?

मेरो अन्तिम निन्द्रापछि

तिमीले गर्ने कर्म नसकी

म जाने स्वर्गको द्वार नखोली

पुरुषत्व अन्धभक्त

समाजमा अमृत नघोली

उज्यालोले भट्न नसकेको

यो मनको गहिराइमा दीप

नबाली बाबू तिमी

कसरी जान सक्छौ?

जीवनलाई मरुभूमि पारेर

तिम्रै लागि बुनेका

हजारौं सपना विलीन भए

कल्पनाको संसार भत्कियो

मुटु टुक्रियो

आशाको दियो निभ्यो

पाइला रोकिए

रित्तो काखको

हिसाब रहेन

छुरा र वचनवाणका

कुरा मात्रै बाँकी छ

आहत घात र कहाली

लाग्दो रात बाँकी छ

यस्तो छोडेर

बाबू कसरी जान सक्छौ

तिमी कसरी जान सक्छौ ।

(समकालीन साहित्य प्रतिष्ठान, बेलायतको फेसबुक पेजबाट)
शुक्लागण्डकी तनहुँ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here