४५ रुपैयाँ प्रतिकेजीको प्याज सय नाघ्यो, भारतले प्याज निर्यातमा रोक लगाएसंगै नेपालमा अभाव शुरु

३१ भाद्र २०७७, बुधबार मा प्रकाशित

लक्ष्मी उप्रेती / मेचीनगर ।

पछिल्लो समय हरियो सागसब्जीलगायतका अन्य खाद्य वस्तुको मुल्य एक्कासी बृद्घिहुँदा हरेक उपभोक्ताको भान्सा दिनहुँजस्तै गरी महंगिएको छ । अझ भारतबाट आउने सागसब्जीको मुल्य त यदि आकासिएको छ भनेर साध्यै छैन् । यसले दैनिक ज्याला मजदूरी गरेर आफ्नो दैनिकी गुजारिरहेकालाई भने थप समस्यामा पारेको छ ।

एकसाताअघिसम्म प्रतिकेजी १ सय रुपैयाँमा विक्री हुदैं आएको सिमीको मुल्य अहिले १ सय साठ्ठी रुपैयाँ पुगेको छ । यसैगरी, ४० देखि ४५ रुपैयाँ प्रतिकेजी खरीद विक्री भएको प्याजको मुल्य एकसातापछि ९० देखि १ सय रुपैयाँ पुगेको छ । प्रति केजी ८० रुपैयाँमा पाइने टमाटरको मुल्य बढेर १ सय २० रुपैयाँ पुगेको छ । ८० देखि ९० रुपैयाँ प्रतिकेजीमा पाइने भुटाने आलुको मुल्य बढेर १ सय रुपैयाँ पुगेको छ ।

तरकारी व्यवसायीहरुले भने आफुहरुको खरीद नै महंगो पर्ने भएकाले सोहि अनुसार विक्री गर्दा बजारमा तरकारीको मुल्यमा बृद्घि भएको प्रतिक्रिया दिने गरेका छन् । ‘हाम्रो खरीद नै मंहगो भएपछि विक्री पनि त्यसरी नै गर्नुपर्छ’ लामो समयदेखि मेचीनगरमा तरकारीको पसल चलाउदैं आउनुभएका सवु राउत भन्नुहुन्छ —‘हामीले खरीद गरी ल्याउदा अनेक खर्च हुन्छ । त्यसलाई पनि हामी यसैमा मिलाउछौ अलि अलि नाफा राख्नै पर्छ अनि केही बढी हुन्छ ।’

अर्का सुरज भुर्तेल महंगीले व्यापारमा असर पारेको बताउनुहुन्छ । अहिले सागसब्जी, तरकारी र फलफूलको मूल्य वृद्धि भएपछि उपभोक्तालाई धेरै नै सताएको उहाँको भनाई छ । ‘हामी जसरी किन्छौ थोरै मुनाफा राखेर विक्री गछौं ’ उहाँले भन्नुभयो —‘ मुल्य बढेपनि उपभोक्ता सामान समेत पाएका छैनन् । ’

आवश्यकता अनुसार उत्पादन र सहजरुपमा आयात नभएका कारण पनि तरकारीको मूल्य आकासिएको बिक्रेताहरुको भनाई छ । व्यवसायीका अनुसार नेपाल प्याजका लागि समेत परनिर्भर बनेको छ । भारतका विभिन्न प्रान्तबाट आयात हुने प्याजले नेपालको बजारको धानेको उनीहरु बताउँछन् । स्थानीय स्तरमा उत्पादन नहुने अनि भारतबाट प्याज आयात गर्दा मंहंगो पर्ने विक्री पनि सोहि अनुसार हुने तरकारी व्यवसायीहरुको भनाई छ । पूर्वी नाका भएर हुने प्याजको निर्याप्त तीनवर्षअघि देखि शुन्य छ ।

गत आर्थिक वर्ष २०७६÷७७ मा काँकरभिट्टा नाका भएर ३ करोड ६२ लाख ८५ हजार रुपैयाँ मुल्य बराबरको १ हजार २ सय १० मेट्रिक टन प्याज आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालयका कार्यालय प्र्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत हर्षहाङ्ग राईले बताउनुभयो । नेपालमा उत्पादन नै छैन उत्पादन भएको प्याजले ६ महिना पनि नपुग्ने सरकारी अधिकारीहरु बताउँछन् । अहिले भारतले प्याज निर्यातमा रोक लगाउने निर्णय गरेसँगै नेपाली बजारमा प्रतिकिलो ४५ देखि ६० रुपैयाँ मूल्य बढेको क्रेताहरु बताउछन् ।

एकातिर कोभिड १९ को समस्या अर्काेतिर महँगीको सास्ती । अझ दैनिक उपभोग्य वस्तुमा भइरहेको मूल्यवृद्धिले हरेक परिवारको भान्सा प्रभावित बनेको समाजसेवी युवा व्यवसायी बालकृष्ण थापाको भनाई छ । यदि सहजरुपमा भारतलगायत अन्य मुलुकबाट आउने मालवहाक सवारी साधन आउन पाए मात्र यस्ता बस्तुको मुल्यमा केही कमि आउने थापाले बताउनुभयो । ‘अहिले भारतले प्याज निर्यातमा रोक लगाउने निर्णय गरेसँगै नेपाली बजारमा प्रतिकिलो ४५ देखि ६० रुपैयाँ मूल्य बढेको छ’ थापाले भन्नुभयो —‘ बजारमा प्याजको मूल्यबृद्घि भइरहँदा अभाव भने उस्तै छ । ’

बर्षाका कारण पर्याप्तरुपमा उत्पादन नहुनु कृषकहरुलाई समयमा उन्नत जातको बिऊ विजन तथा मल उपलब्ध नभएका कारण पनि यो समस्या आएको उहाँको भनाई छ । यस्तै कारणले पनि अहिले बजार भाउ आकाशिएको स्थानीय इन्दिरा कार्कीको भनाई छ । ‘तरकारीको भाउ बढेको बढ्यै छ ’ उहाँले भन्नुभयो —‘यसले हामी जस्ता सर्वराधारणलाई निक्कै समस्या परेको छ । केही मूल्य छोइसक्नु छैनु । मूल्यबढेपनि बजारमा सहजरुपमा उपभोक्ताले पाइहेका छैनन् । ’

दैनिकजसो खाद्य सामाग्रीको मुल्य बढिरहेका बखत यस्को वास्तविकताका लागि सम्बन्धित निकायको ध्यान जानुपर्छ । हरेक वर्ष चाडपर्व लक्षित बजार अनुगमनमात्र होईन बेला बखत यस्ता अनुगमनलाई निरन्तरता समेत दिन सक्नुपर्छ । यसले गर्दा बजारमा कलोवजारी भएको या समय अनुसार मुल्य बृद्घि भएको हो दुधका दुध पानीका पानी छुट्टिने छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here