शक्तिशाली बन्न भ्रष्ट नै हुनुपर्छ

१ आश्विन २०७७, बिहीबार ११:०३ मा प्रकाशित
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

मोहनप्रसाद ओली,

Advertisement

छेउ टुप्पो मिलेको छैन । पाठकलाई लाग्न सक्छ । भ्रष्ट भएर पनि कतै शक्तिशाली भइन्छ ? प्रश्न उठ्न सक्छ । सिर्जना गर्नेले पनि सोच्नु पर्दछ । शीर्षक नमिलेकै पो हो कि ? शीर्षक कै कारणले । तालीखानेभन्दा पनि । गाली पो खाने हो कि ! प्रष्ट छ, बुझपचाएरै भए पनि, गाली खाएरै भए पनि, अन्ततः शीर्षकको न्वारान गर्नै प¥यो । गरियो पनि । नाम जु¥यो ‘शक्तिशाली बन्न भ्रष्ट नै हुनुपर्छ ।’ राजनीतिक दृष्टिकोणले खासगरी हाम्रो पिँढीले तीनवटा कालखण्डलाई नजिकबाट अनुभव गर्ने अवसर पायो । पहिलो कालखण्ड थियो एकात्मक शासन व्यवस्था । त्यो थियो पञ्चायती व्यवस्था जो मूल खाँबोको टेका लगाएको सक्रिय राजतन्त्र । देशको सम्प्रभुता अर्थात् सार्वभौमिकता श्री ५ मा निहित भएको शासन व्यवस्था । हामीले यही पढ्यौं, लेख्यौं, देख्यौं र अनुभव पनि ग¥यौं ।

दोस्रो कालखण्ड थियो बहुदलीय प्रजातान्त्रिक व्यवस्था । सार्वभौमिक राजाको हैसियत संवैैधानिक राजतन्त्रमा परिणत भएको शासन व्यवस्था । संवैधानिक राजतन्त्रसहितको सार्वभौमिकता जनतामा निहीत हुन पुगेको राज्य व्यवस्था । राजा पनि संविधानभित्र बस्न बाध्य भए बसे पनि । सदियौंदेखि जञ्जिरमा बाँधिएका जनता आफू लामो समयपछि खुल्ला परिवेशमा आएको अनुभव गरेको अवस्था थियो । जनताले राजालाई, श्रीपेच सिंहासनमा राखी चुनाव लड्न आऊ भन्नेसम्मको हाँक दिएको अवस्था । मौसुफ सरकार, आइस्योस्, बक्स्योस्, ज्यूनाराना गरिबक्सियोस् भन्ने सम्बोधनमा बानी परेका हामी । त्यसलाई चुनौति दिँदा जिब्रो नै समातिन्छ कि जस्तो लाग्थ्यो, तर होइन रहेछ । त्यो त स्वभाविक रहेछ, सहज नै पो रहेछ प्रजातान्त्रिक शासन व्यवस्थामा ।

तेस्रो कालखण्ड थियो गणतान्त्रिक संघीय प्रणालीको शासन व्यवस्था । राजतन्त्र बिनाको शासन व्यवस्था । पूर्णरुपमा जनता आफैंले निर्माण गरेको संविधान र सो अनुरुपको राज्य संरचनाको शासन व्यवस्था । आजका मितिसम्म आइपुग्दा हामी यही शासन व्यवस्थाभित्र रमाइरहेका छौं । पूर्ण स्वतन्त्रताको अनुभव गरिरहेका छौं । हामी रैतीबाट प्रजा भएका छौं । हिजो हामी एउटा राजाका रैती थियौं । आज धेरै राजाका प्रजा भएका छौं । फरक यति छ आज रैतीबाट हामी प्रजा भएका छौं ।

पञ्चायतकालमा विशेषगरी राजाप्रति आस्था राख्नेहरु, राजाको नजिकमा रहने, सम्पन्न र थोरै भए पनि कमसेकम किसानका प्रतिनिधिहरु राष्ट्रिय राजनीतिको मूलधार वा नेतृत्व तहमा पुगेका हुन्थे । नीति–निर्माणको जिम्मेवारी पाउँथे । राज्य सञ्चालनमा राजालाई विश्वासमा लिन्थे । विरोधीलाई अराष्ट्रिय तत्वको पगरी गुथाएर पाखा लगाउथे । राजाको कृपापात्र बनेर राज्य सञ्चालनको नीति बनाउथे । सो अनुरुप कार्यान्वयन गर्दथे । गाउँ–ठाउँ र समाजमा गएर राज्य सत्ताको उपयोगमा आफ्नो दबदबा बढाउथे । बहुदलीय प्रजातान्त्रिककालमा विशेष गरी प्राध्यापक, शिक्षक, कानून व्यवसायीका साथै बौद्धिक पक्ष समेत नेतृत्व तहमा पुगेका थिए । उनीहरु विशेषगरी बुद्धिजीवी थिए । बुद्धिजीवी भएकै नाताले आफू अनुकूल नीति बनाउथे, कार्यान्वयन गर्न किचन क्याविनेटमा पुग्दथे । राज्य सञ्चालन किचन क्याविनेटबाट हुन्थ्यो । डाडुपुन्यू हातमा लिन्थे । जता मोह उतै डाडुपुन्यू घुमाउँदै भाग लगाइदिन्थे । मोहभित्र नपरेकाहरु रातोपिरो र नजरशर्मी हुँदै रित्तो हात फर्कन्थे । गाउँघर समाजमा आएर थच्चिन्थे । नेताहरु डाँडापारी नै बस्तथे । जब चुनाब आउँछ लाजै नमानी फेरि गाउँघर नै फर्किन्थे ।

संघीय कालमा गणतन्त्रको घोषणामा जनादेशको आदेश लिने पृष्ठभूमिमा चुनावै लड्नु परेन । जनआन्दोलनका कमाण्डरहरु सोझै संसद भवनमा प्रवेश गरे । तर पनि यो कालको महत्वपूर्ण पक्ष भनेको गणतन्त्रको घोषणा भयो । संविधान सभाको चुनाव भयो । जनताका प्रतिनिधिले संविधान निर्माण गर्ने अवसर पाए । समानुपातिक प्रतिनिधित्वको व्यवस्थाले निरन्तरता पायो । यस व्यवस्थाकोे राम्रो पक्ष भनेको अति विपन्न र पिछडिएको वर्ग पनि राष्ट्रिय राजनीतिको नेतृत्व तहमा पुग्न सफल भयो । यद्यपि उनीहरुको प्रतिनिधित्व नाम मात्रको रह्यो । बोलबाला र अधिपति भने उनै राजनैतिक कमाण्डर भए । उद्योगपति र व्यापारी भए, ठूला–ठूला घरनाका ठेकेदार र बिचौलिया भए । अझ राज्यसभा जसलाई माथिल्लो सदन भनिन्थ्यो ।

जहाँ चुनावमा जनताले अस्वीकार गरेका जननेताहरुलाई संरक्षण गर्ने थलो बन्यो । यी क्रियाकलापले माथि उल्लेख गरे झैं राज्यशक्ति पनि भ्रष्ट हुन पुग्यो । फलस्वरुप सरकार, पार्टी र नागरिक समाज कमजोर बन्न पुगे, पद्धति पनि गुम्यो साख पनि गि¥यो । बाटो बिराएको बटुवा जस्तो राज्यको शक्ति नै क्षीण हुन पुग्यो । जब–जब राज्यसत्ता कमजोर बन्न पुग्छ, तब–तब भ्रष्ट, अनैतिक, पतित, बिचौलिया, दुई नम्बरी आदि जस्ता भूइँ फुट्टाहरु मौलाउन थाल्दछन् । राज्यका प्रत्येक अङ्गमा यिनको पकड रहन पुग्छ । यसपछिको अवस्था भनेको भ्रष्ट व्यक्तिहरु राज्यशक्तिको बुइँ चढ्न पुग्छन् । राज्यभन्दा भूइँ फुट्टा शक्तिशाली बन्छन् । परिणाम जनमानसमा शक्तिशाली बन्न भुइँ फुट्टा नै बन्नुपर्ने रहेछ, भ्रष्टाचार नै गर्नुपर्ने रहेछ भन्ने कुराले राज्यव्यवस्थाको केन्द्रविन्दुमा रहेर काम गर्दोरहेछ ।

हाम्रा पूर्वज जसले राणाशाहीविरुद्ध आन्दोलन गरे उनीहरुकोे मुख्य उद्देश्य भनेको निरंकुशताको जरा उखेल्नु थियो । स्वतन्त्रताको पक्षमा थियो । प्रजातन्त्रको समर्थनमा थियो । यसपछि २०४६ को आन्दोलनको उद्देश्य पनि निर्दलीयताकोविरुद्धमा थियो । लाग्छ २००७ साल र २०४६ साल दुबै आन्दोलनको स्वरुप फरक भए पनि सार एउटै थियो । त्यसैले ००७ सालको आन्दोलनलाई प्रजातन्त्रको आन्दोलन र ०४६ को आन्दोलनलाई प्रजातन्त्र पुनःप्राप्तिको आन्दोलन भनियो ।

घटनालाई शब्द–शब्दमा जोडेर नै इतिहास बन्दछ । तर, यो सानो लेखमा शीर्षकले संकेत गरे जस्तो सबै विषयवस्तुको उत्थान हुन सक्दैन, पृष्ठभूमिले निर्देश गरे झैँ । सबै कुरा यस लेखमा अटाउन सकिँदैन । सम्भव पनि छैन । आजका दिनमा नेताहरुले बनाइदिएको फ्रेममा आप्mनो आकृति अटाउनु हाम्रो बाध्यता छ । किनकि आज हामी प्रजा होइन, कार्यकर्ता भएका छौं । यसैले आकृति चाहे सानो होस् वा ठूलो, लामो होस् वा छोटो, धातुको होस् वा काँचको, माटोको होस् वा बाँसको दिइएको फ्रेममा पानीको स्वरुप भएरै भए पनि आकृति मिलाउनैपर्छ । त्योभन्दा तल वा माथिको आकृति नेताहरुको चासोभित्र पर्दैन । चस्माभित्र पनि पर्दैन । नेताको चासो र चस्माभित्र नपरेको आकृतिको कुनै अर्थ पनि रहँदैन । यसर्थ, आँ गर्दा अलङ्कार बुझ्ने आजको परिवेशमा पृष्ठभूमिका थोरै शब्दले लेखलाई पूर्णता दिन पाठकलाई सहयोग मिल्छ भन्ने अपेक्षा हामी गर्न सक्छौं ।

सन्दर्भ फेरि पनि जोडांै ।हामीलाई लाग्थ्यो परिवर्तनको भूमिका निभाउने भनेका युवा हुन् । युवाकै प्रयासले आन्दोलनका नाममा परिवर्तन पनि आए । पाकाको पनि भूमिका नभएको होइन, तर विडम्बना ! नेतृत्व गर्ने भनेको पाकाले मात्र हो, युवाले होइन । नेतृत्वका लागि पाकाहरु पटुकी कसेर लागेका हुन्छन्, यो हाम्रो अनुभव हो । युवाहरु समयानुकूल परिवर्तनकारी हुन्छन् । जोशिला पनि हुन्छन् । आजको प्रविधिसँग जोडिन सक्छन् । समाजका लागि ऊर्जाशील हुन्छन्, सिर्जनशील हुन्छन् । यतिमात्र होइन बहुआयमिक क्षमताका धनी भएकाले युवाहरु समयलाई पनि चिन्दछन्, लचिला हुन्छन् । तर, पाकाहरुको स्वभाव स्थिर हुन्छ, लचिलो हँुदैन पुरातनपन्थीका हुन्छन् । नियम निष्ठाका नाममा कठोर हुन्छन् । मेरो गोरुको बाह्रै टक्का भने जस्तै समग्रमा परिवर्तनका लागि तयारी हुँदैनन् । यिनै स्थिर, कठोर स्वभावका बृद्धहरुको खटनपटनमा रहँदैबस्दै जाँदा युवाहरु पनि अन्ततः कालोलाई सेतो, सेतोलाई कालो भन्न बाध्य हुन्छन् । युवाहरु बहस मात्र चलाउँछन् नेतृत्व लिनु पर्दछ भनेर, एकजुट होआंै भनेर, समयानुकूल परिवर्तन गर्नुपर्छ भनेर । तर, गरुडका अगाडि सर्प परे जस्तै बृद्धका अगाडि युवाहरु नतमस्तक हुन्छन् । युवाहरु नतमस्तक हुने बृद्धहरु तंै चुप–मैं चुप ! हुने पर्खालका पनि कान हुन्छन् भनेर युवाहरुसँग साउती मात्र गर्छन् । युवालाई नेतृत्व दिनुपर्दछ भन्ने कुरामा परपर हुँदै छेउ लाग्दै जान्छन् ।

विगतको हाम्रो अनुभवमा मौलिक हकको हनन् भएको थियो । राजनीतिक स्वतन्त्रताको अभाव थियो । तत्कालीन संविधानभित्रका अधिकार र कर्तव्य भनेका देखाउने दाँत मात्र थिए । हामीलाई त चपाउने दाँत नै चाहिएको थियो । त्यही चपाउने दाँत प्राप्तिको अभियानमा युवाहरु लागे । जेलनेल भोगे । ठूलो संख्यामा हताहत भए । अन्ततः चपाउने दाँत पनि देख्यौं । प्राप्त पनि ग¥यौं । तर, यी दाँतले के चपाउने के नचपाउन छुट्याउन सकेन । जे देख्यो त्यही चपायो । चपाउनसम्म चपायो । चपाउन पाए पुग्यो । चपाउँदा चपाउँदै आप्mनो विगत पनि बिर्सियो । पृष्ठभूमि भूल्यो । स्वाभिमान गुमायो । इमान्दारिता बेच्यो । शक्ति सञ्चय ग¥यो । भ्रष्ट बन्यो । बहुदलीय व्यवस्था होस् वा संघीय गणतान्त्रिक व्यवस्था बाँदरको हातमा नरिवल जस्तो भयो । सदुपयोग गर्न जानेनौं । जान्यौं त मात्र शक्ति सञ्चय गर्न, पद हत्याउन, पैसा प्राप्त गर्न । शक्ति, पद र पैसाका लागि पक्ष–विपक्ष छुटयाउन सकेनांै । शत्रु–मित्रुका बीचमा विभेद गर्न सकेनौं । सत्ताधारीको जवादेहिता के हो ? प्रमुख प्रतिपक्ष वा अन्य विपक्षीको जवाफदेहिता के हो ? आंकलन पनि गर्न सकेनौं । फलतः हामी स्वाभिमानी कार्यकताको पहिचानबाट बिमुख हुन पुग्यौं । हिजोका दिनमा जीवनको आहुती दिने शहीदका सपना साकार पार्न सकेनांै । ज्यानको बाजी लगाएर आन्दोलनमा होमिएका, जीवनभर अपाङ्ग बनेका कार्यकर्ताको लागि संरक्षक र सहानुभूतिको पात्र पनि बन्न सकेनौं । जसले आप्mनो जवानी गुमाए, जिउधन नै समर्पित गरे, उनीहरुको पनि अर्थ राखेनौं ।

आजको राजनीतिको केन्द्रविन्दु भनेको भागवण्डाको राजनीति हो । भागवण्डाले नै प्रतिपक्षको आवाज पनि बन्द हुनपुग्छ । निर्वाचन महँगो छ । निर्वाचनमा भएको खर्चको अनुपात मिलाउन विचौलियाको आवश्यकता पर्दछ । ठूला–ठूला आयोजनमा आँखा लगाउनु पर्दछ । कमिशनको खेल शुरु गर्नुपर्दछ । काम सम्पन्न गर्नेभन्दा पनि बढी रकमको कमिसन हात कसरी पार्न सकिन्छ, काम सम्पन्न गर्ने दायित्वबाट कसरी पन्छिने । डुप्लीकेशन कसरी गर्नेमा लाग्नु पर्दछ । नेपालमा जब–जब पार्टीहरु टुट्न–फुट्न थाले, बहुमत र अल्पमतका खेल हुन थाले, स्थिर सरकारको लागि प्रश्न उठ्न थाले । मिलिभगतका सरकार बन्न थाले । भागवण्डाको राजनीति शुरु भयो । कमिशनका खेल हुन थाले । सांसद किन्ने र बेच्ने खेल हुन थाले । पैसाले बानी बिगा¥यो । दुई नम्बरी व्यवसाय फस्टाउन थाल्यो । स–साना भौतिक पूर्वाधारका कार्यहरुको कुरा छाडौं । राष्ट्रिय गौरवका आयोजनाहरु नै बीचैमा अलपत्र पर्न थाले । फलतः चप्पल छापहरु चिल्ला कारमा हुइँकन थाले । यसप्रकारका प्रभावहरु संघमा मात्र सीमित रहेनन् । बिस्तारै–बिस्तारै प्रदेशतिर सर्दैछ । स्थानीय तह पनि अछुतो रहने अवस्था देखिँदैन । यो अवस्था कार्यपालिका, न्यापालिका र व्यवस्थापिका सबै क्षेत्रमा व्याप्त छ ।

भ्रष्ट हुनु भनेको दुष्कर्म गर्नु हो, पतन हुनु हो । च्यूत हुनु हो, बिटुलो हुनु हो, दुषित हुुनु हो । आज मुलुकमा नियम कानून तथा अनुशासनको अभाव रहेको देखिन्छ । संक्षेपमा भन्नुपर्दा आज नेपालको राजनीतिक अवस्था नै भ्रष्ट भएकोे छ । राजनीति नै भ्रष्ट भएपछि मुलुकका सम्पूर्ण नीति तथा अंगहरु भ्रष्ट हुन पुग्छन्, पुगेका पनि छन्, जसलाई भ्रष्टनीति पनि भन्न सकिन्छ । फलतः आज शक्ति पनि भ्रष्ट हुन पुग्यो । राज्यशक्ति भ्रष्ट भएकै कारणले राज्यका शक्तिमा भएका अधिकार प्राप्त अधिकारीहरुको बलबर्कत गुमेको अवस्था आज छ । उनीहरु शक्तिहीन बन्न पुगेका छन् । उनीहरुमा विवेक र निष्ठा हराएको छ । स्वाभिमान हराएको छ । निर्णय गर्ने क्षमतामा ह्रास आएको छ । परिणामतः आज मुलुक भ्रष्टहरुको साधनाको केन्द्र बन्न पुगेको छ । नेता साधक बनेका छन् । भ्रष्टाचार साध्य भएको छ । राजनीतिक सिद्धान्त नै भ्रष्ट बन्न पुगेको छ । भ्रष्टाचार गर्नु भनेको हत्या गरे सरह हो । आज यिनै भ्रष्ट हत्याराहरु शक्ति केन्द्रको वरिपरि घुमिरहेका छन् । आजको राजनीतिक सिद्धान्त भनेको भ्रष्ट हुनु हो । शक्ति सञ्चय गर्नु हो । भ्रष्ट व्यक्तिको पृष्ठभूमिलाई गहिरोसँग अध्ययन गर्ने हो भने निचोड यही नै आउँछ । यसर्थ, आज कुनै पनि अर्थमा शक्तिशाली बन्नुछ भने भ्रष्ट नै हुनुपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here