जिल्ला बाहिर दूध बिक्री हुँदा किसान उत्साहित

१ आश्विन २०७७, बिहीबार मा प्रकाशित

दैलेख,

चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ चाल्ने चौताराका भगिराम विकको घरमा उत्पादित दूध बिक्न थालेको छ ।

यसअघि सके खाने नभए घ्यू उत्पादन गर्ने गरेका विकले अब सोझै दूध बेच्न थालेका छन् ।सोही ठाउँ बस्ने तुलाराम कँडेलले पनि दूधबाट आम्दानी गर्न थालेका छन् । यसअघि घरमै खाएर सकिने दूध अब बजार जान थालेको छ । घरमा उत्पादन भएको दूध घरबाटै बिक्री हुन थालेपछि कँडेल उत्साहित छन् ।

विक र कँडेल मात्रै होइन, यहाँका पाँच सय किसानको दूध घरबाटै बिक्री शुरु भएको छ । नजिक बजार नभएका कारण दूध बिक्री गर्न नपाएका किसानले अब दूध बिक्री गर्न थालेका छन् । “अब दूध बिक्री शुरु भयो, हाम्रो निर्वाहमुखी पेशा व्यावसायिक बन्छ होला”, विकले भन्नुभयो, “हातहातै आम्दानी हुने भएपछि हामीलाई व्यावसायिक बन्न कर लाग्ने भयो ।”

टाउकोमा घ्यूको कन्टर बोक्दै खाली खुट्टा नेपालञ्ज र बर्दियाको राजापुरसम्म पुगेर विक्री गरी नुन र लत्ताकपडा ल्याउँदै गर्नुभएका ५२ वर्षीय विक अहिले घरमै दूध लिन गाडी आएपछि निकै खुशी हुनुहुन्छ । आफ्नो पालामा यसरी दैलोमै गाडी आएर अन्त जिल्लामा विक्री होला भनेर कल्पनासमेत नगर्नु भएको विक अहिले आफूले पालेको भैँसीको दूध दिनहुँ डेरीमा विक्री गर्नुहुन्छ र महिनाको १५ दिन पुग्ने बितिकै हातमा नगद पाउँदा उत्साहित हुनभएको छ ।

चाल्नेचौताराका पाँच सय घरपरिवारले बाउबाजेको पालादेखि दूध विक्री नभएपछि घ्यू बनाउने र विक्री गर्ने चलन थियो । “गाडी घरमै आउँदा निकै सजिलो भएको छ”, ४९ वर्षीय कँडेलले भन्नुभयो, “विगतमा एक वर्षमा एकपटक कन्टरमा जम्मा गरेर हाटबजारमा विक्री गर्ने यहाँको चलन थियो, पछि सडक सहजता भएसँगै डब्बामा झ¥र्यो र अहिले घरबाटै विक्री हुन पाएको छ ।”

यहाँका किसानले दूध विक्री गरेर मासिक रु दश लाखभन्दा बढी गाउँ भित्र्याउन सफल भएका छन् । अहिले दैनिक एक सय जना किसानले मात्र दूध ल्याउने गरेको चामुण्डामाई सहकारी संस्थाका अध्यक्ष भीमबहादुर रावतले जानकारी दिनुभयो ।

उहाँका अनुसार सृजन सहकारी र सुर्खेत डेरी मर्जभएर स्थापित चामुण्डा माई सहकारी संस्थाले यहाँको किसानको दूध किन्न शुरु गरेको छ । चिलिङ भ्याट स्थापना गरेको सहकारीले गाडीमार्फत गाउँगाउँको दूध बजार सङ्कलन गर्न थालेको हो । परम्परागत रुपमा भैँसी पालन गर्दै आएका ५०० परिवारमध्ये विपन्न परिवारको छनौट गरी एक सय भैँसी प्रदेश सरकारको सहयोगमा वितरण गरेको छ ।

स्थानीय पालिका र कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्र्तगत दैलेखको पशुसेवा तथा पशु अस्पताल, सृजन सहकारी र सुर्खेत डेरीको संयुक्त साझेदारीमा भकारो सुधारलगायतका काम शुरु भयो । पशुसेवा कार्यालयको रु एक करोड तथा पशु अस्पताल दैलेख, चामुण्डा बिन्द्रासैनी नगरपालिकाको रु ३१ लाख, सुर्खेत डेरीको रु ६ लाख र स्थानीय सहकारीको रु ३० लाखको साझेदारीमा यो काम शुरु गरिएको हो । काम सम्पन्न भएको दुई महिनाबाटै प्रतिफल प्राप्त भएको छ । अहिले दूध विक्रीबाट गाउँमा रु दश लाख आएको अध्यक्ष रावतले बताउनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here