झापामा हात्ती धपाउन घरेलु प्रविधिको बन्दुकको प्रयोग बढ्दै

२ आश्विन २०७७, शुक्रबार मा प्रकाशित

झापा,

झापामा जङ्गली हात्ती धपाउन क्याल्सियम कार्बाइड प्रयोग गरेर पड्काइने घरेलु प्रविधिको बन्दुकको प्रयोग बढेको छ । गोली र बारुद प्रयोग नहुने यो प्रविधिको सस्तो र सजिलो बन्दुकले भयङ्कर आवाज मात्र निकाल्ने भएको हुँदा जङ्गली हात्तीको आतङ्क खेप्दै आएका स्थानीय समुदायमा यसको प्रयोग बढेको हो ।

भद्रपुर–२ का अनिल प्रधान र विर्तामोड–६ का रोहित लिम्बूले हात्ती धपाउने नयाँ प्रविधिको घरेलु बन्दुकको निर्माण गर्दै आउनुभएको छ । जिल्ला वन कार्यालय झापाले समेत यसको प्रयोग गर्दै आएको छ ।

युट्युबबाट विभिन्न प्राविधिक ज्ञान लिएर स्थानीयरूपमा उपलब्ध सामग्री प्रयोग गरी निर्माण गरिएको सो बन्दुकको आवाज सुनेर जङ्गली हात्ती डराएर भाग्ने बन्दुकका निर्माणकर्ता लिम्बूको दावी छ । प्लास्टिकको ठूलो आकारको पाइप, क्याल्सियम कार्बाइड, सुपरग्लु, फलामको काँटीलगायतका सामग्रीले निर्मित बन्दुकबाट निस्कने आवाजले हात्ती र बन्दुक पड्काउने व्यक्तिलाई शारीरिक क्षति नहुने जिल्ला वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो ।

बिहीवार वडाका जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी र पत्रकारहरुको उपस्थितिमा निर्माणकर्ता लिम्बूले बन्दुकको परीक्षण गरेर देखाउनुभयो । स्थानीय निचाझोडा जङ्गलबाट शेर्मा टोलमा पसेको हात्तीलाई सोही बन्दुक पड्काएर सफलतापूर्वक धपाइएको उहाँले जानकारी दिनुभयो ।

बन्दुकको निर्माणमा खासै धेरै खर्च नहुने निर्माताहरुको भनाइ छ । भद्रपुरका अनिल प्रधानले रु चार हजारमा एउटा बन्दुक बनाउन सकिने बताउनुभयो । विर्तामोडका लिम्बूले त्योभन्दा सस्तोमा निर्माण गर्न सकिने दावी गर्नुभयो ।

जिल्ला वन कार्यालय झापाले जङ्गली जनावर धपाउन यस्तो प्रविधिको बन्दुकको प्रयोग हुँदै आएको र हात्तीपीडित समुदायलाई यसको प्रयोगमा प्रोत्साहित गर्दै आएको कार्यालयका प्रमुख घिमिरेले बताउनुभयो । पश्चिम नेपालतिर बाँदर धपाउन धेरै पहिलेदेखि यस्तो प्रविधिको सफल प्रयोग हुँदै आएको उहाँको भनाइ छ ।

जङ्गली हात्तीको आतङ्क खेप्दै आएका भद्रपुर, हल्दिबारी, विर्तामोडलगायतका क्षेत्रमा हात्ती धपाउन कतिपय वडा कार्यालय र सामुदायिक वन कार्यालयले टोलहरुमा यस्तो बन्दुक बाँड्न थालेका छन् ।

झापामा भारतबाट आउने हुलका हुल जङ्गली हात्ती र स्थानीय वनमा डुलिरहने एक दर्जन रैथाने हात्तीले स्थानीयवासीलाई वर्षाँैदेखि प्रताडित गर्दै आएको छ । हात्ती धपाउन यसअघि टुङ, सुरुङ, हात्तीबार, मौरीपालन, सौर्य विद्युतीय घेराबेरा, ड्रोनलगायतका विभिन्न उपायको प्रयोग हुँदै आएको छ । तीमध्ये सौर्य विद्युतीय घेराबेरा सबैभन्दा प्रभावी सावित भएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here