सामाजिक अभियान्ता महेन्द्रकुमार गिरी समाजसेवा रत्न पदकद्धारा विभूषित

३ आश्विन २०७७, शनिबार मा प्रकाशित

बिर्तामोड।

संविधान दिवसको अवसर पारेर सरकारले झापाका सामाजिक अभियान्ता महेन्द्रकुमार गिरीलाई समाजसेवा रत्न प्रदान गरेको छ ।

प्रत्येक वर्ष सामाजिक सेवामा लागेका व्यक्तिलाई समाज सेवा रत्न प्रदान गरिन्छ । गिरीसहित ११ जनालाई सो पदक प्रदान गर्ने सरकारले निर्णय गरेको छ ।

बिर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव तथा कार्यकारी प्रमुख, समर्पण राष्ट्रिय अभियान तथा एकका लागि एक अभियानका संयोजक रहेका गिरी कुशल योजनाकार, सफल नेतृत्वकर्ता तथा झापाका अगुवा समाजसेवी हुन् ।

को हुन् महेन्द्रकुमार गिरी ?

झापाली माटोमा बर्ष सन् २०१८ मा आर्थिक क्षेत्रको माध्यमबाट समृद्ध समाज निर्माणमा विशिष्ठ योगदान गर्ने व्यक्तिहरुको खोजी भयो । यही खोजले लुकेका धेरै प्रतिभाहरुका बीचबाट अर्जुनधारा–६ फूलबारीमा वि.स. २०२६ भदौ २५ गते पहिलो पदस्पर्श गरेका बालकसम्म पु¥यायो । आमा बसुन्धारा र बुबा बमबहादुर गिरीका जेठा सन्तानका रुपमा जन्मिएका महेन्द्रकुमार गिरी यतिबेला अड्चालीस बर्षको प्रौढ यात्रामा छन् । त्यहींको माटोमा लडिबुडी गर्दै स्थानीय विद्यालयबाट कक्षा ७सम्मको अध्ययन पूरा गरी सचेत अभिभावकको नेतृत्वमा झापाको पुरानो विद्यालय शनिश्चरे माविमा अध्ययन गर्दै एसएलसी हुँदै बाणिज्य शास्त्रमा स्नातकको उपाधि हासिल गरे उनले ।

त्यही क्रममा अनेक उतार–चढावहरु हेर्दै, अनुभूत गर्दै र जुद्धै जीवनको संघर्षरुपी यात्रामा सामेल हुन थालेका गिरी केही समकालीन, केही अग्रजहरुको साथ, सहयोग र निर्देशनमा समाज सापेक्ष कार्यमा अग्रसर हुन थाले । किशोरावस्थादेखि नै बेग्लै परिचय बनाएका उनी सृजनामा समेत रमाउँथे । कविता, नाटकहरुको रचना गर्दै अभिनयमार्फत पनि समाजमा पहिचान बनाउन थालेका गिरी २२ बर्षको हुँदा नै समाजसेवी संस्थाको अध्यक्ष भए । समाजका हरेक व्यक्तिको आर्थिक जीवन उकास्न, समृद्ध समाजको निर्माण गर्न सतत् चिन्तनशील गिरी २४ बर्षकै उमेरमा बाघेडाँगी सामुदायिक विकास कार्यक्रममार्फत क्यानेडियन संस्थाको रोजाईमा परे ।

क्यानेडियन संस्थाले आफू नेतृत्वको समाजसेवी क्लबलाई रोजेपछि उत्साहित गिरीलाई गधा पच्चिसे पनि नछिचोल्दै क्यानेडाका पुगे र त्यहाँको तीन महिने बसाइले अध्ययनका साथै नवीन सोच, नवीन कार्यशैली अत्यावश्यक रहेको पाठ सिकायो । त्यही पाठले उनी स्नातक तहको अध्ययन गर्न राजधानी पुगे र विदेश भ्रमणको अनुभवलाई भक्तपुरमा रहेको स्वयम्सेवी संस्थामार्फत एचआईभी÷एड्स सम्बन्धी कार्यक्रममा उपयोग गर्न थाले । त्यहाँ रहँदा संस्थाका अग्रजहरुको कार्य शैलीबाट प्रभावित गिरीले आफ्नै माटोमा, आफू खेले–बढेको ठाउँमा समाज रुपान्तरणका लागि केही गर्नुपर्छ भन्ने अठोटका साथ सम्पूर्ण प्रक्रिया पूरा गरी झापा चारपानेलाई कार्य क्षेत्र बनाएर काम गर्न थाले ।

सकारात्मक सोचका साथ समाज परिवर्तनका लागि निर्दिष्ट उद्देश्यहरु लिएर हिँड्नेहरुले केही समय चुनौतिको सामना गर्नुपर्छ । चुनौतिले लक्ष्यप्राप्तिको मार्ग प्रशस्त गर्छ भनिन्छ, त्यही अठोटका साथ संघर्षशील हात र मनहरुको साथ एकात्मकता, सहकार्य र निष्ठापूर्ण लगावले सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.को वि.स. २०५२, चैत २१ गते विधिवत् स्थापना गरेपछि भने उनको अठोटले आकार लिने सम्भावना बढेर गयो । सामाजिक संलग्नताका लागि सहारा नेपाल र त्यसको सञ्चालन अनि समुदायको आर्थिक समृद्धिका लागि सहकारी दुई अलग–अलग चिन्तनबाट स्थापित संस्थाहरु अहिले झापामा मात्र होइन पूर्वाञ्चलका इलाम, मोरङ, सुनसरी, पाँचथर, उदयपुर हुँदै काठमाडौंमा समेत सम्पर्क कार्यालय खोलेर देशकै अग्रणी संस्थाका रुपमा परिचित छ ।

किशोरवयदेखि नै चुनौतिहरुसँग खेल्न रमाएका गिरीको पाइला अहिले बैंशावारीको गाउँबाट देश हुँदै विदेशमा समेत पुगेको छ । आँट, सिर्जनात्मकता र योजनाबद्ध कार्यक्रमका साथ यात्रारत् गिरीको पद चापलाई पछ्याउनेहरुको अहिले ताँती नै लागेको छ । सहारा नेपालको पर्यायका रुपमा पहिचान बनाएका गिरीको लहरमा अहिले झण्डै डेढ लाख बढी मानिस लामबद्ध छन् । उनकै योजनाको अनुशरण गरेर हजारौंले जीवन पद्धतिमा परिवर्तन गरेका छन् भने चार सयभन्दा बढी व्यक्तिलाई रोजगारी दिई हजारौंको दैनिकी चलाएका छन् र जीवन यापनलाई सहज बनाएका छन् ।

सदस्य संख्या, बचत, सेवा र सुविधाको दृष्टिले सहारा देशकै नमूना बन्न सफल भएको छ । यसकै सहारामा गरीब परिवारको आर्थिक समृद्धिको आधार बनिएको छ । उनीहरुका सन्तानले शिक्षाको उज्यालोको अनुभूति गर्न पाएका छन् र सबैभन्दा ठूलो उपलब्धी महिला सशक्तिकरणको माध्यमबाट समाज रुपान्तरणमा विशिष्ट योगदान पुगेको छ । योसँगै हरेक विपन्न, असहाय, बालबालिका र ज्येष्ठ नागरिकको जीवनको सहयोगी बनिएको छ सहारा नेपाल र सहारा नेपालको पर्याय बनिएका छन कल्पनाकार महेन्द्रकुमार गिरी ।

त्यसो त कुनै पनि संस्था एउटा व्यक्तिको निष्ठा, सेवा र समर्पणले मात्र अघि बढ्न सक्दैन । यसका लागि समूहको इमान्दारिता, त्याग, जिम्मेवारीपनको बोध र व्यक्ति स्वार्थभन्दा माथि उठ्नुपर्दछ । उनी नेतृत्वको कार्यकारी समूह समान निष्ठा, लगन र सामुहिक प्रतिबद्धताले अथक यात्रा गरिरहेको छ र संस्थाले उच्चताको सिंढी उक्लिरहेको छ । धर्मपत्नी ज्योति र छोरी किर्तिमाको अभिभावकत्व ग्रहण गरेका गिरीका परिवारको चौथो सदस्य झैं रहेको छ– सहारा नेपाल र त्यसले सृजना गरेको संस्था । अहिले समाजसेवामा क्रियाशील ह्याविटाट इन्टरनेशनलको ह्याविटाट फर ह्युम्यानिटी नेपालको सल्लाहकार तथा राष्ट्रिय सहकारी बैंकको सूचना तथा सञ्चार समितिसँग आवद्ध छन् उनी । उनी नेतृत्वको सहारा नेपालले समाज रुपान्तरणमा पु¥याएको योगदानको समय–समयमा मूल्यांकन पनि भएको छ । त्यसकै परिणाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरु प्राप्त गरेको छ उनी नेतृत्वको संस्थाले ।

पछि परेको, सीमान्तकृत अल्पसंख्यक तथा आर्थिक रुपले विपन्न वर्गको उत्थानका लागि समर्पित उनको सेवा र निष्ठाको सम्मानस्वरुप भारत, क्यानडा, बंगलादेश, बेलायत, थाइलेण्ड, फिलिपिन्स, सिंगापुर, श्रीलंका र माल्दिभ्ससम्मको यात्रा गरी त्यहाँको जीवन तथा आर्थिक रुपले विपन्न वर्गको उत्थानमा भइरहेको प्रयासहरुलाई नियाल्ने, अध्ययन गर्ने र त्यहाँको अनुभवलाई आफ्नो संस्थामा रुपान्तरण गर्ने संघर्षरत् उनको सेवा अनकुरणीय मात्र होइन स्त्युत्य पनि छ ।

समाजको अभिन्न अंग जस्तै बनेको सहारा नेपालले पछिल्लो समय झापामा क्रियाशील अडसठ्ठीवटा संस्थासँगको सहकार्यमा समर्पण राष्ट्रिय अभियान नामक सर्वथा नौलो समाजसेवाको मार्ग राज्यो । गिरीको कल्पनाशीलताको अद्वितीय नमूनाका रुपमा स्थापित समर्पण राष्ट्रिय अभियानले ‘विसे नगर्ची’ अभियानको पुनर्जागरण मात्र गराएन पाँच हजार पाँच सय मनकारी मनलाई आफूमा समाहित ग¥यो ।

झापाको धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको, इतिहास पुरुष आध्यात्मिक, शैक्षिक एवम् सामाजिक जागरणका शिखर व्यक्तित्व योगी नरहरिनाथले कोटीहोमको आयोजना गरी धार्मिक क्षेत्रका रुपमा प्रतिष्ठित गराएको पवित्र कनकाई नदीको संरक्षण गर्दै मृत्युपर्यन्त गरिने संस्कारका लागि सुविधायुक्त कर्मयोग भवनको निर्माण गरियो । थोपा बटुलेर घैला भर्ने योजनाको सृजनाकर्ता गिरी स्वयम् महाअभियानका संयोजक बनेर दश करोड रुपैयाँको लागत योजनामा निर्मित त्यहाँका भौतिक संरचनाले समेत उनको चिन्तन, दृष्टिकोण र समाजसापेक्ष र सृजनशील क्षमताको परिचय दिएको छ ।

सामाजिक अभियान र आर्थिक समृद्धिका नायकका रुपमा परिचित हुँदै आएका महेन्द्रकुमार गिरीको एउटा नयाँ पहिचान पनि निर्माण हुँदैछ । त्यही भवनमा एकका लागि एक अभियानबाट पीसीआर ल्याब स्थापना भई सञ्चालन भएको छ । गिरीकै सोच र परिकल्पनामा कोरोना कहरका बेला गरीबलाई खाना ख्वाउन सुरु भएको अभियान पीसीआर ल्याब हुदै प्लाज्मा वैंक स्थापनामा पुगेको छ ।

समर्पण राष्ट्रिय अभियान र एकका लागि एक अभियानले उनीमा आत्मविश्वास बढाएको छ र त्यसैलाई भरथेग गर्दै झापावासीको सहभागितामा अक्षयकोष निर्माण गर्ने योजना बुन्दैछन् । बढ्दो विलासी जीवन, मिसावटयुक्त खाद्यवस्तु, विषादिको उच्च प्रयोगले गम्भीर विरामी पर्न थालेको अहिलेको अवस्थाले उनीमा झापालीको साथ, सहयोग र सहभागितामा दश करोड रुपैयाँको साझा ट्रष्ट स्थापना गर्ने सपनालाई मूर्त रुपदिन लागी परेका छन् । एक व्यक्तिले एक हजार रुपैयाँ जम्मा गरेर झापालीकै सहभागितामा गरीब, असहायको स्वास्थ्य सेवामा सहयोग गर्ने उद्देश्यले आरम्भ गर्ने योजनामा रहेको गिरी यसले सामाजिक सुरक्षाको प्रत्याभूति दिने अपेक्षा गर्छन् ।

सहारा नेपाल साकोसका परिकल्पनाकार गिरी आफ्नो अग्रज, समकक्षी र सहकर्मीहरुको एकात्मकताबाटै यो उचाइमा पुगेको स्मरण गर्दै आउँदो दिनमा पनि सहकार्यकै माध्यमबाट आउँदो ५ बर्षभित्र सबै सदस्यहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्न तत्पर रहेको बताउँछन् । यसका लागि सुविधासम्पन्न अस्पताल निर्माण गर्ने योजना बुन्दैछन् उनी । यस बाहेक मुलुकको आर्थिक समृद्धिका लागि व्यवसायिक कृषि कर्ममा युवा जनशक्तिलाई आकर्षित गर्ने उनको लक्ष्य छ । त्यसैगरी प्राकृतिक सौन्दर्यले परिपूर्ण नेपालको पहिचान विस्तार गर्दै देशलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पनि उनी त्यत्तिकै लालयित छन् ।

झापाली माटोको सुगन्धले सुवासित गिरी झापालाई पृथक पहिचानका साथ आर्थिक एवम् सामाजिक रुपान्तरणका लागि अघि बढ्ने प्रयत्नमा छन् । एक सयभन्दा बढी सक्षम, ऊर्जावान, गतिशील र सकारात्मक सोच भएका युवाहरुलाई साथ लिएर विद्युत् उत्पादन, प्राविधिक शिक्षालय, स्तरीय होटल तथा उन्नत कृषि कर्मलाई समेत आफ्नो योजनामा अटाउने सोचमा छन् । कर्ममा विश्वास गर्ने उनी कर्मले पहिचान दिलाउनेमा आशावादी छन् । समाज अनि समाज सापेक्ष सेवाका माध्यमबाट आफूलाई जीवन्त राख्नुपर्छ भन्ने मान्यता बोकेका गिरी प्रष्ट दृष्टिकोण, रणनीति, प्रतिबद्धता, लगन र निष्ठामा विश्वास गर्छन् ।

सहारा नेपाल साकोसको माध्यमबाट शिक्षा, दैवी विपत्ति तथा मानवीय सेवामा समर्पित उनको नयाँ पहिचान कायम गराएको छ, झापा गोल्डकप फुटबल प्रतियोगिताले । खेलकुदको माध्यमबाट समेत झापाको पहिचान कायम गर्न सो प्रतियोगिताको माध्यमबाट देशविदेशका खेलाडीहरुको कुम्भ नै लाग्ने गरेको छ झापामा । ‘शित उधाएरै’ लाखौंको प्रतियोगिता सम्पन्न गरेर झापालीको गौरव र प्रतिष्ठा बनिएको झापा गोल्डकपले खेल क्षेत्रका युवा तथा पारखीहरुलाई अवसर र सम्मान दुबै दिलाएको छ ।

अग्रज सहकारी अभियन्ता, समाजसेवी, फुटबल खेलका झापाली अभिभावकको रुपमा महेन्द्रकुमार गिरीको परिचय स्थापित छ । दैवी विपत्तिमा घरवार गुमाएकाहरुका लागि घर निर्माणमा होस् या त विपन्न वर्गको जीवनस्तर उकास्न अनि समाजलाई सभ्य, ससंस्कृति र समृद्ध बनाउन उनी हमेसा आफ्नो समय लगाइरहन्छन् । त्यसकै परिणाम हामी झापालीहरुले गौरव गर्ने नाम बनेको महेन्द्रकुमार गिरी । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था, सहारा नेपाल, झापा गोल्डकप तथा अन्य संस्था मार्फत नवीन सोचका साथ झापालीका लागि मात्र होइन, प्रदेश नं. १मै भइरहेका रचनात्मक कार्य महेन्द्रकुमार गिरी र उहाँकै टिमको परिकल्पनाबाट भइरहेको तपाइँ हामीमाझ छर्लङ छ ।

भौतिक शरीर नाशवान छ, रहने वस्तु केवल मानिसद्वारा सम्पादित कर्म मात्रै हुन् । बैदिक सनातन धर्मले पनि फलको अपेक्षा नगरी कर्म गर्दै जान जोड दिएको छ । अठार पुराणका रचयिता व्यासले पनि पुण्य कमाउनुछ भने परोपकारी कर्म गर भनेका छन् । क्षणभंगुर शरीरको वास्तविकतालाई आत्मसात गर्नेहरुले आफ्नो जीवनकालमा केही न केही सत्कर्म गर्नुपर्छ भन्ने ठान्छन् । हुनसक्छ महेन्द्रकुमार गिरीले यही सत्यलाई बोध गरेका छन् र त्यसकै अनुशरण गरेर संस्थाकै माध्यमबाट जोडिएर भए पनि आर्थिक सवलीकरणको बाटोबाट समतामुलक समाजको निर्माण गर्न चाहन्छन् । उनले कल्पना गरेको, योजना बनाएका अभियानहरुको सफलताले योजना र अभियानका पर्याय बनिएका उनका आगामी योजनाहरु सफल हुँदै जाउन् । सहकार्य, एकात्मकता, समावेसिता र निष्ठाका स्वप्नील विरुवाहरुले सगर छोउन्, झापाली माटो वैभवशाली बनोस्, सुवासमय होस् र अरुहरुलाई उनको सफलताले उत्प्रेरणा जगाओस् ।

(शब्दचित्र प्रस्तुति : एकराज गिरी/लक्ष्मण ढकाल)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here