संविधान दिवस र गणतान्त्रिक चेतनाको विकास

३ आश्विन २०७७, शनिबार मा प्रकाशित

आज संविधान दिवस । २०७२ असोज ३ गते संविधान जारी गर्दाको त्यो ऐतिहासिक क्षणलाई हामी हरेक वर्ष स्मरण गर्दै संविधानका असल र अपुग कुराहरुका बारेमा छलफल गर्छौं । २००४ सालको विधान पदमशम्शेरले जारी गरेका थिए भने नेपाल अधिराज्यको संविधान २०१५ तत्कालीन राजा महेन्द्रबाट बक्स भएको थियो । नेपालको संविधान २०१९ त एकलौटी रुपमा राजाबाटै प्रदान गरिएको थियो ।

नेपाल अधिराज्यको संविधान २०४७ संविधान सुझाव समितिको शिफारिसमा तत्कालीन राजा बीरेन्द्रबाट जारी गरिएको थियो । नेपाली जनताले सात दशक बढी समयदेखि जनताले निर्वाचित गरेको संविधानसभाबाट जनताका लागि संविधान बनाउनुपर्छ भनेर गरेको निरन्तरको संघर्षले सफलता प्राप्त गरेको दिन थियो २०७२ असोज ३ गते । त्यो दिन नेपालका सबै संघर्ष र आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गरेको दिन थियो । नेपाली जनताको चाहना र भावनाले मूर्तता प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र समावेशिता सहितको ऐतिहासिक संविधान जारी भएको दिनलाई गौरवमय र राम्रो उत्कृष्ट संविधान बनाएको दिनका रुपमा स्मरण गरिन्छ ।

उक्त संविधानको मूल आत्माका रुपमा गणतन्त्रलाई मानिन्छ । गण अर्थात् समूह र तन्त्र अर्थात् शासन मिलेर बनेको गणतन्त्र शब्दले समूहको शासन भन्ने शाब्दिक अर्थ दिन्छ । यसको प्राचीन अर्थ गणहरुको शासन भन्ने नै हो । आधुनिक राजनीतिशास्त्रमा यसले विशिष्ट पारिभाषिक अर्थ राख्छ । आधुनिक समाजका सन्दर्भमा सामान्यतः वंश वा अन्य कुनै आधारमा कोही स्थायी प्रकारको शासक नभई जनताका प्रतिनिधिले निश्चित विधिका आधारमा छानिई निश्चित अवधिसम्म जनताका लागि गर्ने शासन नै गणतन्त्र हो । यसबाट राजतन्त्र स्वतः गणतन्त्रको विपरीतध्रुबी हो भनेर बुझ्नु पर्दछ । राजतन्त्र नभएको र आवधिक निर्वाचनबाट चुनिएका प्रतिनिधिले शासन गर्ने पद्धतिलाई गणतन्त्रका रुपमा परिभाषित गर्ने गरिन्छ । यस्तो व्यवस्थामा देशको मूल व्यक्ति राष्ट्रपति वा प्रधानमन्त्री जन्मको आधारमा होइन, उसका कर्मका आधारमा जनताले निर्वाचित गरेर मात्र हुनसक्छ । स्वतन्त्रता मानवीय नैसर्गिक चाहना हो र दासता वा उत्पीडनको विरोध सचेत मानिसको स्वभाव हो । जतिसुकै राम्रो संविधान भए पनि त्यसले अधिकार र कर्तव्यको व्यवस्था मात्र गर्छ, क्षमता दिँदैन । कार्यान्वयन गर्ने क्षमता सरकार र राजनीतिक दलले देखाउनुपर्छ । जनताले चुनेको सार्वभौम संविधानसभाले गणतन्त्र घोषणा गरेको एक दशक बढी भइसक्दा पनि जनतामा सन्तुष्टिको अभिवृद्धि हुन सकेन ।

नेपालमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था छ । गणतान्त्रिक चेतनाको पृष्ठभूमिको कुरा गर्दा यो निकै लामो देखिन्छ र यसलाई आनुवंशिक राजतन्त्रको आरम्भ हुनुअघिको स्वतःस्फूर्त गणतान्त्रिक समाजको परिवेश र तज्जन्य चेतनासँग जोडेर हेर्नु पर्दछ । राजतन्त्र तथा सिङ्गो सामन्तवादका विरुद्ध हुङ्कार गर्दै हजारौं शहीदहरुको रक्तरञ्जित बलिदानीको लामो सूची गणतान्त्रिक चेतनाको पृष्ठभूमि हो । क्रान्तिकारी दृढता सम्झौताहीन ढङ्गले शब्द र कर्मको एकत्वका साथ अघि बढ्दै जाने क्रममा आजको गणतान्त्रिक राज्यव्यवस्था स्थापना हुन सफल भएको हो । वर्गबोधी चेतनाले नेपाली समाजमा सामन्तवाद विरोधी विद्रोही चेतनाको वीजारोपण भएपछि उत्पीडितहरुका जीवनमा गणतन्त्रको सुन्दर बिहान झुल्कने सपना साँचिएको थियो । शोषण, उत्पीडन, विभेदका विरुद्धका संघर्षका अन्तर्यमा निहित त्याग, बलिदान र उत्सर्गको भाव तथा सामन्तवाद विरोधी नवीन संस्कृतिको अभ्यासले विचार र व्यवहारका क्षेत्रमा गणतान्त्रिक चेतनाको उदात्तीकरण र कलात्मक बिम्बीकरण गर्ने परिवेशको निर्माण ग¥यो ।

सत्ताको तीव्र दमनका बावजुद पनि निर्भीकतापूर्वक गणतान्त्रिक चेतनालाई नेपाली समाजमा मलजल गर्ने कार्य गरियो । सामन्तवाद साम्राज्यवाद विरोधी चेतनाकै कारण नेपालमा गणतन्त्रको जन्म हुन सकेकोमा दुई मत छैन । नेपालको इतिहासमा सामन्तवादी निरंकुशता विरmद्ध राजनीतिक आन्दोलनको आरम्भ भएपछि गणतन्त्रको विजयको यात्राको शुभारम्भ भएको मान्न सकिन्छ । नेपाली गणतान्त्रिक चेतनाको औपचारिक र मूर्त अभिव्यक्ति राणाशासन विरोधी आन्दोलनकै सेरोफेरोबाट भएको हो । एक सय वर्षको अवधिको पृष्ठभूमि बोकेको गणतन्त्र प्राप्तिको चाहना र चेतना लामो कालखण्डदेखि नेपाली समाजमा कुनै न कुनै रुपमा विद्यमान रहेको थियो । नेपाली समाजमा प्राचीन कालमा वंशानुगत राजतन्त्रको आरम्भ हँुदाताकादेखि नै पनि राजतन्त्र विरोधी चेतना थियो । राजतन्त्र र सामन्तवादका विरुद्ध विद्रोह बोलिरहने प्रखर सुधारवादी चेतना र वर्णवाद, जातिवाद, हिंंसावाद र कर्मकाण्डी संस्कारका विरोधका गर्भबाट गणतन्त्रको भ्रुण विकास भएको हो । धर्मका नाममा हुने ढोंग, भेदभाव र उत्पीडन तथा उत्पीडकको पक्षमा भएको न्यायव्यवस्थाको कारण नेपालमा गणतन्त्रको चेतना पल्लवित र पुष्पित भएको हो ।

लामो समयसम्म प्रत्यक्ष र परोक्ष दुवै रुपमा गणतान्त्रिक चेतनालाई निषेध गर्ने र समतायुक्त समाजको स्थापना गर्ने धारा र प्रवृत्तिवीच संघर्ष हुँदै आएको थियो । राजदण्ड बोकेको राज्यसत्ताका ज्यादतीविरुद्ध गणतान्त्रिक चेतना बोकी राजनीतिक निरंकुशतासँग जुधेर मात्र देशलाई गणतन्त्रतर्फ डो¥याउन सकिएको हो । करिब २५० वर्षको यसको जीवनयात्रा नेपाली समाजका र राष्ट्रका जीवनमा आएका उकाली ओराली र खास गरी नेपाली समाजका अन्तरविरोधसँग जोडिँदै अघि बढेको छ र त्यस क्रममा अनेक मोड र प्रवृत्तिहरुको विकास भएको छ । यी मोड र प्रवृत्तिहरुको निर्माण शासक र शासित अनि उत्पीडक र उत्पीडितका केन्द्रीयतामा सत्ता, संस्कृति र विचारधाराका क्षेत्रमा निर्मित र विकसित परिवेशकै सापेक्षतामा भएको छ । तिनै विचारधारा र संस्कृतिमध्ये एउटा महत्त्वपूर्ण पक्ष गणतन्त्रको चाहना, चेतना, अनि त्यसका पृष्ठभूमिमा विकसित गणतान्त्रिक आन्दोलनको अभिष्ट प्राप्तिका लागि नेपाली जनताको पहल आवश्यक छ ।

गणतन्त्रको चेतना केवल राजनीतिक व्यवस्थाको स्थापना मात्र हुन सक्दैन । यो एउटा जीवनपद्धति र संस्कृतिसँग पनि सम्बन्धित छ र यो एक प्रकारले मानवमूल्यसँग सम्बन्धित छ । कुनै पनि आधारमा कसैमाथि दमन गर्ने र नगर्ने, कसैलाई अधीनस्थ बनाउने र नबनाउने, कसैको स्वतन्त्रता हरण गर्ने र नगर्ने, कसैमाथि उत्पीडन गर्ने र नगर्ने कुरासँग निरंकुशतन्त्र र गणतन्त्रको सम्बन्ध रहन्छ । नेपालका विशिष्ट सन्दर्भमा गणतन्त्र जनताको सच्चा जनतन्त्र हो भने त्यो सामन्तवादको अन्त्यका साथै साम्राज्यवादी उत्पीडनका विरुद्धको संघर्ष र त्यसबाट मुक्तिविना सम्भव छैन । त्यसैले हाम्रा सन्दर्भमा गणतन्त्रको चेतना राष्ट्रिय स्वाधीनताको चेतना पनि हो अथवा यी दुवै एकअर्काका पूरक हुन् ।

गणतान्त्रिक चेतनाभित्र वर्गीय, जातीय, नस्लीय, लैङ्गिक तथा क्षेत्रीय उत्पीडनको कारक सामन्तवाद र पुँजीवादसमेतका विरmद्धको चेतना, कुनै पनि व्यक्ति, वंश, परिवारको स्थायी शासनपद्धतिको अस्वीकार र त्यसका विरmद्धको चेतना, वर्गीय, जातीय, लैङ्गिक, धार्मिक स्वतन्त्रताको चेतना, उत्पादनपद्धति एवं शासनपद्धतिमा उत्पीडित वर्ग र समुदायको प्राधिकारपूर्ण उपस्थिति र वर्चस्वको प्रत्याभूतिको चेतना, भाषिक उत्पीडनका विरmद्धको चेतना आदि पर्दछन् । त्यसै गरी साम्राज्यवादी, वैदेशिक उत्पीडन र हस्तक्षेपका विरmद्धको चेतना अर्थात् राष्ट्रिय स्वाधीनताको चेतना पनि गणतान्त्रिक चेतनाका अभिन्न अंग हुन् । उत्पीडनलाई कायम राखिराख्ने यथास्थितिवादी परिपाटी र व्यवस्थाका विरmद्धको र त्यसको अन्त्यको चाहनाबाट गणतन्त्र निसृत भएको हो । गणतन्त्रको कल्की भिरेर शासनको करेली हातमा लिनेहरुमा पनि राजतन्त्रको ‘भूत्याहा आत्मा’ अझै जीवित रहेको दर्जनौं उदाहरणहरु छन् । सामन्तवाद विरोधी बढोत्तरीले आफै चमत्कारी उपक्रमका रुपमा गणतन्त्रको विकास हुँदैन भन्ने सच्चाइलाई आत्मसात गर्न जरुरी छ ।

मानवजातिलाई अमानवीकरण गर्ने र विभिन्न किसिमको उत्पीडन गर्ने मानवद्वेषी सामन्तवादी र पुँजीवादी व्यवस्थाका विविध रुपहरुका विरmद्धको चेतनालाई गणतन्त्रको चेतनाका रुपमा लिनु पर्दछ र यथार्थमा गणतन्त्र प्राप्तिको लडाइँ जारी छ । रुपमा आएको गणतन्त्र सारमा प्रत्याभूत हुन अझै धेरै संघर्ष गर्न बाँकी छ । नेपालमा त्रिदिवसीय तामझामका साथ संविधान दिवस मनाइरहँदा संविधानका आत्माका रुपमा रहेका संघीयता, गणतन्त्र, लोकतन्त्र टुहुरा नबनून् र फेरि समता, समानता, स्वतन्त्रताका लागि नेपाल आमाका सुयोग्य सन्तानहरुले नेपाली धरतीमा रगत बगाउनु नपरोस् । अपुरा र अपुग कुराहरुलाई थप्दै र आवश्यक संशोधन गर्दै संविधानले दिशानिर्देश गरे अनुरुप मुलुकलाई डो¥याउन आवश्यक छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here