स्वच्छ र सफा दूधका लागि गरेको प्रयास

६ आश्विन २०७७, मंगलवार मा प्रकाशित

एनएमसीले डेरी उद्योग सञ्चालनमा ल्याउनुभन्दा पहिला म पनि दूधमा पानी मिसाएन भने शुद्ध र स्वच्छ हुन्छ भन्ने भ्रममा थिएँ । डेरी उद्योग शुरु गर्ने सोच बनाएर डेरीका लागि आवश्यक जनशक्ति खोज्ने क्रममा डेरी विशेषज्ञ श्याम मिश्र सरसँग मेरो पहिलो भेट धरानमा भएको थियो । श्याम सरले डेरी उद्योग चलाएर राम्रो प्रोडक्ट बनाउन शुद्ध र स्वच्छ दूधको आवश्यकता पर्छ । अहिले बजारमा पाइने दूध न शुद्ध पाइन्छ न स्वच्छ । त्यसैले राम्रो र स्तरिय डेरी उत्पादनका लागि पहिला गाई पाल्नुपर्छ, शुद्ध र स्वच्छ दूध उत्पादनमा लाग्नुपर्छ अनि मात्रै डेरीका उत्पादन राम्रो बनाउन सकिन्छ भन्नुभयो । उहाँको सल्लाहमा गाई पाल्न पहिला शुरु गरौं भन्ने थियो । हामी प्रष्ट थियौं, गाई एनएमसीका सदस्यले पाल्ने र दूध उत्पादन गर्ने । त्यो दूध किनिदिने, किसानको पक्षमा हुने गरी काम गर्ने गरी डेरी उद्योग चलाउने । एनएमसीले नै गाई पाल्ने हो भने त हामीले कसरी सदस्यको सेवा गर्न सक्थ्यौं र ?

श्याम सरसँगको दोस्रो पटकको भेटमा हामीले साझा धारणा बनायौं । किसानलाई शुद्ध र स्वच्छ दूध उत्पादन गर्न लगाउने । त्यसका लागि निरन्तर पहल एनएमसीले गर्ने र एनएमसीले किसानबाट नै शुद्ध र स्वच्छ दूध लिएर डेरी उद्योग चलाउने, स्तरीय डेरीका उत्पादन बजारमा लैजाने । डेरी उद्योग शुरु भयो । पहिलो अभियान पानी नमिसाएको दूध कसरी लिने भनेर प्रयास गरियो । त्यसमा क्रमशः सफल हुँदै गइयो । अब हाम्रो मिसन स्वच्छ र सफा दूध कसरी प्राप्त गर्ने र गुणस्तर कायम गरेर शुद्ध र गुणस्तरीय उत्पादन बजारमा पठाउने भन्नेमा केन्द्रित गर्न थाल्यौं ।

किसानसँग माफी माग्दै म यो सत्य कुरा भन्न बाध्य छु कि अधिकांस किसान आपैmं फोहरी छन् । किसानको गोठ फोहर हुने नै भयो । गाई गोवरमै बस्छन् । गोवर लागेका फाचा र थुनबाट दूध निकाल्नु पर्छ । दूधमा गोवरको अंश पर्ने नै भयो । दुहुने ढुंङ्ग्रो कट्कटिएको र फोहर छ । दुहुने मानिसका हात फोहर छन्, नङ लामालामा छन् । राम्ररी साबुन पानीले हात धोएर दुहुने चलन नै छैन । दोएको दूध राखेका भाँडा लामो समयसम्म फोहर भएको गोठमै राख्ने चलन छ । दूध बोक्ने भाँडा फोहर मात्रै छैनन्, सफा गर्नै नमिल्नेखालका प्लाष्टिकका जर्किनमा दूध बोक्ने गरेको छ । सानो मुख गरेका प्लाष्टिकका बोतल र जर्किनमा दूध बिक्री गर्न लैजाने चलन व्यापक छ । दूध खन्याउने बेलामा मसिनो कपडाको जालीले छानेर दूध लिने गरिन्छ ।

कतिपय किसानले ल्याउने दूधको पिँधमा घाँस, परालका अवषेश, गोवरको लेदोसम्म भेटिने गरेको थियो । मानिसलाई सम्झायो, मान्दैनन् । उनीहरुलाई त्यही सफा लाग्छ । यस्तै दूध सबैले लिन्छन् कसैले केही भन्दैनन् भनेर उल्टै हामीलाई हप्काउने शैलीमा कुरा गर्छन् । दुईवटा अलि ठूलाखालका फार्ममा कतिभन्दा पनि नसुध्रिएपछि दूध लिन जान नै बन्द ग¥यौं । ती दुबै फार्म केही समयको अन्तरालमा बन्द भए ।

दूध संकलन केन्द्रहरुमा दूध आउने बेलामा पुग्थ्यौं । सानो मुख भएका बोतल, प्लाष्टिकका जर्किन, जार र घेरा भएको कुनै पनि प्लागिटकको भाडामा दूध ल्याउन नहुने बतायौं । दूधको ओसारपसार गर्न भएसम्म स्टिलको र नभएमा नकिच्चिएको सिल्भरको भाडा प्रयोग गर्न अनुरोध ग¥यौं । हात छिराएर सफा गर्न मिल्ने भाडामा मात्रै दूध ल्याउन पाइने नियम बनायौं । पहिलो पटक किसानको दूध बोक्ने भाडामा सुधार ल्याउन प्रयास ग¥यौं । यसमा धेरै हदसम्म सफल भयौं । पटक–पटक किसानले ल्याएका अनुचित भाडा जफत ग¥यौं । एक पटक एकजना किसानले दुई लिटर दूध ल्याएको प्लाष्टिकको भाडो जफत गरेका थियौं । उनले त्यो भाडो लिन एक घण्टा जति पर्खिए । भोलि केमा दूध ल्याउनु ? मेरोमा अर्को भाडो नै छैन भने । त्यो भाडो यति फोहर थियो कि त्यसको दुर्गन्धले नाकको छेउमा लानै सकिँदैन थियो । भाडो नफुटाई धर पाएनौं । अर्को भाडो किन्नु पैसा छैन भने पैसा लिएर जानुभन्दा पनि नमान्ने । तपाईको हिसाब गरेर पैसा लानु अबदेखि दूध नल्याउनु भनेपछि मात्रै अध्यारो मुख लाएर फर्किए । अर्को दिन सिल्भरको बाल्टिनमा दूध ल्याउन थाले ।

दूध ओसारपरार गर्ने भाडामा केही सुधार हुन थालेपछि हामीले संकलन केन्द्र र चिस्यान केन्द्रको सरसफाईमा ध्यान दिन थाल्यौं । चिस्यान केन्द्रमा पनि सरसफाईमा धेरै ध्यान नदिने । काम गर्ने मानिसको सफाई, भाडाको सफाई, दूध चिस्याउने भ्याटको सफाई, भुइँको सफाई, कोठा र दूध झिक्ने पाइपको सफाईमा सञ्चालक त्यहाँ काम गर्ने कर्मचारीको ध्यान खासै नजाने । उनीहरुले जति सफा गरेका छन् त्यो उनीहरुका लागि पुग्दो हुन्थ्यो । त्यसैले कहिलेकाहीँ हामी नै उनको भुइँ, भाडा र पाइप सफा गर्न थालेपछि होइन नगर्नु हामी गरी हाल्छौं भन्थे । यसरी चिस्यान केन्द्र र दूध संकलन केन्द्रको सफाईमा सुधार गरेका थियौं । तर, पनि मानिसमा हत्तपत्त बानी सुधार्न नसकिने । एउटा चिस्यान केन्द्रको अवस्था निकै कमजोर थियो । पटक–पटकभन्दा पनि सुधार भएको छैन भन्ने सूचना आएपछि म, नारायण कोइराला र प्रशासनिक प्रमुख नवराज अधिकारी सर गयौं । अवस्था उस्तै । निकै फोहर । सञ्चालकलाई बोलायौं र भोलिदेखि दूध लिन गाडी आउदैन अन्यत्रै बेच्नु होला भनेर आयौं । उनलाई पटक–पटक सम्झाएका थियौं । उनको अवस्थाका बारेमा अवगत गरायौं । फोहोर देखायौं । जो मानिस आपैmं फोहरी छन् उनीहरुको सफाईमा खासै ध्यान हुँदैन । सञ्चालकको अवस्था पनि राम्रो थिएन । त्यो पनि उनलाई भन्यौं । हिँड्ने बेलामा तपाई आपैmं आफ्नो सफाईमा ध्यान दिनुहुन्न भ्याटको के सफाई गर्नुहुन्छ भनेका थियौं । उनले दूध लगिदिनु अब सधैँ सफा गर्छु भन्दै थिए । हामीले सुधार हुँदैन भन्ने निष्कर्ष गरेर दूध लिन नपठाउने भन्यौं । भोलिपल्ट ती मानिस चिटिक्क परेर डेरीमा हामीलाई भेट्न आएका थिए । ती हिजो कै मानिस हुन् भन्न नमिल्ने गरी । उनले फेरि पनि दूध लिइ दिन भने । दूधको त्यो बेला खाँचो पनि थियो । तर, पनि सधैँ समस्या हुने ठानेर दूध लिन इन्कार ग¥यौं ।

दूधको स्वच्छताका लागि धेरै किसान भेला गरेका छौं । ठाउँ–ठाउँ गरेका छौं । पटक–पटक गरेका छौं र गरिरहने छौं । किसानलाई गोठ सफा गर्न, गाईलाई पनि सफा मन पर्छ । गाई खुशी भए दूध बढ्छ भनेर सम्झाउने ग¥यौं । दूध दुहुने हात सफा हुनुपर्छ, गाईको फाँचो सफा पानीले पखालेर सफा कपडाले पुछेर सुख्खा बाल्टिनमा दुहूनु पर्ने बतायौं । दूध दुहूने, ओसारपसार गर्ने सबै भाडा सफा गरी झोल साबुनले धुने र घाममा घोप्ट्याएर सुख्खा बनाउनुपर्ने भन्यौं र यसको महत्व बुझायौं । धेरै सुधार भएको छ ।

एकदिन धनपति रिजाल (एनएमसी शरणामतीका संयोजक)–ले आफ्ना अनुभूति सुनाउनु भएको थियो । किसानले दूध बोक्ने भाडा त फेर्लान् । तर, दूधमा पानी हाल्न र अरु सरसफाईका कुरा के मान्लान् जस्तो लागेको थियो अरे । तर, मेहनत गर्दा हुँदो रहेछ । अहिले धेरै किसानले सफा र शुद्ध दूध ल्याउने गरेका छन् भन्नुभयो ।
दूधलाई सफा र ताजा राख्न माथि भनिएका कुरा गरेर मात्रै नपुग्ने रहेछ । दूध शुद्ध र सफा भए पनि यदि दूधलाई दोएको दुई÷तीन घण्टाभन्दा बढी समय चिसो नपारी वा नतताई राखेमा बिग्रने रहेछ । त्यसैले दूध दोएपछि सकेसम्म छिटो संकलन केन्द्रमा लाने र चिसो पार्ने काम गर्नुपर्ने रहेछ । दूधलाई लगातार चार डिग्रीमा चिसो पारेर राख्न सकेमात्र २४÷२५ घण्टासम्म ताजा रहने हुँदोरहेछ । त्यसैले किसानलाई दूध दुहुने बित्तिकै चिस्यानमा पु¥याउने र चिस्यान केन्द्रले तुरुन्तै चिसो पार्ने र चिसै राख्न सिकायौं । कुनै–कुनै चिस्यान केन्द्रले बिजुलीको पैसा जोगाउन दूध लिन जानेबेलामा चिसो पार्ने गरेको पनि पाइयो । यस्तो दूध केही बिग्रिसकेको हुन्थ्यो, तर फाटेको हुँदैन थियो । फाट्ने सम्भावना भने बढी हुन्थ्यो । सम्झाउने र कहिलेकाहीँ दूध खरिद गर्न नसकिने अवस्थाको छ भनेपछि सुधार हुन थाल्यो ।

उद्योगमा ल्याएर पनि दूधलाई बिग्रन नदिन त्यतिकै होसियार हुनुपर्ने । शुरुमा बिजुलीको आउने–जाने क्रम धेरै हुन्थ्यो । जेनेटर चलाएर चिसो पार्नुपर्ने । कहिलेकाहीँ जेनेटरमा पनि समस्या आउने हुँदा खुवै समस्या हुन्थ्यो । तर, अहिले अवस्था सामान्य हुँदै गएको छ । शुरुमा हामीले दूधको अभाव हुँदा इलामतिर पनि दूध संकलन गर्न गयौं । त्यहाँका चिस्यान केन्द्रबाट दूध किन्ने काम भयो । तर, गुणस्तर पहाडको दूधमा निकै कमजोर पायौं । पहाडमा दिनमा एकपटक (बिहान)मात्रै दूध संकलन हँुदोरहेछ । बेलुकाको दूध किसानले बिहानको दूधमा मिसाएर बेच्ने गरेको कारण बेलुकाको दूधमा खराबी आउन थालेको हुँदोरहेछ । तर, अरुले यस्तै दूध लिने गरेको कारण त्यहाँको चलन सुधार्न सकिएन । पहाडमा दूध लिएर उकालो–ओरालो गर्नुपर्ने भएकाले दुईपटक संकलन गर्न मुस्किल पनि रहेछ । त्यसैले गुणस्तर कमजोर हुने भएपछि पहाडको दूध लिन छाडी दियौं ।

शुद्ध र स्वच्छ एवम् सफा दूधका लागि किसानले मिल्किङ मेशिनको प्रयोग गर्नु उपयुक्त हुन्छ । तर, यो अभ्यास कतै–कतै भर्खर शुरु हँुदैछ । किसानको सफा आचरण सँगसँगै मिल्किङ मेशिनको व्यापक प्रयोग हुन थालेपछि दूधको शुद्धता र स्वच्छता अवश्य राम्रो हुनेछ । हामी निरन्तर यो अभ्यासका लागि प्रयासरत छौं । दूधको स्वच्छताका लागि गरेको यो प्रयास निरन्तर जारी छ । किनकि पुराना किसानमा बानी परे पनि एनएमसी डेरी उद्योगसँग जोडिन आउने नयाँ–नयाँ किसानका आनी–बानी पुरानै हुन्छन् । उनीहरुले चलनलाई नै पछ्याएका हुन्छन् । अरु दूधको कारोबार गर्नेको चासो भनेको दूधमा पानी नभई दिए वा थोरै भई दिए हुन्थ्यो भन्ने मात्रै हुन्थ्यो । स्वच्छ दूधको बारेमा धेरैको चासो नै थिएन/छैन ।

शुद्ध, सफा र स्वच्छ दूधबाट मात्रै राम्रा डेरी प्रोडक्ट बन्न सक्छन् र यस्ता प्रोडक्टको सेवनबाट मात्रै उपभोक्ताको स्वास्थमा सकारात्मक प्रभाव पर्नेछ । अन्यथा कमशल दूधको सेवनले उपभोक्ताको स्वास्थमा उल्टै नोक्सानी हुने कुरा बुझ्न र बुझाउन आवश्यक छ । सचेत ठानिएका मानिस पनि आफ्नो सवारीसाधन पुरानै भए पनि डिजल, पेट्रोल शुद्ध होस् भन्ने चाहन्छन् । तर, सवारीमा खराबी आउने चिन्ता गर्छन् । तर, आपैmंले सेवन गर्ने दूध शुद्ध, सफा, स्वच्छ र प्रशोधित हो कि होइन भनेर त्यति ध्यान दिएको पाइँदैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here