मलाई जुनेली रात मन पर्छ

६ आश्विन २०७७, मंगलवार मा प्रकाशित

विष्णुप्रसाद शर्मा पराजुली,

पूर्णिमाको रात, टहटह जुन लागेको बेला
रानीचरीले प्रेमको गीत गुनगुनाएको बेला
सेताम्मे हिरैहिराको हार पहिरेर तमोर बगेको बेला
त्यसको बगरमाथि साठी मुरेको फाँटमा पहेँलपुर भएर
जर्नेली धानको बाला लहलह झुलेको बेला
सँगिनीको काखमा पल्टेर
प्रकृतिको त्यो स्वर्णिम लीला हेर्न
मलाई औधी मन पर्ने भए तापनि
सत्य होला, मनोरम त्यो विहार हेर्न होइन,
दिनभर कोदालो खन्दा,
दिनभर मोटर कुद्ने बाटो बनाउन पहरा फुटाउँदा
उठेर फुटेका हत्केलाभरिका
मेरा चह¥याइरहेका फोराहरूलाई शीतलता दिन
मलाई जुनेली रात मन पर्छ ।

आमा र बा’को दाम्रिएको पेट उकास्न
मेरी उनी ती लुखुरी प्रियतमको
फाटेर टालेको गुन्यू र चोली फेर्न
ढुकुरका बचेरालेझैँ नाङ्गै, मुख आँ गरेर बसेका
तामाका कलिला ठोसा जस्ता मेरा बचेराहरूलाई
दुई छाक पेटभर खुवाउन
दिनभर अनि कहिलेकाहीँ रातभर पनि
अरबको छाला खुइलिने उखरमाउलो गर्मीमा
म आलुझैँ उसिनिएको बेला शीतलता दिन
मलाई जुनेली रात मन मर्छ ।

धेरै साथीहरू क्रान्तिमा होमिएर सहिद भए
क्रान्तिपछि फेरि अर्को क्रान्ति भयो
सहिदहरूको पङ्क्तिमा थप सहिदहरू लामबद्ध भए
पौराणिक ग्रन्थमाझैँ
परिवर्तनको रथमा अरुण सारथी बनेर
सूर्यलाई रथमा बोकेर आए ।

वृद्ध बाजे–बज्यै, बा–आमा, लुखुरीसहित सपरिवार
ऊ अनि ती सबै बन्धुबान्धवहरू
नयाँ युग स्थापनाको पर्वमा मस्तले झुमेर नाच्यौँ ।
धेरै दिन पछि बिहान उठ्दा लामबद्ध ती सहिदहरू
बरबर आँसु झार्दै रोएको देखेँ ।
सूर्य, उनको रथका सारथी अरुण र ती सात घोडाहरू–
गायत्री, वृहति, उष्णिक, जगती, त्रिष्टुप, अनुष्टुप र पङ्क्ति
आ–आफ्नै धुन, गति, दिशा र धुन्धुकारीको इसारामा,
सूर्यलाई रथको एउटा पाङ्ग्रो र अरुणलाई लगाम छोडेर
बुर्कुसी मार्दै दौडिरहेको देखेँ ।

मात्र लगाम समातेका सारथी अरुण,
मात्र रथको एउटा पाङग्रो समातेर
बिलखबन्दमा परेर उभिएका सूर्य
र लगाम विहीन ती घोडाहरू
ढुकुटीमा बुर्कुसी मारेको देख्दा
र लगामविहीन ती घोडाहरू
आमाको छातीमाथि बुर्कुसी मारेको देख्दा
मेरो छातीमा डढेलो जल्न थाल्यो
मेरो हृदयमा सिन्धुपाल्चोकको जम्बुको पहिरो बग्न थाल्यो
छातीमा डढेलो लागेर अनि हृदयमा पहिरो झरेर
मेरो छाती जलेर म अत्तालिएको बेला शीतलता दिन
मलाई जुनेली रात मन मर्छ ।

२०७७ भदौ २६

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here