सुरक्षाको व्यवस्थापन गरौं

६ आश्विन २०७७, मंगलवार मा प्रकाशित

सार्वजनिक यातायातका साधनहरु सोमबारदेखि पूर्णरुपले सञ्चालन भएका छन् । यसअघि हवाई सेवा बाहेकका लामो तथा छोटो दूरीका सवारी मात्र आवागमन हुन थालेका थिए । सरकारले लामो समयको बन्दाबन्दीपछि सवारी सञ्चालन गर्न अनुमति दिएपछि आवश्यक सतर्कता र मापदण्डको पालना गर्ने शर्तमा यातायात सञ्चालन हुन थालेका हुन् । तर, हवाई सेवाका सञ्चालकहरुले भने क्षमताभन्दा आधा मात्र यात्रु बोक्न पाउने सर्त अस्वीकार गर्दै सेवा सुचारु गरेका थिएनन् । हवाई सेवाका सञ्चालकहरुको असहमतिपछि सरकारले सिट क्षमता अनुसार नै यात्रु बोक्न पाउने निर्णय गरेपछि सेवा सुचारु भयो । यसरी यातायात सेवा पूर्ण सञ्चालन हुन थालेपछि कोरोना संक्रमणको जोखिम भने उच्च हुने देखिएको छ । बन्दाबन्दी खोलेकै दिनदेखि संक्रमणको दर बढ्दै गएको छ भने बिस्तारको जोखिम पनि बढिरहेको छ ।

सरकारले यातायात व्यवस्था विभाग मार्फत जारी गरेको मापदण्डमा एक लहरमा एक जनामा बस्न पाइने छ । त्यस्तै सवारीमा सेनिटाइजर, मास्कको प्रयोग अनिवार्य गरिनुपर्ने मापदण्डमा उल्लेख छ । यसो गरेवापत सवारी सञ्चालकले कूल भाडाको पचास प्रतिशत बढी लिन पाइने व्यवस्था छ । तर, अनुगमन गर्ने संयन्त्रको अभावमा न मापदण्डको पालना भएको छ, न त यात्रुहरुले सुरक्षित यात्रा गर्न पाएका छन् । सार्वजनिक सवारीहरुमा सिटमा मात्र होइन उभिएर र झुण्डिएर यात्रा गरिरहेको खासगरी ग्रामीण क्षेत्रमा गुड्ने सवारीहरुमा देख्न सकिन्छ । यातायात व्यवस्था विभागले निर्देशित मापदण्डको अनुगमन ट्राफिक प्रहरी कार्यालयबाट हुने जनाएको छ, तर उनीहरुको पहुँच सबै क्षेत्रमा नहुने कारणले त्यो केबल निर्देशन मात्र भएको छ ।

महामारी केवल सरकारको लागि मात्र होइन भन्ने चेतना मर्दै गएको हो कि– सडकको अवस्थाले देखाएको छ । राजधानी लगायत देशका मुख्य तथा साना शहर बजारहरुमा देखिने भीडले कोरोना निर्मुल भइसकेको भान हुन्छ । स्वास्थ्य सुरक्षाको सामान्य सावधानी समेत नपनाउँदा जोखिम जटिलतातर्फ उन्मुख हुन थालेको छ । भाइरस परीक्षणको दर घट्दैछ, संक्रमितको संख्या बढ्दैछ । संक्रमितहरुमा जटिलता बढ्दै जाँदैछ भने उपचार सेवामा संलग्न स्वास्थ्यकर्मीहरु नै संक्रमित हुँदैछन् । यसले सम्भावित जटिलतामा उपचार सेवा नै नपाइने अवस्था आउन सक्ने संकेत गरेको छ । त्यसकारण पनि प्रत्येकले स्वास्थ्य सावधानी अपनाउने कुरामा सजग हुनैपर्छ । सरकारको मात्र भर परेर बसियो वा सतर्कता अपनाइएन भने धोका हुनसक्छ, यसतर्फ गम्भीर बनौं ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here