
सुरुङ्गा,मंसीर १७ । कनकाई उच्च माध्यमिक विद्यालय सुरुङ्गाको छात्रावासमा सोलार प्यानल जडान गरिएको छ ।
शिक्षा विभाग समाहित शिक्षा शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा सो सोलार जडान गरिएको हो । जिल्ला शिक्षा कार्यालय झापाका जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद रेग्मीको सल्लाहमा विद्यालयले शिक्षा विभाग समक्ष सोलार जडानको माग सहित प्रस्ताव पेश गरेपछि समाहित शिक्षा शाखाकी उपनिर्देशक दिव्या दवाडीको नेतृत्वमा आएको अनुगमन टोलीले सो प्रस्तावको उपादेयताका बारेमा अध्ययन गरेको थियो । २ लाख रुपैयाँको लागतमा १ सय ४५ एम्पियरका २ वटा सोलार प्यानलबाट १ हजार वाट विद्युत प्रवाह हुने विद्यालयका विशेष शिक्षा तर्फका स्रोत शिक्षक बेदप्रसाद खतिवडाले जानकारी दिए । सुस्त श्रवण क्षमता भएका(बहिरा) विद्यार्थी बस्ने सो आवासमा हाल कक्षा १ देखि ५ सम्म अध्ययनरत १८ जना विद्यार्थी बस्दै आएका छन् । सो विद्यालयमा हाल १ सय २० जना बहिरा विद्यार्थी अध्ययनरत छन् । सोलार जडान भएपछि बत्ती बाल्न, कम्प्युटर चलाउन र आवासमा पंखा चलाउन सजिलो भएको र बहिरा विद्यार्थीलाई रातमा पनि संकेतबाट भाषाको सञ्चार गर्न सहज भएको विद्यालयका प्राचार्य ईश्वरीप्रसाद शिवाकोटीले बताए । विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै विद्यालयको मागलाई स्वीकार गरिएको सोलार जडान गरेपछि अनुगमनमा आएका समाहित शिक्षा शाखाका शाखा अधिकृत जय लम्सालले जानकारी दिए ।































