भ्रष्टाचार र राजनीतिको अन्तरसम्बन्ध

७ आश्विन २०७७, बुधबार १२:०४ मा प्रकाशित
  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

Advertisement

भ्रष्टाचार र राजनीति फरक विषय हुन् । तर, अहिले नेपाल लगायत विश्वका धेरै मुलुकहरूमा भ्रष्टाचार र राजनीति ‘जुम्ल्याहा दाजुभाइ’ जस्ता देखिएका छन् । त्यसैले राजनीतिक संरक्षण बिनाको भ्रष्टाचार र भ्रष्टाचार बिनाको निष्कलंक राजनीति अहिले जनमानसको कल्पनाभन्दा बाहिर रहेको छ । नेपालको सन्दर्भमा व्याप्त भ्रष्टाचार के कारणले बढी भइरहेको छ ? शुरुमा यसबारे सहज र सरल भाषामा सामान्य चर्चा गरौं ।

भ्रष्टाचारको मुख्य उद्देश्य अर्थ संकलन गर्नु हो । अर्थ संकलनको अभिप्राय समाजमा अरुभन्दा बलवान र धनवान देखिन खोज्नु हो । किनकि यो पुँजीवादी सामाजिक चरित्रले आफुसंग प्रशस्त पैसा भयो भने समाजको जुनसुकै क्षेत्रमा पनि सजिलै आफ्नो प्रभाव र प्रभुत्व जमाउन सकिन्छ भन्ने चेतना जबर्जस्त निर्माण गरिदिएको छ र समाजमा जसको बढी हालीमुहाली रहन्छ उहीँ नै ‘ठूला मान्छे’ हुन् भन्ने सामाजिक मान्यता स्थापित गरेको छ । त्यसैले यो अवधारणाबाट प्रशिक्षित व्यक्तिहरूको एकमात्र लक्ष्य भनेको जसरी हुन्छ पैसा कमाउने र धनी बन्ने मात्र हुन्छ । तर, पैसा कमाउने कुरा त्यति सजिलो विषय होइन । यसको लागि कि दिनरात मेहनत गर्दै धैर्यता गर्न सक्नुपर्छ, कि त अरुलाई ढाँट्न, ठग्न र लुट्न सक्नुपर्छ । छिटो धनी बन्ने दौडमा अहिले प्रायः धेरै मानिसहरूले माथि उल्लेखित पहिलो भन्दा दोस्रो सूत्रलाई नै बढी प्राथमिकता दिने गरेका छन् । इमानदारपूर्वक मेहनत गरेपनि त्यसको फल प्राप्त गर्नको निमित्त एउटा निश्चित समय पर्खिनुपर्ने हुन्छ ।

जस्तैः असारमा धान रोपे पनि त्यसको फसल काट्न अर्थात् भित्र्याउन मंसीरसम्म अनिवार्य कुर्नै पर्छ । तर, आज देखासिकीमा रमाउन बानी परेका अधिकांश मानिसहरूसँग धैर्यता भन्ने चीज नै छैन । त्यसैले बेलुकी सुत्दा रोपेको सुन्तलाको बिरुवा बिहान उठ्दा लटरम्म फलिरहोस् भन्ने उनीहरू चाहन्छन् । यसरी असिमित चाहना र आफ्नो वास्तविक यथार्थ धरातल बीच सन्तुलन नमिल्दा, सामान्य पिउनदेखि ठूला–ठूला राजकीय पद धारणा गरेका व्यक्तिहरू समेत आफ्नो मूल्य–मान्यता र आदर्शबाट बिचलित हुने गरेका छन् । र, आफ्नो पदीय गरीमा र जिम्मेवारीलाई बेवास्ता गर्दै भ्रष्टाचारको चंगुलमा फस्ने गरेका छन् । जब मान्छेको नियत नै खराब भइसकेपछि त्यस्ता व्यक्तिहरुलाई सदाचार, इमानदार र नैतिक जिम्मेवारी जस्ता कुराहरू ‘फुस्रा गफ’ लाग्न थाल्छ । अरुलाई समेत गैरजिम्मेवार र भ्रष्ट आचरण अवलम्बन गर्न उद्धेलित गर्छन् ।

हाम्रो नेपाली समाजको गलत पारिवारिक संरचनाको कारण पनि भ्रष्टाचारलाई थप बढावा मिलिरहेको छ भन्ने यो पंक्तिकारलाई लागेको छ । किनकि हाम्रो नेपाली परिवार एकजना परिवारको सदस्यमध्ये जसले कमाउन सक्छ । परिवारका अन्य सबै सदस्य उसैमा निर्भर रहने परिपाटी रहेको छ । त्यसैले समयक्रमसँगै परिवारको सबै सदस्यको दैनिक आवश्यकताहरु बढ्दै गइरहेको हुन्छ । तर, ती आवश्यकताहरु पूरा गर्ने व्यक्ति परिवारमा एकजना मात्र हुन्छ । एकजनाको सामान्य तलबले परिवारका पाँच–सात जना व्यक्तिहरूको आवश्यकता राम्रोसँग पूरा गर्ने कुरा जो कोहीको लागि पनि त्यति सजिलो कार्य होइन । यसरी परिवारको सबै बोझ एकजना व्यक्तिको टाउको माथि थुपार्ने संस्कृतिले त्यो व्यक्ति सिमित स्रोत–साधन र असिमित आवश्यकताहरुको द्वन्द्वमा फसेर अन्ततोगत्वा भ्रष्टाचारी बन्न पुग्छ ।

त्यसैले भ्रष्टाचारलाई निर्मूल पार्न र प्रत्येक नागरिकहरू आत्मनिर्भरतर्फ उन्मुख हुनको लागि यो ‘समाजवाद उन्मुख’ सरकारले देशमा तत्काल रोजगार सिर्जना गर्नुपर्ने देखिन्छ । कोरोना कहरको बेला यस्तो माग त्यति समयसापेक्ष र उपयुक्त माग नठानिएला । तर सरकारको ध्यान अरुबेला पनि त्यतातिर खासै गएको देखिँदैन । बरु आफैं विभिन्न विवाद र केही दलालहरुको घेरामा पर्दै गएको देखिन्छ । जसको कारण कुनै पनि सरकारी नियुक्तिहरु विवादमुक्त हुन सकेको छैन । आज हाम्रो देशमा भ्रष्टाचार व्यक्तिमा मात्र सिमित छैन, संस्थागत रुपमै ठूला–ठूला भ्रष्टाचार र अनियमितता हुने गरेको समाचार हामीले दैनिकजसो पत्रपत्रिकामा पढ्न पाउँछौं । विश्व कोरोना महामारीको बेला समेत भ्रष्टाचारको समाचारले नेपालको मिडियाहरुमा आफ्नो स्थान छोड्न मानेन । मानवीय संवेदनाको कोणबाट हेर्ने हो भने यो ज्यादै नै दुःखद् र लज्जास्पद कुरा हो । तर, सानातिना भ्रष्टाचारीहरु बाहेक ठूला भ्रष्टाचारीहरु कारवाहीमा परेका समाचार एकदमै कम मात्रामा सुन्न, देख्न पाउँछौं । यसको मुख्य कारण भनेको राजनीतिक संरक्षण नै हो ।

कानूनी निर्माणको तहमा पुगेका व्यक्तिहरूबाटै भ्रष्टाचारीलाई संरक्षण गरिँदा देशको सम्पत्ति वर्वाद गर्नेहरूको मनोबल झन् बढ्दै गइरहेको छ । त्यसैले यहाँ कतिपय दण्डित हुनुपर्ने व्यक्तिहरू समाजमा खुलेआम मात्र हिँडीरहेका छैनन्, कसैले त सरकारी नियुक्ति समेत खान भ्याइरहेका छन् । यसरी ‘पहुँच र पावर भएमा जस्तोसुकै दण्डनीय अपराध गरे पनि उन्मुक्ति पाइन्छ’ भन्ने नजिर नै अहिलेका ठूला राजनीतिक दल र त्यसका नेताहरूले स्थापित गरिसकेका छन् । यो सुसंस्कृत समाजको निम्ति अत्यन्त लज्जित र कालोधब्बा हो । भ्रष्टाचार मुक्त सुसंस्कृत राजनीतिले सँधै सुशासन, पारदर्शिता, जवाफदेहिता र विकासको परिकल्पना गर्छ र त्यसै अनुरुप नीति–निर्माण गर्छ । तर, हाम्रो देशको राजनीति, भ्रष्टाचारको जालोभित्र बेरिएर कमाईखाने भाँडो बनेको छ । त्यसैले सुशासन र सदाचारसँग अन्तरसम्बन्ध हुनुपर्ने राजनीति, भ्रष्टाचारसँग अनैतिक सम्बन्ध गाँस्न पुगेका छन् । जसका कारण आज नेपालमा सबैभन्दा नाफामूलक व्यबसाय नै राजनीति बन्न पुगेको छ ।

देशको मूल कानून बनाउँदै समाजको बृहत्तर हितको निम्ति गरिने राजनीति, नाफामूलक व्यवसायमा रुपान्तरण भएपछि राजनीतिको मूल मर्म ‘देश र जनताको सेवा’ भन्ने शब्दप्रति नै अहिले नेपाली जनतालाई भद्दा मजाक लाग्न थालेको छ । त्यसैले कुनै इमानदार युवाले ‘म राजनीतिको माध्यमबाट देश र जनताको सेवा गर्न चाहन्छु’ भन्यो भने ती इमानदार व्यक्तिलाई हाँसोको पात्र बनाइन्छ र निराशाको पोको थमाइन्छ । निराशाको पोकोले जो कोहीलाई पनि कि मानसिक विक्षिप्त बनाउँछ कि त त्यस्ता अनेक विकृति विसंगतिको शिकार त अवश्य नै बनाउँछ । तर, कुकर्म नै गरे पनि यदि पैसाको बिटो धेरै आउने ठाउँ छ भने यो समाज आँखा चिम्लेर बधाईको ओइरो दिन जहिल्यै पनि तयार छ । किनकि यो नाफामा टिकेको समाजले बस खाली नाफा मात्र हेर्छ, त्यसको कुनै स्रोत खोज्दैन ।
अन्त्यमा, आज देशमा मेहनती, इमानदारी र सदाचारी व्यक्तिहरू पनि नभएका होइनन् । तर, तिनीहरू राजनीतिको मूलधारभन्दा बाहिर छन् । त्यसैले उनीहरूको आवाज एकदम कम सुनिन्छन् । अर्थात् यो समाज यस्ता व्यक्तिहरुलाई सुन्न चाहँदैनन् । किनकि अहिलेको हाम्रो समाज चोरी, डकैती, लुटपाट, बलात्कार र भ्रष्टाचारका समाचारहरु सुन्न अभ्यस्त भइसकेका छन् । त्यसैले सदाचार, इमानदार र नैतिक जिम्मेवारी जस्ता कुराहरू हाम्रो नेपाली समाजको लागि ‘आठौं आश्चर्य’को विषय बन्दै गइरहेको छ । सायद त्यसैले होला अस्वस्थताको कारण आफ्नो कार्यकाल अवधि नसकिँदै जापानी प्रधानमन्त्री सिन्जो आबेले भर्खरै आफ्नो पदबाट दिएको राजीनामाले नेपालमा खुब चर्चा पाइरहेको छ ।

तर, विधि, विधान र प्रक्रियाद्वारा सञ्चालित सुसंगत राजनीतिक नेतृत्व पाएको जापानी जनताको लागि यो स्वभाविक विषय र आगामी पुस्ताको लागि एउटा शिक्षा बन्न सक्छ । त्यसैले भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई सुसंस्कृत र सभ्य मानवीय समाजमा रुपान्तरण गर्न र राजनीतिमा भइरहेको भ्रष्टीकरणलाई रोक्नको लागि सम्पूर्ण सचेत नेपाली नागरिकहरुले आ–आफ्नो ठाउँबाट भ्रष्टाचार लगायत विभिन्न विकृति, विसंगतिविरुद्ध आवाज बुलन्द गर्न जरुरी छ । ताकी भ्रष्टाचारीहरुलाई दण्डित गर्नको लागि राजनीतिक नेतृत्व कडाभन्दा कडा नियम कानून बनाउन र त्यसलाई कार्यन्वयनको तहसम्म लान बाध्य होस् । तर, यसको लागि जनसंख्याको ६०–७० प्रतिशतभन्दा बढी मानिसहरू अरुको ‘अन्धभक्त’ बन्ने परम्परा र आफ्नो राजनीतिक आस्थाभन्दा उठ्नैपर्छ । अनि मात्र हामी सबैले परिकल्पना गरेको सत्य र समानतामूलक समाज निर्माण गर्न सम्भव छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here