नाडेप लघुवित्त वित्तीय संस्थाको ठगी धन्दा,हिसाब चुक्ता गर्दा पनि ऋण कायमै

७ आश्विन २०७७, बुधबार मा प्रकाशित

सुरेन्द्र भण्डारी/ नरेन्द्र ढकाल,
झापा।

बाह्रदशी गाउँपालिका–६ काँक्रामारी निवासी देवका संग्रौलाले आठ बर्ष अघि बिर्तामोडमा रहेको नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडबाट ५० हजार रुपैयाँ ऋण लिइन् ।

तत्कालीन डाँगीवारी गाविसको काँक्रामारीमा सो संस्थाले महिला समूह गठन गर्दै ऋण तथा बचतको कार्यक्रम सञ्चालन गरेपछि संग्रौला पनि समूहमा आवद्ध हुँदै बचत र ऋणको कारोवारमा संलग्न भइन् । संग्रौलाले आठ वर्ष अघि संस्थाको केन्द्र नम्वर ९३मा सदस्य बन्दै ५० हजार रुपैयाँ ऋण लिइन् र पाँच वर्ष अघि नै चुक्ता पनि गरिन् ।

संस्थामा १५ वर्षसम्म नियमित बचत गरेको खण्डमा आफूले बचत गरेको रकमको दोब्बर रकम पाइने भनिएको थियो– संग्रौलाले भनिन्– सोही बमोजिम नियमित रकम जम्मा गर्दै गएँ, म अमेरिका नजाउञ्जेल संस्थामा मेरो नियमित बचत थियो । ऋण त चुक्ता थियौ नै बचत समेत गरेकी मेरो नाममा अहिले सहकारीले एक लाख ७५ हजार रुपैयाँ ऋण देखाएको छ ।

लघुवित्तबाट लिएको ऋण पाँच वर्ष अघि नै चुक्ता गरेको थियो– संग्रौलाले भनिन्– नाडेपले ताकेता गरेपछि संस्थामा आएर बुझ्दा मेरो नाममा बचत २२ हजार रुपैयाँ रहेछ तर ऋण भने एक लाख ७५ हजार रुपैयाँ रहेछ । पाँच वर्ष अघि नै संस्थाबाट लिएको ऋण चुक्ता गरेकोमा अहिले आफ्नो नाममा ऋण छ भन्दा मर्नु न बाँच्नु भएको छ– संग्रौलाले भनिन्– कुन मितिमा मैले ऋण लिएको छ हेरौं भन्दा संस्थाले कुनै कागजात देखाएको छैन । न मेरो खाता देखाउँछन् न त ऋण लिएको प्रमाण दिन्छन् ।

संग्रौलामात्र होइन बाह्रदशी–६ निवासी डिल्लीराम कँडेलको पनि समस्या उस्तै छ । कँडेलकी श्रीमती कल्पनाले पनि समूहमा आवद्ध हुँदै बचत तथा ऋणको कारोवार गरिन् । कारोवार गर्ने क्रममा सहकारीबाट लिएको सबै ऋण चुक्ता गरेर चार वर्ष अघि नै आफू बाहिरिएको तर अहिले आफ्नो नाममा संस्थाले ऋण देखाएको भन्दै उनले पनि आपत्ति जनाइन् ।

समूह जान आउन टाढा भएकाले चार वर्ष अघि नै संस्थाबाट निस्किएका थियौं– कँडेलले भनिन्– संस्थासंग हाम्रो अहिले कुनै सम्वन्ध थिएन तर अहिले यो संस्थाले मेरो नाममा दुई लाख रुपैयाँ ऋण देखाएको छ । भाउजू लीला कँडेल र मेरी श्रीमतीको नाममा मात्रै संस्थाले साढे तीन लाखभन्दा बढी ऋण देखाएपछि संस्थामा बुझ्न आएको हुँ, अहिले संस्थाले हाम्रो खातापाता नै नदेखाई ऋण यति छ मात्रै भन्दै आएको छ– उनले भनिन् ।

आफ्नै परिवारमा यस्तो समस्या देखिएपछि समूहका सबै सदस्यका विषयमा खोजी गर्दा किर्ते हस्ताक्षर गरेर ऋण लिएको पाइएको छ– कँडेलले भनिन्– यस विषयमा खोजी गर्दा अफिसका कर्मचारीले हामीहरुमाथि नै अनुसन्धान थालेका छन् । अहिले अफिसका कर्मचारीले हाम्रो हस्ताक्षर जुधाउने काम गर्दैछन्– कँडेलले भनिन्– हाम्रो समूहमा आवद्धमध्ये केही सदस्यले धितो राखेर ऋण लिएका रहेछन्, उनीहरुले संस्थाको ऋण चुक्ता गर्दै रोक्का गरेको जग्गा समेत फुकुवा गरिसके, तर संस्थामा भने ऋण नै देखिएको छ ।

समूहमा आवद्ध दुई जना समस्यहरुले जग्गा धितो राखेर आफूले लिएको ऋण चुक्ता गर्दै अर्काे बैंकमा प्रक्रिया अघि बढाएर ऋण लिइसक्नुभयो तर यो संस्थामा अझै ऋण देखिन्छ– कँडेलले भनिन्– यदि यो संस्थामा ऋण चुक्ता गरेको थिएन भने रोक्का भएको जग्गा कसरी फुकुवा हुन्छ । जग्गा धितो राखेर ऋण लिएका मानिसले ऋण तिरेर जग्गा फुकुवा गरे पनि उहाँहरुको नाममा सात लाख र आठ लाख रुपैयाँ ऋण देखाइएको छ– कँडेलले भनिन् – संस्थामा आएर यस विषयमा कुरा उठाउँदा पनि कर्मचारी जोगाउने काम मात्रै गरेको देखिन्छ ।

सात वर्ष अघि विहीवारे छाडेकी राधा उप्रेतीको नाममा पनि संस्थाले एक लाख ५० हजार रुपैयाँ ऋण देखाएको बताइएको छ । ११ वर्षअघि संस्थामा आवद्ध भएकी उप्रेतीले समूहको कारवोर छाडेको धेरै भयो, संस्थामा नगएकै पाँच वर्ष भयो । तर, साथीहरुले आफ्नो नाममा ऋण भएको खबर गरेपछि संस्थामा आएर बुझ्दा आफ्नो नाममा एक लाख ३६ हजार रुपैयाँ ऋण देखिएको छ– उनले भनिन् ।

संस्थाबाट लिएको ऋण पटक–पटकको किस्तामा पहिला नै चुक्ता भएको थियो– उप्रेतीले भनिन्– संस्थामा जाँदै नगई मेरो नाममा कसरी ऋण भयो बुझ्न आएकी हुँ । यहाँ आउँदा थाह भयो मेरो मात्र समस्या रहेनछ त्यो समूहमा बस्ने सबैको समस्या यही रहेछ ।

संस्थामा आवद्ध हुने उनीहरु केही प्रतिनिधि मात्रै हुन् । उनीहरु जस्ता धेरैलाई संस्थाले ऋणको बोझ बोकाएको पाइएको छ । धादिङको गजुरीमा केन्द्रीय कार्यालय रहेको संस्थाको बिर्तामोड सम्पर्क कार्यालय हो । यही कार्यालयबाट सञ्चालित समूहका सदस्यलाई यस्तो समस्या देखिएको हो ।

समूहमा आवद्ध सदस्यले संस्थामा हिसाव खोज्दै घेराउ समेत गरेका छन् । उनीहरुले संस्थामा आवद्ध नै नभएका सदस्यको नाममा समेत ऋण देखिएपछि कार्यालय प्रमुखलाई आफ्नो हिसाब देखाउन माग गरे पनि लिखित निवेदन दिन भन्दै उनले हिसाब नदेखाएपछि समूहमा आवद्ध सदस्य आक्रोशित समेत भए । समूहमा आवद्ध सदस्यहरुले आफूले लिएको ऋणको कागजात देखाउन दवाव दिएका थिए । तर, कार्यालयका कर्मचारीले फायल नै गायव गरेको बताएपछि कार्यालयमा उपस्थित सदस्य कार्यालय प्रमुखसंग थप आक्रोशित बनेका थिए ।

यता संस्थाका प्रमुख राजेन्द खतिवडाले आफू एक महिना अघि मात्रै कार्यालयमा आएको र सोही विषयलाई बुझ्ने काम भइरहेको बताए । आफ्नो कार्यालय अन्तर्गत १६ सय सदस्य आवद्ध रहेको बताउँदै उनले भने– १ सय २८ वटा केन्द्र रहेका छन्, त्यसमध्ये ९३ नम्वर केन्द्रमा यस्तो समस्या देखिएको हो ।

गत वर्षको मंसीर महिनामा संस्थाले सो केन्द्रमा आवद्ध सदस्यलाई ऋण लगानी गरेको देखिएको छ– कार्यालय प्रमुख खतिवडाले भने– सदस्यलाई ऋण लगानी गरेको देखिए पनि सदस्यले भने आफूहरुले ऋण नलिएको भन्दै लिखित निवेदनसहित आउनुभएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ । तत्कालीन कार्यालय प्रमुख डम्वर राजवंशीले बनाएको कागजमा उहाँ सबैले ऋण लिएको देखिन्छ, अहिले हामी छानविनकै चरणमा छौं– खतिवडाले भने ।

खतिवडाले यस अघिका कार्यालय प्रमुख राजवंशीलाई निलम्वन गरेर छानविन भइरहेको बताए । राजवंशीलाई संस्थाले पुस महिनामा नै निलम्वन गरेको बताइएको छ । सर्सर्ती हेर्दा संस्थाबाट सदस्यलाई २० लाख रुपैयाँ लगानी गरेको देखिएको छ– खतिवडाले भने– केन्द्र नम्वर ९३ का सदस्यहरुको मात्रै २० लाख रुपैयाँ बरावर यस्तो रकम देखिएको छ ।
संस्थामा आवद्धमध्ये तिलककुमारी राई, प्रेमकुमारी पौडेल, लीला संग्रौला, मीना पौडेल, लीला कट्टेल, धनमाया लिम्बू लगायत १० जनाभन्दा बढीको नाममा २० लाख भन्दा बढी लगानी गरेको देखिएको छ । तर, संस्थाका सदस्यले भने आफूहरुले संस्थाबाट ऋण नलिएको दावी गरेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here