अविरल वर्षाले झापामा जनजीवन प्रभावित : कतै डुबान, कतै कटान !

0
1049

भद्रपुर,

अविरल वर्षाका कारण झापाको जनजीवन प्रभावित बनेको छ। आज रातीदेखि परेको अविरल वर्षापछि खोलामा आएको बाढीले जिल्लामा कतै घर बगाएको र कतै डुबानसँगै जमिन कटान भइरहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्रहरीका अनुसार देउनिया खोलाले हल्दीबारी गाउँपालिका ३ स्थित देवी बस्तीमा कटानसँगै घर डुबान गरिरहेको छ। खोलाले दिलबहादुर राईको १४ कट्ठा जमिन कटान गर्नुका साथै भान्सा घर बगाइसकेको हल्दीबारी ३ नम्बरका वडा अध्यक्ष रोशनी सिवाकोटीले जानकारी दिइन्। उनका अनुसार राईको सुत्ने कोठामा पनि पानी पस्न आँटेको छ। घरभित्र राखिएको सामान निकाल्ने काम भइरहेको छ।

त्यस्तै, शुक्रराज योङहाङ, लक्ष्मीमाया इङम्बो र जनक भुजेलको घर डुबानमा परेको वडा अध्यक्ष सिवाकोटीले बताइन्। उता मेची नदीमा आएको बाढीले कचनकवल गाउँपालिका ५ पाठामारी स्थित ११२ नम्बर नजिकै जमिन कटान भइरहेको छ। नदीले जमिन कटान गर्दै सीमा पिलर छेउ आइपुगेको जनाइएको छ। अहिले त्यस क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ भने स्थानीयलाई सतर्क बस्न आग्रह गरिएको छ।

त्यस्तै बिरीङ नदीमा आएको बाढीले कन्काई नगरपालिका ८ स्थित त्रिवेणी टोलमा कटान गरिरहेको छ। सो क्षेत्रमा रहेका ६ घर डुबान जोखिममा परेको छ। यो नदीले बाह्रदशी गाउँपालिका ७ स्थित तुलसीबारीमा पनि जमिन कटान गरिरहेको छ। नदीमा पानीको बहाव बढ्ने क्रममा रहेकोले उनीहरूलाई इलाका प्रहरी कार्यालय सुरुङाको टोली स्थानीय तहसँग समन्वय नगरी सुरक्षित स्थानमा सार्ने काम भइरहेको डिएसपी थापाले जानकारी दिए।

उनका अनुसार त्यहाँ बसोबास गर्ने ६ घर परिवारलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी सुरक्षित स्थानमा सार्ने काम गरिरहेको छ। अहिले जिल्लाको मेची, हडिया, निन्दा, बिरीङ, कन्काई, रतुवा, अदुवा लगायतको खोलामा पानीको बहाव बढिरहेकोले त्यस आसपास बसोबास गर्ने स्थानीयलाई सुरक्षित रहन झापा प्रशासनले आग्रह गरिसकेको जनाइएको छ। साथै मेची नदीमा आएको बाढीले भारतको जमिन कटान गर्दै अधिकांश एसएसबी बसेको पोस्टहरू समेत डुबानमा परेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here