चम्किलो तारा नीरकुमार

८ आश्विन २०७७, बिहीबार मा प्रकाशित

पुँजीवादी संसदीय व्यवस्थाको विकल्पको रुपमा वैज्ञानिक समाजवादी सत्ता स्थापनार्थ जारी एकीकृत जनक्रान्तिको बलिदानीपूर्ण प्रक्रियामा हामीले होनाहार प्रिय योद्धा कमरेडहरुलाई गुमाउन पुगेका छौं । कमरेड कुमार, राजु, निरन्तर, प्रज्ज्वल, दीपेन्द्र, रामकुमार, राजेश, महान, सनराइज लगायत कमरेडहरुको गौरवपूर्ण बलिदान हुँदै आउने क्रममा गत असार २५ गते हामीले एक होनाहार क्रान्तिकारी, जनताका प्रिय, जनमुक्ति आन्दोलनमा एउटा आशाको रुपमा उदाइरहेका नीरकुमार राईलाई गुमाउन पुग्यौं ।

नीरकुमार राई अर्थात् कमरेड प्रशान्तले जेठ १४ गते भोजपुर टेम्केमयुममा हत्या गरिएका तीर्थराज घिमिरे राजुलाई गोली प्रहार गर्ने प्रहरीको प्रतिरोध गर्ने क्रममा असार २५ गते भोजपुर सदरमुकाममै शहादत प्राप्त गर्नुभयो । उहाँहरुको गौरवपूर्ण बलिदानीले जनताको बिजयलाई सुनिश्चित गरिसकेको छ । आन्दोलनलाई थप प्रतिबद्ध बनाएको छ । बलिदानी संस्कृतिलाई पुनः स्थापित गरेको छ । त्यसैले हजारौं हामी युवा बलिदान गर्न तत्पर छौं, तयार छौं । कमरेडहरुको रगतले रंगीएको रातो झण्डा अन्तिमसम्म समाइरहने छौं । हाम्रो पार्टी सुरक्षाकर्मीहरुसँग कहिल्यै लडाइँ लड्न चाहँदैन साँचो कुरा यही नै हो । किनकि हाम्रो पार्टीले स्पष्टरुपमा भनेको छ जनताको दुश्मन सुरक्षाकर्मीहरु होइनन् । जनताको दुश्मन वर्तमान पुँजीवादी संसदीय व्यवस्था हो र आज यसको नेतृत्व केपी–प्रचण्ड समूहले गरिरहेको छ । यही कुरा बारम्बार पार्टीले भन्दै आइरहेको छ । तर, यही सुरक्षाकर्मीविरुद्धको संघर्ष नहुनुको सदासयता र जिम्मेवारीबोधको फाइदा उठाएर एकपछि अर्को गर्दै सुरक्षाकर्मीले हाम्रा नेता कार्यकर्ताको हत्या गर्ने, गिरफ्तारी गर्ने गर्न थालेपछि प्रतिरोध गरेरै अगाडि बढ्नु हाम्रो बाध्यता नै थियो । असार २५ गतेको बिहान मनसुन सक्रिय भएको समयमा भोजपुरमा त्यही भएको थियो अर्थात् प्रतिरोध । त्यसैले त्यहाँ प्रहरी तर्फका एक जनाको पनि मृत्यु हुन पुग्यो ।

नीरकुमार राई प्रशान्तले प्रहरीसँग मुठभेड नगर्न र त्यहाँ उत्पन्न हुन सक्ने सम्भावित दुर्घटनाबाट सबैलाई बचाउन आफ्नोतर्फबाट सम्भव भएसम्मको प्रयत्न गर्नु भएको थियो । घटनापछि सार्वजनिक भएका तथ्यहरुले यही कुरा बताएका छन् । तर, आफ्नै वर्ग, आफ्नै दाजुभाइ , आफ्नै छिमेकी र आफ्नै देशमाथि आक्रमण गर्न हिँडीरहेको प्रहरीले त्यो कुरा बुझ्न सकेन । सबै त होइन केही औंलामा गन्न सकिने प्रहरीहरु छन् जो झोलामा पेस्तोल बोकेर उनीहरुकै भाषामा भन्ने हो भने विप्लवका मान्छे खोज्न हिँड्ने गरेका छन् । उनीहरुले मुलुकको बिषयमा, जनताको बिषयमा र आफ्नै भविष्यको बिषयमा थोरै पनि सोच्न सकिरहेका छैनन्  । किन सोच्दैनन् आफू र आफ्नो परिवारको भविष्य ? किन सोच्दैनन् देशको बर्वादीको बारेमा ? प्रहरीहरु यस्तो किन बन्नु पर्यो ? के को लागि ? कसका लागि ? अब प्रहरीहरुले गम्भीर भएर सोच्न जरुरी छ । सुरक्षाकर्मीहरुले पनि एकपटक यो देशको बर्वादीको कारक वर्तमान पुँजीवादी संसदीय सत्ताविरुद्ध उठ्न जरुरी छ । राष्ट्र र जनताको पक्षमा लड्ने मानसिकता बनाउन जरुरी छ । जहाँ त्यो देशका सुरक्षाकर्मीहरु जनसंघर्षमा सहभागी भएर सत्तााविरुद्ध लडेका छन् । र जनताको सत्ता स्थापना भएको छ ।

मृत्यु भइसकेका सञ्जीवको बिषयमा धेरै भन्न मन छैन । किनकि सञ्जीव हाम्रै दाजुभाइ थिए, उनी वर्गीय हिसावले पनि हाम्रै थिए । तर, प्रवृत्तिको टिप्पणी गर्दा सञ्जीव स्वयम् आफ्नै वर्गको बिरोधी भएर निस्किए । त्यसैले उनी जनताको आन्दोल दबाउन कस्सिएरै लागे । तीर्थको हत्यामा समेत उनी अग्रपंक्तिमा थिए ।

नीरकुमारले तिनै सञ्जीवहरुको जीवनलाई समृद्ध गर्न आफ्नो जीवन बलिदान गर्ने संकल्प लिएर आन्दोलनमा सहभागी भएका थिए । र, फेरि पनि सत्य केहो भने नीरकुमारको रगत तीनै सञ्जीवहरुको सन्तानको भविष्यका लागि बगेको छ । आगामी दिनमा सञ्जीव पथमा लाग्नेहरुले गम्भीर बन्नै पर्छ । प्रहरीभित्रका सञ्जीवहरुले आफ्नो वर्ग बिरोधीको स्वार्थका लागि ज्यान नगुमाउन् कामना गर्न चाहन्छु ।

भोजपुर, संखुवासभा, सोलुखुम्बू लगायतका जिल्लाहरुमा राज्यदमन तीव्र बन्दै गएको थियो । हेलिकप्टर मार्फत सर्चको नाममा जनतालाई आतंकित पार्ने काम भइरहेको थियो । राज्यले नेकपाका नेता कार्यकर्ताहरुको हत्या, गिरफ्तारीलाई तीव्र बनाउँदै लगेको थियो । यस्तो बेलामा नीरकुमारलाई प्रहरीले घेर्न पुगे । नीरकुमारको रगतमा देश र जनताको अधिकार र मुक्तिको निम्ति आफूले खेल्नुपर्ने भूमिका र कर्तव्य एकाएक ठिङ्ग भएर उभियो, स्वभिमान जाग्यो । अन्ततः प्रतिरोध गर्नैपर्ने स्थिती बनेपछि उहाँले प्रहरीमाथि गोली प्रहार गर्नुभयो । उहाँलाई गिरफ्तार गरियो । आत्मसमर्पण गर्न लगाइयो उहाँले आत्मसमर्पण गर्न अस्वीकार गर्नुभयो । बरु आफूले पनि मृत्युको सामना गर्नुभयो । सायद नेपाली जनताहरुको मुक्तिकामी लडाइँमा नीरकुमार कमरेडको इतिहास सधँंभरि सगरमाथा झैं अग्लो रहने छ । किनकि नीरकुमारले जुन सौर्य, जुन पराक्रम प्रर्दशन गर्नुभएको छ । त्यो एकीकृत जनक्रान्तिको प्रक्रियामा मात्र होइन अधिकार र मुक्तिका निम्ति लडिने सबै लडाइँमा स्मरण गरिने छ, नीरकुमार पथलाई पछ्याइने छ, युग–युगसम्म निरकुमारलाई सम्झना गरिने छ ।

पार्टीले स्थापनाकालदेखि नै स्पष्टरुपमा भन्दै आएको कुरा के हो भने हामी सुरक्षाकर्मीहरुविरुद्ध संघर्ष गर्दैनौं । तर, यसको मतलब यो होइनकी हामी प्रतिरोध गर्दैनौं । वर्तमान पुँजीवादी संसदीय सत्ताले आफ्नो साम्राज्य बचाउन जब–जब आफ्ना प्रहरीहरु प्रयोग गर्छ र प्रहरीहरु जनदमनमा उत्रन पुग्छन्, त्यतिबेला आफ्ना अगाडि अवरोधको रुपमा आई लागेका काँडेतार पन्छाएर अगाडि बढ्नु आन्दोलनको निम्ति अनीवार्य भएर आउँछ ।

त्यसैले यो संवेदनशिलतालाई सबै सुरक्षाकर्मीहरुले बुझ्नुपर्छ र जनताविरुद्ध दमन थोपर्न अगाडि बढ्नु हुँदैन । यद्यपि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सुरक्षाकर्मीविरुद्ध लक्षित छैन भन्ने बिषय आमसुरक्षाकर्मी र नागरिकहरुको बीचमा स्थापित भइसकेको छ । यो बिषय बुझेकाहरु हाम्रो आन्दोलनलाई आवश्यक रहेको ठान्दै विभिन्न कोणबाट सहयोग गरिनै रहेका छन् । त्यसरी सहयोग गर्नेहरुमा प्रहरीहरु नै पनि छन्, कर्मचारीहरु छन्, सरकारभित्रकै धेरै पात्रहरु छन् । त्यसैले यतिबेला वर्तमान पुँजीवादी संसदीय सत्ताविरुद्ध जारी एकीकृत जनक्रान्तिको प्रक्रिया प्रति साझा धारणा बन्न थालेको छ, कि यो आन्दोलन आवश्यक छ ।

तर, सत्ताधारीहरु जनताको बीचबाट उठेको आन्दोलन र यसको उच्च प्रभावलाई दबाउन अगाडि आएका छन् । आन्दोलनले आफ्नो सत्ता पल्टिने ठानेपछि सत्ताधारीहरु जसरी पनि आन्दोलनलाई परास्त गर्ने दाउपेचमा लागेका छन् । हो तिनै सत्ताधारीहरु कै निर्देशनमा, योजनामा तिनीहरु कै बिभिन्न धन्दा चलाउन भूमिका खेलिरहेका, सत्ताको आडमा दानापानी खाएका, घुमुवाको नाममा बजारमा हप्ता असुली गर्ने केही प्रहरी भने नेकपालाई खत्तम गर्छांै भनेर लागीरहेका छन् । पात्रहरुको अनुहार र सम्पूर्ण विवरण प्राप्त गर्न अहिलेको सूचना प्रविधिको दुनियामा त्यति गाह्रो भने छैन । जसको विवरण जनताको बीचमा, पार्टीसँग जतिबेला पनि सुरक्षित नै छ ।

हिजो पञ्चायतले मण्डलेहरु तयार ग¥यो र पञ्चायतको बफादारी गर्ने प्रहरीहरुलाई बेस्सरी प्रयोग ग¥यो । पञ्चायती व्यवस्था ढल्यो । सत्ताको मातले उम्लिएको पञ्चायत र उसका अनुयायी जनताको संघर्षलाई दबाउन तम्सिएको प्रहरीहरु अन्ततः जनता उठेपछि व्यवस्था खारेज हुन्छ भन्ने चेत पाउने अवस्थामा पुगे । पञ्चायात ढलेपछि त्यसबेला आन्दोलन दबाउन सक्रियहरु माथि भएका कारवाहीहरुबाट पनि केही सिक्नुपर्छ । त्यस्तै जनयुद्धलाई दबाउन लाग्नेहरुको हालत पनि त्यति राम्रो भएन । प्रचण्डहरुले क्रान्ति प्रति गद्दारी गरेर तिनै जनबिरोधी दलालहरुसँग घाँटी जोड्न पुगे अन्यथा जनयुद्ध दबाउन लाग्नेहरुको हालत आजको दिनमा निक्कै भयावह हुने थियो । त्यसैले जनसंघर्ष दबाउन प्रहरीले भूमिका खेल्नु कुनै हिसाबले पनि सही छैन । यतिबेला नेकपाले सञ्चालन गरेको आन्दोलन यो देश र आमजनताको भाग्य र भविष्यलाई सुरक्षित गर्ने आन्दोलन भएकोले सुरक्षाकर्मीहरुले पनि यो आन्दोलनलाई आफ्नै आन्दोलन ठान्न जरुरी छ । यो वर्तमान पुँजीवादकाविरुद्ध गरिने संघर्ष अर्थात् एकीकृत जनक्रान्तिकाविरुद्ध लाग्नु भनेको आफ्नैविरुद्ध लाग्नु हो, परिवारविरुद्ध लाग्नु हो, देशविरुद्ध लाग्नु हो ।

नीरकुमार राई प्रशान्त १० बर्षे जनयुद्धमा कुशलतापूर्वक लड्नुभएका एक कुशल कमान्डर हुनुहुन्थ्यो । उहाँ जनमुक्ति सेनाबाट निस्कँदा बटालियन भाइस कमाण्डरको भूमिकामा हुनुहुन्थ्यो । उहाँले धेरै मोर्चाहरु लड्नु भएको थियो । आज पनि उहाँलाई जनयुद्धकालीन कमाण्डर, सदस्यहरुले प्रेमपूर्वक स्मरण गर्छन् । उहाँ कुशल कमाण्डर सँगै एक कुशल संगठक पनि हुनुहुन्थ्यो । पार्टीमा चलेको लाइन सघंर्षमा क्रान्तिकारी लाइनमा उभिँदै आउने क्रममा उहाँले नेपाल कम्युनिष्ट पार्टी भोजपुर कमिटीमा रहेर लामो समयसम्म काम गर्नुभएको थियो । त्यसपछि एक बर्ष अगाडिदेखि उहाँ ओखलढुङ्गाको पार्टी जिल्ला सेक्रेटरीको रुपमा सक्रियतापूर्वक कार्यरत हुनुहुन्थ्यो । लगनशील, मेहनती, मिलनसार, प्रतिबद्ध, अनुशासित र जनप्रीय नेता हुनुहुन्थ्यो । नीरकुमारका बुवा र दुई दाजुहरु हुनुहुन्छ । उहाँ परिवारको कान्छो छोरो हो । उहाँकी बहिनी लक्ष्मी राई ‘योजना’ले २०६० सालमा भोजपुरको बोयामा शहादत प्राप्त गर्नुभएको थियो । उहाँकी श्रीमती र एक छोरा भोजपुर सदरमुकाममै विगत चार बर्षदेखि बस्दै आउनुभएको छ । जनताको मुक्तिको निम्ति संघर्ष गर्ने दौरानमा नीरकुमारसहित उहाँको परिवारबाट दुईजनाले वलिदान गर्नुभएको छ ।

नेपालमा सदिऔंदेखि जारी अन्याय, अत्याचार, लुट शोषण, विभेदको अन्त्य गरेर देशलाई समृद्ध गर्नुछ । आज नेपाली जनतालाई दास जस्तो बनाइएको छ । जनताले एकछाक खान पाएका छैनन्, एक आङ राम्रो लाउन पाएका छैनन् । उपचार र शिक्षा पाएका छैनन्, सुरक्षा छैन, आम जनताको जीवन अस्तब्यस्त छ । ८० लाखभन्दा बढी युवाहरुले परदेशमा रुँदै पसिना बगाउनु परेको छ । आफ्नो परिवार सम्झिएर छट्पटिनु परेको छ । नेपालको प्राकृतिक श्रोतहरु बेचेर रमाइरहेका संसदबादीहरुलाई हाइ सुख छ । उनीहरुका परिवार नातागोतालाई आएको छ गणतन्त्र । संसदवादीहरुको संसारमा छाएको छ सुख । त्यसैले विद्रोहको ज्वाला दन्किँदैछ, प्रतिरोधको आगो फैलँदैछ, आक्रोशका आवाजहरुले कम्पायमान हुँदैछ, दुनिया जनता जाग्दैछन्  । यहाँ बलिदानलाई स्वीकार गरेरै अगाडि बढ्नु नै छ त्यसैले रोएर बाँचेका जनताको आँखामा आएको आँशुले पिरोल्ने नीरकुमारहरुका छाती, सुन्दर सपना देखेर जीवन बलिदान गर्ने हजारौं शहीदहरु सम्झेर जुरुक्क हुने नीरकुमारहरुको मन, माफियाहरुले यो देशलाई चारैतिरबाट लुछिरहँदा सहन नसकेर प्रतिरोधमा उत्रने नीरकुमारहरुको सचेतना, आक्रोश र साँच्चिकै दुनियाँभरका स्पार्टाकसहरुलाई सिकाउन सक्ने नीरकुमारको वीरता र पराक्रम महान छ । नीरकुमारले शहादत प्राप्त गरे पनि उहाँ बाँचिरहनु हुनेछ । उहाँको पथलाई पछ्याइरहने छ दुनियाले । इतिहासमा अमर बनिरहनु हुनेछ, देशको चम्किलो तारा भएर चम्किरहनु हुनेछ कमरेड निरकुमार ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here