बिर्तामोड ।

निजी विद्यालयका शिक्षकहरुले सरकारले समेत आफ्ना माग प्रति चासो नदिएकोमा चिन्ता व्यक्त गरेका छन् ।
संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)का प्रदेश सहसचिव राजु वरालले कोभिड १९ को वहानामा आफूहरु राज्य विहीनताको अवस्थामा गुज्रिरहेको बताएका छन् । रिपोर्टस क्लवले आज झापामा आयोजना गरेको छलफलमा इस्टुका सहसचिव वरालले विगतमा आफूहरुले तिरेको आयकरबाट भएपनि राहत उपलब्ध गराउन राज्य पक्षसंग माग गर्नु भएको छ ।
भ्mापामा मात्रै ३५० बढी विद्यालय सञ्चालनमा छन् । त्यहाँ कार्यरत १० हजार शिक्षक कर्मचारी नियमित तलव सुविधाबाट बञ्चित हुँदै आएका छन् । देश भर दुई लाख ५० हजार शिक्षक कर्मचारीको एक सूत्रिय माग आफूहरुले नियमित तलव पाउनु पर्ने रहेको छ ।
एता निजी विद्यालयहरुको संगठन प्याव्सन झापाका वरिष्ठ उपाध्यक्ष गौरीमान फागोले आम्दानीको मुहानै सुकेकाले यो समस्या आएको बताए ।सरकारले गत चैत महिनाकै शुल्क नलिन निर्देशन दिएको र आम्दामीको मुख्य सिजनमा विद्यालय बन्द गर्नु परेकाले अहिलेकै अवस्थामा शिक्षक कर्मचारीको तलव दिन नसकिने बताएका छन् ।
आफूहरुलाई शिक्षक कर्मचारी बाहेक बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स कम्पनी लगायत बाट पनि तागेता आइरहेकाले थप समस्यामा परेको भन्दै वरिष्ठ उपाध्यक्ष फागोले भने –‘ गत वर्षको चैत सम्मको तवल सुविधा उपलब्ध गराउने कुरामा हामी सहमत छौं । उनले विद्यालय सञ्चालक, शिक्षक र अभिभावक बीचको आपसी सहमतिबाट यो समस्यालाई समाधान गरेर जानु पर्नेमा जोड दिएका थिए ।
यता इस्टूका पदाधिकारीले भने दशैं अघि कम्तीमा तीन महिनाको तलव सुविधा दिनु पर्ने माग गर्दै चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।































