समृद्ध समाजको मूलआधार पर्यटन

११ आश्विन २०७७, आईतवार मा प्रकाशित

सेप्टेम्वर २७ विश्व पर्यटन दिवस । सन् १९८० देखि संयुक्त राष्ट्रसंघ, विश्व पर्यटन संगठनको आह्वानमा यो दिवस मनाउन शुरु गरिएको हो । पर्यटनको माध्यमद्वारा विश्वमा सामाजिक, सांस्कृतिक, आर्थिक विकासको साथै विश्ववन्धुत्व र सद्भाव वृद्धि गर्ने उद्देश्यका लागि यो दिवस मनाउने गरिन्छ । सामान्यतयाः व्यापारिक, धार्मिक, मनोरञ्जन लगायतको उद्देश्य राखी गरिने आन्तरिक वावाह्य यात्रा नै पर्यटन हो । तर, अहिले यसको परिभाषालाई यतिमामात्र नराखिव्यापक अर्थमा हेर्ने गरिन्छ । पर्यटनलाई आर्थिक विकासको मेरुदण्डको रुपमा लिइन्छ । सांस्कृतिक र सामाजिक परिचयका रुपमा लिइन्छ पर्यटनलाई । यसले विश्वग्रामको अवधारणलाई बलियो बनाएको छ ।

पर्यटनको माध्यमद्वारा विकसित तथा अल्पविकसित दुबै किसिमका मुलुकहरुलाई अन्तर्राष्ट्रिय व्यापार सुदृढीकरणका साथै सामाजिक, सांस्कृतिक समृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । नेपाल लगायतका अल्पविकसित मुलुकको आन्तरिक विकास र समृद्धिका लागि आर्थिक क्षेत्रको मूल आधारशीला भएको छ । यसकै लागि नेपाल सरकारले पर्यटन विकास र प्रवद्र्धन, पूर्वाधार र पर्यटकीय गतिविधिको विविधिकरण र विस्तार गर्ने नीति नै बनाएको छ । यसैलाई सार्थक पार्दे समुन्नत राष्ट्र निर्माण गर्ने अभियानको लागि सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरी पर्यटन वर्षकै रुपमा मनाउने योजना अघि सारेको थियो । तर, विश्वव्यापी महामारी कोभिड–१९ का कारणले यो कार्यक्रम पूर्णरुपमा सफल हुन सकेन ।

नेपाल अनुपम प्राकृतिक सौन्दर्यताले भरिएको मुलुक हो । यहाँको जैविक विविधता, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, सामाजिक विविधता तथा सांस्कृतिक एवम् ऐतिहासिक विविधताका कारणले पर्यटनको प्रचुर विकास गर्न सकिने आधारहरु रहेका छन् । नेपालको अद्धितीय पर्यटकीय क्षेत्र, पर्यटकीय क्षेत्रका विकासको सम्भावना, पर्यटकीय विकास र विस्तारका लागि थप कार्यक्रम, निजी लगानीको वृद्धि, दशकौं पछि मुलुकको शान्ति सुरक्षाका े सुधारात्मक अवसथा, आम नेपालीको आन्तरिक पर्यटन प्रतिको आकर्षण, यातायात र सञ्चारसेवामा वृद्धि, सामाजिक, सांस्कृतिक क्षेत्रका व्यापकता लगायतका कारणले नेपालको पर्यटन वृद्धि हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । पर्यटनको विकास र विस्तारका लागि विगतदेखि नै साना–ठूला प्रयास नभएका होइनन् । तर, लामो समयसम्मको मुलुकको अस्थिर राजनीति, आन्तरिक द्वन्द्व र कलह जस्ता कारणले हाम्रो पर्यटनलाई उपलब्धिमूलक उचाइमा पुर्याउन सकेन । दोस्रो जनआन्दोलनपछि मुलुकमा विकसित भएका परिवर्तनका संकेत र घटनाक्रमले पर्यटन बढ्ने प्रसस्त आधार खडा भए । यद्यपि अझै पनि आन्तरिक अपरिपक्व राजनीतिक गतिविधि र प्राप्त उपलब्धिलाई स्थिर रुपले संस्थागत गर्न नसकिएकोले पुनःकुनै कठिनाइ र व्यवधान आएर समग्र राष्ट्रको अग्रगामी र गतिविधि असन्तुलित त हुँदैनन् भन्ने आशंका पनि जन्मिएका छन् ।

मुलुकको राजनीतिक अवस्थाले हरेक पक्षको मापन गर्दछ । लोकतान्त्रिक पद्धति र राष्ट्रप्रति समर्पित राजनीतिक आस्थाको विकास भएमा मुलुकलाई पर्यटकीय गन्तव्यसम्म पु¥याइ समृद्ध समाजको स्थापना गराउन सहज हुन्छ । अझै पनि नेपालको पर्यटन विकास र विस्तारको लागि प्रशस्त चुनौति रहेका छन् । २०७२ सालको भूकम्पले हाम्रा धेरैजसो सांस्कृतिक सम्पदा र धरोहर क्षतविक्षत भए । भूकम्पले क्षति पु¥याएका यस्ता सांस्कृतिक सम्पदाको पुनःनिर्माण हुन सकेको छैन । यस्तै समय–समयमा विशेष परिस्थितिले विश्व समुदाय समक्ष नेपालको छविमा धमिलोपन आएको छ । यस्ता धमिलोपन, शंका–आशंकालाई सुधार्न नेपालले ठोस कार्यक्रम ल्याउन सकेको छैन । विश्व समुदायलाई हरेक गतिविधि र सच्चा व्यवहारको विश्वास दिलाउन आवश्यक हुन्छ । ताकि उनीहरुले नेपालप्रति विश्वास गर्ने आधारहरु वृद्धि हुन् । पर्यटनको दीगो विकासका लागि विश्वजगतमा परेका नकारात्मक प्रभावको विश्लेषण गरी निराकरणको प्रयास गर्नुपर्छ ।

हाम्रो पर्यटनको विकास गर्न देखिएका मूलभूत चुनौतिहरुमा प्राचीन सम्पदा माथि भइरहेको अतिक्रमण, पर्यटकीय सूचनाको भरपर्दो र उचित व्यवस्थापन नहुनु, नियमित र सुरक्षित हवाइसेवाको प्रत्याभूति दिलाउन नसक्नु, पर्यटन क्षेत्रबाट प्राप्त लाभांशको उचित सदुपयोग र वितरण नहुनु, राज्यद्वारा पूर्वाधार विकासमा लगानी वृद्धि हुन नसक्नु, दलहरु दलगत स्वार्थबाट माथि उठ्न नसक्नु, पर्यटकीय सेवा तथा गन्तव्यको विविधिकरण हुन नसक्नु जस्ता कारणले समेत हाम्रो पर्यटनले गति लिन नसकेको हो ।

यसका अतिरिक्त सेवा–सुविधाको कमजोर गुणस्तर, प्रतिष्पर्धात्मक क्षमताको अभाव, सूचना प्रविधिको कमजोर गुणस्तर र पहुँच, मौलिक कला र संस्कृतिको संरक्षण र विकास हुन नसक्नु, पर्यटकीय चेतना र शिक्षा अभिवृद्धि हुन नसक्नु, व्यावसयिक र दक्ष जनशक्तिको अभाव हुनु लगायतका चुनौतिहरु समेत हाम्रासामु खडा भएका छन् । यी सबै किसिमका चुनौतिहरुको सम्बोधन गर्दै समयमै निराकरण गर्नेतर्फ लागि पर्यटन विकास र विस्तार, पर्यटकीय गन्तव्यका रुपमा नेपाललाई अग्रणी स्थानमा राख्न सकिन्छ ।

नेपाल संघीय ढाँचामा प्रवेश गरिसकेको छ । अहिले तीन तहका सरकार क्रियाशील रहेका छन् । यदि गर्न चाहने हो भने सबै सरकारलाई मातहतका अधिकार प्रत्यायोजन गरी क्षेत्रीय र स्थानीय स्तरको पर्यटन प्रवद्र्धन गर्ने सहज वातावरण निर्माण हुन सक्छ । यसका लागि नयाँ परिस्थिति र अन्तर्राष्ट्रिय परिवेश अनुकूल नयाँ पर्यटन नीति–निर्माण गरी लागू गर्न सकिन्छ । यस्तै भूकम्पबाट क्षतिग्रस्त भएका सबै प्रकारका संरचना र सम्पदाको तत्काल पुनःनिर्माण, सुरक्षित र भरपर्दो हवाइ यातायातको व्यवस्था, पूर्वाधार लगानीमा वृद्धि, पर्यटनको गुणस्तर र विविधिकरण, परम्परागत र मौलिककला संस्कृतिको संरक्षण र प्रवद्र्धन, व्यावसायिक दक्ष जनशक्ति उत्पादन, पर्यटन गन्तव्यको पहिचान र बजारीकरणमा जोड दिने हो भने नेपालको पर्यटनलाई गन्तव्यमा पु¥याउन सकिन्छ ।

पर्यटन विकासको लागि राज्यले पहिलो जिम्मेवारी लिनुपर्छ । सरकार जनमुखी हुनुपर्छ । दलीय स्वार्थबाट माथि उठ्नुपर्छ । नातावाद र कृपावादको दलदलमा फस्नु हुँदैन । पर्यटनको माध्यमद्वारा नै मुलुक समृद्ध हुनेमा एक इँटा थप्न सकिन्छ । यसका लागि संघीय संरचना अनुकूल पर्यटन क्षेत्रको पुनः संरचना हुन आवश्यक छ । प्रदेश, स्थानीय तह अनुसारको प्रोफाइल तयार गरी पर्यटन नीति २०६५ लाई तत्काल संशोधन गरी नयाँ नीति ल्याउन राज्यले कुनै कसुुर बाँकी राख्नु हुँदैन ।

त्यस्तै पर्यटन ऐन र कानूनमा परिमार्जन, सुरक्षित र भरपर्दो हवाइसेवाको सुनिश्चितता, पर्यटकीय सुरक्षा र सम्मान, कुटनीतिक नीतिको परिचालन, व्यावसायिक आचारसंहिताको कार्यान्वयन, पर्यटन बोर्डको विश्वसनियतामा वृद्धि, होटल आवास आदिको गुणस्तरमा सुधार, गन्तव्यको पहिचान, पूर्वाधार लगानीमा वृद्धि, वातावरणीय दिगोपनाको प्रत्याभूति, परम्परागत, मौलिक संस्कृतिको संरक्षण सम्वद्र्धन, पर्यटन मेलाको आयोजना र यस्ता आयोजनामा अन्तर्राष्ट्रिय सहभागिता, पदयात्रा तथा पर्वतारोहणका क्रममा हुने जोखिम न्यूनीकरणका लागि विशेष कार्यक्रमको घोषणा, पर्यटन क्षेत्रमा समुदायको सहभागिताको सुनिश्चितता, पर्यटनममा महिला सहभागिता, व्यावसायिक र दक्ष जनशक्तिको विकास गर्न सके नेपालको पर्यटनले नयाँ युगको प्रारम्भ गर्न सक्छ । पर्यटनलाई बढावा दिन विभिन्न क्षेत्रबाट सुझाइएका सुझाव र सरकारी स्तरबाट तय गरिएका कानून र नीति अहिलेसम्मको परिवेशमा औपचारिकतामा मात्र सीमित भएका छन् ।

पद्धति लोकतान्त्रिक भएको छ, तर यो पद्धतिभित्र रहेर काम गर्ने नेतृत्व तहलाई नै विश्वास गर्ने आधार दिनप्रतिदिन हराउँदै गएका छन् । जनप्रतिनिधि माथिको विश्वास हराएको छ । दलीय राजनीतिको चक्रव्यूह उल्टो दिशामा घुम्ने परिपाटीको विकास भयो भने मुलुक गन्तव्यमा पुग्न सक्दैन । परिवर्तनलाई संस्थागत गर्न अहिलेसम्म देखिएको नेतृत्वको नैतिकता नागरिकको अपेक्षासँग मेल खान सकेको छैन । दलहरुले यसमा व्यापक परिवर्तन गर्न नसके आर्थिक मेरुदण्डको एउटा आधार पर्यटन मात्रहोइन अरु कुनै–कुनै पनि क्षेत्रमा सुधार हुन सक्दैन । राज्यले, जिम्मेवार पक्षले आजैदेखि प्रण गर्नुपर्छ । कि परिवर्तन फेरिनको लागि मात्र होइन फेरिएको सकारात्मक अनुभूति दिलाउन पनि हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here