बन्धकीमा विवेक

१२ आश्विन २०७७, सोमबार मा प्रकाशित

नेपाली समाजमा ऋण खान वित्तीय संस्थाहरु वा व्यक्तिसँग धितो भनेर सम्पत्ती बन्धकीमा राख्ने चलन उहिलेदेखि अहिलेसम्म प्रचलित छ । ताकी घर व्यवहार, व्यापार–व्यवसाय गर्न सकियोस् । उहिले र अहिलेको अन्तर भनेको सम्पत्ती मात्र होइन कि विवेक पनि बन्धकीमा राख्ने चलन छ । समाज र देशमा देखिएको विकृती र विसंगतीबारे बोल्नु प¥यो भने हामी आफैं बोल्न नसक्नु यस कारणले हो । हामी समाजलाई सभ्य र सम्बृद्ध बनाउन चाहन्छौं । अनि के गर्ने, के नगर्ने भनेर निर्देशन भने अरुको पर्खेर बस्ने गर्छौं । अनि कसरी बन्छ समृद्ध समाज ।

नेपालमा राजनीतिक परिवर्तनहरु धेरै पटक भए । तर, हाम्रो प्रवृत्तीमा परिवर्तन हुन सकेन । निहीत व्यक्तिगत स्वार्थभन्दा हाम्रो मानसिकता माथि उठ्न सकेन । जसकाकारण विवेक बन्धक राखी दियौं । मानसिकतालाई दास बनायौं । दासले कुनै बिषयमा चिन्तन र चिन्ता गर्नुपर्दैन । केबल आदेश मात्र पालना गरे पुग्छ । यसकारण नेपालमा जुनसुकै शासन व्यवस्था या पार्टीको सरकार बने पनि हामी सर्वसाधारणले परिवर्तनको अनुभूति गर्न पाएका छैनौं  ।

किनकि हामीले त्यसको साँच्चै चाहना गरेनौं । यदि चाहना गरेको र पूरा नभएको भए बिरोधको स्वरहरु निकाल्थ्यौं । विद्रोहको राँको बाल्थ्यौं । त्यसो हामीले गरेका छैनौं । हिजो अधिकार मागेर हैन खोसेर लिनुपर्छ भन्ने हामी आज अधिकार माग्न पनि छोडी दियौं । किनकि हामीले राजनीतिक दलहरु र तिनका नेताहरुलाई आ–आफ्नो विचार र आस्थाको आधारमा आफ्नो विश्वास, भरोसा सुम्पिदिएर ढुक्क भएर बस्यौं । यसो गर्नु हाम्रो गल्ती होइन । हाम्रो विश्वास र भरोसालाई उनीहरुले बचाएर राख्न सकेको भए हामीले ठीक ग¥यौ भन्न सकिन्थ्यो, तर बिडम्बना सकेनन् । त्यसैकारण हामीले प्रजातन्त्र पुस्र्थापना भएको तीन दशक बितीसक्दा पनि न त राजनीतिक स्थिरता पाउन सक्यौं । न त व्यवस्था परिवर्तन भएको व्यवहारमा अनुभव गर्न सक्यौं । बरु उल्टै सुल्झिन कठिन देखिएको जातीय र धार्मिक द्वन्द्वको भँुमरीमा देश रुमल्लिएको हेरेर बस्न बाध्य भयौं ।

हाम्रो समाज र देशलाई सु–संस्कृत र समृद्ध बनाउने दायित्व यही समाजमा बसोबास गर्ने हामीहरु कै हुन्छ । यसका लागि सबैले आ–आफ्नो ठाउँबाट बिभिन्न भूमिका र जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्नुपर्ने हुन्छ । दलीय व्यवस्थामा दलहरुका उमेदवारहरु नै जनप्रतिनिधि बनेर समाज र देशलाई अगुवाई गर्ने हुन । त्यसैले पहिले दलहरुभित्र प्रजातान्त्रिक प्रणाली स्थापित हुनुपर्ने हुन्छ । हामी सबैलाई थाह छ कि हाम्रा राजनीतिक दलहरुले दलको बिधानलाई उल्टै हनमेर्नो बनाएका छन् । पोल्ने परिस्थितिमा मात्र बिधान प्रयोग गर्ने गर्छन् । दलहरुभित्र गुटहरु हावी छन् । इमानदार र सक्षम नेता कार्यकर्ताहरु किनारा लागेका छन् । उनीहरु निरीह बनेर गाउँ समाजमा बसेका छन् । हाम्रो मौनताले पार्टीभित्रका गुटहरुलाई सक्रिय रहन ऊर्जा दिइरहेको छ । पार्टीमा राम्रोलाई होइन हाम्रोलाई जिम्मेवारी दिने परिपाटी चलिरहँदा पनि हामी बिरोध गर्न सक्दैनौं । जनप्रतिनिधि बन्नका लागि पार्टीहरुले पठाउने उमेदवार छनौट गर्ने प्रक्रिया पनि प्रजातान्त्रिक छैन । उमेदवार हुन इच्छा राख्नेहरुका बीच आन्तरिक कुनै प्रतिस्पर्धा हुँदैन । न त छनौटको लागि कुनै निश्चित मापदण्ड बनाइएको हुन्छ । केबल पार्टीको नाममा गुटको नेताहरुले उमेदवार तोकेर पठाई दिने चलन छ । जसलाई फलानोले टिकट पाएछ भनेर हामी भन्ने गर्छौं । सबैलाई थाह छ कि टिकट पाउने कुनै विधि छैन । टिकट कसले पाउने हो भनेर छनौट गर्ने अधिकार पार्टीका कार्यकर्ताहरुलाई छैन । पार्टीहरु नैं अपारदर्शी ढङ्गले चलिरहेका छन् । अनि उनीहरुले पठाउने उमेदवार कसरी योग्य र जनप्रिय हुन सक्छन् । यस प्रकारको प्रणालीलाई कसरी प्रजातान्त्रिक भन्न सकिन्छ ।

नेपालमा भन्नलाई त बालिग मताधिकारको आधारमा निर्वाचन हुन्छ भन्ने गरिन्छ । बालिग भनेको उमेर पुगेको भन्ने हो । किनकि उमेर पुगेको व्यक्तिले स्वविवेक प्रयोग गर्न सक्छ । तर, के हामी नेपालीहरुले निर्वाचनको बेला आफ्नो स्वविवेक प्रयोग गर्ने गरेका छौं ? राम्रो उमेदवारलाई मतदान गर्ने गरेका छौं ? पक्कै गरेको छैनौं । कहिले पनि पार्टी प्रतिनिधि वा आफूलाई शासन गर्ने जनप्रतिनिधि निर्वाचन गर्ने क्रममा आफ्नो बुद्धिले देखेको हामीले गर्ने गरेका छैनौं । अर्काको निर्देशनलाई लाचार भएर पालना गर्ने गरेका छौं । अर्कोतर्फ यहाँ निर्वाचन पनि निष्पक्ष हुने गरेको छैन । नेपालीहरुमा रहेको गरिबी, वेरोजगारी र अशिक्षाको कारण यहाँका राजनीतिक दलहरुलाई निर्वाचनलाई आफू अनुकूल प्रयोग गर्न सजिलो भएको छ । सिधा, सोझा नेपाली मतदाताहरुको यही मजबुरी, बाध्यता र कमजोरीलाई पैसा, मासु–भात र अनेक प्रलोभनमा पारेर मतलाई आफ्नो पक्षमा पार्ने खेल, विकराल बन्दै गइरहेको छ । निर्वाचन ताका मतदाताहरुलाई आफ्नो कार्य योजनाहरु र विचार बाँड्नेले होइन पैसा बाँड्नेले मात्र चुनाव जितिरहेको हामीलाई राम्रोसँग थाह छ । अनि कसरी हामी भन्न सक्छौं कि मतदाताले स्वविवेकले प्रतिनिधि चयन गरेको हुन भनेर । यस्तो प्रणालीलाई बालिग मताधिकार कसरी भन्न सकिन्छ ? हामीलाई त आफ्नो पार्टीले चुनाव जिते मात्र पुग्छ । आफ्नो पार्टीले चुनाव जितेको अवस्थामा व्यक्तिगत फाइदा त हामी लिन सक्छौं होला । तर, हामीले कहिले विचार गरेर हेरेको छौं कि समाज र देशले के पायो भनेर ? यस प्रकारको गतिविधिले हाम्रो सन्ततीहरुको भविष्य के हुने हो भनेर कहिले हामीले चिन्ता र चिन्तन गरेका छौं र ? हाम्रो यही दास चरित्रको कारण राष्ट्र र जनताको माया गर्ने नेताहरु पछि परे । हाम्रो विवेकलाई बन्धक राख्नेहरु अघि बढे । यसकारण तमाम नेपालीहरुले सम्मान दिन सक्ने साझा राजनेता नेपालले आज सम्म पाउन सकेन ।

वि.सं. २००७ सालदेखि विभिन्न समयको आन्दोलनहरुमा धेरै युवाहरुले संघर्ष गरे, बलिदान दिए । अनगिन्ती युवाहरुले आफ्नो उर्बर समय र भविष्य पार्टीहरुलाई दिएर आफू रित्तो बने । तर, आन्दोलनका बेला सक्षम र योग्य देखिएका युवाहरु परिवर्तित परिवेशमा असक्षम र अयोग्य देखिन पुगेको । नातावाद कृपावाद हावी भयो । भ्रष्टाचार मौलायो । कानूनलाई बलियोले दुरुपयोग गरे । बाठाले सबैको विवेकलाई बन्धकीमा राखे । यसैले पार्टीभित्रको युवाहरु स पार्टीलाई स्थापित गर्न, प्रजातन्त्र पुनस्र्थापना गर्न रगत, पसिना बगाएका प्रबुद्ध इमानदार नेता कार्यकर्ताहरु, अब कहिलेसम्म मौन बस्ने हो ? पार्टीभित्रको निरंकुशता, आदेश र अप्रजातान्त्रिक गतिविधिको साक्षी बनेर कहिलेसम्म बस्ने हो ? हिजोका युवाहरुले के पाए भनेर देखे कै छ । त्यसैले अबका युवाहरुले कुनै प्रलोभनमा परेर आफ्नो भविष्य अन्धकार नबनाउँ । पार्टीमा आबद्ध प्रबुद्ध व्यक्तिहरुले पनि मरेपछि पार्टीको झण्डा ओड्ने लोभ नराखौं । हिजो त्यागको भावना बोकेर देश र जनताको लागि उर्बर समय दिनुभयो । बरु आफ्नो जीवन रहँदै भावी सन्ततीका लागि अन्तीम पटक पार्टीभित्र न्यायको लागि संघर्ष गरौं ।
हामीलाई थाह छ कि हामी सबै नेपालीको विवेक बन्धकीमा छ । पार्टीको स्थानीय तहदेखि क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रसम्ममा आम सर्वसाधारण, समर्थक, कार्यकर्ता तथा नेताहरु सबैको विवेक एउटा चेन प्रणालीमा बन्धकीमा छ । अनि सबै पार्टीहरुका केन्द्रीय तहका नेताहरुले आफू शक्तिमा रहनका लागि आ–आफ्नो विवेक विभिन्न बिदेशीहरु समक्ष बन्धकीमा राखेका छन । नाटक गर्नुपर्दा बिदेशी प्रभु भनेर गाली त गर्छन् । तर, उनीहरु कै इशारामा नाँच्ने गर्छन । आ–आफ्नो व्यक्तिगत र परिवारवादमा चुर्लुम्म डुबेको नेपालको गुटको राजनीतिलाई नतोड्ने हो भने देश कै भविष्य अनिश्चित छ ।

यदि हामी आफू र आफ्नो सन्तानको माया गर्छौं भने आफ्नो समाज र देशको माया पहिले गर्नुपर्छ । यसका लागि हामी आफैंले विवेक प्रयोग गर्न हिम्मत गर्नुपर्छ । ठीकलाई ठीक र बेठिकलाई बेठिक भन्न सक्नुपर्छ । आँखा चिम्लेर कुनै बिषयमा समर्थन गर्न छोड्नुपर्छ । कसैको अन्धभक्ति गर्ने बानी हटाउनुपर्छ । चाहे त्यो सर्वसाधारण नेपालीले होस् । चाहे दलका नेता कार्यकर्ताहरुले होस् । चाहे त्यो बिद्यत वर्ग वा राज्यको चौथो अङ्ग मानिएको सञ्चार जगतले होस् । सबैले विवेकलाई बन्धकीबाट निकाल्नु पर्छ । स्वविवेक प्रयोग गर्नुपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here