कहिले होला कोरोनाको अन्त्य ?

१३ आश्विन २०७७, मंगलवार मा प्रकाशित

कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको पनि महिनौं भइसक्यो । तर, यो महामारीले बिदा लिने संकेत अहिलेसम्म देखाएको छैन । यस महामारी कहिले शान्त होला त ? सबैको मन मष्तिस्कमा यही प्रश्नले डेरा जमाएको छ । सन् २०२० को शुरुदेखि नै विश्वका हरेक मानिसको जिज्ञासाको विषय बनेको कोरोना महामारी समग्रमा मानव जाति र मानव सभ्यताका लागि चुनौतिको विषय बनेको छ । यसको उचित र सन्तोषजनक अवतरणको प्रतिक्षामा छ समग्र विश्व ।
विद्यालय बन्द छन्, लामो यात्रा र पर्यटनमा बन्देज छ, ठूलो संख्यामा भेला हुन पाइँदैन, सभा सम्मेलन, भेटघाट, सेमिनार, छलफल सबै ठप्प छन् । व्यापार–व्यवसाय, दैनिक ज्यालादारीमा काम गर्ने जनसंख्या सबैको आयआर्जन ठप्प छ । विज्ञदेखि सरकारसम्म यस महामारीको नियन्त्रण र उपचारका विकल्पहरुको खोजीमा व्यस्त छन् ।

विश्व स्वास्थ्य संगठन र सरुवा रोग विशेषज्ञहरुको मत र धारणा पनि एकआपसमा बाझिने किसिमको आइरहेको परिप्रेक्षमा के विश्व स्वास्थ्य संगठनले भने जस्तै यही समर सिजनसम्ममा यस महामारीबाट हामीले छुटकारा पाउनेछौँ त ? कतिपय विशेषज्ञका अनुसार यो महामारी केही दशक अगाडिको सार्स महामारीसँग तुलना गर्दै सिमित समयभन्दा लामो नरहने विश्वास गर्दछन् । कतिपयले यो भाइरस गर्मी मौसममा बाँच्न नसक्ने भन्दै गर्दा भारत, ब्राजिल जस्ता गर्मी मुलुकमा संक्रमणले तीव्रता लिनु आफैमा विरोधाभाषी देखिन्छ ।

यस प्रकारका विश्लेषण र धारणा खासै प्रमाणित र सत्य सावित हुन नसकिरहेको अवस्थामा यस प्रकारका धारणाहरुलाई राजनीतिक टिप्पणी मात्र भन्दा फरक नपर्ने कतिपयको तर्क रहेको छ । साथै एउटा निश्चित रुप पार गरेपछि आफैं यस महामारीले छाड्दै जान्छ भन्ने कतिपयको बुझाइ पनि यथार्थमा असत्य नै सावित भयो ।

बटलर विश्वविद्यालयका पब्लिक हेल्थ स्पेसियालिष्ट सहप्राध्यापक ओग्बोन्नाया आमेन्काको विचारमा पनि कुनै पनि फ्लू चिसो मौसममा शुरु भएर गर्मी मौसममा अन्त्य हुन्छन् । तर, यहाँ त समर सिजन सकिएर विन्टर सिजन बित्ने बेला भयो । तर, दिनानुदिन झन् बढ्दो क्रममा रहेको यस महामारीले अझ कतिको ज्यान लिने हो हेर्न बाँकी नै छ । यस बाहेक अफ्रिकी मुलुकहरुमा पनि संक्रमण देखिनुले यस भाइरसलाई तातो वा चिसोले त्यति फरक पार्ला भनेर भन्न सकिने अवस्था छैन । बरु विज्ञहरुले सरकारहरुलाई दिएको सुझाव बमोजिम स्वास्थ्य सम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्दै हाम्रो दैनिक व्यवहार र आनिबानीमा चलाखीपूर्ण सुधार गरेमा संक्रमणको आयु घट्न सक्छ ।

त्यसो त अहिलले अपनाइएका प्रतिबन्धात्मक रणनीतिहरु दिगो नरहने र यसले सामाजिक र आर्थिक रुपमा डरलाग्दो क्षति हुने संकेत देखिसकेको छ । यस्तो परिस्थितिमा संसारबाट यसको उचित निकासको बाटो खोज्ने काम भइरहेको छ । तर, कोरोना भाइरसको संक्रमण फैलन कुनै कमी भएको छैन । यो महामारी विश्वका लागि वैज्ञानिक र सामाजिक चुनौति हो । यस विषयमा विश्वका ठूला शक्तिराष्ट्रहरु पनि मार खाइरहेको अवस्थामा अब कहिलेसम्म महामारीले बिदा लेला त ? सबैको चासोको विषय बनेको छ ।

यो परिस्थितिबाट बाहिर निस्कन विज्ञहरुले मुख्यतया तीन वटा उपायहरु सुझाएका छन् । खोपको विकास गर्नु, रोग प्रतिरोध क्षमता बढाउनु र दैनिक व्यवहार र आनीबानीमा व्यापक परिवर्तन गर्नु । तर, यी तीन उपायहरु मध्ये प्रभावकारी उपाय भनेको खोपको विकास नै हुन् । तर, यसको परीक्षण र प्रयोग गर्न करिब एक वर्षभन्दा बढी नै लाग्ने देखिन्छ । किनकि खोपको विकास अझै पनि शुरुवाती चरणमा छ । बीबीसीमा उल्लेख भए अनुसार कम्तिमा १२ देखि १८ महिनासम्ममा खोप विकास र परीक्षण भए पनि यसको आमस्तरमा पुग्न अवष्य पनि अर्को वर्ष दिन लाग्छ । अर्को ठूलो उपाय भनेको रोग प्रतिरोध क्षमता बढाउनु हो । केही विज्ञहरुका अनुसार अझै केही बर्ष यो संक्रमण कायम रहने हो भने मानव शरीरमा यसको प्रतिरोधी क्षमता स्वतः बढ्दै जाने हुन्छ । तर, त्यतिबेरसम्ममा यो महामारीले धेरै मानिसको ज्यान दिइसकेको हुनेछ ।
बरु तेस्रो उपायको रुपमा रहेका मानिसको दैनिक व्यवहार र आनीबानीमा परिवर्तन गरेर यस महामारीको संक्रमणबाट धेरै हदसम्म बच्न सकिन्छ । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु भने झैं यस उपायले केही हदसम्म हामीलाई यस भाइरसबाट बचाउन मद्दत गर्छ । तर, यो उपचार विधि नभएर रोकथाम विधि मात्र हो । तर, चीनको वुहानमा जस्तो उच्च सतर्कता अपनाउन सके यो भाइरसबाट बच्न सकिने उदाहरण प्राप्त भएको छ । यस संक्रमणको आयु आजसम्म कसैेले ठ्याक्कै यति नै हो भनेर कसैले यकिन गर्न सकेका छैनन् । तथापि यसलाई नियन्त्रण गर्न सम्भव रहेको र दिगो समाधानका दिशामा विश्व कै ध्यान आकृष्ट भएको अवस्था छ । यो विश्व मानवका लागि ज्वलन्त विषय हो र यस ज्वलन्त विषयमा सबैको ज्वलन्त प्रश्न भनेको यसको अन्त्य कहिले हुने हो ? भन्ने नै रहेको छ ।

इतिहासलाई फर्केर हेर्दा विगतमा दुई हजार वर्षयता प्लेग रोगको महामारी संसारले खेपेकै हो । त्यस्तै अठारौँ शताब्दीको मध्यतिर विफरले पनि महामारीको रुप लिएकै हो । सन् १९१८ मा फैलिएको इन्फ्लुएन्जा महामारीपछि पनि क्वारेन्टाइन, सामाजिक दूरी जस्ता शब्द अभ्यासमा आएकै हुन् । विगतका यस्ता महामारीको अन्त्य भए झैँ कोरोना महामारीको पनि अन्त्य होला त ?

विगतका महामारी नासिए जस्तै यसपटकको महामारी पनि नासिएला नै तर कोरोना महामारीलाई स्वास्थ्य विज्ञानलेभन्दा पहिले मानिसले सामाजिक तवरले नष्ट गर्न सक्छन् । यसको खोप वा औषधि आउन लाग्ने समय पूर्व मानिस सामाजिक दूरी र लकडाउनबाट दिक्क मान्नेछन् र यसलाई महामारी मान्न छाडी दिनेछन् । जसले गर्दा मानिसको रोग प्रतिरोध क्षमता कोरोना भाइरस माथि विस्तारै बलियो हुँदै गएर भाइरसको प्रभाव कम हुनेछ ।

मानिसहरुमा उत्पन्न नैराश्यता र थकानले सामाजिक र मनोवैज्ञानिक असरहरु देखिन थालेको परिस्थितिमा मानिसहरु जसरी पनि आफ्नो सामान्य दैनिक जीवनमा फिर्ता जान चाहन्छन् र जसको शुरुवात भइसकेको पनि छ । मानिसहरु स्वतः स्फूर्त रुपमा गाडी, पसल, व्यवसाय, कार्यालय, उद्योग कलकाखाना खोल्न थालिसकेका छन् । तसर्थ, अब यसको अन्त्यबारे सोच्ने बेला आइसकेको छ । नागरिक समाज र बुद्धिजीवी वर्गले कोरोना महामारीको सामाजिक अन्त्यबारे सोच्न थालिसकेको छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here