राजनीतिमा शक्ति वासना

१३ आश्विन २०७७, मंगलवार मा प्रकाशित

ग्रहणमा अधि जोडएपछि ‘अधिग्रहण’ र यो शब्दले आफ्नो स्वामित्वमा रहेका कुनै पनि वस्तु सरकारले ग्रहण गर्न सक्छ । त्यस्तै नायकमा अधि जोडिएपछि ‘अधिनायक’ यसले पनि त्यस्तै अर्थ दिन्छ । सबै क्षेत्रमा राजनीतिमा अर्थनीतिमा, शिक्षानीतिमा, सञ्चारनीतिमा अरु सबैको नायकतत्व हरण गरेर आफैंले नायकतत्व ग्रहण गर्नु नै अधिनायक भनिन्छ । यसलाई सर्वसत्तावाद भनेर बुझ्दा पनि हुन्छ ।

वर्तमान ओली सरकार यही बाटोमा अग्रसर हुँदैछ । प्रधानमन्त्री ओलीको यो पथले राष्ट्रमा अस्तव्यस्ततालाई निम्तो दिन्छ र यसको नतिजा अर्थात् भोलि ओलीपथले आफू र आफ्नो सरकार स्थापित गर्नुभन्दा पनि अर्कै शक्तिलाई स्थापित गर्ने मार्गप्रशस्त गर्दैछन् जस्तो देखिँदैछ । अहिलेको नेकपा सरकारको अधिनायकवाद, सर्वसत्तावाद, प्रवृत्तिले राजशाही व्यवस्थालाई समेत बिर्साउने गरी आफ्नो नेतृत्वको सरकारको परिचयको स्वरुप बनाउँदैछ ।

राजनीतिमा शक्तिको वासना पाल्ने मानिस भौतिक वासना पाल्नेभन्दा धैरै नै ज्यादा खतरनाक, क्रुर, हिंस्रक र स्वार्थी हुन्छन् । यिनीहरुलाई मात्रै शक्ति चाहिन्छ । उनीहरु महान तथाकथित नेता बन्न चाहन्छन् । सहज बहुमत हँुदाहँुदै अन्य राजनीतिक दललाई समेत मन्त्रिमण्डलमा समावेश गरेर दुईतिहाई मत पु¥याएको थियो । यो नै शक्ति वासनाको प्रमाण हो र यस्तो वासना पाल्ने राजनीतिक पार्टीको यस संसारमा कालान्तरमा पतन भएको पनि देखिएको छ । यिनीहरुमा कस्तो भावना हुन्छ भने सब हामीहरुको अगाडि शिर झुकाउन, आफूलाई राष्ट्रनायक घोषित गरुन् । यस्तै विकृत मानसिकता राजनीतिमा शक्ति वासना पाल्ने शासकमा देख्न पाइन्छ । अर्कोतर्फ संविधानमा भएको व्यवस्था अनुसार संसदमा र प्रदेश सभामा सभामुख र उपसभामुख एउटै पार्टीको रहने व्यवस्था छैन ।

एमाले र माओवादी एकीकरण पूर्व त ठीकै थियो, त्यसपछि एउटै पार्टीको रहेको हुँदा एक पद छाड्नुपर्ने संवैधानिक व्यवस्थामा नेकपामा जन्मिएको राजनीतिक घटनाक्रमका कारणबाट तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि आठ महिनादेखि रिक्त रहेको छ । सो पदमा उपसभामुख नियुक्त नहुनु पनि दुबै पदमा नेकपा नै रहेको अर्थमा बुझ्नुपर्छ र यो पनि शक्ति वासना नै हो यो कुरा प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले किन बुझिरहेको छैन ? मूल कुरा चैं नेकपा पार्टीको शक्ति वासना नै हो र यस्तो वासना अब सर्वत्र देखिँदै जानेछ, जुन कुरा लोकतन्त्रको लागि खÞतरा को संकेत हो ।

सरकार प्रमुख हुनेले राजदण्डको प्रयोग गर्छ । तर, त्यो शक्ति वासना पाल्नेले चैं राजदण्ड गलत ठाउँमा प्रयोग गर्छन् र त्यही हुनाले नै तुलसीदासलाई अकबरले कैद गरे । मुगÞलहरुबाट शिखका दश गुरुले पनि राजदण्ड झेले, रोमन साम्राज्यमा पनि एक जनालाई सुलीमा बाँधेर राजदण्ड सुनाइ सुलीमा झुण्ड्याइयो । नेल्शन मण्डेलाले पनि राजदण्ड झेले र पुरै जिन्दगी जेलमा बिताए । चीनमा नै नोबेल पुरस्कार प्राप्त गरेका मानिसहरुले राजदण्ड कै कारण सम्पूर्ण जीवन कारागारमा बिताउनु प¥यो । अहिले प्रधानमन्त्री केपी ओलीमा यही शक्ति वासना पलाएको र पाल्दै गरेको देखिन्छ । यही राजदण्डको भय, डर र त्रास देखाएर विपक्षी दलका नेताहरुलाई निस्तेज गर्न खोजिँदैछ । अहिले यही राजदण्ड कै बलबुतामा आफ्नो राज्यसत्ता सञ्चालन गर्न लागीपरेका छन् । यस्तो अवस्थामा न्याय, कानूनी अर्थात् कानूनी राज्य त्यो राजदण्डसँग हार्दै जान्छ ।

प्रधानमन्त्रीमा शक्ति वासना छ र त्यो वासनाको उदाहरण प्रधानमन्त्रीको कार्यालयमा गृहको गुप्तचर विभाग, अर्थको राजस्व अनुसन्धान विभाग लगायतका विभागहरु राख्नु शक्ति वासनाको प्रमाण हो । यी सबै शक्तिको भोक हो वासना हो । यस्तो भोक र वासना पाल्ने मानिस कहिल्यै तृप्त हुँदैनन् । यो भोक बढ्दै जानेछ, जस्तो मानव अधिकार आयोग, पत्रकार आचारसंहिताका कुरा यिनै शक्ति वासनाले ल्याएको कुरा हुन् ।

चाहे राष्ट्र होस् चाहे सरकार यिनीहरुको राजनीतिमा मुख्य उद्देश्य शक्ति प्राप्त गर्नु हो । त्यो शक्तिको प्रभावमा, दबावमा आफूलाई स्थापित गर्दै जानु हो । आफ्नो विचारलाई लागू गर्दै जानु हो । तर, यहाँनेर त्यो शक्ति कसरी प्रयोग भइरहेछ र किन प्रयोग भइरहेछ, त्यो चैं राजनीतिक विश्लेषकहरुले, विचारकहरुले, मानव अधिकारवादीहरुले अध्ययन गर्ने नै छन् । अहिले नेकपाको शक्ति वासनाले गरेको राज्य सञ्चालनलाई वर्तमान नेपालको राजनीति मूल्यहीन भन्नुपर्ने हुन्छ । मूल्यहीन राजनीति मात्रैको भविष्य छैन र भोलि माथि उल्लेख गरिएका राजनीतिक विश्लेषक, विचारक र मानव अधिकारवादीको पनि यही निष्कर्ष आउँछ !

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here