निरक्षरको सङ्ख्या घट्दै

0
394

logo-of-purwanchal

इलाम,मंसीर २० । इलाम जिल्लामा निरक्षरको सङ्ख्या घट्दै गएको पाइएको छ । साक्षर नेपाल अभियानअन्तर्गत साक्षरता कक्षा सञ्चालन गरेको तीन वर्षमा ३२ हजार निरक्षरलाई साक्षर बनाइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

जिल्ला शिक्षा कार्यालयले पेस गरेको एक तथ्याङ्कअनुसार जिल्लाको एक नगरपालिका र ४८ गाविसमा ४० हजार २३३ जना निरक्षर रहेकामा हाल आएर आठ हजार ५३३ जना मात्र निरक्षर रहेका छन् ।

आर्थिक वर्ष २०६७÷६८ देखि जिल्लामा निरन्तर रूपमा साक्षरता कक्षा सञ्चालन गरिएको छ । पहिलो वर्ष १३ वटा गाविस, दोस्रो वर्ष आव २०६८÷६९ र तेस्रो वर्ष आव २०६९÷७० मा ११÷११ वटामा गरी हाल ३५ गाविसमा साक्षरता अभियान सञ्चालन भइसकेको छ । हालसम्ममा ३२ हजार निरक्षरलाई साँवा अक्षर चिन्ने, सही गर्न जान्ने र सामान्य चिट्ठीपत्र लेख्न सक्ने बनाइएको जिशिकाका प्रेमकुमार गौतमले बताउनुभयो ।

चालु आव २०७०÷७१ मा फाकफोक, नयाँबजार, नामसालिङ, शान्तिपुर, सोयाङ, धुसेनी, चुलाचुली, इभाङ, इरौंटार, जमुना, कन्याम, लक्ष्मीपुर, महमाई र बाँझो गाविसमा साक्षरता कक्षा सञ्चालन गर्न लागिएको जिशिकाले जनाएको छ । यी गाविसमा आठ हजार ५३३ जना निरक्षर रहेको पाइएको छ ।

अभियान सञ्चालनपछि जिल्लालाई निरक्षरता उन्मूलन जिल्ला घोषणा गरिने गौतमले जानकारी दिनुभयो । जिल्लामा ८३ प्रतिशत साक्षरता दर रहेको छ । ‘आजै सिकौँ साउँ अक्षर–नरहौँ कोही निरक्षर’ भन्ने नाराका साथ चालु आवमा साक्षरता अभियान सञ्चालन हुन लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here