विर्तामोड।
नेपाली कांग्रेस झापाले विभिन्न समयमा वेग्लावेग्लै पार्टी परित्याग गरी पार्टीमा प्रवेश गरेका र नेपाली कांग्रेस केन्द्रिय समितिको निर्णय बमोजिम क्रियाशिल सदस्यता प्राप्त गरिसकेका तथा विदेशी भूमिमा रहेर पनि नेपाली कांग्रेस झापालाई महत्वपूर्ण सहयोग पु¥याएका ६ जनालाई आमन्त्रित जिल्ला सदस्यमा मनोनयन गरेको छ । यसैगरी २ जनालाई सल्लाहकार सदस्यमा मनोनयन गरिएको छ ।
यसरी मनोनित हुनेहरुमा विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरी क्रियाशील सदस्यता प्राप्त गरिसकेका घनश्याम चौधरी, महेन्द्रभूषण शाह, पदमप्रसाद प्रसाई, चन्द्रप्रसाद गिरी रहेका छन् ।
यसैगरी अमेरिकाको लस एन्जल्समा बसेर नेपाली कांग्रेसको नीति अनुरुप संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुभएका मदन पाठक र डेनमार्कको कोपनहेगनमा रहनुभएका गोविन्द पौडेललाई आमन्त्रित जिल्ला सदस्यमा मनोनयन गरिएको नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार कमल गाउँपालिका निवासी दिलिपकुमार राई र भद्रपुर निवासी विश्वनाथ श्रेष्ठलाई सल्लाहकार सदस्यमा मनोनयन गरिएको छ । यसैबीच जिल्ला पार्टी कार्यालयमा बुधबार आयोजित संक्षिप्त कार्यक्रमका बीच आमन्त्रित जिल्ला सदस्यमा मनोनित चौधरी र शाहलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले मनोनयन पत्र प्रदान गर्दै स्वागत गर्नुभयो ।

स्वागत तथा शुभकामना दिनुहुँदै केन्द्रीय सदस्य शिवाकोटीले सबै आमन्त्रित सदस्यहरुलाई नेपाली कांग्रेसको नीति बमोजिम लोकतान्त्रिक विकासमा महत्वपूर्ण भूमिका खेल्न आह्वान गर्दै कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनाली, क्षेत्र नं २ प्रदेश क का सभापति धर्म लक्सम्बा, ट्रेड युनियन कांग्रेस झापाका सभापति यज्ञप्रताप अधिकारी, नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेली, नेपाली कांग्रेस विर्तामोड नगर सभापति भोजराज सिटौला लगायतको उपस्थिति रहेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।

























