संस्कार, चेतना र प्रणालीका लागि युवा

0
1869

युवा शब्दको कुनै निश्चित÷प्रमाणित परिभाषा छैन । युवालाई एउटा धारले उमेरका आधारमा ब्याख्या गर्ने गरेका छन् भने अर्को धारले व्यक्तिको मानसिक तथा शारीरिक अवस्थाका आधारमा परिभाषित गर्ने गरेका छन् । त्यसैगरी नेपाली शब्दकोषका अनुसार युवा भनेको सामान्यरुपमा १६ बर्षदेखि ४० बर्षका उमेर समूह भन्ने बुझिन्छ ।
अंग्रेजीमा एउटा भनाई छ– ‘एज इज जस्ट ए नम्बर योङ इज फिलिङ’ यसरी युवालाई पहिचान गर्दा प्रगतीशील विचार बोकेका शारीरिक मानसिकरुपले सक्षम व्यक्तिलाई युवा भन्न सकिन्छ । राजनीति र युवा एकअर्कामा अन्तरनिहीत हुन्छन् । जहाँ राजनीति छ त्यहाँ युवा हुन्छन् भने युवा भएको ठाउँमा प्रगतीशील राजनीति हुन्छ । राजनीतिलाई मौरीको धारको रुपमा मान्दा युवा त्यस धारमा फूलको रस भर्ने मौरी हुन् ।

नेपालको वर्तमान परिस्थितिलाई नियाल्दा युवाले राजनीतिलाई डिभोर्स दिएको जस्तै अवस्था छ । अधिकांश युवाहरुको मस्तिष्कमा राजनीति प्रति वितृष्णा भरिएको छ । उनीहरु राजनीतिलाई फोहोरी खेल, पैसावालाले गर्ने, हाम्रो हैसियतभन्दा माथिको विषयवस्तु हो भनी हेर्ने गरेको पाउन सकिन्छ । युवा राजनीतिबाट टाढा भाग्दै जानुमा हाम्रो सामाजिक परिवेश, संस्कार, चेतना उपल्लो दर्जाको नेता तथा स्वयम् युवाको नै दोष छ । राजनीति भनेको आफू सत्तामा गई आफ्नो विचार, सोच, एजेण्डा अनुरुप जनतालाई शासन गर्ने पद्धती हो । लोकतन्त्रमा सत्ता प्राप्तिको प्रमुख आधार चुनाव हो, त्यही चुनाव हाम्रो खर्चिलो भड्काउ भएको छ । जसले गर्दा एउटा युवाले यस्तो चुनावी खेललाई चिर्न सक्ने आर्थिक समाथ्र्य राख्न मुस्किल भएकाले राजनीतिक चिन्तनको जन्म हुन नपाउँदै मर्ने गरेको छ ।

युवा राजनीतिबाट बहिर्गमन हुनमा हाम्रा सम्माननीय शीर्ष नेताहरुको पनि दोष छ । जसरी एउटा बूढो रुखको छायाँले त्यस वरपरको स–साना रुखहरु बढ्न नपाएर सुकेर जान्छन्, यसरी नै उदीयमान, वैचारिक युवाहरु पनि राजनीतिबाट विस्थापित हुँदै गएका छन् । त्यस्तै गरी हाम्रो सामाजिक मनस्थिति पनि राजनीति विरोधी बन्न पुगेको छ । जस्तै तपार्इं बाटोमा हिँडिरहनु भएको छ, कुनै पुरुषले महिलामाथि अभद्र व्यवहार गर्छ, त्यसपश्चात तपाई त्यसको विरोध गर्नुहुन्छ भने त्यसबखत तपाई माथि नेता बन्छस्– भन्दै तपाईकै आमा, बुबा, साथी–भाइले भन्ने छन् । यस प्रकारको सामाजिक चेतना, संस्कार र प्रवृत्तिले समाजलाई भविष्यमा अझ अन्धकारमा धकेल्ने छ । राजनीतिबाट वैचारिक व्यक्ति विस्थापित हुँदै असक्षम, पुँजीपतिहरुको कब्जामा समग्र राजनीति पुग्नेछ ।

युवा राजनीतिमा किन आउने ? यो प्रश्न सिर्जित भइरहँदा तपाईलाई लाग्न सक्छ, नेपालमा विभिन्न दलका भातृ संगठनहरुमा युवाको सहभागिता त उल्लेख्य मात्रामा छ । उनीहरु त राजनीति प्रणाली मै छन् ! हो, राजनीतिक दलका भातृ संगठनहरुमा युवाको प्रतिनिधित्व उल्लेख्य मात्रामा हुनु एकदमै सकारात्मक पाटो हो । तर, अहिलेको परिस्थिति नियाल्दा उनीहरुलाई युवा भन्न सक्ने अवस्थामा हामी छैनौं । युवामा हुनुपर्ने चेतना, प्रवृत्ति, कार्यशैली उनीहरुमा निकै कम छ । उनीहरु त नेता, गुटको भक्तिमा लागेको स्पष्टसँग देख्न सकिन्छ । युवाले त जहिल्यै विपक्षीको भूमिका निर्वाह गर्न सक्नुपर्छ । सहीलाई सही र गलतलाई गलत भन्ने सामथ्र्य राख्नुपर्छ ।

अलिकति इतिहासलाई नियालेर हेर्दा रुसी क्रान्तिका नायक लेलिन, चिनियाँ क्रान्तिका नायक माओदेखि नेपाली प्रजातान्त्रिक योद्धा वीपी कोइराला, त्यस्तै हालका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुश शासकविरुद्धको आन्दोलनको शुरुवात युवा अवस्थामै गरेका थिए । क्रान्तिको संवाहक युवा नै हुन् । हरेक आन्दोलनको अग्रपंक्तिमा उभिन सक्ने आँट, साहस, सामथ्र्य युवामा नै हुने भएकाले युवा राजनीतिमा आउनु जरुरी छ ।
युवा अवस्थामा व्यक्तिमा सबैभन्दा प्रमुख चुनौतिका रुपमा आफ्नो ‘केरियर’ हुने गर्दछ । सरल तबरले नियाल्दा नेपालमा प्रधानमन्त्री बन्नु त सबैभन्दा राम्रो ‘केरियर’ हो नि ! तपाईले प्रहरी निरीक्षकको परीक्षा पास गर्नुभयो भने प्रधानमन्त्रीको निजी सचिव हुन सक्नुहुन्छ । कम्प्युटर इञ्जिनियरिङ गरेमा प्रधानमन्त्रीको ट्वीटर, फेसबुक….हो । त्यस्तै निजामतिमा जाँदा समेत सम्बन्धित मन्त्रालयको मन्त्रीको मातहतको कर्मचारी । तर, यसो भनिरहँदा अबको युवा पैसा, अर्थोपार्र्जनका लागि होइन, समाजको व्यवस्था बदल्नको निम्ति राजनीतिमा आउनुपर्छ ।

व्यक्तिलाई उसको छायाँले रातको समयमा त छाड्छ । तर, राजनीतिले रातको समयमा समेत पछ्याउने गर्दछ । हामी राजनीतिबाट जति टाढा भाग्न खोजे पनि राजनीति नभएको स्थान परिवेश नभएको ठाउँ पुग्न सक्दैनौं । तपाईको जन्म हुनु अघिदेखि तपाईको मृत्यु पश्चातसम्मका सम्पूर्ण विषय राजनीतिबाट निर्धारित हुन्छन् । तपाईले पोलियो खोप पाउने÷नपाउने, कस्तो शिक्षा हासिल गर्ने ? कुन तहसम्म अध्ययन गर्ने ? कस्तो रोजगारी गर्ने ? कस्तो व्यापार गर्न पाउने ? कहाँ बस्ने ? के खाने÷नखानेदेखि लिएर तपाईको मृत्युपश्चातको अन्त्येष्टि कसरी गर्ने समेत राजनीतिबाट निर्धारित हुन्छ । यसरी हाम्रो जीवनमा राजनीति हावी भइरहँदा तपाईले पनि राजनीति बुझी आफ्नो राजनीति निर्धारण गर्न जरुरी छ ।

तपाई आफूलाई युवा भन्नुहुन्छ भने तपाईको वरपर घटेका घटनाले तपाईलाई प्रभाव पार्नुपर्छ । त्यसपश्चात त्यस विषयवस्तुको अध्ययन गरी सत्यलाई अगाडि ल्याउने ल्याकत तपाईले राख्न सक्नुपर्छ । हाम्रो देश लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भएको एकदशक बितिसक्दा समेत राजनीतिक प्रवृत्ति निरंकुश, सत्ता मोहित छ । विकासको मेरुदण्डमा रहने युवापुस्ता उपेक्षित छ । उनीहरुलाई चुनावी प्रक्रियामा एकजुट गर्ने, त्यसपछि राजनीतिबाट लखेट्ने प्रवृत्ति छ ।

हामीलाई केबल भोटरका रुपमा हेरिनु दुर्भाग्य हो । हाम्रो देश विकासका दृष्टिले निकै पछाडि परेको छ । शिक्षा, स्वास्थ्य, सुरक्षित आवास, रोजगारीका मुद्दा देशमा दर्बिलो ढंगले उठ्न जरुरी छ । त्यस्ता मुद्दालाई अब संसद, सडकमा उठाउने जिम्मा युवाको नै हो । युवा एक हुन सकेमा मात्र हामीले सोचेको समृद्धि हाम्रो पालामा प्राप्त गर्न सकिन्छ ।

अन्त्यमा, चिनियाँ जनतान्त्रिक महानायक माओत्सेतुङले भनेका थिए– ‘युवाहरु हो, यो संसार तिमीहरुको हो, हुन त हाम्रो पनि हो, तर अन्त्यमा विश्लेषण गर्दा तिमीहरुको नै हो ।’ यही भनाइलाई शिरोधार्य गर्दै अबको समयमा युवा जोडतोडले राजनीतिमा आउन जरुरी छ । देशमा नयाँ किसिमको राजनीतिक संस्कार, चेतना, प्रणाली स्थापना गर्न अत्यावश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here