रामबाबु सुवेदी
म सरसफाई एवम् फोहोर ब्यवस्थापन हुनुपर्छ भन्ने माग गर्ने व्यक्ति हूँ । नगरपालिकाले उचित फोहोर व्यवस्थापन गरोस् जस्तो लाग्छ । हाम्रो घरबाट दैनिकरुपमा निस्कने फोहोर संकलन गर्दा कुनै दिन त नगरपालिकाको गाडी आउला र गाडीमा हालौंला भन्ने सोच्दै थुपार्ने गर्छौं । बजार आउँदा सडकको दायाँ–बायाँ फोहोरको थुप्रो देख्दा बिर्तामोड कति अचेत र अपरिपक्व नागरिकको बसाइ भएको ठाउँ रहेछ जस्तो भान हुन्छ ।
पहिला–पहिला घरहरु त्यति थिएनन् । घर छेउको जग्गा खाली हुँदा जलाउन मिल्ने फोहोर जलाउने, कुहिने फोहोर गाड्ने र नकुहिनेलाई कतै व्यवस्थापन गर्न सहज थियो । तर, अहिले घरहरु बढ्दै गएका छन् । खाली खेतमा सबै कंक्रिटको जंगल छ । सड्ने र गल्ने फोहोर गाड्न पाइँदैन, जलाउँदा प्रदुषण हुने, नसढ्ने र नजल्ने वस्तु व्यवस्थापन गर्न समस्या छ । नगरपालिकाले फोहोरको उचित व्यवस्थापन गर्नु आजको आवश्यकता हो ।
होटल, रेस्टुरेन्ट, किराना पसल, मेडिकल, घरायसी, फ्याक्ट्री आदिबाट उत्पादित फोहोर बाटोभरि छरिँदा सडकको छेउमा हिँडेका पैदलयात्री हुन् वा सवारीमा सवारयात्री सबै नाक थुनेर हिँड्न बाध्य छन् । दैनिक बिर्तामोडको वरिपरि सबै सडकको फोहोर संकलन गर्ने हँुदा करिब–करिब एक हजार किलोभन्दा बढी फोहोर संकलन हुन सक्छ । यसको यकिन तथ्यांक त छैन, तर पनि फोहोरको ढंगुरले त्यसको वजन पहिल्याउन सहज पार्छ ।
अस्पताल अगाडि त्यति नै फोहोर हुन्छ । यसले अस्पतालको स्वास्थ्य चेतना जनाउँछ । नगरपालिकाको डम्पिङ साइडको समस्याले पनि वर्तमान बेथिती निम्त्याएको छ । फोहोरको उचित व्यवस्थापन हुन नसक्नु, पर्यावरण स्वच्छ बनाउन नसक्नु र आकर्षक शहरको निर्माण गर्न नसक्नुले बिर्तामोडको सुन्दरतामा बिस्तारै ह्रास आउँदै गरेको छ । घर, टोलबाटै फोहोर संकलन गर्ने व्यवस्था गरिने जनाइए पनि सम्बन्धित निकायले गम्भीरता साथ योजना लागू गरेको देखिँदैन ।
पत्रपत्रिकामा हप्ता–दुई हप्ता बिराएर फोहोर व्यवस्थापनसँग सम्बन्धित समाचार आउने गर्छ । केही सामाजिक अभियन्ताले चर्को आवाज उठाउने गर्छन् । केही संघ–संस्थाले बेला बखत पत्रकार सम्मेलन गरेर फोहोरबाट कुरुप बन्दै गएको बिर्तामोडलाई उचित फोहोर व्यवस्थापन गरी आकर्षक शहर बनाउनुपर्ने माग पनि गर्छन् । नगरपालिकाले माग गरेको एक–दुई दिनमा फोहोरले श्रृंगारिएको सडकमा एउटा कागजको टुक्रा पनि नफ्याली चिल्लो र सफा पनि पार्छ ।
केही दिनलाई बाटामा हिँड्ने पैदलयात्री र सवारीसाधनका सवारहरु नाक नछोपी हिँड्न पाउँछन् । ओठमा अलिकति भए पनि मुस्कान छाउँछ । सुन्दर दृश्य र सफा सडकले मर्निङवाक गर्नेहरुलाई पनि स्वच्छ हावा दिन्छ । वातावरणमा केही सन्तुलन आएको महशुस हुन्छ । सुधार भएको र नगरपालिका जिम्मेवार बनेकोमा केही पत्रिकामा नगरपालिकाका मेयर एवम् उनको कामको चर्चा हुन्छ ।
टोल–टोलमा एकदिन हर्न बजाउँदै ट्याक्टर फोहोर लिन आईपुग्छ । फोहोर व्यवस्थापनका कर्मचारी ‘अब हामी नियमित आउने छौं’ भन्दै आश्वासन दिन्छन् । हामी पनि मख्ख पर्दै अब सबै स्थिति सामान्य हुने र स्वच्छता अनुभूति गर्न पाइनेमा लोभिन्छौं । गाउँ, टोलमा चर्चा हुन थाल्छ ‘अब उपरान्त फोहोर लिन सफाई कर्मचारी ट्याक्टरमा गाउँ, टोलमा नियमित आउने भए, बल्ल ढुक्क हुने भयो ।’ तर सबैकुरा केही दिनमा समाप्त हुन्छ, फेरि जस्ताको तस्तै । म जस्तै धेरै जनाको सपना पुनः चकनाचुर हुन्छ ।
चिल्ला भएको सडकमा पहिलासरह एक–एक गरी पोका थुप्रिन थाल्छ । सामुदायिक कुकुरले त्यही पोका खोतल्न थाल्दा सबै फोहोर बाटाभरि छरिन पुग्छ । ‘ए यहाँ त फोहोर फ्याक्न मिल्ने रहेछ’ भन्दै आ–आफ्ना घरको फोहोर रातिको मौका छापेर फ्याक्न थाल्छन् । घर फोहोर र दुर्गन्धित बनाउनुभन्दा बाटोमा व्यवस्थापन गर्ने उचित लाग्न थाल्छ । अस्पताल, होटल, रेस्टुरेन्ट आदिले पनि सडकमै फोहोर व्यवस्थापन गर्न थाल्छन् ।
त्यही भीडमा म पनि बाध्य बन्छु, घरमा दैनिक बढ्दै गएको फोहोर व्यवस्थापन गर्नलाई । म जस्तै धेरै बाध्य हुन्छन्, रातिको समयमा एक बोरा फोहोर बोकेर बाटाका किनारलाई कुनै डम्पिङसाइड सम्झिएर व्यवस्थापन गर्न । म जति गम्भीर भए पनि अन्त्यमा यो घृणित कार्य गर्न अग्रसर बन्छु । म बाटामा व्यवस्थापन गरिने फोहोरको बिरोध गरे पनि लाचार बनी अन्ततः त्यही भीडको कुनै एक बटुवा सरह सजायको भागिदार बन्न पुग्छु । म मनबाट खुसी भएर त फ्याल्दिनँ, तर नगरपालिकालाई दोषी सम्झी घरको फोहोरको व्यवस्थापन गर्छु । मेरो बाटामा फोहोर नफ्यालौं भन्ने सिद्धान्त त्यसबेला लज्जित हुन्छ ।
सुन्दर रहेको मेरो शहर पुनः कुरुप हुन्छ, दुर्गन्धित बन्छ, अव्यवस्थित देखिन्छ, स्वच्छता बिलाउँछ । नगरपालिकाको बेवास्ताको शिकार बन्दछ । सबै फेरि पुराना दिनमा फर्कन थाल्छन् । बाटामा खुलेर हाँस्दै हिँड्न सकस हुन्छ । मुख छोप्दै हिँड्नुपर्ने हुन्छ । फेरि त्यही प्रक्रिया शुरु हुन्छ– नगरपालिकालाई झक्झकाउने, पत्रिकाको हेडलाइन बनाउने, संघ–संस्थालाई दबाब सृजना गर्ने ।
विभिन्न समस्या होला उचित फोहोर व्यवस्थापनमा । जस्तै डम्पिङसाइड समस्या, सवारीसाधन एवम् सफाई कर्मचारीको समस्या, नगरपालिकाको फोहोर व्यवस्थापन प्रतिको आर्थिक पाटो, नियमित निरीक्षण एवम् कार्ययोजना, नगर स्वच्छ अभियान अन्तर्गतका ढिलासुस्ती आदि । तर सबैभन्दा पहिला नगरबासीलाई स्वच्छ एवम् सफा वातावरण दिएर फोहोर व्यवस्थित बनाउन नितान्त जरुरी छ । यसले स्वास्थ्यमा आउने विभिन्न समस्या र चुनौतिको समाधान गर्न मद्दत गर्छ ।
नगरपालिकाले बिकास योजनामा पार्दै दैनिक वा केही दिन बिराएर फोहोर उठाउने गरेको छ । तर, सबै गाउँ, टोल र भित्री बाटामा सफाई कार्यक्रम सञ्चालन भएको छैन । हरेक गाउँ, हरेक टोल, हरेक कुना–काप्चामा नगरपालिकाले फोहोर व्यवस्थापनमा निर्णायक बनी सफाई कार्य बिस्तार गर्नुपर्छ । यो आजको मुख्य आवश्यकता हो ।


























