झापा।

धान लगाउने समयमा रासायनिक मलको चरम अभाव हुनु, ‘टपडे«स’को समयमा रासायनिक मल नपाउनु अनि धानको फूल खेल्ने समयमा हावा हुरी आउनुले यो वर्ष झापामा धान उत्पादनमा कमी आउने प्रक्षेपण गरिएको छ ।
अन्नको भण्डारका रुपमा चिनिने झापामा अघिल्लो वर्षको तुलनामा यो वर्ष तीनदेखि पाँच प्रतिशतसम्म धान उत्पादनमा कमी आउने जिल्ला कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
सरकारले कृषकका लागि समयमा रासायनिक मल उपलब्ध गराउन नसक्दा मल बिना नै कतिपय कृषकले धान रोपेको र टपड्रेसको समयमा समेत आवश्यक पर्ने युरिया मल प्रयोग गर्न नपाएपछि उत्पादनमा कमी आउने अनुमान थियो । तर, धान फूल खेल्ने समयमा पनि लगातार झरी र हावाहुरी आएका कारण यो वर्ष झापामा धान उत्पादनमा कमी आउने जिल्ला कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले बताए ।
‘अगौटे (छिटो पाक्ने धान) जातका धानमा बाला लागीसकेको अवस्थामा हावाहुरीले लडाएर नोक्सान पु¥याएको छ’ –सिंहले भने– ‘हावाहुरी संगै केही दिनअघि परेको झरीले यो वर्ष किसानलाई ठूलो क्षति पु¥याएको छ । फूल खेलेको छैन भने त्यसलाई त्यतिधेरै असर गर्दैन, तर फूल खेलेको धानमा भने क्षति हुन्छ’ –सिंहले भने । हावाले धानको फूल झार्ने हुँदा उत्पादन कमी हुने प्रक्षेपण गरिएको सिंहले बताए ।
अहिले कुन स्थानीय तहमा कति क्षति भयो त्यसको विवरण संकलनको काम भइरहेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । अहिले स्थानीय तहका कर्मचारीसँग तथ्याङ्क संकलन गर्ने काम भइरहेको केन्द्र प्रमुख सिंहको भनाई छ । धानसँगै अन्य कुन–कुन बालीमा के–कति क्षति भएको छ त्यसको समेत विवरण तयार गर्न परिपत्र गरेको उनले बताए ।
प्रारम्भिक विवरण अनुसार यो वर्ष तीनदेखि पाँच प्रतिशत धान उत्पादनमा कमी आउने देखिएको बताउँदै केन्द्र प्रमुख सिंहले भने– ‘केही स्थानीय तहबाट विवरण आइसकेको छ, त्यसअनुसार बालीमा केही न केही क्षति भएको देखिन्छ ।’ १५ वटै पालिकाको विवरण आएपछि मात्रै झापामा यो वर्ष कुन बालीमा के कति क्षति भयो भन्न सकिने केन्द्र प्रमुख सिंहले बताए ।
तथ्याङ्क अनुसार मुलुक कै सर्वाधिक धान उत्पादन गर्ने जिल्ला झापा हो । झापामा गत वर्ष ८७ हजार पाँच सय हेक्टरमध्ये ९७ प्रतिशत अर्थात् ८२ हजार हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो । जहाँ चार दशमलव छ मेट्रिकटन प्रति हेक्टर धान उत्पादन भएको थियो । यो वर्ष शतप्रतिशत क्षेत्रफलमा रोपाइँ भए पनि धान बालीमा फड्के, गवारो लगायतका किराले क्षति पु¥याएको जिल्ला कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

धान बालीमा फड्के, गवारो लगायतका किराले क्षति पु¥याएपछि स्थानीय तहका प्राविधिकसँग सहकार्य गर्दै गाउँ–गाउँमा ‘प्लान्ट क्लिनिक’ सञ्चालन गरिएको जिल्ला कृषि ज्ञान केन्द्र झापाका प्रमुख सिंहले बताए । किरा नियन्त्रणका लागि कृषि ज्ञान केन्द्र र स्थानीय तहमा भएका कृषि शाखाबाट काम भइरहेको उनको भनाइ छ । स्थानीय तहका प्राविधिक अहिले किसानको खेत–खेतमै पुगेर कुन रोग लागेको छ, त्यसको यकिन गर्दै विषादिका विषयमा कृषकलाई जानकारी गराउँदै आएको सिंहले बताए ।
धानको उत्पादकत्व वृद्धि गर्न सरकारले झापा मै धान सुपरजोन कार्यक्रम सञ्चालन गरिरहेको छ । तर, यही सुपरजोन जिल्लाका किसानलाई सरकारले रासायनिक मल उपलब्ध गराउन नसकेपछि धान उत्पादन घट्ने बताउँछन् कृषक टेकनाथ ढकाल । झापामा कूल ९० हजार हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । जसमध्ये यो वर्ष झापामा ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।
झापामा गत वर्ष वर्षे र चैते धान खेती एक लाख चार हजार छ सय ७५ हेक्टर क्षेत्रफलमा गरिएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । जहाँ चार लाख ८४ हजार नौ सय ६२ मेट्रिक टन धान उत्पादन भएको थियो । उत्पादनका हिसावले हेर्ने हो भने चार दशमलव दुई मेट्रिक टन धान प्रति हेक्टर उत्पादन भएको हो ।
कृषि अनुदान घट्यो
कृषि क्षेत्रलाई व्यावसायिक बनाउँदै कृषिमार्फत् आर्थिक क्रान्ति ल्याउने सरकारको योजना भए पनि यस वर्ष झापामा कृषकका लागि अनुदान रकम घटेको छ ।
जिल्ला कृषि ज्ञान केन्द्र झापाका अनुसार कृषकका लागि संघीय र प्रदेश सरकारबाट आउने अनुदानको रकम झण्डै आधा घटेको हो । युवालाई कृषिमा आकर्षित गरी रोजगारीको अवसर प्रदान गर्ने सरकारले लक्ष्य लिए पनि कोभिड–१९ को महामारीको बढ्दो संक्रमणका कारण बजेट घटेको हुन सक्ने बताइएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ का लागि झापाका कृषकलाई ११ वटा कार्यक्रम सञ्चालन गर्न जिल्ला कृषि ज्ञान केन्द्रले सूचना जारी गर्दै कार्यक्रममा सहभागिता जनाउन कृषकलाई आह्वान गरिरहेको छ ।
व्यावसायिक कृषि फर्म सञ्चालन, मकैका लागि अनुदान, कृषि औजार खरिदमा अनुदान जस्ता कार्यक्रम रहेको सिंहले बताए । गत वर्ष प्रदेश सरकारबाट नौ करोड ४२ लाख रुपैयाँ बजेट आएको र यस वर्ष पाँच करोड ३७ लाख रुपैयाँ मात्रै वजेट प्राप्त भएको केन्द्र प्रमुख सिंहले जानकारी दिए ।
व्यावसायिक खेती गर्ने कृषक बढे
झापामा व्यावसायिक खेती गर्ने किसानको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । कोरोना संक्रमणका कारण विदेशबाट घर फर्कनेहरु व्यावसायिक खेतीमा लागेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
केन्द्र प्रमुख सिंहका अनुसार केही युवाले यसअघि फाट्टफुट्टरुपमा व्यावसायिक कृषि पेशा गरे पनि पछिल्लो समय कृषिमा आकर्षण बढेको हो । अहिले धेरैजसो युवा कृषिलाई व्यावसायिकीकरणमा जोड दिँदै आएका छन् । धेरै युवा कृषि फर्म दर्ता गरेर तरकारी, मेवा, फलफूल, आलु खेतीमा लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
अहिले जिल्लामै नाम चलेका कृषि फर्मका रुपमा मेचीनगरको डीएण्डडी एग्रो, अर्जुनधाराको मामाभाञ्जा कृषि फर्म, विश्वास कृषि फर्म, दाजुभाइ कृषि फर्मले तरकारी खेती गरिरहेका छन् । त्यस्तै बाह्रदशीमा एक सय ४० विगाह क्षेत्रफलमा केरा खेती गरिएको केन्द्र प्रमुख सिंहले बताए ।
त्यस्ता कृषि फर्मले अनुदानको रकम समेत पाउने गरेको केन्द्र प्रमुख सिंहको भनाइ छ । त्यहाँ उत्पादित बस्तु काठमाडौंको बजारमा जाने गरेको छ । झापामा १० वटा ब्लक र पकेट सञ्चालनमा रहेको बताइएको छ । जसमध्ये झापा च्याउमा आत्मनिर्भर भएको सिंहको भनाइ छ ।































