झापामा ५% धान उत्पादन घट्ने

0
1208

झापा।

धान लगाउने समयमा रासायनिक मलको चरम अभाव हुनु, ‘टपडे«स’को समयमा रासायनिक मल नपाउनु अनि धानको फूल खेल्ने समयमा हावा हुरी आउनुले यो वर्ष झापामा धान उत्पादनमा कमी आउने प्रक्षेपण गरिएको छ ।

अन्नको भण्डारका रुपमा चिनिने झापामा अघिल्लो वर्षको तुलनामा यो वर्ष तीनदेखि पाँच प्रतिशतसम्म धान उत्पादनमा कमी आउने जिल्ला कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

सरकारले कृषकका लागि समयमा रासायनिक मल उपलब्ध गराउन नसक्दा मल बिना नै कतिपय कृषकले धान रोपेको र टपड्रेसको समयमा समेत आवश्यक पर्ने युरिया मल प्रयोग गर्न नपाएपछि उत्पादनमा कमी आउने अनुमान थियो । तर, धान फूल खेल्ने समयमा पनि लगातार झरी र हावाहुरी आएका कारण यो वर्ष झापामा धान उत्पादनमा कमी आउने जिल्ला कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले बताए ।

‘अगौटे (छिटो पाक्ने धान) जातका धानमा बाला लागीसकेको अवस्थामा हावाहुरीले लडाएर नोक्सान पु¥याएको छ’ –सिंहले भने– ‘हावाहुरी संगै केही दिनअघि परेको झरीले यो वर्ष किसानलाई ठूलो क्षति पु¥याएको छ । फूल खेलेको छैन भने त्यसलाई त्यतिधेरै असर गर्दैन, तर फूल खेलेको धानमा भने क्षति हुन्छ’ –सिंहले भने । हावाले धानको फूल झार्ने हुँदा उत्पादन कमी हुने प्रक्षेपण गरिएको सिंहले बताए ।

अहिले कुन स्थानीय तहमा कति क्षति भयो त्यसको विवरण संकलनको काम भइरहेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । अहिले स्थानीय तहका कर्मचारीसँग तथ्याङ्क संकलन गर्ने काम भइरहेको केन्द्र प्रमुख सिंहको भनाई छ । धानसँगै अन्य कुन–कुन बालीमा के–कति क्षति भएको छ त्यसको समेत विवरण तयार गर्न परिपत्र गरेको उनले बताए ।

प्रारम्भिक विवरण अनुसार यो वर्ष तीनदेखि पाँच प्रतिशत धान उत्पादनमा कमी आउने देखिएको बताउँदै केन्द्र प्रमुख सिंहले भने– ‘केही स्थानीय तहबाट विवरण आइसकेको छ, त्यसअनुसार बालीमा केही न केही क्षति भएको देखिन्छ ।’ १५ वटै पालिकाको विवरण आएपछि मात्रै झापामा यो वर्ष कुन बालीमा के कति क्षति भयो भन्न सकिने केन्द्र प्रमुख सिंहले बताए ।

तथ्याङ्क अनुसार मुलुक कै सर्वाधिक धान उत्पादन गर्ने जिल्ला झापा हो । झापामा गत वर्ष ८७ हजार पाँच सय हेक्टरमध्ये ९७ प्रतिशत अर्थात् ८२ हजार हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो । जहाँ चार दशमलव छ मेट्रिकटन प्रति हेक्टर धान उत्पादन भएको थियो । यो वर्ष शतप्रतिशत क्षेत्रफलमा रोपाइँ भए पनि धान बालीमा फड्के, गवारो लगायतका किराले क्षति पु¥याएको जिल्ला कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

धान बालीमा फड्के, गवारो लगायतका किराले क्षति पु¥याएपछि स्थानीय तहका प्राविधिकसँग सहकार्य गर्दै गाउँ–गाउँमा ‘प्लान्ट क्लिनिक’ सञ्चालन गरिएको जिल्ला कृषि ज्ञान केन्द्र झापाका प्रमुख सिंहले बताए । किरा नियन्त्रणका लागि कृषि ज्ञान केन्द्र र स्थानीय तहमा भएका कृषि शाखाबाट काम भइरहेको उनको भनाइ छ । स्थानीय तहका प्राविधिक अहिले किसानको खेत–खेतमै पुगेर कुन रोग लागेको छ, त्यसको यकिन गर्दै विषादिका विषयमा कृषकलाई जानकारी गराउँदै आएको सिंहले बताए ।

धानको उत्पादकत्व वृद्धि गर्न सरकारले झापा मै धान सुपरजोन कार्यक्रम सञ्चालन गरिरहेको छ । तर, यही सुपरजोन जिल्लाका किसानलाई सरकारले रासायनिक मल उपलब्ध गराउन नसकेपछि धान उत्पादन घट्ने बताउँछन् कृषक टेकनाथ ढकाल । झापामा कूल ९० हजार हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । जसमध्ये यो वर्ष झापामा ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।

झापामा गत वर्ष वर्षे र चैते धान खेती एक लाख चार हजार छ सय ७५ हेक्टर क्षेत्रफलमा गरिएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । जहाँ चार लाख ८४ हजार नौ सय ६२ मेट्रिक टन धान उत्पादन भएको थियो । उत्पादनका हिसावले हेर्ने हो भने चार दशमलव दुई मेट्रिक टन धान प्रति हेक्टर उत्पादन भएको हो ।

कृषि अनुदान घट्यो

कृषि क्षेत्रलाई व्यावसायिक बनाउँदै कृषिमार्फत् आर्थिक क्रान्ति ल्याउने सरकारको योजना भए पनि यस वर्ष झापामा कृषकका लागि अनुदान रकम घटेको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र झापाका अनुसार कृषकका लागि संघीय र प्रदेश सरकारबाट आउने अनुदानको रकम झण्डै आधा घटेको हो । युवालाई कृषिमा आकर्षित गरी रोजगारीको अवसर प्रदान गर्ने सरकारले लक्ष्य लिए पनि कोभिड–१९ को महामारीको बढ्दो संक्रमणका कारण बजेट घटेको हुन सक्ने बताइएको छ ।

आर्थिक वर्ष २०७७÷०७८ का लागि झापाका कृषकलाई ११ वटा कार्यक्रम सञ्चालन गर्न जिल्ला कृषि ज्ञान केन्द्रले सूचना जारी गर्दै कार्यक्रममा सहभागिता जनाउन कृषकलाई आह्वान गरिरहेको छ ।

व्यावसायिक कृषि फर्म सञ्चालन, मकैका लागि अनुदान, कृषि औजार खरिदमा अनुदान जस्ता कार्यक्रम रहेको सिंहले बताए । गत वर्ष प्रदेश सरकारबाट नौ करोड ४२ लाख रुपैयाँ बजेट आएको र यस वर्ष पाँच करोड ३७ लाख रुपैयाँ मात्रै वजेट प्राप्त भएको केन्द्र प्रमुख सिंहले जानकारी दिए ।

व्यावसायिक खेती गर्ने कृषक बढे

झापामा व्यावसायिक खेती गर्ने किसानको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । कोरोना संक्रमणका कारण विदेशबाट घर फर्कनेहरु व्यावसायिक खेतीमा लागेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

केन्द्र प्रमुख सिंहका अनुसार केही युवाले यसअघि फाट्टफुट्टरुपमा व्यावसायिक कृषि पेशा गरे पनि पछिल्लो समय कृषिमा आकर्षण बढेको हो । अहिले धेरैजसो युवा कृषिलाई व्यावसायिकीकरणमा जोड दिँदै आएका छन् । धेरै युवा कृषि फर्म दर्ता गरेर तरकारी, मेवा, फलफूल, आलु खेतीमा लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

अहिले जिल्लामै नाम चलेका कृषि फर्मका रुपमा मेचीनगरको डीएण्डडी एग्रो, अर्जुनधाराको मामाभाञ्जा कृषि फर्म, विश्वास कृषि फर्म, दाजुभाइ कृषि फर्मले तरकारी खेती गरिरहेका छन् । त्यस्तै बाह्रदशीमा एक सय ४० विगाह क्षेत्रफलमा केरा खेती गरिएको केन्द्र प्रमुख सिंहले बताए ।

त्यस्ता कृषि फर्मले अनुदानको रकम समेत पाउने गरेको केन्द्र प्रमुख सिंहको भनाइ छ । त्यहाँ उत्पादित बस्तु काठमाडौंको बजारमा जाने गरेको छ । झापामा १० वटा ब्लक र पकेट सञ्चालनमा रहेको बताइएको छ । जसमध्ये झापा च्याउमा आत्मनिर्भर भएको सिंहको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here