निःशुल्क सिलिण्डर पाउँदा वन उपभोक्ता दङ्ग

0
1039

अमित खम्ब

अर्जुनधारा,  प्रचण्ड गर्मीमा पनि झापाको अर्जुनधारा–२स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको कार्यालय परिसरमा बिहीबार भेटिएका केशरबहादुर आछामे (८६) हर्षित देखिन्थे ।


पाँच जना परिवारका मूल अभिभावक उनी हर्षित देखिनुको एउटै कारण थियो – समूहले विपन्न उपभोक्ताहरुको लागि गरिबी न्यूनीकरण कार्यक्रममार्फत् निःशुल्क प्रदान गरेको एलपी ग्याँससहितको सिलिण्डर । बूढ्यौलीका कारण राम्रोसँग सुन्न नसकेका उनले समूहले सञ्चालन गरेको उक्त कार्यक्रम भने राम्रो भएको प्रतिक्रिया दिए । केशरबहादुरसँगै उपभोक्ता फूलमाया रम्तेल(६८)को पनि समूहबाट ग्याँससहितको सिलिण्डर पाँउदा खुशीको सीमा थिएन । छ जनाको
परिवार भएको उनले भनिन्– ‘दाउरा काट्न पनि सक्दिँन, बोक्न पनि सक्दिँन, अब ग्याँस भएपछि त सिकेर चलाउन सक्छु नि । त्यसैगरी अर्की उपभोक्ता कल्पना सुवेदी (३९) वर्षाको समयमा नदीमा आउने बाढीका कारण जंगलबाट दाउरा
ल्याउन जोखिम रहेको अवस्थामा ग्यासको प्रयोग उत्तम विकल्प भएको बताउँछिन् ।वनमा सहजरुपमा दाउरा
नपाइने र निम्न आर्थिक अवस्था भएका उपभोक्ताहरुलाई लक्षित गरी समूहले सञ्चालन गरेको उक्त कार्यक्रमको उनले प्रशंसा गरिन् ।


विगतमा वनमा दाउरा लिन जाँदाको अप्ठ्यारो अवस्थालाई ग्यास प्राप्त भएपछि राम्रो भएको उमा मग्राती(२४)ले बताइन् । दाउराको अत्यधिक प्रयोगका कारण वनमा हुन सक्ने विभिन्न जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले गत आर्थिक वर्षदेखि शुरु गरिएको सो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने समूहका अध्यक्ष तुलसीप्रसाद खतिवडाले बताए । अहिले प्राथमिकताको आधारमा विपन्न उपभोक्ताहरु छनौट गरी शुरु गरेका छौं, पछि सबै उपभोक्ताहरुलाई
प्रदान गर्ने लक्ष्य रहेको अध्यक्ष खतिवडाले बताए । गत आर्थिक वर्षमा गरिबी न्यूनीकरण कार्यक्रममार्फत् ३६ जनालाई सिलिण्डर प्रदान गर्दै शुरु गरिएको उक्त कार्यक्रमका लागि उपभोक्ता छनौट गर्नुअघि र सिलिण्डर प्रदान गरे पछि पनि समूहले अनुगमन गर्ने गरेको समूहका वरिष्ठ उपाध्यक्ष रुपनारायण समालले जानकारी दिए । समूहले आगामी दिनमा सिलिण्डर पाउने तर आवश्यक चुलो भने खरिद गर्न नसक्ने अति विपन्न उपभोक्ताको पहिचान गरी चुलो पनि प्रदान गर्ने
लक्ष्य रहेको वरिष्ठ उपाध्यक्ष समालले बताए । खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा दुई वटा स्थानबाट एक सय जना उपभोक्तालाई तीन लाख १५ हजार रुपैयाँ बराबरको सिलिण्डर वितरण गरिएको थियो । कोभिड(१९को जोखिमबाट जोगिन कार्यक्रम स्थलमा सहभागीहरुलाई मास्क र ह्यान्ड सेनिटाइजरको प्रयोगसँगै भौतिक दूरी
कायम गराइएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष रघुनाथ खनालले सिलिण्डर प्राप्त गर्नेहरुमध्येका ज्येष्ठ उपभोक्ता केशरबहादुर आछामेलाई सिलिण्डर हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । वरिष्ठ उपाध्यक्ष समालले औचित्यसहित स्वागत मन्तव्य राखेको कार्यक्रममा नगरसभा सदस्य राजेन्द्र वाग्ले, सल्लाहकारहरु गोविन्द प्रधान, नरबहादुर साँवा र पुण्यप्रसाद ओझा, सशस्त्र प्रहरी बल खुदुनावरी वेस प्रमुख सई सन्तोष अधिकारीलगायतले सिलिण्डर हस्तान्तरण गरेका थिए । कार्यक्रमको सञ्चालन समूहका सचिव मनकुमारी सञ्जेल र सहसचिव हेमराज आचार्यले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here