फोहोर कहिले उठाउने ? गाडी किन आउँदैन ?

0
940

श्री अग्नि पाण्डेज्यू,
वडा अध्यक्ष, बिर्तामोड– १
तथा प्रवक्ता–बिर्तामोड नगरपालिका
वडा अध्यक्षज्यू, नमस्कार ।
वडा सरकार प्रमुखको जिम्मेवारीले यस क्षेत्रका हरेक गतिबिधिमा तपाईंको परोक्ष संलग्नता छ र तपाईंले खेल्नु भएको भूमिका अनि गरिएका प्रयास प्रशंसायोग्य छन् । पछिल्लो समयमा अन्तर्राष्ट्रिय र राष्ट्रिय रूपमा विद्यमान कोभिड–१९ महामारीबाट सबै क्षेत्र प्रभावित छ । लामो समय लकडाउन भयो । सबै नागरिकलाई घरमै बस्न सबै तहका सरकारले भने । नागरिकले मानिदिए । तर, यो महामारीको बीचमा फोहोर नउठाइँदा अरु समस्या थपिएका छन् । फोहोर उठाउने विषयमा तपाईंको बेवास्ता, निस्क्रियता र विवेकशून्य अवस्था हामी वडाबासीले अनुभूत गरेका छौं । यसको प्रत्यक्ष मारमा हामी वडाबासी परेका छौं ।

सातामा मुस्किलले एकपटक आउने फोहोर उठाउने गाडी लकडाउन शुरु भएको छ महिनाको अवधिमा कति पटक आयो ? किन एकपटक पनि पठाइएन गाडी ? किन गैरजिम्मेवार बन्दैछन् जनप्रतिनिधि ? किन पन्छदैछन् आफ्नो जिम्मेवारीबाट ? फोहोर नउठाइनुको कारण जान्न चाहन्छन् वडाबासीहरु । कारण देखाएर पन्छिने अवस्था हुने छैन । हामी वडावासी जवाफसँगै समाधान चाहन्छौं । आज घरघरमा फोहोरको डंगुर छ, बाटो, घर सबै दुर्गन्धित भइरहेको छ । फोहोरबाटै अरु धेरै प्रकारका रोगब्याध फैलने जोखिम बढेको छ । तपाईंको ध्यान र व्यस्तता कता छ वडा अध्यक्षज्यू ? फोहोर नियमित उठाउने व्यवस्था तत्काल होस् वडा अध्यक्षज्यू, यो आम बिर्तामोडबासीको माग र भावना हो । अब हामी नागरिक खबरदारीमा जुट्नु पर्छ ।

अरु पनि केही सुझाव यसै पत्र मार्फत सम्प्रेषण गर्दैछु वडा अध्यक्षज्यूलाई । विकासका कामहरूमा स्पष्ट प्रक्रिया र पारदर्शिता अपनाई दिनुहोस् । आज देशका कतिपय ठाउँमा स्थानीय सरकार भ्रष्टाचारको अखडा भइरहेको तथा जनप्रतिनिधिहरु सुविधाभोगी भएका घटना समाचार आइरहेका छन् । अर्को कुरा के छ भने सबै विचार बोकेकाहरूलाई सम्मान गरी दिनुहोस् । फरक राजनीतिक आस्था राख्नेप्रति कहीँकतै पूर्वाग्रही व्यवहार छ भने त्यो त्यागिदिनु होला । फरक आस्था र विचार भए पनि म तपाईंको शुभेच्छुक हुँ । तपाईंले गरेका राम्रा कामको खुलेरै प्रशंसा पनि गर्दै आएको छु । साथै तपाईंलाई खबरदारी गर्ने हाम्रो अधिकार र कर्तब्य पनि हो । सबैजना तपाईले सोचे जस्तो गलत नहोलान् । राम्रोलाई राम्रो नै भन्छन् । विगत केही महिनादेखि यस क्षेत्र लगायत बिर्तामोड बजारमा जताततै फोहर छ । हुन त यो सानो कुरो हो, तर समयमा व्यवस्थापन किन हुन्न ? यति सानो काम पनि समयमा उचित व्यवस्थापन नहुनु कति सरमको कुरा हो ? हरेक घर, सडक, चोकहरू दुर्गन्धित छन् । तपाईंको नमूना वार्ड, योजना क्षेत्रका घरहरू यस्तै हुनपर्छ ? यहाँका बाटाघाटा, नालाहरू अस्तव्यस्त छन् । तपाईंले नियमित हिँड्ने बाटोहरू अनि तपाईंका शुभचिन्तकका घरहरू अब कति समयसम्म दुर्गन्धित हुनुपर्ने ? समाधान कहिले हुन्छ ?

अन्त्यमा, हरेक स–साना कामहरूको दीर्घरूपमा सही व्यवस्थापन नै ठूला काम गर्ने सहज आधार हुन् । हाल हामी जनताले ठूला योजना चाहेका होइनौं मात्र हाम्रा स–साना कामहरू सरल व्यवस्थापन हुन् र नियमित हुन् भन्न खोजेका हौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here