कर्मचारीमा कोरोना देखिएपछि भद्रपुर भन्सार र कृषि बैंकको सेवा बन्द

0
381

भद्रपुर,

भद्रपुर भन्सार कार्यालय र कृषि विकास बैंक शाखा कार्यालय भद्रपुरका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आजदेखि दुवै कार्यालयमा सेवा बन्द भएको छ।

भन्सारका एक पुरुष कर्मचारी तथा बैंकका एक महिला र तीन पुरुष गरी चारजना कर्मचारीमा मंगबलार कोरोना भाइरस पुष्टि भएको हो। कर्मचारीमा कोरोना पुष्टि भएपछि दुवै कार्यालयले मंगलबार सूचना जारी गर्दै बुधबारदेखि अनिश्चितकालसम्म सेवा बन्द गर्ने निर्णय गरेको हो।

भन्सारका ५० वर्षीय कर्मचारीमा कोरोना संक्रमण देखिएको भद्रपुर नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए। केही दिनदेखि स्वास्थ्यमा समस्या आएपछि उनले मेची अस्पताल भद्रपुरमा स्वाबको नमुना दिएका थिए। कर्मचारीमा कोरोना देखिएपछि बुधवारदेखि अत्यावश्यक सामानबाहेक अन्य सामानको राजस्व नतिराउने भन्सार प्रमुख फणीन्द्र खतिवडाले जानकारी दिए।

संक्रमित कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारी र व्यापारीको स्वाब संकलन गरी रिपोर्ट नआउञ्जेलसम्म सेवा बन्द गर्ने निर्णय गरिएको उनले बताए। त्यस्तै कृषि विकास बैंकमा कार्यरत ४७, २६, ३८ र ३५ वर्षका कर्मचारीलाई संक्रमण देखिएको नगर स्वास्थ्य शाखाका फोकल पर्सन भट्टराईले बताए। कर्मचारीमा संक्रमण देखिएपछि बैंकले सूचना जारी गर्दै बुधबारदेखि सबै कामकाज बन्द गर्ने निर्णय गरेको छ।

कर्मचारीको सम्पर्कमा आएका व्यक्तिको कोरोना परीक्षण नभएसम्म सेवा बन्द गरिने बैंकका शाखा प्रमुख पशुराम बुढाथोकीले जानकारी दिएका छन्। झापामा अहिलेसम्म कोरोना संक्रमितको संख्या ९५४ पुगेको छ। जसमध्ये ८३९ जना निको भइसकेका स्वास्थ्य कार्यालय झापाले जनाएको छ। सक्रिय संक्रमितको संख्या १०५ रहेको छ। यस्तै, कोरोना संक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here