कोरोना, अमेरीका र ट्रम्प

0
723

विश्वमा शक्तिशाली राष्ट्रहरुको श्रेणीमा सधैँ एक नम्बरमा रहेको अमेरिका वास्तवमा त्यतिकै नम्बर एक र महान देश बनेको होइन । एउटा गर्विलो इतिहास, दूरदर्शी नेतृत्व, महान वैज्ञानिक र दार्शनिकहरु, सामाजिक तथा सामरिक पहुँच, उच्चकोटीको मानव अधिकार र मानवता तथा संसार कै दक्ष जनशक्तिको कारणले अमेरिका महाशक्तिको रुपमा चिनिएको हो । विश्वका विभिन्न ठूलादेखि सानासम्म युद्धहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष सहभागिता रहे पनि अमेरिका र अमेरिकनको भावना नकारात्मक कहिल्यै देखिएन जसको फलस्वरुप अमेरिका महान देश बन्न सफल भयो ।

अमेरिकी शासनको इतिहास हेर्ने हो भने धेरै महान र संसारलाई अमेरिकाको महानतालाई झल्काउने शासकहरु आए । तर, आज समय फेरियो र अमेरिकाको बिडम्वना कोरोना भाइरसको संक्रमणबाट भयावह र दयनीय स्थितिको सामना गरिरहनु परेको छ । अमेरिकन विश्लेषक नोम चोम्स्कीका अनुुसार अमेरीका आज सोसियोपेथिक बफनको हातमा छ । जसले अमेरिका मात्र होइन संसारभरीका मानव सभ्यतालाई धरापमा पार्ने काम गरिरहेको छ । विश्वमा आजको जस्तो महामारी पहिले पनि कयौँ पटक आएकै हुन ।

सन् १९१८ को स्पेनिस फ्लू, सन् १९५७ तिरको एसियन फ्लू, त्यसैगरी सन् १९६८ ताकाको हङकङ फ्लू जस्ता महामारीमा खोप तथा सिरिञ्जको विकास गरेर मानव सभ्यतालाई जोगाइ राखेको अमेरिका विडम्बना आज आएर नाफा र व्यापारभन्दा पर केही नदेख्ने, आफ्नो स्वार्थ र सत्ता बाहिर अरु केही नदेख्ने परिपाटीको विकास भएसँगै विश्व बन्धुत्व र मानवताको धर्म शून्यतामा प्रवेश गरिरहेको छ । यसले गर्दा आजको विश्व जुनसुकै बेला समस्याको भुँमरीमा पर्न सक्छ ।
अमेरिकाको आन्तरिक झैं–झगडा र तनाव पनि दिन प्रतिदिन बढ्दो छ । काला जाति र गोरा जातिबीचको खाडल पुरिनुको साटो झन् व्यापक हुँदै छ । विशाल अर्थतन्त्र भएको महान देश र यसका शासकहरु घरभित्रको समस्यासँग लड्न नसकी रहेको अवस्थामा अमेरिकाको विगतको गौरवशाली इतिहास दिनानुदिन बदलिरहेको छ । यसले विश्व जनमानसमा वितृष्णाको रुप लिइरहेको छ । मानव अधिकार मात्र होइन, पशु अधिकारको पनि खुलेर पक्षपोषण गर्ने अमेरिका जस्तो मुलुकले अर्थतन्त्र र व्यापार बाहेकका सम्पूर्ण मानवीय मूल्य–मान्यतालाई तिरस्कार गर्दाको क्षण विश्व कै लागि दुःखदायी समाचार बनेको छ ।

कोरोना भाइरसले विश्वलाई आक्रान्त पारिरहेको अवस्थामा अझ विशेषगरी युरोप जस्ता आत्मीय र सहयोगी मुलुकमा परेको यो विपद्को घडीमा अमेरिकाले देखाएको मित्रत्वले संसारलाई चकित बनाएको छ । यसमा थप्नै पर्ने विषय के भने अमेरिका लगायतका शक्ति राष्ट्रले लगाएको आर्थिक नाकाबन्दी चिर्दै क्युवा जस्तो देशले गरेको मानवीय साहयता सम्झनयोग्य रहेको छ । कोरोनाको उद्गम मानिएको चीनले कोरोनाविरुद्ध संघर्ष गरिरहेका देशलाई साहयता पुु¥याउँदा अमेरिका र ट्रम्प मुकदर्शक भएर बस्न बाध्य हुनु अमेरिका विश्व शक्तिको नम्बर एकबाट बिस्तारै ओरालो लागेको भान हुन्छ । र, यसरी अमेरिकाको साख दिन प्रतिदिन खुम्चदै जानुमा वर्तमान शासक बढी जिम्मेवार देखिन्छन् ।

कोरोना महामारी कै बीचमा अमेरिकाबाट आएका कतिपय समाचारहरुले अमेरिकी जनतामा यस महामारीले ल्याएको दुर्दशा स्पष्ट नै हुन्छ । अमेरिकामा लकडाउन नगरिनु, स्वास्थ्य सम्बन्धी मापदण्ड कडाईका साथ नमान्नु, स्वयम् राष्ट्रपति नै बिना मास्क सार्वजनिक कार्यक्रममा सहभागी हुनु, काला जातिलाई कोरोना संक्रमण हुँदा उचित उपचार नपाउनु, कोरोना भाइरसलाई चाइनिज भाइरस भनेर क्षेत्रीय र रंगभेदी द्वन्द्वको सिर्जना गर्नु जस्ता कदमले अमेरिकाको हेल्थकेयर प्रणाली र शासनको बागडोर सम्हालेका वर्गलाई असफल सिद्ध गरेको छ । वास्तवमा यो महामारीले अमेरिकाको वर्तमान अवस्थालाई उदाङ्गो पारिदिएको छ । अमेरिकाको वर्तमान अवस्था दयनीय र भयावह छ भन्दा फरक नपर्ला । यसको वास्तविक जिम्मेवार वर्तमान राष्ट्रपति ट्रम्प र उनको गैर जिम्मेवारपूर्ण कदम नै हो भन्ने धेरै विश्लेषकहरु भेटिसकेका छन् ।
विश्व मानचित्रमा ठूलो अर्थ र सैन्य शक्तिको रुपमा रहेको देशले हतियार र मिसायलमा खर्चेको रकमको केही अंश स्वास्थ्य क्षेत्रमा लगाएर जरुरत परेका मुलुकमा सहयोगी बन्न सकेको भए इतिहासदेखिको अमेरिकाको महानता वर्तमानमा पनि कायम रहने थियो । अमेरिकाले महामारीको यस्तो अवस्थामा मानवता र मानवीय जगतको रक्षार्थ खोज र अनुसन्धान गर्न पहल गरेको कही पनि देखिएन । बरु रक्षा बजेट बढाइयो र लोक कल्याणका काममा सिमित व्यापारी वर्गको हालीमुहाली देखियो । जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा निर्णय लिँदा निजी कम्पनी र नाफाखोरहरुलाई प्राथमिकतामा राखियो । जसको फलस्वरुप अमेरिका जस्तो महान मुलुकका राष्ट्रपतिले रसिया र अन्य देशसँग कोरोनाको खोप र औषधिका लागि हात फैलाउनु परिरहेको छ ।

अमेरिका विश्वको पहिलो शक्ति राष्ट्रबाट तल झरेको हो भन्ने स्पष्ट प्रमाण हालैको त्यहाँको कूल गार्हस्थ उत्पादनमा आएको ३२.९ प्रतिशतको गिरावटले जनाउँदछ । यो गिरावट सन् १९४७ पछिको सबैभन्दा ठूलो भएको बताइएको छ । पछिल्लो १५ दिनमै अमेरिकाको सेयर बजारले १० देखि १५ ट्रिलियिन डलरको नोक्सानी व्यहोर्नु परेकाले पनि अमेरिकाको अवस्था दयनीय नै रहेको प्रतित हुन्छ । त्यस्तै वेरोजगारीको संख्यामा बढोत्तरीले गर्दा मेक अमेरिका ग्रेटको ट्रम्प नारा नारा मै मात्र सिमित भएको छ ।

अमेरिकामा पछिल्लो अवस्थामा कोरोना महामारीबाट ७३ लाखको हाराहारीमा संक्रमित भएका छन् भने दुई लाख १० हजार मानिसको निधन भइसकेको छ । यस्तो परिस्थितिमा अमेरिकामा यही वर्ष राष्ट्रपतिको चुनाव हुनुपर्नेछ । मेक अमेरिका ग्रेटको नारा लिएर फेरि पनि चुनावी माहोलमा होमिएका वर्तमान राष्ट्रपति ट्रम्पसहित उनकी पत्नीलाई समेत कोरोना संक्रमण भएपछि अमेरिका हेल्थ केयर सिस्टम कतिसम्म कमजोर भएको रहेछ भन्ने पुष्टि गर्दछ ।

कोरोना भाइरसको महामारीले थलिएको विश्वका धेरै मुलुकले लकडाउन लगायतका रोकथाम, नियन्त्रणका कार्यविधि अपनाए पनि अमेरिकाले यसको पालना गर्न जरुरी ठानेन् । यसको पछाडि पनि ट्रम्पको चुनावी स्वार्थले काम गरेको कतिपयको धारणा छ । ट्रम्पको यो शैलीको आलोचना भइरहँदा पनि यही नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावको तयारीको लागि बन्द तथा सामाजिक दूरी कायम राख्ने नियम पालना गराएनन् । अर्र्को कारण अमेरिकामा रहेको हालको केन्द्र र राज्यको शक्ति सन्तुलन पनि हो । किनकि केन्द्र सरकारभन्दा राज्य सरकार बलियो भएको अवस्थामा ट्रम्पले गरेका निर्णय बर्खिलाफ राज्यद्वारा आफ्नै नियमको घोषणाले पनि अमेरिकाले आजको दुर्दशा खेप्नु परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here