‘गोठ स्टे’ रमाइलो र अविस्मरणीय

0
913

टीकाराम उप्रेती,
पाँचथर। 

झण्डै छ महिनाभन्दा बढीको बन्दाबन्दीका कारण सुनसान रहेका पर्यटकीय स्थलमा चहलपहल बढ्न थालेको छ ।

पूर्वका पहाडी जिल्लाका पर्यटकीयस्थलमा बन्दाबन्दी खुलेपछि आन्तरिक पर्यटकको उपस्थिति देखिन थालेको हो । विश्वव्यापी फैलिएको माहामारी कोरोना भाइरसका कारण घरमा थुनिएर बसेका सर्वसाधारण रमणीयस्थलमा पुगेर रमाउन थालेका छन् । बन्दाबन्दीपछि पहिलोपटक औपचारिक रुपमा पर्यटकीय क्षेत्रमा कार्यक्रम गर्ने, नयाँ पर्यटकीय गन्तव्यको खोजी तथा प्रचारप्रसार गर्न थालिएको छ ।

यसैबीच इलाम र पाँचथरका पर्यटकीय क्षेत्रमा पूर्वका झापा, इलाम र पाँचथर जिल्लाका पर्यटन व्यवसायी, होटल व्यवसायी तथा स्थानीय बासिन्दाको संयुक्त पहलमा यस्ता क्षेत्रको अध्ययन अवलोकन गरिएको छ । इलाम र पाँचथरको सीमाक्षेत्रमा पर्ने सुकेपोखरीदेखि एक दिनको पैदलमार्गमा पूरा गर्न सकिने रमणीय क्षेत्र गुराँसको लेक, चौँरी तथा भेडीगोठ भरिएको फाँटिलो खर्कको बाटो हुँदै पैदल यात्रा गर्न सकिन्छ । यो पदमार्गमा जडीबुटीले भरिएको लेकाली वनस्पति घना जंगलभित्र चिसो मौसममा पैदल यात्रा गर्न रुचाउने अन्तरिक पर्यटकका लागि एकदिने छोटो नयाँ पदमार्गस्थल पहिचान गरिएको सुकेपोखरी लोहाकिल पर्यटन विकास मञ्चका सचिव सुरेश बान्तवाले बताए ।

पदमार्गको बीचबीचमा पर्ने गोठ स्टे र होम स्टेमा बस्ने सुत्ने नयाँ अनुभवको मौका मिल्ने गर्दछ । फरक स्वादको खानपान, जीवनशैलीको मौका होमस्टेमा मिल्ने गर्छ । यो मार्गमा पर्ने खर्कमा रहेका चौरी तथा भेडीगोठ अनि स्थानीय गाईभैँसीका गोठलाई नै गोठ स्टेको रुपमा विकास गरिएको छ । यहाँ बस्दा स्थानीय चौँरी गाईको छुर्पी, दूध, घीउको स्वाद चाख्ने मौका मिल्छ । होम स्टे त धेरै सुनियो तर गोठ स्टे कस्तो हुँदोरहेछ भनेर जिज्ञासाले यहाँ गोठ स्टेमा बस्न आएको होटल व्यवसायी संघ दमकका अध्यक्ष राजन दंगालले बताए ।

यसबाहेक मौलिक खाना, राई समुदायको परम्परागत खाना वाचिपा, लोकल कुखुुरा, खसी, बोकाको मासुदेखि सेलरोटी, कोदाको ढिँडो, आलु, मुला, गाजर, मकै भटमास, केराउलगायतका स्थानीय उत्पादनबाट बनेका खानाका परिकार यहाँको मुख्य विषेशता रहेको छ । ग्रामीण भेगको जनजीवनलाई नजिकबाट अध्ययन गर्न सकिने पर्यटनको अवधारणा मौलिक परम्परा, रहनसहन पर्यटकीय स्थलहरूको भ्रमण गर्न सकिनेछ ।

पाँचथरको फिदिम नगरपालिका–१४मा पर्ने सुकेपोखरी पर्यटकको रोजाइ बन्न थालेको छ । मेची राजमार्गअन्तर्गत पाँचथरको पौवाभञ्याङबाट दुई घण्टा उत्तरमा पैदल हिँडेपछि पुगिने सुकेपोखरी स्थानीयको पहलमा संरक्षण गरिएको छ । यसका साथै यो क्षेत्रमा रहेको पाँच वटा घरमा व्यावसायिक रुपमा नै होम स्टे सञ्चालन गरिएको छ । यस्तै यहाँ पाँच वटा गोठ स्टे समेत निर्माण गरिएको छ ।

सुकेपोखरीमा बेलुका बास बसेर त्यहाँबाट चार घण्टाको खर्क कुहिभिर हुँदै दिदीबहिनी झरनासम्म पुगेर मेची राजमार्गको बाघखोर चौकमा पुगेर पैदल मार्ग सकिन्छ । त्यस्तै इलाम–३ पुवामझुवामा रहेको पाटेनाँगी, इलाम र देउमाई नगरपालिकाको सीमानामा रहेको कुहिभिर यो मार्गका मुख्य आकर्षण हुन् । यो क्षेत्रमा न्यूनतम् विकास सडक, बत्ती, खानेपानीको राम्रो प्रबन्ध गर्न सकेमा अझ पर्यटक तान्न सकिने स्थानीयको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here