कमरेट गौंथलीको बाऊले टेलिफुन धेरै खेलाएछन् !

२४ आश्विन २०७७, शनिबार मा प्रकाशित

व्यंग्यनारान पाँडे,

Advertisement

लगभग दुई वर्षअघि, मौसम परिवर्तनको रुघा–खोकीले मलाई ग्रस्त पारिराखेको थियो र म ओछ्यानमै थिएँ । त्यसै अवधिको एक बिहान गौँंथलीको बाऊ आइपुगेका थिए र सधैँ झैँ मलाई बाहिर बरण्डामा नदेखेर र प्यासेजको मूल ढोका खुल्ला देखेर पनि होला, कराएका थिए– “हओ पाँडे भाइ, तपइँ कता छउ हओ, आज ? म जनसन्पर्क गर्न याँ बाइर आइराँछु । दैलो ओप्पिन छ भनेसि तपइँ भित्रै छउ, निक्स–निक्स बाइर ! म तपइँसित एछिन् जनसन्पर्क गरेर गइजान्छु, देरी गर्न त मलाई नै फुर्सुत् छैन ।”

उठाउन नसक्नेगरी टाउको दुखिरहेको थियो । घाँटी दुखेर बोल्दा स्वर निकाल्न गाह्रो भइरहेको थियो । जाडो पनि लागिरहेको थियो । त्यसमाथि गौँथलीको बाऊको अप्ठ्यारो र पटाइलाग्दो गन्थन सुन्ने खायस पनि थिएन । मैले ओछ्यानबाटै कपडा च्यातिएजस्तो स्वर बलैले कोरलेर भनेँ– “मलाई एकदमै बिसञ्च छ । अर्काे कुनै दिन भेटौंँ न है दाइ ?”
उनी हुर्दुराएर भित्र पस्तै आत्तिएको जस्तो हतारिएर बोले– “लु हेर त ! हन कस्तो कैल्यै बेरामी नपर्ने तपइँ बेरामी परेर बेडुमको मिर्तु–सइयामा सुत्नुपर्ने अबस्तामा पुगिसक्ता पनि मलाई किन खबर नगर्या त ? सत्ते, आम्माको रगत खाने ल, मलाई थाइ थेन । …….लु हेर त ! हन तपइँ त सिद्दिसकेछौ नि गाँठे ! दुब्ला’र टाट उस्तै । आँखा पनि भास्सेछन्, कठैबरा पाँडे भाइ ! बेरामीले छोडेन भने अब तपइँ कसरी–कइदिन बाँत्छौ ? मलाई पैलीबडै था थ्यो भने म उस्सै ट्याममा आइजान्थेँ नि सोस्थेलापकोे काम्ना गर्न र सानुभूति, सम्बेध्ना–सर्दान्जलि अर्पन गर्न । हन के बेरामी लागो ? कि कोइ बोक्सी–उक्सी पो लागी हँ ? बेथा चइँ के हो ?”

मैले भनेंँ– “त्यस्तो ठूलो बिमार केही होइन । अस्ति शनिवार मोटरसाइकलमा शनिश्चरे गएर आउँदा भिजेको थिएँ । यसै पनि यो रुघा–खोकीको मौसम । त्यहाँदेखि सर्दी लागेको, हैरान बनायो ।”

उनले उनका छिचरा र खिया लागेका दाँत देखाएर हाँस्तै भने– “एएएए तेस्ता नाथे सल्दी लाग्या मात्तै ? एस्ता सल्दी त दुई पोका छ्याउछ्याउका जम्मा–टोट्टल मसला बेस्मारी उमालेको झोल तात्तातै पिउनुपर्छ, बेमार् त छु–मन्तर.. । अस्ति भख्खर् हामेर्का कम्रेट पर्सुरामले खोलाको नुतन छ्याउछ्याउ उद्दोकको पोर्डक मग्मग छ्याउछ्याउको मसलाको झोलले त सेलाएन्जत्तिकै ताकत् लाउने र यो जाबो सल्दी खेदाउने इन्पोरट्यान काम पो गर्छ त ! ……….. हेर त, तपइँलाई सल्दी–खोकीले एस्तो सिरेस्ली पार्दा पनि सो खबर दिन कस्सैले मसित जनसन्पर्क गरेर पिटिस्सै भन्या भा त थुक्क !”
सधैंँ झंैँ गफ लम्बिन्छ भन्ठानेर म केही बोलिनँ ।

उनको मुख के थामिन्थ्यो ! उनले फूर्ति हाँक्न शुरू गर्दै भने– “उइले डाग्डर मन्मोन सिङले अतेन्त राम्रो डाग्डर भको योग्गेताले इन्ड्या डिल्लीमा पाइमिस्टर पद–पोसको काम पनि गरिराख्या ट्याममा मलाई सर्खारले ढिप्पी गरेर गोरमेन पिरेस टास्फोसमा पर्मुक राख्याथो । तेस ट्याममा गोर्मेन्टीको पोल्लिस्सीको खबर मैलेबाएक आर्काे कस्सैले यो बिस्स–सन्साराँ पुर्याउन पाउँथेन अ‍ैले कालका सूर्जे थापा जइसै–ठ्याक्कसँगले । यो देशको पोल्टिकल, सोसाटिकल, बिज्नेसिकल, शिक्छाकल, आर्थिकल सप्पैको जानकारी मेरा हातमा थ्यो । ………अनि त्याँड, तेस् ट्याममा मैले थोरै मात्तै बेरामी प्यासिन चइँ डाग्डर मन्मोन सिङको डिल्ली हस्पिटल पठाको थेँ र ? बेरामी मकाँ आउँथे, म केश हिस्टोरी सोद्थेँ अनि लेख्थेँ र ती डाग्डरले मेरो हेनराइटिन् देखेसि तेइ बेरामी प्यासिनलाई चइँ इन्पोरट्याँसमा हेरेर निको पार्थे । तेस् ट्याममा बेरामीका लागि टेलिफुनै नाथे त ककल्लाई कति हानंँे कति ! मैले लाएफमा गरेजति टेलिफुन त साएत कस्सैले गरेन होला ! ……….ए साँची तपइँको टेलिफुन खोइ काँ छ ?”

त्यस्तो वाक्क लागिरहेको बेला उनका कानै पाक्ने किसिमका भट्मासे गन्थन सुन्नुभन्दा उनी फोनमा अल्मलिउन् भन्ने सोचर मैले खुल्ला ढोकाबाट देखिने अर्को कोठाको टेबलतिर देखाउँदै भनेँ– “उ त्यहाँ टेबलमाथि छ । ”
उनी जुरुक्क उठेर त्यता गए अनि सोफामा बस्तै टेबल आफूतिर नजिक तानेर टेलिफोन सेट हातमा लिँदै मतिर भने– “ए पाँडे भाइ, तपइँ फुन छान्न जान्दो रैनछौ नि ! यो कालो रङको फुन किन किन्या ? फुन त रातो बा नीलोबड चइँ एताको बात उता राम्रो जान्छ र उताको बात एता राम्रो सुनिन्छ । हामेर्लाई पनि मुनपर्ने रातो किन्नु, अब पछि ।”
म सुती–सुती बिना स्वर हाँसे, उनले देखेनन् ।

उनले रिसिभर उठाएर नम्बर दबाए । दबाएको नम्बरको फोन रिसिभ भयो क्यार, उनले भन्न थाले– “अन्त के छ त खबर–खाबर माल्दाइ ? सन्चो–बिसन्चो, घर–बेभार, नाफा–नोक्सानी के छ– कस्तो चल्दैछ ? ………हँ ? हन कस्तो को माल्दाइ भन्या ? तपइँ मेरा माइला भान्दाइ र म तपइँको माओली भाइ हरिकान्त कम्रेट हुइनँ त अन्तखेरी ? माल्दाइले आज बेहानै टुइँक्याको बिसुरमा रेला खेल्या कि के ? …….के भनेउ ? …….हन मैले मेरा भान्दाइकाँ फुन हान्या हो, कस्काँ ग’छ त फुन– तेस्सिमा टोक्ने ? अन्त तेसो भा तपइँ चइँ को बोल्यौ र किन बोल्यौ त बिच्चाँ ? …….म को बोलेँ भन्र पैले भन्नुपर्ने ? ……..म मेरो छेत्रको होल टु होल–टोट्टलिङ सप्पै छेत्रभरिमा भन्नुको तात्पर्जे हुइथिन् माइ होलसेल एरिआमा सब्से सिन्यार पत्रकार गर्ने पेर्टिजिथिक मिस्कट भासाबिदमा एस्पोट पोल्टिस्यान कम्रेट हरिकान्त नारान मइदाली निज्जै बात गर्दैछु । ……चिन्दौन अरे ? अनि चिन्या थ्यौन भने किन चइँ नचिन्या मान्छेले हान्या फुन खित्रिक्कै उठायौ त ? मैले मेरा भान्दाइलाई गर्या फुन मलाई जिवै नचिन्या तपइँले उठाउन हुन्थो त भन्या ?”
उनले झर्केर घर्याङ्ग रिसिभर राखे र गन्गन गरे– “मलाई ‘फुन राख् पागल साला !’ भन्ने र आफैँ फुन काट्ने ! तो पागल कि म ? ” ………

उनले फेरि रिसिभर उठाए र अर्काे नम्बर दबाए– म हेरिरहेको थिएँ, देखिरहेको थिएँ । शायद दबाइएको नम्बर उठ्यो होला र उनले एकाएक भने– “अइबादन् हए कम्रेट कान्छा साउज्यू, सास्टाङ्ग अइबादन् ! म हजुरकै सेबक–कम्रेट हरिकान्तले फुन हान्या हूँ । त्याँ हजुरका हजुर्याचाकड्या को छ, एउडोलाई कम्रेट पर्शुरामको दोगान पठा’र मेरा नाममा दुई पोका मग्मग छ्याछ्याउ बाँकी मागेर मेरा घराँ लेराउन अडर गर्दिउँ–गर्दिउँ । मेरा पाँडे भाइ लास्टै बेरामी रछन् । छ्याउछ्याउको पोकाभित्र हुने नून–मसलाको झोल उमालेर खान्दिनु पर्ने भो । हुन ता इ पाँडे हामेर्का कम्रेटतिर छैनन्– राजाबादी, काङ्रेस, मोन बइद्देतिर– जता लागेका भा नि मानौं अदिकारको सम्रच्छन् त गर्नु परो नि ………हँ ? ल हेर त फेरि ! हन मैले मेरा छेत्रको एरिआका माजन–ठूलाघरे कम्रेट कान्छा साउकाँ हानेको फुन कता बराल्लेर पीस्योको फुनमा बज्न पुगो त ? …….के अरे ? ……..हन किन चाइयो मेरो नाम, थर, गोत्र र ओतनको हिस्टोरी ? …….हँ ?….. ए आर्काले काँ हानेको फुन ह्वाँ पुग्नै नपाई बाट्बाटै उठाउने तँ चइँ नबौला, म चइँ बौला ? तइँ बौला, तेरो बाऊ बौला, तेरा हजुर्बाऊ बौला– लु जा ।”…….

रिसिभर राख्तै उनी फेरि गन्गनाए– “हन यो फुनबड किन ताक्या ठाम्मा कन्टेक हुँदैन हँ ? उइले मिलिट–मिलिटमा डिल्ली, बम्बै, कलकत्ता, हङकाङ, मलाया, साउदी, अम्रिका, बिर्टिस जइसा देश–देशका मेडियासित उत्रो कन्टेकका कन्टेक गर्ने ज्यान हो यो । मैले फुन हान्न नजान्या हो र थोडै ? हुन त अस्ति अम्रिकामा डोल्यान टरम्प रास्पति भाका दिन झोडागाम्की भाम् साइँली र मैले उन्लाई काङरेचुलेँसी दिन फुन हान्दा–हान्दा अम्ला कम गलेका थेनन्, फुन लागेको थेन । आज त झ्यान् यो कालो फुन !”………

एकछिन् घोरिएपछि उनले फेरि लामो–लामो ट्याँट्याँ–टुँटुँ पार्दै नम्बर थिचे । उताबाट रेस्पोन्स हुनासाथ उसरी नै एकाएक भने– “याँ पाँडे भाइ सारै सिरेस्ली भका छन् । एस्ता बेलाँ हेल्पिङ गर्ने मानौता राखेम् भने इन्लाई पनि कम्रेट मेजर्टीमा तान्न सकिन्छ र हामेर्ले निस्वार्थी भ’र चाइँने केरे हेल्पिङ गर्नु प्रदछ । लु–लु हउ तपइँको छोरोलाई झट्टै …….हँ ? …….हन तपइँ जन्बाधी गाएककार बालकिस्न टुङ्ने होउन ? ……..ल हेर त ! ए तपइँ इल्याका पररीका हल्साप ?………हत्तेरिका ! मैले आर्कैतिर हान्या फुन हल्सापकाँ पुगेछ साला । सोरी हए हल्साप भेर्री सोरी । एस्का लागि हल्सापले डोन माइन नगरिकन मलाई एस्कुच मी गर्नु हओस् । नकस्कार गरेँ हए मैले हल्साप ।” ……..
उनले रिसिभरलाई सेटमा थेचारेर राखे र सिङ्गै सेटलाई उचालेर टेबलमा बजार्दै भने– “हइट, झन्नै एसिडेनमा पारेन पढ्के ठाँडाले !”

र, टोपी झिकेर त्यसको भित्रीले पसिना पुछ्तै मतिर आएर बम्के– “कालो टेलिफुन हर्रामी बिकामे हुन्छ भन्ने तपइँलाई था थेन ? एस्तो बज्या फुन पनि घराँ राख्ने ? एक्तिर हानो, आर्कातिर अन्भरिन्छ, छ्या !” ………
मलाई थामिनसक्नु हाँसो उठेर खोकी सर्कायो र खोक्तै उठेर बरण्डामा निस्केँ । उनी पनि मसँगै निस्केर खुट्टा थेचारेर हिँड्दै सरासर आँगनमा उत्रिएपछि झर्किंदै बर्बराए– “मैले एस् उमेरसम्म कतिहज्जार टेलिफुन खेलाएँ हूँला, तपइँको जइसो हर्रामी बइमान टेलिफुन छोकै थिनँ । हइट् खत्तम पो र’छ । झन्नै अभर पारो तेस्सिमालाने मुलङ्खरेले ! माथि सिम्मदर्बारदेखुन् इन्ड्याको डिल्ली दर्बारसम्मन्, लन्डन–देराडुङदेखुन् अम्रिकानसम्मन्, पटना–मनिपुर–नागाल्यानदेखुन् दोर्जेलिङ–सुख्खिम–भोटाङदेखुन् ओर्लाबारी–लेटाङ–इटारी–खोटाङसम्मन्, काँ–काँ चइँ मेरो टेलिफुनबड जनसम्पर्क कन्टेक भइराख्या छैन । यो तपइँको जइसो लोद्दर टेलिफुन काइँ छैन । काङरेस–राप्पपाहर्ले भिलेन खेल्या–पर्तेपच्छे खेल्या जइसो हामेर्लाई हेप्नी ? ……..तो फुन तुरून्तको तु च्यान्ज गर ?”……..

…….गौँथलीको बाऊ त्यस दिन त्यसरी आएर त्यस्तो बेवकुफी फर्माएर गन्गनाउँदै बाटो लागेका थिए । उनको त्यस्तो अनौठो जब्बर सोचाइसँग म दीर्घ परिचित थिएँ र मैले कुनै प्रतिक्रिया जनाएको थिइनँ । तर मनमनमा भनेथेँ– “यी बूढाको स्वभाव र हालको राज्य–व्यवस्थाको प्रकृति कसरी ठ्याक्क मिलेको गाँठे !” ….
(प्रकाशोन्मुख हास्यव्यंग्य उपन्यास ‘भालुभुत्ते मपाइँ’–बाट)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here