कोरोना भाइरस र संवेदनहिनता

0
640

डिसेम्बर २०१९ मा चीनको हुबेइ प्रान्तको बुहानमा पहिलो पटक पत्ता लागेको कोरोना भाइरस (कोभिड–१९) हाल आएर विश्वका दुई सय १६ राष्ट्रमा फैलिइसकेको छ । तीन करोड ६५ लाखभन्दा बढी जनसंख्या यो भाइरसबाट संक्रमित भइसकेका छन् । र, यी मध्ये १० लाख ६० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । कूल संक्रमित मध्ये दुई करोड ७१ लाखभन्दा बढीले यस भाइरसलाई जितिसकेका छन् ।

आजको मितिमा विश्वभर ७८ लाख ४५ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ९९% को अवस्था सामान्य छ भने एक प्रतिशत अर्थात् ६७ हजार सात सय ९६ संक्रमितको अवस्था जटिल छ । मेडिकल न्यूज टुडेका अनुसार ८०% (जसलाई कुनै लक्षण देखिँदैन)भन्दा बढीलाई बिना कुनै उपचार स्वास्थ लाभ भएको पाइएको छ भने छ जनामध्ये एकजनालाई जटिल लक्षण देखिने जनाएको छ ।

वर्तमान विश्वलाई आतंकित बनाई रहेको र समग्र आर्थिक, सामाजिक क्षेत्रलाई विनासतर्फ उन्मुख गराउँदै लगेको यो नयाँ भाइरस के हो ? र सम्भावित उपायहरु के होलान् ? भनेर सारा विश्वका वैज्ञानिकहरु यस विषयमा लागीपरेका छन् । ११ मार्च २०२० मा विश्व स्वास्थ संगठनले यो भाइरसलाई महामारीको संज्ञा दिएपछि अधिकांश मुलुकले लामो समय लकडाउनको उपाय गरे । जसबाट पुनः अरु अनेकौं मानवीय समस्याहरु पैदा हुँदै गए । भाइरसको भौतिक र मनोवैज्ञानिक त्रासका साथसाथै आर्थिक क्षेत्र पनि ठप्प हुँदा अन्य धेरै जटिल समस्याहरु थपिन लागेका छन् ।

मानवीय जीवनका हर क्षेत्र खासगरी उद्योग, व्यपार, सेवा क्षेत्र, पर्यटन, शिक्षा, यातायात आदि ठप्प प्रायः हुँदा अधिकांश मध्यम र निम्न स्तरका नागरिकको दैनिक जीवन कठिन बन्दै गएको छ । यिनै दुई भिन्न अवस्थामा पछिल्लो समय नेपाल लगायत विश्वभर कोरोना भाइरस र सामान्य जनजीवन सँगसँगै जानुपर्ने भन्ने किसिमको मत बिकास भएको छ । हामी कहाँ नै पनि हारहारीमा दैनिक तीन हजारभन्दा बढी संक्रमित देखिँदै गर्दा आ–आफ्नो उद्योग व्यवसायतर्फ उन्मुख हुँदैछ ।

विश्वलाई चरम रुपमा आक्रान्त पारिरहेको यस महामारीका सम्बन्धमा पछिल्ला समय विभिन्न टिका–टिप्पणी र बहस जारी छ । एकथरीहरु यस महामारीलाई सम्वेदनशील रुपमा लिँदै कठोर कदम चाल्न उत्प्रेरित गरिरहेका छन् भने अर्काथरी यसलाई सामान्य रुघाखोकी कै स्तरमा ब्याख्या गरिरहेका छन् । यिनै दुईथरी अतिवादी विचारलाई समन्वय गराई जनजिविका टिकाई राख्नु आजको आवश्यकता देखिन्छ । कोरोना भाइरस केही पनि होइन, भ्रम फैलाएर व्यापार बढाउने रणनीति हो भन्ने भ्रम छर्नु पनि एक किसिमको अतिबाद हो । र, यति संख्यामा पुग्यो भने पुनः लकडाउन गर्नुपर्छ भन्ने विचार पनि अतिबाद हो ।

विश्व स्वास्थ संगठन, नेपाल सरकार र अन्य सम्बन्धित निकायले यस भाइरसका सम्बन्धमा हालसम्मको जानकारी र सावधानीका उपायहरु बारम्बार बताइरहेका छन् । हामी जस्ता गैर स्वास्थ शिक्षा अध्ययन गरेका नागरिकदेखि सामान्य आमनागरिकले यो भाइरस के हो ? र यसबाट कसरी बच्न सकिन्छ भन्ने सन्देशहरु निरन्तर पाइरहेका छन् ।
आम सञ्चारका साधनहरु प्रशस्त भए सँगै हर सूचनाहरु नागरिक कहाँ छिटो पुगिरहेकै छ । यतिका चेतनाका बाबजुद नागरिकमा यो भाइरस प्रतिको सवेदनशिलता हराउँदै गएको आभाष हुन लागेको छ । विज्ञका अनुसार खासगरी भीडभाडमा नजाने वा भीडको स्थिति नबनाउने, मास्कको सही उपयोग गर्ने, बेला–बेलामा साबुनपानीले हात धुने या सेनिटाइजरको प्रयोग गर्ने । यी उत्ति सारो लागू गर्नै नसकिने र कठोर नियम होइनन् । यी यस्ता विधि हुन जसले अरु रोगहरुबाट समेत बच्न सहयोग गर्दछ ।

हामी सबैलाई हाम्रो देशको आर्थिक हैसियत करिब–करिब थाहै छ । र यही प्रकारको शासनशैली र व्यवहारबाट उतिसारो चुस्त व्यवस्थापनको आशा गर्नु अब मुर्खता हुन्छ । आफ्नो हैसियत र कार्य क्षमता अनुसार गरिरहेको भन्नुपर्छ । यद्यपि अरु धेरै गर्न सकिने अवस्था भने नभएको होइन । सामान्य अवस्था हुँदा विपद्को अवस्थामा बिभिन्न अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गर्नु सान्र्दभिक नै हुन्छ । तर, यो असामान्य अवस्था हो र विश्वका अधिकांश बिकसित मुलुक आफैं संकटबाट गुज्रिरहेका छन् ।

यसरी हामी आफंै पनि व्यवस्थापन गर्न नसक्ने र बाह्य सहयोग पनि अपेक्षाकृत नहुने अवस्थामा स्थिति बिग्रन सक्छ । यो सब स्थिति नियन्त्रण गर्ने पहिलो भूमिका हाम्रो आफ्नै हो । आज विश्वका कतिपय मुलुकमा यो भाइरस नियन्त्रणतर्फ गइरहेको छ । किनकि ती देशका सरकारले चालेका कदम र त्यसमा जनताको भरपुर साथ थियो । अन्त्यमा, हामी यो अवस्थालाई कतातिर लान्छौं त्यो अब हाम्रै हातमा छ । हामी अब पनि संवेदनशील बन्न सकेनौं भने अझ जटिल अवस्था नआउला भन्न सकिन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here