भुइँमान्छेको रोदन र नेपाली गणतन्त्रको रंग

२६ आश्विन २०७७, सोमबार मा प्रकाशित


नेपालमा गणतन्त्र स्थापना भएको एक दशक बितिसकेको छ । शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र राजतन्त्रको प्रतिकको रुपमा रहेको राजशाही आवास नारायणीहिटी दरबार शान्त र गम्भीर रुपमा त्यागेर नेपाल सरकारले छुट्याएको गोकर्णस्थित आवासमा बसाइँ सरेको पनि एक दशक बितिसकेको छ । नेपाली जनताले सात दशकभन्दा बढी समयदेखि जनताले निर्वाचित गरेको संविधानसभाबाट जनताका लागि संविधान बनाउने संकल्प चाहिँ २०७२ सालमा मात्र पूरा भएको थियो । सामन्तवादी राज्यसत्ताको उपरी संरचनाको रुपमा राजतन्त्र रहेको थियो, तर मुलुक सुगौली सन्धिपछि नै क्रमशः पुँजीवादी मार्गमा अग्रसर भएको थियो ।

तसर्थ, नेपाली जनताको निरन्तरको संघर्ष राजतन्त्रविरुद्ध मात्र लक्षित थिएन, त्यो त बँचेखँुचेका सामन्तवादी अवशेष र मानवता विरोधी शोषणको मुख्य आधार दलाल पुँजीवादी व्यवस्थाकाविरुद्ध थियो । तर, सामन्तवादी संस्कृति र पुँजीवादी व्यवस्था अहिले पनि कायम छ । त्यसकै कारण दशकौं लामो संघर्षले सफलता प्राप्त गरेपछि पनि नेपाली जनताको मनमा शान्ति आउन सकेको छैन, नेपाली जनताको मुहारमा कान्ति आउन सकेको छैन । गणतन्त्र स्थापनाका लागि रणमैदानमा उत्रिएका सयौं–हजारौं कार्यकर्ता र समर्थकको सोचमा भ्रान्ति आउन थालेको छ । कतिपय नेताहरु पदलोलुपताले वशिभूत भएर आफ्नो इतिहास एकै पटकमा तिलाञ्जलि दिन तयार भएका छन् ।

नेपालका सबै संघर्ष र आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्न सक्ने ल्याकत बोेकेको मानिएको संघीय लोकतान्त्रिक गणतन्त्रबाट नेपाली जनताको चाहना र भावनाले मूर्तता प्राप्त गर्न सकेको छैन । संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र समावेशिता सहितको ऐतिहासिक संविधानले समाज–सोपानको जगमा रहेर नित्यनिरन्तर श्रम गर्ने मेहनतकश जनताको जीवनमा खुशियाली ल्याउन सकेको छैन । गौरवमय गणतन्त्रले दीनदुःखीको दर्दमा मल्हमपट्टी लगाउन सकेको छैन । वैज्ञानिक समाजवादका प्रणेता कार्ल माक्र्स भन्छन्– ‘शोषकको ओठको मुस्कान गरीबको रोदनबाट लुटिएको हुन्छ ।’ आज भुइँमान्छेहरु रोइरहेका छन् भने मुलुकमा को मुस्काइरहेका छन् ?

सामान्यतः वंश वा अन्य कुनै आधारमा कोही स्थायी प्रकारको शासक नभई जनताका प्रतिनिधिले निश्चित विधिका आधारमा छानिई निश्चित अवधिसम्म जनताका लागि गर्ने शासन नै गणतन्त्र हो । यसबाट राजतन्त्र स्वतः गणतन्त्रको विपरीत धु्रबी हो भनेर बुझ्नु पर्दछ । राजतन्त्र नभएको र आवधिक निर्वाचनबाट चुनिएका प्रतिनिधिले शासन गर्ने पद्धतिलाई गणतन्त्रका रुपमा परिभाषित गर्ने गरिन्छ । यस्तो व्यवस्थामा देशको मूल व्यक्ति राष्ट्रपति वा प्रधानमन्त्री जन्मको आधारमा होइन, उसका कर्मका आधारमा जनताले निर्वाचित गरेर मात्र हुनसक्छ । तर, राजतन्त्र भएका सबै मुलुक गरीब छन् ? गणतन्त्र भएका सबै मुलुक सम्पन्न छन् र ? प्रश्न राज्यव्यवस्थाको मात्र होइन, प्रश्न राज्यसंयन्त्रले जनताको कस्तो सेवा गरिरहेको छ भन्ने पनि हो । स्वतन्त्रता मानवीय नैसर्गिक चाहना हो र दासता वा उत्पीडनको विरोध सचेत मानिसको स्वभाव हो । जतिसुकै राम्रो राज्यव्यवस्था भए पनि त्यसले अधिकार र कर्तव्यको व्यवस्था मात्र गर्छ, क्षमता दिँदैन ।

कार्यान्वयन गर्ने क्षमता सरकार र राजनीतिक दलले देखाउनुपर्छ । गणतन्त्र घोषणा गर्दैमा जनतामा साँचो खुशियाली आउने होइन भन्ने कुरा बुझ्न नेपालकै इतिहास पढ्दा हुन्छ । एक दशकभन्दा बढी भइसक्दा पनि गणतन्त्र शिशु अवस्थामै रहनु चिन्ताको विषय हो । मुलुक अहिले पनि संक्रमणकालबाट गुज्रनु परेको तीतो यथार्थले जनतामा द्विविधा र संशय सृजेको छ । गणतन्त्रले जनतामा किन सन्तुष्टिको अभिवृद्धि गर्न सकेन ? नेपालमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था छ । गणतान्त्रिक चेतनाको पृष्ठभूमिको कुरा गर्दा यो निकै लामो देखिन्छ र यसलाई आनुवंशिक राजतन्त्रको आरम्भ हुनुअघिको स्वतःस्फूर्त गणतान्त्रिक समाजको परिवेश र तज्जन्य चेतनासँग जोडेर हेर्नु पर्दछ । राजतन्त्र तथा सिङ्गो सामन्तवादका विरुद्ध हुँकार गर्दै हजारौं शहीदहरुको रक्तरञ्जित बलिदानीको लामो सूची गणतान्त्रिक चेतनाको पृष्ठभूमि हो । क्रान्तिकारी दृढता सम्झौताहीन ढङ्गले शब्द र कर्मको एकत्वका साथ अघि बढ्दै जाने क्रममा आजको गणतान्त्रिक राज्यव्यवस्था स्थापना हुन सफल भएको हो ।

वर्गबोधी चेतनाले नेपाली समाजमा सामन्तवाद विरोधी विद्रोही चेतनाको बीजारोपण भएपछि उत्पीडितहरुका जीवनमा गणतन्त्रको सुन्दर बिहान झुल्कने सपना साँचिएको थियो । शोषण, उत्पीडन, विभेदका विरुद्धका संघर्षका अन्तर्यमा निहित त्याग, बलिदान र उत्सर्गको भाव तथा सामन्तवाद विरोधी नवीन संस्कृतिको अभ्यासले विचार र व्यवहारका क्षेत्रमा गणतान्त्रिक चेतनाको उदात्तीकरण र कलात्मक बिम्बीकरण गर्ने परिवेशको निर्माण ग¥यो । सत्ताको तीव्र दमनका बावजुद पनि निर्भीकतापूर्वक गणतान्त्रिक चेतनालाई नेपाली समाजमा मलजल गर्ने कार्य गरियो । सामन्तवाद साम्राज्यवाद विरोधी चेतनाकै कारण नेपालमा गणतन्त्रको जन्म हुन सकेकोमा दुईमत छैन । नेपालको इतिहासमा सामन्तवादी निरंकुशताविरmद्ध राजनीतिक आन्दोलनको आरम्भ भएपछि गणतन्त्रको विजयको यात्राको शुभारम्भ भएको मान्न सकिन्छ ।

नेपाली गणतान्त्रिक चेतनाको औपचारिक र मूर्त अभिव्यक्ति राणाशासन विरोधी आन्दोलनकै सेरोफेरोबाट भएको हो । एक सय वर्षको अवधिको पृष्ठभूमि बोकेको गणतन्त्र प्राप्तिको चाहना र चेतना लामो कालखण्डदेखि नेपाली समाजमा कुनै न कुनै रुपमा विद्यमान रहेको थियो । नेपाली समाजमा प्राचीन कालमा वंशानुगत राजतन्त्रको आरम्भ हँुदाताकादेखि नै पनि राजतन्त्र विरोधी चेतना थियो । राजतन्त्र र सामन्तवादकाविरुद्ध विद्रोह बोलिरहने प्रखर सुधारवादी चेतना र वर्णवाद, जातिवाद, हिंंसावाद र कर्मकाण्डी संस्कारका विरोधका गर्भबाट गणतन्त्रको भ्रुण विकास भएको हो । गणतान्त्रिक चेतनाभित्र वर्गीय, जातीय, नश्लीय, लैङ्गिक तथा क्षेत्रीय उत्पीडनको कारक सामन्तवाद र पुँजीवाद समेतका विरुद्धको चेतना लुकेको छ । उत्पीडनलाई कायम राखिराख्ने यथास्थितिवादी परिपाटी र व्यवस्थाका विरुद्धको र त्यसको अन्त्यको चाहनाबाट गणतन्त्र निःसृत भएको हो ।

सामन्तवाद विरोधी भावना र गतिविधिको बढोत्तरीले आफै चमत्कारी उपक्रमका रुपमा गणतन्त्रको विकास हुँदैन भन्ने सच्चाइलाई आत्मसात गर्न जरुरी छ । मानवजातिलाई अमानवीकरण गर्ने र विभिन्न किसिमको उत्पीडन गर्ने मानवद्वेषी सामन्तवादी र पुँजीवादी व्यवस्थाका विविध रुपहरुका विरmद्धको चेतनालाई गणतन्त्रको चेतनाका रुपमा लिनु पर्दछ र यथार्थमा गणतन्त्र प्राप्तिको लडाइँ जारी छ । रुपमा आएको गणतन्त्र सारमा प्रत्याभूत हुन अझै धेरै संघर्ष गर्न बाँकी छ । नेपाल आमाका सुयोग्य सन्तानहरुले नेपाली धरतीमा बगाएको रगतको मूल्य खेर जानु हुँदैन । गणतन्त्रको भाले नेपालका बस्तीहरुमा अझै बासेको छैन । गणतन्त्रको घाम अझै नेपालका सबै टाकुराहरुमा लागेको छैन । नेपालको संविधान २०७२ ले दिशानिर्देश गरेको समाजवादोन्मुख राज्यव्यवस्थाको आधार खडा गर्न सकेमा मात्र गणतन्त्रको उपादेयता सिद्ध हुन सक्छ ।

गणतन्त्रको कल्की भिरेर शासनको करेली हातमा लिनेहरुमा पनि राजतन्त्रको ‘भूत्याहा आत्मा’ अझै जीवित रहेको दर्जनौं उदाहरणहरु छन् । गणतन्त्र कस्तो रंगको छ ? राजतन्त्रको आत्मा बोकेर रंगिएको गणतन्त्रले राजतन्त्रकै सेवा गर्ने हो । पात्र फेरिने हो, परिवेश फेरिने हो, तर जनताको भुक्तमान उही, क्रन्दन उही, रोदन उही । शिक्षा, स्वास्थ्य र रोजगारका लागि गणतन्त्रसहितको राज्यव्यवस्थाले जनताका लागि केही नगर्ने हो भने राजतन्त्र र गणतन्त्रमा के फरक भयो ? जनतालाई आर्थिक अधिकारसहितको लोकतन्त्र चाहिएको हो । जनतालाई स्वतन्त्रतासहितको लोकतन्त्र चाहिएको हो । जनतालाई राजनीतिक, आर्थिक र सांस्कृतिक अधिकारसहितको लोकतन्त्र चाहिएको हो । उपरी संरचनामा आएको फगत निस्तो गणतन्त्रले जनताको ओठमा मुस्कान कसरी दिन्छ र ? जनताको रोदन हटाउने महासंकल्पसहित ल्याइएको थारो लोकतन्त्रले कसरी जनताको हृदयमा आशाको दियो बाल्नसक्छ ? तसर्थ गणतन्त्र जनताको पक्षमा हुनुपर्छ । त्यसैले लोकतन्त्र जनताको हितमा हुनुपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here