आस्थाको पहाडको अस्त

२६ आश्विन २०७७, सोमबार मा प्रकाशित

नेपालको प्रजातान्त्रिक आन्दोलनका जिवित इतिहासका रुपमा रहेका खनुपरुदेप्रकाह रामबाबुको निधनसँगै एउटा युगको अन्त्य भएको छ । ९९ वर्षको पनि आठ महिना भुक्तान गरिसकेका रामबाबु नेपाली कांग्रेसभित्र सत्यवादी, नैष्ठिक, आदर्शवान, अध्ययनशील र सरल व्यक्तित्वका रुपमा सुपरिचित थिए । बहुदलीय प्रजातन्त्रको अपहरण पछि अर्थात् वि.सं. २०१७ सालको राजनीतिक परिवर्तनपछि भूमिगत रहेर त्यही सिद्धान्त, निष्ठामा अविराम यात्रारत् रामबाबु राष्ट्रवाद र राष्ट्रभक्तिमा अविचलित रहे । वि.सं. २०३३ सालमा शीर्ष नेता वीपी कोइरालासँगै स्वदेश प्रवेश गरेका रामबाबु तदुपरान्त ०३६ सालको जनमत संग्रहमा बहुदलीय प्रजातन्त्रको पक्षमा समर्पित भए । अति सरल, प्रष्टवक्ता र सादा जीवनका पक्षपाती रामबाबु जीवनपर्यन्त आफ्नो निष्ठा र धर्मबाट अडिग रहे । नेपाली कांग्रेसले पछिल्लो समय संवैधानिक राजतन्त्र निरपेक्ष र अझ गिरीजाप्रसाद कोइरालाको सभापतित्वकालमा गणतन्त्रको नीति लिएपछि भने संस्थापक नेता वीपी कोइरालाको भावना विपरीत भन्दै उनले नेपाली कांग्रेस नै परित्याग गरे ।

झापालाई कर्मथलो बनाएका रामबाबुको स्थायी बसोबास बिर्तामोडमा थियो। स्व. सीके प्रसाई भरतबाबुका दाजु रामबाबु सिद्धान्तमा कट्टर थिए र अध्ययन, अवलोकन, सत्संग र मौलिकताप्रति हुरुक्क हुन्थे । कृषि, कानून, प्राकृतिक चिकित्सा विषयमा विज्ञता हासिल गरेका रामबाबुका जीवनका अनेक प्रसंगहरु अब थोरै मानिससँग मात्र रहेका छन् । मितव्ययी तर मौकामा हिरा फोर्ने चरित्र भएका रामबाबुको अर्को महत्वपूर्ण पाटो थियो साहित्यप्रतिको प्रेम र लगाव । झापामा रहँदा युवा कविहरुको अभिभावक झैं उभिने रामबाबु प्रत्येक साहित्यिक कार्यक्रमका मुख्य आकर्षण बनिन्थे । आफ्ना रचनाहरुलाई कन्तुरबाट निकालेको अनुमूति हुन्थ्यो जब उनी माथिको गोजीभित्रबाट मायाले राखेको कविता झिकेर पढ्न थाल्थे । नेपाली जीवनलाई नजिकबाट हेर्र्न नेपालको पैदल भ्रमण गरेका रामबाबु त्यसैले दिएको शिक्षाले हुनसक्छ, अन्न फ्याल्नु हुँदैन भन्ने मान्यता र निष्ठामा अविचलित रहे ।

राजनीतिलाई समाजसेवा ठान्ने रामबाबु संवैधानिक राजतन्त्र, अखण्ड र स्वतन्त्र नेपालको सिद्धान्तबाट कहिल्यै विचलित भएनन् । विश्वबन्धुत्व, भाइचारा, समाजका कुशल अध्येता, निष्पृह सेना, सादा जीवन र उच्च विचार जस्ता गुण भएका रामबाबुको अभाव शायद, कहिल्यै पूरा हुने छैन । दाना बटुलेर बोरा भर्ने कतिपयले नपत्याएका रामबाबु ‘बोरा पोखेर’ कुबेर बनेका छन् । करोडौं रुपैयाँ समाजका लागि खर्च गरेका उनी अनौठो जीवन पद्धतिका नमूना नै थिए । उनको कर्म, उनको सिद्धान्त, उनको दानशीलता, उनको सरलता र निष्ठाप्रतिको दृढता थोरै पनि हाम्रा लागि अनुकरणीय बन्यो भने समाज परिवर्तनमा ठूलो सहयोग हुन सक्छ । झण्डै शताब्दी जीवन भोगेर अनन्त यात्रामा निस्किएका आदर्श पुरुष रामबाबुको विशिष्टता अब आउने पिढीका लागि कथा मात्रै नबनोस्, उनको सायुज्य मुक्तिको कामना साथ भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछौं ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here