१९औं सम्झौताको अन्तर्य

२८ आश्विन २०७७, बुधबार मा प्रकाशित

Advertisement

बोल्ने, काम नगर्ने :

नेपालका राजनीतिक दलका नेता, सरकार प्रमुख र प्रमुख प्रशासकहरु समेत बोल्ने तर काम नगर्ने तत्वमा दरिएका छन् । पंक्तिकारले आफ्नो ६८ बर्षे वयसम्म आइपुग्दा महशुस गरेको, देखेको र भोगेको यथार्थ यही हो । धेरै बोल्छन् तर काम कम गर्छन् र कति त कामै गर्दैनन् नेपालका प्रधानमन्त्री, मुख्यमन्त्रीहरु र मन्त्रीहरु । र, पनि उनीहरु नै दोहोरिइ, तेहरिइ र चौहरिएर सत्तामा पुगेका पुग्यै छन् । धेरै बोल्ने, कम काम गर्ने नै पुनः सत्तामा पुग्ने भएकोले यो नै उनीहरुको नेतामा हुने विशेष गुण भएको छ ।

यस्तो गुण कुनै अमुक दलका स्थानीय तहका नेता, सांसद वा मुख्यमन्त्री, मन्त्री र प्रधानमन्त्रीमा मात्र होइन । पञ्चायतकालदेखिकै परम्परा हो नेपालमा । अरु देशको सबै जानकारी त पंक्तिकारलाई छैन । तर, छिमेकी देश भारतमा पनि दलका नेता र सत्तामा पुग्नेहरु धेरै बोल्छन् तर केही काम पनि गर्छन् ।

माथिको प्रसङ्ग हालै स्वास्थ्य क्षेत्र सुधारका लागि जनताको आवाज मुखरित गर्ने र आफ्नो ज्यान समेत अर्पण गर्न तयार हुने निष्पृह अभियन्ता डा.गोविन्द केसीको १९औं अनसनसम्मका घटना र १९ वटै सम्झौताका बारेमा ल्याइएको हो । अर्को कुरा नेपालमा जे पनि महत्वपूर्ण परिवर्तन वा सम्झौता ती रातमा मात्रै भएका छन् । यसपटक डा. केसीसँग पनि मध्यरातमै सम्झौता भएको छ । घोत्लिएर पाठकहरु स्वयम्ले सोच्दा स्मरण भइहाल्छ भनेर चर्चा नगरिएको हो । दिनभर कता जान्छन् ती र रातमा मात्र जाग्राम हुन्छन्, पंक्तिकारले अहिलेसम्म बुझेन ।

जे होस् फेरि डा. केसीसँग सरकारले १९ पटक पनि सम्झौता गरेर उनको जीवनको रक्षा गरेको छ । अर्थात् जनआवाज मुखरित गर्न सत्याग्रहको एकदमै शान्तिपूर्ण आन्दोलन गर्ने केसीको जीवन रहनु भनेको जनता बाँच्नु सरह हो । त्यो भएको छ । तर, यसपटक धोका नहोस् । यसपटक ओली सरकार केसीसँग झुक्ने पक्षमा थिएन । २७औं दिनसम्म केसीलाई ओली सरकारले नाथे नै सम्झियो । बिसांै बर्षसम्म जेलनेल खाएका, १० बर्ष जनयुद्धका नाममा निहत्था जनता समेत सिद्ध्याएका, शोषक सामन्त मास्ने अभियानमा लागेर निरीह जनतासमेत गिंडेको गुण भएका जनवादी नेता नै सत्तामा पुगेर रजगज गर्नेले पो जनताका आवश्यकता पूरा गर्ने हो भनेर केसी जस्ता डाक्टरले बिरामी हेर्न छोडेर नखाइ सुत्ने हो भनेर नाथे सम्झेका थिए । तर, केसीले आफ्ना लागि केही पनि मागेका थिएनन् ।

जनवादी सरकारले जनताका लागि गर्नुपर्ने काम नगरेर हिजोकै उनीहरुका परिभाषामा शोषक सामन्त र पुँजीवादीकै पक्षमा काम गरेको देखेपछि तन, मन र धनले जनवादी विचार निर्वाह गर्दै आएका केसीले सत्याग्रहको बाटो समातेका थिए । उनका पछाडि नेकपालाई दुईतिहाइ नजिकको मत दिएर सत्तामा पु¥याउने आम जनता र नेकपाका समर्थक र कम्युनिष्ट नभए पनि जनता नै जनार्दन हुन् भनेर मान्ने अहिलेका युवा चेतना बोकेकाहरु केसीको पछि थिए ।

त्यसैले बेलुकीसम्म बिनाशर्त अनसन तोड्न आग्रहपूर्ण दबाब दिने सरकारी वार्ता टोलीको बक्तव्यले केसीका समर्थक आमजनताको दिमाग ततायो । ती लाखौं जनताको राप ओली सरकारले थाम्न सक्ने देखिएन । कथम् कदाचित केसीको जीवन बिहान उठ्दा तलमाथि भएको रहेछ भने कोरोना भनेर आमजनता घरमा बस्दैनन् भन्ने ओलीले महशुस गरेपछि बक्तव्य निकालेर घरमा आराम गर्न गइसेकेका सरकारी वार्ता टोलीका संयोजक स्वास्थ्य सचिव गोपीनाथ मैनाली झिकाइए र अघिल्लै दिन तयार पारिएको सम्झौतामा मिति परिवर्तन गरेर केसी पक्षकालाई बोलाएर सम्झौता गराइएको हो ।

दोस्रो कुरा :

सम्झौता भयो । राम्रो भयो । केसीको जीवन रक्षा गर्नैपर्ने थियो । भयो । स्वागतयोग्य नै हो, सरकारी कदम । तर, यसअघि यस्तै सम्झौता १८ पटक भएका थिए । ओलीले दोस्रो पटक प्रधानमन्त्री भएपछि २०७५ साल माघमा पनि केसीसँग यस्तै सम्झौता गरेका थिए । तर, पालना नगर्दा र पालना गर भनेर केसीले बारम्बार भनिरहँदा समेत नटेरेर टारटुरका काम मात्र गरेर गरे जस्तो देखाउन थालेपछि केसीले १९औं सत्याग्रह कर्णालीबाट शुरु गरेका हुन् । अब शनिबार मध्यरातमा गरिएको सम्झौता ओलीले पालना गर्लान् ? शंकै छ । बोल्न र आश्वासन दिन माहिर ओलीले यसपटकको आश्वासन पूरा गरे भने जनताका लागि राम्रै हुन्छ । पालना गरुन् । यही शुभकामना छ ।

पालना नगरे फेरि केसीले २०औं सत्याग्रह गर्नेछन् र त्यसले भने ओलीलाई पक्कै बढार्ने छ । आफू बढारिन नचाहने हो भने ओलीले अब चाहिँ बहानाबाजी नगरी जनताका लागि गर्नुपर्ने काम विधि र प्रक्रिया अनुसार गर्नु कल्याणकारी हुन्छ । उनका कामले त केसी ओली समर्थक पो रहेछन् । उनी वैचारिक हिसाबबाट बामपन्थी हुन्, होइनन् पंक्तिकारलाई थाहा छैन र खोजी पनि गरेको छैन । खोज्न आवश्यक पनि छैन । तर, उनको काम गराई व्यवहारमै जनवादी छ ।
ओली लगायत नेकपाका नेताहरु सिद्धान्तका बामपन्थी र जनवादी, व्यवहारमा पुँजीवादी र तिनका पृष्ठपोषक देखिएका छन् । तर, केसी व्यवहारमा जनवादी देखिएका छन् । उनले गरीब र निमुखा जनताको समेत भलो होस् भनेर जीवन अर्पण गरिरहेका छन् ।

अहिले नेपाल सरकारले लिएको शैक्षिक नीतिले क्षमता भएका गरीब जनताका छोराछोरीले डाक्टरी र इञ्जिनियरिङको शिक्षा लिन पाउँदैनन् । कमसेकम सरकारी शिक्षण अस्पताल हुने हो भने त्यहाँको सामान्य फिस तिरेर उनीहरुले शिक्षा लिन पाए भने तिनीहरुले दिने स्वास्थ्य सेवा गुणस्तरीय पक्कै हुनेछ । उनीहरुले क्षमताले पढ्छन् धनीका अधिकांश छोराछोरीले पैसाले पढ्छन् ।

गरीबका, दुर्गगमका जनताका छोराछोरीले अफ्नो नजिक पढ्न नपाउने हो र ? के यस्तै हुन्छ लोकतान्त्रिक समाजवादी शैक्षिक नीति । पक्कै होइन । तर, ओली र ओली अघिका सरकारहरुले पनि ओलीले जस्तै गर्दै आए । पछिल्लो कालमा ओली अझ कडा देखिए । लोकतान्त्रिक विधिबाट आएका तर, मनभित्र तानाशाह प्रवृत्ति पालेका । कुण्ठा बोकेका । विद्रोही चेत तर, त्यस्तो विद्रोह, बदलाको भावना भएका ।

तेस्रो कुरा :

कार्लमाक्सले सन् १८४८ मा लेखेको कम्युनिष्ट घोषणापत्र रटेर वा रटेको जस्तो गरेर कम्युनिष्ट भएका नेपालका अधिकांश कमनिष्टहरु कमाउनिष्ट भएका छन् भन्छन् धेरै विश्लेषकहरु । चर्चित लेखक तथा पंक्तिकारका कक्षा ५ का गुरु खगेन्द्र संग्रौलाले हालै प्रायः निश्चत कै भाषामा लेखेको नढाँटीकन भन्ने लेखले नेपालका कम्युनिष्टहरुलाई बाम भनाउँदा प्रशिक्षकले विगारेको देखाउँछ ।

त्यो लेख हालै कान्तिपुर दैनिकमा प्रकाशित छ । पाठकहरुलाई जाँगर चले खोजेर पढे हुन्छ वा पढिसकेको छ भने राम्रै भएको छ । त्यसमा केही ज्ञानगुनका कुरा छन् कम्युनिष्टहरुका लागि । उनले कम्युनिष्ट हुनुहुँदैन भनेका छैनन् । असली कम्युनिष्ट हुने लालसा बोकेका ठिटाहरु बाम प्रशिक्षकहरुका कारण बिग्रिएको उल्लेख आफ्नो उदाहरण दिएर लेखेका छन् । यो प्रसंग पंक्तिकारले किन लेखेको हो भने कम्युनिष्ट हुँ भन्नेले सामन्तको सोच राख्नु भएन । समाजवादी हुँ भन्नेले पुँजीवादी सोच राख्नु भएन । लोकतन्त्र चाहनेले अलोकतान्त्रिक काम गर्नुभएन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here