ताप्लेजुङमा सर्पको बिगबिगी, झारपुक गर्दागर्दै जान्छ ज्यान

२९ आश्विन २०७७, बिहीबार मा प्रकाशित

दिलकुमार लिम्बू/ फुङ्लिङ, 

फक्तताङलुङ गाउँपालिका–५ तापेथोककी धनमाया मावो घर नजिकैको सुँगुरको खोरमा झार उखेल्दै थिइन् । दिउँसोको समय टन्टलापुर घाम लागेको थियो । उनलाई भने सुँगुरको खोर वरपर सफा गरिसक्ने हतारो थियो । सोही क्रममा झारमा लुकेर बसेको सर्पले धनमायाको हातमा डस्यो ।

छिमेकी राम लिम्बूका अनुसार गत असार २८ गते दिउँसो सर्पले डसेको हो । श्रीमान् बुद्धपाल लिम्बूले दुई घण्टा पैदल टाढाबाट धामी (फेदाङ्वा) बोलाएर झारफुक गर्न लगाए । भोलिपल्ट बिहान ४ बजे धामीकै अगाडि उनको मृत्यु भयो । “हामीले बेलुका मात्रै थाहा पायौँ”, छिमेकी रामले भन्नभुयो, “झारफुक गर्दागर्दै उनको मृत्यु भयो ।” उक्त गाउँबाट नजिकैको लेलेप स्वास्थ्यचौकी तीन घण्टा पैदल दूरीमा छ ।

मिक्वाखोला गाउँपालिका–४ थलङ निवासी अमरसिं थलङ रोजगारीको सिलसिलामा फक्ताङलुङ गाउँपालिका–६ लेलेप सडकको ग्याविन बुन्न पुग्नुभयो । राति छिमेकीको घरमा मोबाइल चार्ज गर्न जाने क्रममा रुखमा रहेको सर्पले गत भदौ २० गते रातको १२ बजे गालामा डस्यो ।

गालामा डसेपछि शरीरमा विष फैलन नदिनका लागि डोरीले बाँध्न पनि समस्या भएपछि झारफुक गरे । तर, सिकिस्त अवस्था पुगेपछि थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङमा पु¥याइयो । जिल्ला अस्पताल ताप्लेजुङमा एक रात राखेपछि अवस्था निकै गम्भीर भएपछि थप उपचारका लागि भदौ २२ गते झापाको चारआली सर्पदंश अस्पतालमा पु¥याइ अहिले थलङको उपचार भइरहेको छ ।

फक्ताङलुङ गाउँपालिका–५ तापेथोकका १३ वर्र्षीय फाल्गुनन्द तुम्बाहाम्फेलाई २०७६ वैशाख २६ गते घरमै सर्पले डस्यो । उनलाई सुतिरहेको समयमा हातमा सर्पले डसेको थियो । परिवारले धामी बोलाए । धामीले घाउ नजिकै डोरीले बाँधे र झारपात पिसेर लगाइदिए । यसरी धामीले १५ दिनसम्म विष झार्न प्रयास गरिरहे ।

निको हुनुको साटो हात सुनिन्दै गयो । केही नलागेपछि छिमेकीको आग्रहमा तापेथोक स्वास्थ्यचौकी लगियो । स्वास्थ्यचौकीले यहाँ उपचार सम्भव नहुने भन्दै सुविधासम्पन्न अस्पतालमा लैजान सिफारिस ग¥यो । उपचारका लागि झापातर्फ लैजाने क्रममा इलामको फिक्कल पुग्दा उनको मृत्यु भयो । स्थानीय दीपक लिम्बूका अनुसार बालकलाई निको बनाउन इसाई धर्मको विधिअनुसार पटक–पटक बाइबल पढाइएको थियो ।

सर्पले डसेर घाइते बनेकी फक्ताङलुङ–४ इखाबुकी नैनरानी लिम्बूलाई पनि परिवारले झारफुक गर्न लगाए । धामीले निको पार्छु भनेपछि दुई दिनसम्म बाटो हेरे । बिरामीको अवस्था नाजुक बन्दै गयो । धामीले पार लगाउन नसकेपछि जिल्ला अस्पताल पु¥याइयो । अस्पतालले झापाको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा लैजान भन्यो । त्यहाँ पनि उपचार सम्भव नभएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बिर्तामोडमा गत साउन १३ गते नैनरानीको मृत्यु भयो । घरबाट आधा घण्टा पैदलमा रहेको अलैँची बगानमा घाँस काट्न जाँदा उनी सर्पको शिकार बनेकी थिइन् ।

फक्ताङलुङ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईका अनुसार उक्त गाउँपालिकामा मात्रै पछिल्लो तीन वर्षमा १५ जनाको सर्पले डसेर मृत्यु भएको छ । आर्थिक वर्ष २०७६/७७ मा जना, २०७५/७६ मा चार जना र २०७४/७५ मा चार जनाको सर्पको टोकाइपछि मृत्यु भएको भट्टराईले बताउनुभयो ।

यो अवधिमा सर्पले डसेर घाइते हुने २० भन्दा बढी छन् । अन्य पालिकामा पनि सर्पको बिगबिगी उस्तै छ । गत जेठ २१ गते फुङलिङ नगरपालिका–२ लहरेगाउँका ६८ वर्षीय प्रातलाल बम्जनलाई सुतेकै ठाउँमा सर्पले डस्यो । राति धामी बोलाएर विष झार्न लगाइयो । एक घण्टा दूरीमा रहेको जिल्ला अस्पताल लानेतर्फ कसैले चासो दिएनन् । उनको बिहान पाँच बजे मृत्यु भयो ।

फक्ताङलुङ गाउँपालिका–४ का पूर्वप्रधानपञ्च मणिप्रसाद लावुङका अनुसार त्यो भेगमा पाइने सर्प गुर्भे र हरियो (सतुवा) हुन् । यी सर्पले अलैँची बगानमा काम गर्दा र घाँस दाउरा गर्दा मानिसलाई आक्रमण गर्ने गरेका छन् । सर्पले डसेपछि झारफुक गर्ने, डोरीले कस्ने, झारपात माडेर लगाउने, बुटी बाँध्नेजस्ता परम्परागत उपचार पद्धति व्याप्त छ ।

निकै ढिलो भएपछि मात्रै स्वास्थ्य संस्थामा लैजाने चलन रहेको लावुङले बताउनुभयो । गाउँघरमा विष निक्लियोस् भनेर डसेको ठाउँमा चिरेर रगत बगाउने र मुखले चुसेर रगत झिक्ने चलन छ । यस्तो गर्दा विष बाहिर निस्किँदैन तर अझ छिटो शरीरमा फैलिनुका साथै विभिन्न प्रकारको सङ्क्रमणको जोखिममा समेत वृद्घि चिकित्सक बताउँछन् ।

यी सर्प विषालु नभए पनि डसेको ठाउँमा अन्य सङ्क्रमण भएर बिरामीको ज्यान जाने गरेको जिल्ला अस्पताल ताप्लेजुङका प्रमुख डा सोनिङ लामा बताउनुहुन्छ । “सर्पले डसेपछि उहाँहरु घरेलु उपचारमा लाग्नुहुन्छ, कतिको घरमै मृत्यु हुन्छ, कोही अन्तिम अवस्थामा मात्रै हामीकहाँ आइपुग्नुहुन्छ”, लामाले भन्नुभयो, “गलत उपचारले रगतमा इन्फेक्सन पुग्छ र अन्य सङ्क्रमणले ज्यान गएको उदाहरण छ ।”

सर्पले डसेमा परम्परागत विधि प्रयोग नगर्न उहाँको सुझाव छ । जतिसक्दो छिटो स्वास्थ्य संस्थामा पु¥याउनु नै उत्तम उपाय भएको लामाले बताउनुभयो । “सर्पले टोकेको अङ्गलाई चलाउनु हुँदैन । स्थिर गरी बिरामीलाई अस्पतालसम्म पु¥याउनुपर्छ”, लामाले भन्नुभयो ।

गाउँघरमा सर्पदंशका कारण नागरिकहरु पीडित भए पनि सरकारले भने यसमा ध्यान दिएको छैन । तीनै तहका सरकारले यो समस्या समाधानको कुनै योजना बनाएका छैनन् । यो समस्याबाट न्यून आय भएका व्यक्ति बढी प्रभावित भइरहेका छन् । सर्पदंश समस्यलाई उच्च प्राथमिकता दिई नियमितरूपमा जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने पूर्वप्रधानपञ्च लावुङको सुझाव छ ।

आफ्नो पालिकामा अन्यभन्दा सर्पदंशको समस्या जटिल रहेको फक्ताङलुङ गाउँपलिकाका अध्यक्ष सरोज लिम्बूले बताउनुभयो । “हाम्रो क्षेत्रका जनतालाई सर्पले धेरै दुःख दिइसक्यो”, लिम्बूले भन्नुभयो, “यो वर्षदखि टोलटोलमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्छौँ ।”

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here