झापा।

कनकाई नगरपालिका – ३ निवासी २२ वर्षीय अभिषेक चौधरी र सोही नगरपालिका – ७ का २२ वर्षीय टल्के भनिने रबीन राजवंशी साथी हुन् । उनीहरु लुकीछिपी लागू औषध समेत संगै सेवन गर्ने गर्थे । सोही क्रममा असोज २८ गते बेलुका अभिषेकले रबीनलाई एक सय रुपैयाँ दिएर गाजा लिन पठाउछन् ।
रबीनले गाँजा ल्याएपछि मिलेर खानुपर्छ भन्दा अभिषेशकले तलाई दिन्न त के गर्छस् भन्दै गाली गलोज गरी एक झपड हिर्काएको र उनीसंग भएका अन्य साथीले समेत कान तान्दै जिस्क्याउँदा तल्के भन्ने रबीन राजवंशी अपमानित महसुस गर्दै घर फर्किन्छन् ।
गाँजा सेवन गर्न नपाएको र आफ्नै साथीले अपमानित गरेको महसुस गरेका रबीनले घरमा आएर दाउराको थाकमा राखिएको बञ्चरो लिएर अभिषेकको निगरानी गर्न थाल्छटन् । आफ्नो मोवाइलको टर्च बाली पश्चिमबाट पूर्ब तर्फ हिँड्दै गरेको अवस्थामा अभिषेक भुँइमा बसेर गाँजा खानका लागि बनाउँदै गर्दा रबीनले पछाडिबाट टाउकोमा बञ्चरो प्रहार गरेर हत्या गर्छन् ।
साथीको हत्या पछि राजवंशीले हत्यामा प्रयोग भएको बञ्चरो घटना घटाउँदा लगाएको सेतो रंगको फूल सर्ट खरानी रंगको साईडमा सेतो धर्का भएको रगत जस्तो देखिने रातो धमिलिएको धब्बा,टाटा लागेको कपडाको हाप्पैन्ट , खैरो रंगको एक जोर चप्पल घर पछाडिको झ्याङ्मा लुकाई छिपाई राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
हत्याको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गा र अनारमनीबाट प्रहरीको टोली घटना स्थल पुगेर अनुसन्धान अघि बढाएको थियो । हत्यामा सम्लग्नको पहिचानमा सहजता सोह भन्ने उद्देश्यले संघीय प्रहरी इकाई धरानबाट तालिम प्रप्त कुकुर समेत प्रयोग गरिएको थियो ।
घटनाको प्रकृति र अवस्थालाई मध्यनजर गर्दै प्रहरीले तत्कालै केही व्यक्तिलाई नियन्त्रणमा लिएपनि उनीहरुको सम्लग्नता नदेखिएपछि प्रहरीले अनुसन्धानलाई थप फराकिलो बनाएको थियो । सो क्रममा उनीसंगका साथीहरुको पहिचान गर्ने क्रममा घटना भएलगत्तै टल्के फरार भएको खुलेको थियो । त्यस पछि प्रहरीले टल्केको खोजीलाई तीव्रता दिएपछि घटनाको आठ घण्टामा नै हत्यामा सम्लग्न टल्के भनिने रवीन राजवंशीलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।
लागू औषधको प्रयोग र सेवनका कारण साथीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बिहीवार इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइयो ।
हत्यामा सम्लग्नको खोजीका लागि प्रहरीले ‘टल्के’अपरेशन नामाकरण गर्दै अनुसन्धान अघि बढाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो क्रममा हत्यामा सम्लग्न टल्के भनिने रबीन नै सम्लग्न भएको पहिचान भएपछि टल्के अपरेशन सफल भएको प्रहरी नायब उपरीक्षक रिाजालले बताउनुभयो ।
झापामा ४० दिनको अवधिमा भएका हत्याका चार वटा घटनामा नातेदार र नजिककै साथी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।
भदौ १६ गते यता श्रीमतीको हत्या गरेको अभियोगमा दुई जना श्रीमान र आफ्नै साथीको हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो ।
यस अघि भदौ १६ गते झापाको शिवसताक्षी नगरपालिका – ११ मा गोमनसिंह मगरको आफ्नै साथी मनकुमार लिम्बूले घाँटी रेटेर हत्या गरेका थिए । त्यस लगत्तै असोज १४ गते गौरादह –१ निवासी ६४ वर्षीय भीम भण्डारीलाई प्रहरीले श्रीमती मनमाया भण्डारीको हत्या गरेको अभियोगमा पक्राउ गरेको छ भने कमल गाउँपालिका –२ मा ३४ वर्षीय रामजी थापा पनि आफ्नै श्रीमती २४ वर्षीया रीतालाई खुकुरी प्रहार गरेर हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।
सबै घटनाका अभियुक्तलाई प्रहरीले कर्तव्य ज्यान मुद्धामा कारवाही अघि बढाएको छ । झापामा खुल्ला सिमानको फाइदा उठाउँदै लागू औषधको कारोवार तथा लागू औषध दुव्र्यसनी बढ्न थालेको भन्दै प्रहरीले निगरानी बढाएको छ । प्रहरीले बिर्तामोडबाट एग्रोभेट सञ्चालक तथा किराना पसलबाट समेत लागू औषध बरामद गरेर कारावाही अघि बढाएको छ ।




























