प्रदेश सकारले उलब्ध गरायो खोटेहाङलाई दमकल र प्रहरी भ्यान

३० आश्विन २०७७, शुक्रबार मा प्रकाशित

खोटाङ,

प्रदेश नं १ सरकारले खोटाङको खोटेहाङ गाउँपालिकालाई बारुणयन्त्र (दमकल) र प्रहरी भ्यान उपलब्ध गराएको छ । गाउँपालिकामा अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्न प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिहिबार गाउँपालिकालाई एउटा दमकल र एउटा प्रहरी भ्यान उपलब्ध गराएको हो ।

बिराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले गाउँपालिका प्रमुख प्रदीपकुमार राईलाई दमकल र प्रहरी भ्यानको चाँबी हस्तान्तरण गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिनुभयो । उक्त गाउँपालिकामा अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्न प्रदेश सरकारले केहि समयपछि एउटा एम्बुलेन्स पनि प्रदान गर्ने जनाइएको छ ।

जस्तापाता र खरको छाना भएको पुरानो संरचनाका घरहरु रहेको गाउँपालिकामा आगलागीका घटना बढी हुने गरेकाले नियन्त्रण गर्न प्रदेश सरकारसँग दमकल माग गरिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । “दमकल अभावमा गाउँपालिकामा यसअघि भएको आगलागीका कारण ठूलो क्षति व्यहोर्नु परेको थियो”, उहाँले भन्नुभयो, “प्रदेश सरकारले दमकल र प्रहरी भ्यान उपलब्ध गराएपछि सम्भावित घटना नियन्त्रण गर्न सहज हुने अनुमान गरिएको छ ।”

यस्तै, बिरामीलाई अस्पतालसम्म पु¥याएर ज्यान बचाउन एम्बुलेन्स सहयोगी हुने गाउँपालिकाले जनाएको छ । एकै ठाउँबाट मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्ने लक्ष्य अनुसार प्रदेश सरकारले दमकल, प्रहरी भ्यान र एम्बुलेन्स उपलब्ध गराएको बताइएको छ ।

प्रदेश सरकारले उपलब्ध गराएको दमकल र प्रहरी भ्यान लिन गाउँपालिका प्रमुख राई, उपप्रमुख कविता राई, प्रमुख प्रशासकीय अधिकृत भट्टराई लगायत बिराटनगर पुग्नुभएको थियो । प्रदेश सरकारले दमकल र प्रहरी भ्यान उपलब्ध गराएपछि गाउँपालिकाका स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्र दमकल छ । एम्बुलेन्स भने, जिल्लाका सबै स्थानीय तहले यस वर्ष खरिद गर्ने तयारी गरेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here