युवाका लागि परीक्षण, चुनौति र अवसर

३० आश्विन २०७७, शुक्रबार १२:०४ मा प्रकाशित

Advertisement

आगामी फागुन ७–१० गते महाधिवेशन गर्ने कांग्रेसको अघिल्लो निर्णय २०७७ असार २२ मा केन्द्रीय समितिले सदर गरेसँगै महाधिवेशन केन्द्रित थाती विवाद बल्झन थालेको छ भने पार्टीभित्र बाहिरका सबैखाले मुद्दालाई यतिबेला महाधिवेशनको चस्माबाट हेर्न थालिएको छ राजनीतिक वृत्तमा । तोकिएको मितिमै महाधिवेशन हुन्छ भन्ने बिश्वासिलो र भरपर्दाे आधार भने अझै पनि तयार भइसकेको छैन ।

देशमा अनपेक्षित वा अप्रत्यासित रुपमा कुनै ठूलो दुर्घटना भएन भने महाधिवेशनको तालिका नै प्रकाशित भइसकेको अवस्थामा महाधिवेशन हुँदैन भनेर शंका गर्नु अलि अर्गेलो होला । बिधानत् एक वर्षभन्दा बढी कार्यकाल बढाउन नपाइने बाध्यात्मक व्यवस्था अनुसार निर्धारित मितिमै महाधिवेशन सम्पन्न गराउनु नेतृत्वको कर्तव्य र दायित्व भएता पनि संविधानको राजनीतिक दल सम्बन्धी व्यवस्थामा पाँच बर्षभित्र महाधिवेशन गर्न नसक्ने विशेष परिस्थिति उत्पन्न भए छ महिना म्याद थप्न सकिने प्रावधानमा टेकेर नेतृत्वले बहुमतको बलमा महाधिवेशन छ महिना पर धकेल्न सक्ने खतरा विद्यमान नै रहेको हुँदा कार्यकर्ता अझै पनि दोधारमा छन् । विश्वस्त हुन सकेका छैनन्, नेतृत्वलाई शंकाको नजरले हेरेका छन् ।

यो सुविधाको लाभ लिन संस्थापन पक्षले अनेक तानावाना बुन्नेछ । यसैको सेरोफेरोमा कांग्रेसको राजनीति तरंगीत भएको छ । वातावरण गर्माएको छ अनि महाधिवेशनको रन्को लागेको छ । २०७५ बैशाख ११ गते बसेको केन्द्रीय समितिको बैठकमा निर्वाचनमा पार्टीले व्यहोरेको लज्जाजनक हारको विषयमा भएको समिक्षामा नेताहरुबीच आरोप–प्रत्यारोप र घोचपेच जारी रहेका बेला कांग्रेसका सात केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, गगनकुमार थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, धनराज गुरुङ, जीवन परियार र रामकृष्ण यादवले निर्वाचन समिक्षासहितको ५१ पृष्ठको कार्यदिशामूलक प्रस्ताव प्रस्तुत गरे ।

‘उमेरले डाँडा काटेका, विचारले भुत्ते भएका, सोचमा तदर्थवाद भएकाले नेतृत्व गर्दा पार्टीले समाजका चुनौति सामना गर्न नसक्ने, पुरानो नेतृत्वको बहिर्गमन र नयाँ नेतृत्वको आगमन नहुनाले एजेण्डा, विचार र क्षमताको दृष्टिले पार्टी जमेको पोखरी जस्तो भएको’ उनीहरुको निष्कर्ष थियो । स्मरण रहोस् यसअघि २०७४ पुष १६ मा विश्वप्रकाश शर्मा, गगनकुमार थापा, गुरुराज घिमिरे, चन्द्र भण्डारी, धनराज गुरुङ र बद्रि पाण्डे जस्ता युवा नेताले एक संयुक्त वक्तव्य प्रकाशित गरी कांग्रेस सुधार्ने र आफूहरु पनि बद्लिने प्रतिबद्धता जाहेर गरेका थिए । वक्तव्यमा भनिएको छ– ‘हामी विश्वास दिलाउन चाहन्छौं, हामी बद्लिने छौं, कांग्रेसलाई बदल्ने छौं ।

राष्ट्रिय राजनीतिमा प्रमुख भूमिकाका साथ पार्टीलाई नयाँ उचाईमा पु¥याउने छौं ।’ युवा नेताहरुले गरेका प्रतिबद्धता कति पूरा भए, भएनन्, भए भने कति भए, भएनन् भने के–कति कारणले भएनन्, हुन सकेनन्, कमजोरी कसको रह्यो, के ले छेक्यो, रोक्यो अनि को बाधक बन्यो, त्यसको जानकारी दिनु अनि पुष्ट्याई गर्नु आवश्यक ठानेका छैनन् युवाले । प्रतिबद्धता पूरा गर्न गरिने अबको प्रयास, भिजन, मिसनतर्फ युवा नेताहरुको दृष्टि नपुगेको अवस्था रहेको औल्याउँछन् राजनीतिक विश्लेषक । दोषको भारी जति अघिल्लो पुस्तालाई बोकाएर अनि उनीहरुको खातामा चढाएर मात्र युवा नेतृत्वले उम्कन मिल्छ र ? प्रश्न गर्छन् कार्यकर्ता । युवा नेताहरुले पनि दोषको केही अंश स्वीकार गर्दै आत्मालोचनासहित अगाडिको बाटो तय गर्नुपर्ने होइन र ? अराजक विद्रोही विचार र चिन्तन मात्र पनि युवाहरुको नेतृत्व क्षमताको मानक होइन । केही समय चर्चामा आउन सकिन्छ, तर त्यो दिगो हुँदैन । राजनीतिक करियर बनाउन सिर्जनशील हुन जरुरी छ ।

एउटा पाटोबाट मात्र हेर्ने हो भने उमेरले मानिस बुढो हुँदै जानु स्वभाविक प्राकृतिक प्रक्रिया हो । पाको अथवा युवा हुनुको मानक उमेर मात्र हुन सक्दैन भन्ने मान्यता रही आएको छ । विशेष गरेर राजनीतिकर्मीका लागि । उमेरकै आधारमा कित्ताकाट गर्नु, बन्देज लगाउनु उपयुक्त सूचांक होइन राजनीतिमा । विचार, क्रियाशिलता र गतिशिलताले नै व्यक्तिलाई पाको र युवा बनाउँछ । अन्तर्राष्ट्रिय उदाहरण लिने हो भने उमेरले नेटो काटिसकेका नेल्शन मण्डेला दक्षिण अफ्रिकाको राष्ट्रपति अनि युवा अवस्थामै बाराक ओबामा संयुक्त राज्य अमेरिकाको राष्ट्रपति भएको, नेपालको सन्दर्भमा वीपी कोइराला ४५ वर्षको युवा अवस्थामै प्रधानमन्त्री र २२ बर्षको उमेरमा कृष्णप्रसाद भट्टराई सभामुख निर्वाचित भएको अनि जीवनको उत्तराद्र्धमा नेल्शन मण्डेला र गिरिजाप्रसाद कोइरालालाई पार्टी तथा सरकारको नेतृत्व गर्न उमेर बाधक नबनेको नजिर हामीसामु छ । त्यति मात्र होइन सात दशक नाघ्दा पनि वीपीले प्रतिपादन गरेको सिद्धान्त र उनको विचार युवा नै छ । सान्दर्भिकता घटेर होइन बढेर गएको छ ।

पछिल्लो समय विशेष गरेर १३औं महाधिवेशन पछि नेपाली कांग्रेसको सिद्धान्त, आदर्श, मूल्य–मान्यता र निष्ठाको राजनीतिमा लागेको विराम अनि भएको स्खलनको पृष्ठभूमिमा कांग्रेसलाई फेरि पनि पुरानै लयमा फर्काउन, हिँडाउन, स्थापित गर्न जुनसुकै बादलमा पनि चाँदीको घेरा हुन्छ भने झैं १४औं महाधिवेशन युवाहरुका लागि चाँदीको घेरा बनेर आएको छ । १४औं महाधिवेशन युवाहरुका लागि परिक्षण, सम्भावना, चुनौति र अवसर मात्र होइन बिनासले नवनिर्माणको सन्देश प्रवाह गर्दै सम्भावनाका ढोका खोल्छ भने झैं आसन्न कांग्रेसको महाधिवेशनले युवाहरुलाई नेतृत्वमा आउने सम्भावनाको ढोका समेत खोलिदिएको छ ।

१४औं महाधिवेशनमा अघिल्लो पुस्तालाई चुनौति दिन अहिलेको युवापुस्ता र १५औं महाधिवेशनमा अहिलेको युवापुस्तालाई चुनौति दिन अर्काे पुस्ता तयार भइसकेको छ कांग्रेसमा । मुलुकको सबैभन्दा जेठो र ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस कमजोर हुँदा त्यसको प्रत्यक्ष असर पार्टीभित्र मात्रै नभएर राष्ट्रिय राजनीतिमा समेत परेको विगतको इतिहास छ । त्यसैकारण कांग्रेसमा माथिदेखि तलसम्म शुद्धीकरण पहिलो शर्त हुनुपर्छ राष्ट्रिय राजनीतिमा मियो बन्न । हावा भरिएको बेलुन मात्र नबनोस् १४औं महाधिवेशन युवाहरुका लागि । समय गतिशील, परिवर्तनशील अनि बलवान हुन्छ । यो शास्वत सत्य हो ।

समयको बेगलाई रोक्ने अनि छेक्ने कृतिम कोशिस गरियो भने त्यसले नसोचेको अन्यथा परिणाम पनि ल्याउन सक्छ । कांग्रेसको डाइनामिक्समा केही परिवर्तन हुने सङ्केत देखिएका छन् । १४औं महाधिवेशन रोचक र प्रतिष्पर्धात्मक हुने आंकलन गर्न थालिएको छ । पुरानै सोच, शैली, चिन्तन र मनोविज्ञान त्यागेर महाधिवेशनले गम्भीर भएर निर्णय लिन जरुरी छ, कांग्रेसको साख जोगाउन । कांग्रेसप्रति आशा, भरोषा र विश्वाश गर्ने मतदाता र त्यागी, निःस्वार्थी अनि इमान्दार कार्यकर्ताको अझै पनि कमि छैन कांग्रेस सुध्रिएमा । यसैको जगमा टेकेर आम मतदाता र कार्यकर्ता माझ उत्साहको सञ्चार गर्न अनि गतिशील नेतृत्वको चयन गर्न सक्नुपर्छ कांग्रेसले १४औं महाधिवेशनको सान्दर्भिकता र सार्थकताको पुष्टि गर्न अन्यथा होइन भने टाई–टाईं फिस मात्र होइन न्याउरी मारी पछुतो भने जस्तै हुनबेर छैन ।

युवापुस्ता पार्टी नेतृत्व र पदाधिकारी तहमा टेस्टेड भइसकेको छैन । अघिल्लो पुस्ताका केही नेता बाहेक धेरैजसो पार्टीमा मात्र होइन संसदीय फाँटमा समेत टेस्टेड भई उनीहरुको भुमिका कमजोर देखिएको छ । कति नेता बदनाम भएका कारण उनीहरुको प्रभाव कम हुँदै गएको छ । १३औं महाधिवेशन पछि त नेतृत्वले सिद्धान्त र निष्ठाको राजनीति माथि नै प्रहार गरेको अनि सरकारको नेतृत्व गर्दा बदनामी समेत कमाएको पृष्ठभूमिमा पार्टीभित्र लोकतन्त्रको अभ्यास गर्ने थलोको आधारस्तम्भको रुपमा रहेको लोकतान्त्रिक विधि र विधान अनुसार पार्टीको गाउँदेखि केन्द्रीय तहसम्मको नेतृत्व कार्यकर्ताको मतबाट निर्वाचित हुने कांग्रेसको आसन्न १४औं महाधिवेशन चिन्ता र चासोको विषय बन्न थालेको छ विशेष गरेर कार्यकर्ता माझ नेतृत्वका कारण । १३औं महाधिवेशनबाट समूह, गुट र उपगुट बनाई आरोप प्रत्यारोपमै रमाएको नेतृत्व अनि नेतागण १४औं महाधिवेशनमा परिणाम आफ्नो पोल्टामा पार्न महाधिवेशनलाई विभिन्न कोणहरुबाट प्रभावित गर्न अहिलेदेखि नै रणनीति बनाउन जुटेका छन् । विभिन्न खेल र दाउपेच शुरु भएका छन् ।

महाधिवेशनमा हुने उम्मेदवारी र त्यसको परिणाम बारे अहिले नै प्रक्षेपण गरी हाल्नु अलि हतारो हुन्छ । त्यसका लागि केही समय पर्खनैपर्ने हुन्छ । यस्तै नै हुन्छ भनेर ठ्याक्कै ठोकुवा गर्ने परिपक्क अवस्था तयार भई सकेको छैन । घटनाक्रम कसरी अगाडि बढ्छ, समीकरण कस्तो बन्छ त्यसैले निर्धारण गर्नेछ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत अघिल्लो पुस्ताका नेतालाई क्रस गरेर शीर्ष नेताहरुलाई अहिले नै चुनौति दिने अवस्थामा युवा नेता पुगिसकेका नभए पनि १५औं महाधिवेशनबाट नेतृत्व लिन आफूलाई तयार गर्नुपर्छ युवाले । युवाहरु एउटै भिजन र मिसनका साथ एकै ठाउँमा उभिए भने निश्चय पनि त्यसले पार्टीलाई तरंगित गर्नेछ । फेरि पनि आफ्नै गुटका नेताका फेर समातेर भ¥याङ चढ्ने कोशिस भयो भने अनि स्वार्थ बाझियो भने पार्टीमा उनीहरुको भूमिका कमजोर हुनेछ । केही इस्युमा मात्र जुटने अनि गुटकै लयमा फर्कने प्रवृत्ति बाधक छ युवामा । अघिल्लो पुस्ताका नेताका चरित्रभन्दा आफूलाई पृथक राख्दै युवाहरुले नयाँ शिराबाट आफूलाई बदल्न जरुरी छ ।

१३औं महाधिवेशनमा निर्माण भएका धारहरुको सान्दर्भिकता अब सकिएको छ । चर्चाको विषय गौण बन्न पुगेको छ कांग्रेसको राजनीतिक परिदृष्यमा । १३आंै महाधिवेशनको मूल्यांकन नेपाली कांग्रेसको इतिहासकै जिम्मा । १४औं महाधिवेशन युवाहरुका लागि नेतृत्व परिक्षणको चुनौति र अवसर पनि हो । नेतृत्व परीक्षणको कसीमा खरो उत्रन युवाले योग्यता र क्षमता प्रदर्शन गरी पार्टीका मतदाताको मन जित्दै सफलताको उचाई नाप्न सक्नुपर्छ । निश्चय पनि युवाहरु ऊर्जावान हुन्छन् नै त्यो ऊर्जा पार्टी हितमा लगाउन सक्नुपर्छ ।

व्यक्तित्व टकरावको पीडा भोगेको कांग्रेसमा अब पनि कुनै धारको कवच, मोहरा र गोटी मात्र बन्नु हुँदैन युवापुस्ताले । युवाहरुले पार्टीमा संयोजनकारीको भूमिका समेत निर्वाह गर्न सक्नुपर्छ । राजनीतिलाई व्यवसाय होइन सेवाको रुपमा ग्रहण गर्नुपर्छ । अहिलेका चर्चित युवा नेता गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि महामन्त्रीभन्दा माथि प्रतिष्पर्धा गर्ने अवस्थामा देखिँदैनन् । थापा संस्थापन इतर र शर्मा संस्थापन पक्षका लोकप्रिय र दरिला उम्मेदवार र स्वभाविक दाबेदार पनि हुन् । थापा र शर्माको नाम लिँदा अन्य युवालाई नजरअन्दाज गरिएको पार्टीमा उनीहरुको भूमिका गौण मानिएको रुपमा नबुझियोस्, नलियोस् ।

चन्द्र भण्डारी, गुरुराज घिमिरे, धनराज गुरुङ, प्रदीप पौडेल, बद्री पाण्डे, जीवन परियार र रामकृष्ण यादव, सरिता प्रसाईं, किरण यादव, महेन्द्र यादव पनि पार्टीका आशलाग्दा र भरोसा गर्न लायक युवा नेता हुन् । उनीहरुको लोकप्रियतामा कसी लगाई रहनु पर्दैन । पार्टी तथा संसदीय दुबै फाँटमा महिला नेतृहरुको उपस्थिति र भूमिका कमजोर देखिएको छ । जसरी पुरुष युवाले आफूलाई स्थापित गर्दै लगेका छन्त्यसको तुलनामा महिला नेतृहरु पछि परेको अवस्था छ । पुरुषहरुको व्यक्तित्वले थिचेर आफूहरु छायाँमा परेको भन्ने महिलाहरुको तर्क र मनोविज्ञानसँग सहमत हुन सकिँदैन ।

यो मानसिकताबाट मुक्त हुन जरुरी छ महिलाहरुले । पक्कै पनि महिलाहरुलाई राजनीतिमा त्यति सहज वातावरण छैन, घरभित्रै अनि बाहिरबाट पनि । पुरुषको तुलनामा महिलालाई धेरै चुनौति छन्यो यथार्थ हो । यसो भन्दै गर्दा महिलाले पनि आफ्नो आधार आफै तयार गरेर नेतृत्व क्षमताको प्रदर्शन गर्न सक्नुपर्छ । विषय वा प्रसंगले अर्काे अर्थ नलागेमा महिलाहरुमा नेतृत्व लिन सक्ने सोचको विकासै नभएको पनि अर्काे यथार्थ हो । हिनताबोध र लघुताभाष परित्याग गरी नयाँ सोच, विचार अनि अठोटका साथ मागेर होइन प्रतिष्पर्धामा उत्रिएर अगाडि आउन जरुरी छ महिलाहरुले ।

नेपाली कांग्रेसको इतिहासमा एउटा यथार्थ के हो भने कोइराला परिवारको योगदान र भूमिका पार्टीभित्र मात्रै नभएर नेपालको राजनीतिक इतिहासमा सम्मान योग्य र स्मरणीय छ । सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला पनि सम्झन लायक नेता हुन कांग्रेसमा । वर्तमानको चर्चा गर्ने हो भने पार्टीमा सभापति देउवाको इज्जत केन्द्रीय सदस्य तथा प्रवक्ता विश्वप्रकाश शर्मा र संसदमा केन्द्रीय सदस्य तथा संघीय संसद द्वय डा. मिनेन्द्र रिजाल र गगनकुमार थापाले प्रमुख प्रतिपक्षको भूमिका निभाएर संसदमा प्रमुख प्रतिपक्षि दलका नेता शेरबहादुर देउवाको लाज छोपी दिएका छन् । रिजाल र थापाको प्रस्तुतिले मात्र संसदमा कांग्रेसको उपस्थितिको आभाष मिल्छ । सभापति देउवा आफ्नो समूहलाई मजबुत बनाएर १४औं महाधिवेशनबाट पनि पार्टी नेतृत्वमा आफूलाई निरन्तरता दिने कसरतमा लागेका छन् ।

त्यसैको तयारी हो महाधिवेशन निर्वाचनको तालिका प्रकाशित भइसकेको अवस्थमा संस्थापन इतरपक्षको असहमति हुँदाहुँदै पनि विधान विपरीत पछिल्लो समय देउवाले आचार संहिता पालना नगरेर विभागमा गरेका औचित्यहीन मनोनयन अनि भातृ संस्थाहरुको म्याद थप । महाधिवेशनलाई प्रभावित गर्ने रणनीति र अंकगणितमा इतरपक्षका नेताहरुभन्दा देउवा सिपालु भएपनिखस्कँदो छवि का कारण पार्टीका मतदातालाई आकर्षित गर्ने कुनै पनि मुद्दा उनीसँग बाँकि छैनन १४ औं महाधिवेशनमा । देउवा निष्ठाको राजनीति भन्दा पनि साम, दाम, दण्ड भेदको नीति प्रयोग गरी सत्तामा मात्र रमाउने नेता हुन । देउवाको स्वभाव शक्ति र पद बाहिर बस्ने छैन । त्यसैकारण १४औं महाधिवेशनलाई प्रभावित गर्न देउवाले जस्तोसुकै हथकण्डा पनि अपनाउन सक्छन् । आफ्नो बिग्रेको छविमा त्यति सजिलै सुधार गर्ने संकेत देखाएका छैनन् देउवाले ।

सभापतिका अर्का दाबेदार बरिष्ठ नेता रामचन्द्र पौडेल दोस्रो पुस्ताका समकालीन नेतामा लामो समय जेल जीवन बिताएका नेता हुन् । उनीलाई निष्ठाको राजनीति गर्नेको पंक्तिमा उभ्याउन सकिन्छ । तर, उनका पनि केही कमि कमजोरी छन् भन्छन् कार्यकर्ता । पौडेलको क्षितिज पनि त्यति सजिलै छ्याङ्गै उघ्रिन्छ भन्ने आधार देखिएको छैन । संस्थापन पक्षबाट आफ्नो टिमका एकल उम्मेदवार हुन देउवा । देउवालाई आफ्नै टिमबाट चुनौति दिने हैसियत र स्थितिमा अन्य नेता छैनन् देउवाको निगाह बक्स नभएसम्म । देउवाको जस्तो सुविधा र अनुकूलता पौडेललाई उपलब्ध छैन । पौडेललाई आफ्नै समूहबाट चुनौति छ । संस्थापन इतरपक्षका महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंहको आफ्नै समूह छ भने केन्द्रमा गुट नभएका केन्द्रीय सदस्य शेखर कोइरालासहित तीनै जना शीर्ष नेतालाई संस्थापन इतरपक्षबाट र तेस्रो धारका कृष्णप्रसाद सिटौलालाई पनि सम्भावित सभापतिको उम्मेदवारको रुपमा हेरिएको छ ।

संस्थापन इतर पक्षका नेताहरुको व्यवस्थापन कसरी हुन्छ त्यसैमा यो समूहको उम्मेदवारी भरपर्छ । अन्तिम अवस्थामा रामचन्द्र पौडेल, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला सभापतिको उम्मेदवारको दौडबाट ब्याक हुने र शशांक र शेखरमध्ये एक संस्थापन इतर पक्षबाट सभापतिको उम्मेदवार हुने विश्लेषण गर्छन् राजनीतिक विश्लेषकहरु । यी नेताहरु बाहेक उम्मेदवारी चयनमा संस्थापन इतर पक्षका प्रभावशाली नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी, दिलेन्द्र बढु, युवा नेता गगनकुमार थापा, गुरुराज घिमिरे, चन्द्र भण्डारी, धनराज गुरुङ र प्रदिप पौडेलको भूमिका पनि महत्वपूर्ण हुने देखिन्छ ।

१३औं महाधिवेशनमा छुट्टै तेस्रो अलग धार बनाएको सिटौला समूह मुद्दाका हिसाबले अहिले संस्थापन इतर पक्षसँग नजिक भएको देखिएको छ । तर, यिनीहरुलाई जोड्ने, घोलाउने रसायन भने तयार भइसकेको छैन । सिटौला समूहका केही प्रभावशाली नेता कोही संस्थापन र कोही इतर पक्षसँग नजिकिएको चर्चा छ राजनीतिको बजारमा । सिटौलाको धार भत्किन, छिन्न–भिन्न हुन सक्ने जोखिम र खतरा पनि त्यतिकै छ । सिटौलाले आफ्नो समूहलाई इन्ट्याक्टमा राख्न सके भने महाधिवेशनमा सिटौला समूहको १३औं महाधिवेशनमा जस्तै निर्णायक भूमिका हुनेछ । अर्थात् सिटौला समूह जता उभिन्छ उतै पल्ला भारी हुने आंकलन गर्न सकिन्छ । कोइराला परिवारप्रति सिटौलाको प्रगाढ सम्बन्ध रहेको कारण अन्तिम समयमा सिटौलाले कोइराला परिवारलाई समर्थन गर्छन् भन्ने विश्लेषण पनि गरिएको छ । पार्टीको तल्लो तहका वडा, गाउँ, नगर र क्षेत्रका निर्वाचन परिणामले नै आधिकारिक रुपमा संस्थापन र इतर समूहको हैसियत निर्धारण गर्ने र को कति पानीमा छ अनि पल्ला कतातिर भारी छ त्यसैको धरातलमा सभापति लगायत अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको उम्मेदवारी तय हुने पृष्ठभूमिमा नेताहरुको आया राम गया राम हुने सम्भावना कायमै रहेको हुँदा समीकरणमा फेरबदल हुन सक्ने विश्लेषण पनि रहेको छ राजनीतिक विश्लेषकको ।

महाधिवेशनलाई प्रत्यक्षरुप्मा प्रभावित गर्न हैसियत राख्ने नेताका रुपमा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा, उप–सभापति विमलेन्द्र निधी, उप–सभापति बिजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, भिष्मराज आङ्दम्बे, आनन्दप्रसाद ढुङ्गाना, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, नारायण खड्का, बालकृष्ण खाँड, एनपी साउद, प्रकाशशरण महत, फरमुल्ला मन्सुर, जिपछिरिङ लामा, मानबहादुर विश्वकर्मा, पुष्पा भुसाल, डिला संग्रौला र महेन्द्र यादव त्यस्तै गरेर संस्थापन इतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, सुजाता कोइराला, डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मिलेन्द्र रिजाल, दिलेन्द्र बडु, गुरुराज घिमिरे, चन्द्र भण्डारी, धनराज गुरुङ, सरिता प्रसाई, कमला पन्त, रेणु यादव, बद्री पाण्डे, जीवन परियार र रामकृष्ण यादव अनि सिटौला धारबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु भिमसेन प्रधान, गगनकुमार थापा र प्रदीप पौडेल देखिएका छन् ।

वीपी पुत्र डा. शशांक कोइराला भतिज डा. शेखर कोइराला सर्वाेच्च नेता गणेशमान सिंह पुत्र प्रकाशमान सिंह युगपुरुष गिरिजाप्रसाद कोइरालका पुत्री सुजता कोइराला गान्धीवादी नेता महेन्द्रनारायण निधीका छोरा बिमलेन्द्र निधीलाई विरासतको पृष्ठभूमि र आधारमा नेता भएका आरोप लगाउनेहरुको झिनो र मसिनो स्वर सुनिन थालेको छ उनीहरुका आलोचकबाट अधिवेशनको संघारमा । यी नेतालाई विरासतको शंकाको लाभ मिले पनि उनीहरु माथिको विरासतको आरोप पूर्वाग्रह मात्र हो भन्ने पंक्ति ठूलो छ पार्टीमा । लोकतन्त्र प्राप्तिको अविचलित यात्रामा यिनीहरुको पनि योगदान रहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here