सत्य र निष्ठाका प्रतिक रामबाबु

१ कार्तिक २०७७, शनिबार १२:०० मा प्रकाशित
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares


रामबाबु प्रसाई (खनुपरुदेप्रकाहा) यस संसारबाट २०७७ असोज २३ गते शुक्रबार ९९ वर्षको उमेरमा बिदा हुनुभयो । भौतिक शरीर यस संसारमा नरहे पनि उहाँका आदर्श, सादगी जीवन, निर्भय रस्वावलम्बनका सिद्धान्तबाट हाम्रो समाजले धेरै कुरा सिक्न सक्छ । उहाँको जिन्दगीबाट विषम परिस्थितिमा पनि सत्य तथा निष्ठाको जीवन कसरी बिताउन सकिन्छ भन्ने हामी बुझ्न सक्छौँं । व्यक्ति, परिवार तथा शक्ति–स्वार्थभन्दा माथि उठेर समग्रतामा राजनीतिक जीवन कसरी धान्न सकिँदोरहेछ भन्ने थाहा पाउन सकिन्छ । हामी उहाँबाट सादगी जीवनको खास अर्थ बुझ्न सक्छौं, ‘असल मानिस’को परिभाषा केलाउन सक्छौँं, अनुशासनलाई जीवनको दर्शन (धर्म) बनाएको देख्छौँं ।

Advertisement

‘खनुपरुदेप्रकाहा’ नाम आफैँमा अनौठो छ । उहाँका बारेमा लेख्दा कति न्याय हुनसक्छ थाहा छैन । त्यसैले उहाँका केही राजनीतिक पाटामात्र केलाउने प्रयास गरेको छु । तथापि उहाँको नामबारे प्रायजसो व्यक्तिमा जिज्ञासा रहने गरेकाले यसबारे पहिला केही चर्चा गर्दा उचित होला जस्तो लाग्छ मलाई । उहाँको वास्तविक नाम खड्गवानकेशरी प्रसाई हो । बोलाउने नाम रामबाबु भए पनि आफ्नो नाम (ख), आमा रुद्रकुमारी र बुबा देवीप्रसाद(रुदे)बाट ‘खरुदे’ भनेर चिनिनुहुन्थ्यो । नामले पनि व्यक्तिगत विवरण खुलोेस् भन्ने आशयबाट ‘खनुपरुदेप्रकाहा’ नाम राखिएको अनुमान लगाउन सकिन्छ । किनकि ‘खनुप’पुरुष बुझाउने नामका पछाडि आमा–बुबा (रुदे), प्रसाई र कार्की मावलीथर (प्रका) र जन्मथलो हाङपांङ (हा) समेटेर बनेको पाइन्छ । यसबाट जन्मथलोको पनि सम्मान गर्नुपर्छ भन्ने बुझिन्छ । उहाँका छोरा–छोरीको नाम समेत यही सिलसिलामा राखिएकोे छ । बोलाउने नाम भरतबाबु भनेर चिनिनु हुने नेपाली कांग्रेसका नेता सिके (छत्रवानकेशरी) प्रसाई उहाँका भाइ हुनुहुन्थ्यो ।

रामबाबु दाइको जीवनशैली केलाउँदा कठोर अनुशासन उहाँको मूल नैतिक शक्ति थियो । सत्यवादी व्यक्तिको पहिचान बनाउनुभयो । निष्ठा तथा इमान्दारिता उहाँको जीवनशैली बन्यो । भगवानप्रतिको आस्थाभन्दा कर्ममा विश्वास गर्नुभयो । माहात्मागान्धीलाई आदर्श पुरुष मानेर जीवनकाल बिताउने प्रयत्न गर्नुभयो । व्यक्तिगत सम्पन्नताले विचलित कहिलै बनाएन । सरल तथा सादगी जीवन बिताउन सफल हुनुभयो । उहाँको वस्तुवादी चरित्रलाई कतिपयले मजाकको विषय बनाउन खोजे । अव्यावहारिक व्यक्ति÷नेता ठाने । तर, यसप्रकारका टिप्पणीबाट उहाँ हतासिनु भएन । उहाँ हल्का ढंगका टिप्पणी, अनुशासनहीनता र वाचा पूरा नगर्ने व्यक्तिलाई रुचाउनु हुन्नथ्यो । तर्कसंगत विचारले मात्र उहाँको विश्वास जित्न सकिन्थ्यो । आर्थिक अनुशासनविहीनताप्रति उहाँ असहिष्णु हुनुहुन्थ्यो । यसबाट कतिपय अवस्थामा ठूलै मूल्य चुकाउनुप¥यो । तर व्यक्तिगत, पारिवारिक, सामाजिक तथा राजनीतिक जीवन समेतमा यी विश्वासबाट डग्मगाउनु भएन कहिले पनि ।

मुलुकमा प्रजातन्त्र पुनःस्थापनाका लागि उहाँको भूमिका अहम् रह्यो । प्रतिबन्धित नेपाली कांग्रेसको एक निष्ठावान कार्यकर्ता भएबाट पटक–पटक गरी छ वर्षभन्दा बढी समय जेल पर्नुभयो । राजनीतिक कारण भारतको पश्चिम बंगालको शिलगडीमा सात वर्ष निर्वासनमा बस्न बाध्य बनायो । कांग्रेसको सशस्त्र क्रान्तिको तयारीका क्रममा राखिएका बन्दुकका गोली शिलगडीको घरबाट बरामद भएपछि इन्दिरा गान्धी नेतृत्वको भारत सरकारले मुद्दा चलायो र जेल पर्नु भयो । पक्राउ परेपछि जे सत्य हो त्यही बयान दिनुभयो । बयान फेर्ने वकिलको अनुरोध पनि स्वीकार्नु भएन । जेल भोग्न तयार हुनुभयो, तर सत्य लुकाउनु भएन । त्यसबेला कांग्रेसले ‘प्लेन हाइज्याक’ गरेको अवस्था थियो । नेपाल सरकारको दबाबमा कांगे्रसी नेताहरूप्रति भारतको रबैया राम्रो थिएन । तथापि केही समयपछि उहाँ जेल मुक्त हुनुभयो ।
त्यसपछि २०३३ पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, निलाम्बर पन्थीसमेत सँग उहाँ ज्यानको जोखिम मोलेर स्वदेश फर्कनुभयो वीपीको मेलमिलाप नीति अन्तर्गत । एयरपोर्टबाट वीपी कोइराला र गणेशमान सिंहलाई सुन्दरीजल लगियो भने उहाँलाई नख्खु जेल चलान गरियो ।

२०४६ सालको आन्दोलनताका उहाँ प्रतिबन्धित नेपाली कांग्रेस झापाको सभापति हुनुहुन्थ्यो । तत्कालीन नेपाली कांगे्रस र संयुक्त वाममोर्चाको बैठक तथा सभा बिर्तामोडस्थित उहाँको निवासमा हुने गथ्र्यो । झापा जिल्लामा सञ्चालित जनआन्दोलन सफल हुन उहाँको नेतृत्वदायी भूमिका महत्वपूर्ण रह्यो । जनआन्दोलनको नेतृत्व गर्ने क्रममा जेल पर्नुभयो । उहाँ जेल परेपछि उपसभापति कृष्णप्रसाद सिटौलाले आन्दोलनको सहजीकरण र नेतृत्व लिनुभयो । जनआन्दोलन सफल भएपछि मात्र उहाँ जेल मुक्त हुनुभयो ।

केन्द्रीय कोषाध्यक्ष भएबाट उहाँको प्रस्तावमा कांग्रेसको २०४८ को झापा कलबलगुडी अधिवेशनबाट प्रतिनिधि तथा पर्यवेक्षकले दर्ता शुल्क तिर्ने प्रचलन कांग्रेसमा शुरु भएको हो । आत्मनिर्भरतामा पार्टीका अधिवेशन र कार्यक्रम हुनुपर्छ भन्ने उहाँको मान्यता थियो ।

२०४६ सालको जनआन्दोलनपछि उहाँले भन्नुभएको थियो– प्रजातन्त्र पुनर्बहालीपछि अब मानव अधिकारका लागि वकालत गर्ने वा लड्नुपर्ने छैन । शासन व्यवस्था मानव अधिकारको जगमा अघि बढ्नुको विकल्प हुँदैन प्रजातन्त्रमा । अधिकारका लागि फेरि सडकमा उत्रने दिन गए । नागरिक केन्द्रित स्वच्छ राजनीतिबाट मुलुक अब चल्नेछ । तर, यस दृढ विश्वासमा रहनुभएका रामबाबु दाइले शीर्ष तथा प्रभावशाली भनिएका नेताहरूको व्यवहार, बढ्दो भ्रष्टाचार र बेथिति नसुध्रने देखेर हुनसक्छ, सक्रिय राजनीति जीवन छाड्नु भएको हो ।

भनसुन, नातावाद र कृपावादका कट्टर विरोधीकारूपमा चिनिने व्यक्ति हो उहाँ । उदाहरणका लागि प्रभावशाली कोषाध्यक्ष भएका बेलासाला उत्तम सिजापतीले छोरालाई इलामबाट झापाको काँकरभिट्टा भन्सारमा सरुवाका लागि मन्त्रीलाई भनिदिन अनुरोध गरेका थिए । झापामा सरुवा हुँदा के तलब बढ्छ ? उहाँको जिज्ञासा थियो । यस प्रश्नबाट उत्तमबाबु नाजवाफ हुनुभयो । फेरि यस्तो विषय लिएर नआउनु भनेर चेतावनी दिनु थियो ।

२०१५ सालको आमनिर्वाचनमा झापाबाट स्वतन्त्र उम्मेदवारका रूपमा उठ्नुभयो, तर पराजय भोग्नुभयो । २०४८ र २०५१ सालको संसदीय चुनावमा पनि कांग्रेसको तर्फबाट झापाबाट उम्मेदवारी दिनुभयो तर सफल हुन सक्नुभएन । २०५१ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराई (किसुनजी) पनि पराजित हुनुभएको थियो । उहाँ हार्नुको मुख्य कारण पार्टीभित्रको अन्तरघात थियो । त्यसमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चुनावको मुखमा दिएको रेडियो वक्तव्य पनि पराजयको कारण बन्यो । कांग्रेसभित्र यो विषय निकै ठूलो मुद्दा बन्यो । पार्टी पदाधिकारी बैठकमा कैयौंँ दिन घनीभूत छलफल भयो ।

गिरिजाबाबु समेतलाई पार्टीले कारबाही गर्नुपर्ने चौतर्फी दबाब बढ्यो । सर्वमान्य नेता गणेशमान सिंह समेत कारबाहीका पक्षमा हुनुहुन्थ्यो । पार्टी अनुशासनको दायित्व नेताहरूको पनि हुनुपर्ने बलियो मान्यता रामबाबु दाइ (तत्कालीन कोषाध्यक्ष)को थियो । गिरिजाबाबु समेतले कारबाही भोग्नुपर्ने दृढ अडान उहाँको थियो । तर, दुर्भाग्य नै भन्नुपर्छ, शीर्ष तीन नेताको सहमतिमा अनुशासनको कारबाही कसैलाई भएन । यस निर्णयप्रति उहाँले गम्भीर असहमति राख्नुभयो र कोषाध्यक्षको पदबाट नैतिकताका आधारमा राजीनामा दिनुभयो । पार्टीमा निष्क्रिय भएर बस्नुभयो ।

मलाई लाग्छ, यस घटनाले कांग्रेसको मात्र होइन, मुलुकको राष्ट्रिय राजनीतिमा दीर्घकालीन प्रभाव पर्दै आएको छ । शक्तिका आडमा अराजकता बढेको छ । यसको नतिजा कांग्रेसले भोग्दै आएको देखिन्छ । प्रभावशाली नेताका आडमा गरिने अन्तरघात थामिएको छैन । कारबाही वस्तुगतभन्दा प्रतिशोधबाट हुने गरेको सुनिन्छ । नेतृत्वको स्वेच्छाचारी आचरणले प्रोत्साहन पाएको छ । संस्थागत चरित्रलाई छाडेर व्यक्ति–शक्तिमा पार्टी रुमल्लिएको छ । लोकतान्त्रिक विधि र प्रक्रिया हराउँदै गएको छ । भागबन्डाको राजनीतिबाट पार्टी चलेको छ । ‘मेरिटोक्रेसी’ (सक्षमता)ले स्थान पाउँदैन । व्यक्ति÷समूह संरक्षण राजनीति फस्टाउँदो छ । गुट र उपगुट बढेको छ । पार्टीभित्रका आन्तरिक रडाको चुलिँदो छ । स्वार्थ–समूह हावी छ । दिगो लोकतन्त्रका लागि चिन्तन÷बहस हुन छाडेका छन् । यो बिमारी अरू दलमा पनि सरेको छ ।
मूलतः रामबाबु दाइ गणतन्त्रवादी नेता हुनुहुन्थ्यो । २०६२÷०६३ सालको जनआन्दोलनको केही समयपछि एकाएक संवैधानिक राजतन्त्रका पक्षमा उहाँ बोलेको समाचार बाहिरियो । नेपाली कांग्रेसको साधारण सदस्य समेत त्यागेको सुनियो । यो समाचार आएको केही दिनपछि मैले उहाँलाई सोधँे– तपाईँ त गणतन्त्रवादी नेता । कसरी एकाएक राजावादी हुनुभयो ?

उहाँको जवाफ थियो– तिमीले पनि यस प्रसंगलाई नबुझिदिएपछि मलाई अप्ठ्यारो प¥यो । मेरो सोच संवैधानिक राजतन्त्रप्रतिको विश्वास होइन गणतन्त्र सञ्चालकमाथिको अविश्वास हो । विद्यमान नेताहरूका व्यवहार, चिन्तन तथा तिनका कार्यशैलीबाट मुलुक कतातिर जाने भन्ने मेरो चिन्ता हो । सम्झौतावादी नेता प्रतिको मेरो अविश्वास हो । अधिनायकवाद फेरि नलादियोस् भन्ने हो । नागरिकले दुःख÷सास्ती खपेर हासिल गरेको लोकतन्त्र नगुमोस् भन्ने सरोकार हो । बारम्बारको अस्थिरताबाट राष्ट्रको हित नहुने मेरो निष्कर्ष हो ।

भावपूर्ण श्रद्धाञ्जलि रामबाबु दाइप्रति ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here