संक्रमित बालिकालाई अस्पतालले गर्‍यो डिस्चार्ज, बाटोमै मृत्यु

१ कार्तिक २०७७, शनिबार मा प्रकाशित

इलाम,

अस्पतालले डिस्चार्ज गरेको केहि समयमै बालिकाको मृत्यु भएको छ। इलामको सूर्योदय नगरपालिकाकी ८ वर्षीया बालिकाको अवस्था झनै साह्रो भएपछि विराटनगरको विराट मेडिकल कलेजले डिस्चार्ज गरेको थियो।

चौबिस दिन अघि विराट मेडिकल कलेजमा भर्ना गरिएकी ती बालिकाको दुबै मृगौलाको काम गर्न छोडेको थियो। खुट्टादेखि टाउकोसम्म सुनिएकी उनलाई ४ दिन अघि कोरोना पोजिटिभ पुष्टि भएपछि अस्पतालले शुक्रबार साँझ डिस्चार्ज गरेको थियो। उनका अभिभावकले भने ‘एक दिन राखिदिन अनुरोध गर्दा पनि अस्पतालले मानेन।’ उनको राति ११ बजे घर फर्काउने क्रममा मृत्यु भएको परिवारले जनाएको छ।

कोभिड १९ देखिएपछि पनि चार दिन अस्पतालमै राखिएकी बिरामीलाई शुक्रबार साँझ रोगले झनै चापेपछि अस्पतालले डिस्चार्ज दिएको परिवारले जनाएको छ। डिस्चार्ज दिएको बिरामीलाई कोभिड अस्पतालहरुले समेत बेड नभएको भन्दै राख्न नमानेपछि परिवाले बालिकालाई घरै फर्काएको थियो।

घर फर्कनेक्रममा बालिकाको मृत्यु भएको परिवारले जनाएको छ। अस्पतालले अन्तिम अवस्थामा अन्यत्र लानु भन्दै डिस्चार्ज दिएपछि परिवारले घरै फर्काएको जनाइएको छ। मृतक बालिकाको शवको व्यवस्थापनका लागि काम शुरु गरेको सूर्योदयन नगरपालिकाको स्वास्थ उपसमितिका प्रमुख पेमा उगेन लामाले बताए। कोभिड भएको बिरामीलाई अस्पतालले डिस्चार्ज दिनुनै गलत भएको अध्यक्ष लामाले बताए।

यो घटनापछि अस्पतालहरुपनि मानविय संवेदनालाई बिर्सेर आफ्नै बचाउमा मात्रै लागेको स्थानीयको आरोप छ। एक स्थानीयले भने ‘बाँच्नलाई अस्पताल र डाक्टर नपाउने अबस्था आउनु गम्भीर हो।’ त्यसमा पनि रोग लागेको थाहा पाउने बित्तिकै अस्पतालबाट हटाउने अवस्था गलत भएको उनको भनाई छ। यस अघि टनसिल भएका एक बिरामीलाई कोरोना पुष्टि भएपछि झापाको वि एण्ड सी अस्पतालले डिस्चार्ज गरिदिएको थियो।

साभार:http://annapurnapost.com/news/168579

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here