शुभकामना र श्रद्धाञ्जलिबीच गिजोलिएको महान चाड

0
692

 

संस्कृति र परम्परा नियमित चक्र हुनु । यही चक्रको घुमाईमा नेपाली सांस्कृतिक महान चाड दशैं भित्रिइसकेको छ । चाडपवर्, संस्कृति र परम्परा भनेको समय हो । त्यसैले यस्ता पर्वलाई कुनै पनि महामारी, दुःख र वेदनाले रोक्न सक्दैन । मनाउने तरिकामा मात्र फरकपन ल्याउँछ । नियमित नै बन्छन् पर्वहरु । यस वर्षको नेपालीको महान चाड दशैं आँशु र वेदनामा रुमल्लिएको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना (कोभिड–१९)को महामारीले विश्व नै आक्रान्त बनेको छ ।

पछिल्लो समयमा नेपाल झनै कठिन अवस्थाबाट गुज्रिरहेको छ । दैनिक दर्जनौं नेपालीको ज्यान गइरहेको छ । सयौंको संख्यामा संक्रमित भइरहेका छन् । धेरै नेपालीको घरको बत्ती निभेको छ । उज्यालो चाडपर्वले समेत उज्यालो दियो जलाउन सकेको छैन । हजारौं नेपाली होम आइसोलेसन र अस्पतालको बेडमा छटपटाइरहेका छन् । यही दुःखद् परिस्थितिमा भित्रिएको महान् चाड दशैं र त्यसपछि आउने तिहार, छट लगायतका सांस्कृतिक पर्व समेत मनाउँदै जानु नेपाली परम्परा हुन् । खुशी र उल्लास बोकेर आउने शरदकायी चाडपर्व यस वर्ष त्यसरी खुशियाली बोकेर नआउने प्रष्ट छ । शुभकामना आदान–प्रदानको संवाहक समेत रहेको यस वर्षको चाडपर्व श्रद्धाञ्जलि र शुभकामनाबीच गिजोलिएको छन् ।

परिस्थितिसँग समायोजित हुनु मानवीय विशेषता हो । त्यसैले यस माहामारीको घडीमा संस्कृति र संस्कारलाई समयानुकूल र परिस्कृत बनाउनु परेको छ । माहारीको कारण ज्यान गुमाउने दाजुभाइ, दिदीबहिनीहरुप्रति हार्दिक श्रद्धाञ्जलि, शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना, संक्रमित भएर कोरोनासँग लडिरहेकाहरुप्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्नु हाम्रो पहिलो कर्र्तव्य बनेको छ । दुःखद् परिस्थितिका बावजुद हामी दशैं पर्व मनाइरहेका छौं । यस वर्षका चाडपर्वलाई उल्लासपूर्ण वातावरणमा मनाउने कि नमनाउने भनेर निर्णय गर्ने र गरिने विषय रहेन । मनोवैज्ञानिक रुपमै विश्वभर फैलिइरहेको महामारीका कारण सिंगो मानव समुदाय नै चिन्तित छ । चिन्तित बन्नु परिस्थितिको उपज हो । चिन्ता, पीडा र शोकलाई शक्तिमा बदल्नु पनि मानवमात्रको कर्तव्य बनेको छ । त्यसैले हामी सबैले हाम्रा दैनिकी, व्यवहार, सामाजिक क्रियाकलापलाई उच्च मनोबलका साथ सञ्चालन गर्दै महामारीसँग लड्नुको कुनै विकल्प छैन ।

अहिलेको विषय सन्दर्भ भनेको प्रतिकुल परिस्थितिको सामना गर्दै हाम्रो संस्कृति, संस्कार र परम्परालाई समेत परिमार्जन गर्नु हाम्रो मूल कर्तव्य हो । अहिले महान पर्व दशैंको संघारमा उभिइरहँदा शोकमा परेकाहरु शोकमा डुबेका छौं । तर, शाोकविहीनहरुले समेत पीडामा छटपटाइरहेका हरुलाई मल्हमपट्टी लगाउन कर्तव्य ठानिरहेका छौं । त्यसैले हाम्रा चाडपर्व मनाइरहँदा उच्च सतर्कता अपनाउनु ठूलो बुद्धिमत्ता ठहर्छ । अहिले मुलुक आक्रान्त बनेको छ । कोरोना माहामारीको बेग तीव्र भएको छ । बच्ने र बचाउने अभियानमा सिंगो मुलुक सजग भइरहेको बला हामी नै त्यसतर्फ सावधान नभएको समेत देखिरहेका छौं । महामारी बाजा बजाएर आउँदैन भन्ने उक्तिको सार्थकतालाई हामीले चटक्कै बिर्सिएका छौं ।

राज्यले नागरिकलाई बारम्बार स्वास्थ्य सावधानीका मापदण्डबारे सचेत गराइरहँदा समेत त्यसको बेवास्ता भइरहेको छ । यसो गर्नु भनेको आफ्नो काल आफैं निम्त्याउनु नै हो । राज्य अब शून्यको अवस्थामा फर्कन सक्दैन र सम्भव पनि छैन । पूर्णरुपमा बन्दाबन्दी गरेर वा निषेधाज्ञा गरेर मात्र महामारी नियन्त्रण सम्भव छैन । मानवीय क्रियाकलाप नै बन्द हुनु भनेको महामारीमाथि अर्को महामारी थपिनु हो । त्यसैले अहिले बजार, व्यापार, यातायात खुल्ला गरिएको छ । यसो गरिनु नागरिकप्रति स्वास्थ्यको बेवास्ता गरिएको नहुन सक्छ । यसले त कोभिडसँग जुधेर मानवीय जीवनलाई अघि बढाउन सहयोग नै गर्छ । हुन त राज्यले अहिले सरकारी कार्यालय, संघ–संस्था र सबै प्रकारका इकाइ बन्दाबन्दी गर्ने काम नियमितजसो नै गरेको छ । उता सार्वजनिक क्षेत्र खुल्ला गरेर सरकारी निकाय मात्र बन्द गर्नु भनेको नागरिकप्रति गरिएको अन्याय हो । हामीले बुझ्ने कुरा भनेको अहिले पनि धेरै क्षेत्र बन्दाबन्दीका अवस्थामा नै छन् । यसलाई समेत खुला गरिनु आवश्यक देखिएको छ । परिस्थितिले यो देखाएको छ ।

राज्य स्वास्थ्य सम्बन्धी जनचेतनाको अभियानमा नियमितरुपमा लाग्नुपर्छ । नियमित अनुगमन, संक्रमितको उपयुक्त उपचार र व्यवस्थापनमा अझ सक्रिय रहनुपर्छ । राज्य नागरिकको स्वास्थ्यमा सच्चा पहेरेदार बन्नुपर्छ । यो उसको पहिलो कर्तव्य हो । संक्रमण फैलनुको मुख्य कारकतत्व नागरिकको स्वजिम्मेवारीपन नै हो । नागरिक सचेत भयौं भने केही हदसम्म महामारीबाट बच्न र बचाउन अवश्य सम्भव छ । तर, हामी आफैं जिम्मेवार छैनौं । सामान्यतयःमापदण्ड सबैले पालना गर्न सकिन्छ । भीडभाडबाट जोगिन सकिन्छ । खानपान, आहारविहारमा उपयुक्त व्यवस्थापन गर्न सकिन्छ । हामीले सिकेको र अनुभव गरेको पाठ भनेको महामारीबाट बच्ने उपाय हाम्रो जीवनशैली र आहारविहारमा परिवर्तन ल्याउनु पनि हो । हामीले देखिरहेका छौं, भोगिरहेका छौं, अहिलेको कोरोना महामारीलाई परास्त गर्न यो सँगै जीवन जिउने कला सिक्नु, जीवन मै परिवर्तन ल्याउनु आवश्यक छ । जुन हामी सबै वर्ग, तह र समुदायका मानिसले गर्न चाह्यौं भने सम्भव छ ।

अहिलेको दशैं पर्वमा माहामारी अझै फैलिने आशंका चौतर्फी गरिएको छ । र, हाम्रो हेलचेक्र्याइँले यो पुष्टि हुन पनि सक्छ । खानपान, आशीर्वाद लिने–दिने, भेटघाट, पूजापाठ आदिका कारणले हामी थप जटिलतातर्फ जान सक्छौं । यसको लागि हामी आफैं सजग हुन जरुरी छ । आत्मविश्वास र आत्मबल नै पहिलो औषधि हो भने ठूला–ठूला भोजभतेर, भीडभाडमा हुने पूजाआजा, बधशालामा हुने भीड, किनमेलमा हुने भीड, यातायातको भीड आदिबाट हामी आफैं बच्न सक्छौं । आशीर्वाद लिने बहानामा यस महामारीमा बच्नै पर्छ । मान्यजनको आशीर्वाद हाम्रा लागि महत्वपूर्ण पक्ष हो । स्वास्थ्यका सबै मापदण्ड अपनाएर परिवारभित्रै आशीर्वाद लिन सम्भव छ । तर, टाढा–टाढासम्म धाएर वृद्धवृद्धा, रोगी, अशक्त आफन्तलाई भेटेर आशीर्वाद लिनु बुद्धिमानी होइन । त्यसैले चाडपर्व मनाउने प्रचलनमा निश्चय नै व्यवहारिक परिवर्तन र सुधार ल्याउन आवश्यक छ । पूजाआजाको पहिलो शक्तिपीठ हाम्रो आत्मा र स्वच्छ व्यवहार नै हो । मनोरञ्जन लिनु भनेको आत्मालाई खुशी र सन्तुष्ट राख्नु नै हो । जुन भीडभाड गरेर मात्र सम्भव छ भन्नु महान भुल हुनेछ ।

तसर्थ, महामारीबाट बचौं र बचाऔं । रोगले छटपटाइरहेकाहरुप्रति सहानुभूति र आत्मबल प्रदान गरौं, समेवेदितप्रति समवेदना व्यक्त गरौं, महामारीका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गरौं, समय परिस्थिति अनुकूल आफ्नो परम्परा र संस्कृतिको संरक्षणप्रति सचेत रहनेहरुप्रति शुभकामना प्रकट गरौं । यही नै मानवीय कर्तव्य र हाम्रो महानता हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here