लुटपाट र ठगी रोक्ने रणनीति

२ कार्तिक २०७७, आईतवार मा प्रकाशित

झापा।

झापाको बिर्तामोडमा मात्रै ३८ बटा बैंक तथा बित्तीय संस्था छन् । जसमा केही विकास तथा केही फाइनेन्स छन् । चाडपर्व नजिकिएसँंगै ती बैंक तथा बित्तीय संस्थामा सेवाग्राहीको भीडभाड बढेको छ । सेवाग्राहीको भीडभाड बढेसँंगै एकातिर चोरीको डर छ भने अर्कातिर कोरोनाको कहर पनि उत्तिकै छ । चाडपर्व नजिकिएसंँगै विदेशमा रहेका आफन्तहरुले घर परिवारमा दशैं खर्च पठाउने गरेका कारण अन्य समयमा भन्दा यो समयमा बढी भीडभाड हुने गरेको छ ।

पूर्वको प्रमुख व्यापारिक केन्द्रका रुपमा विकास हुँदै गएको बिर्तामोडमा पूर्बी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङका समेत सेवाग्राही बैंक तथा वित्तीय संस्थामा पैसा निकाल्न र बिर्तामोडमा नै किनमेलका लागि आउने गर्छन् । जसका कारण यो समयमा बढी भीडभाड हुँदै आएको छ ।

हरेक वर्ष यो समयमा बैंक तथा वित्तीय संस्थामा हुने अवाञ्छित गतिविधि रोक्न प्रहरीसहित बैंकका कर्मचारीसमेत सक्रिय हुने गरेका छन् । बैंकबाट रकम निकाले पछि विस्कुट घोलेर बनेको लेदो छर्केर वा कुनै प्रलोभनमा पारेर सोझासाझा नागरिकलाई ठग्ने गिरोह पनि यतिबेला सक्रिय हुने गरेका छन् । कतिपय अवस्थामा बैंकभित्रै प्रवेश गरेर समेत रकम लुट्ने गिरोह सक्रिय हुँदा सेवाग्राही मारमा पर्ने गरेका छन् । सुरक्षा गार्डलाई समेत छक्याएर बैंक तथा वित्तीय संस्थामा हुने गरेका अबाञ्छित गतिविधि रोक्न इलाका प्रहरी कार्यालय अनारमनीले यसपटक विशेष सुरक्षा रणनीति बनाएको छ ।

सुरक्षा रणनीति अन्तरगत पहिचो चरणमा बैंक तथा वित्तीय संस्थामा कार्यरत् सुरक्षा गार्डलाई प्रशिक्षण प्रदान गरिएको छ । बिर्तामोड क्षेत्रमा रहेका सबै बैंक तथा वित्तीय संस्थामा कार्यरत् सुरक्षा गार्डलाई इलाका प्रहरी कार्यालय अनारमनीले प्रशिक्षण प्रदान गरेको हो । सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोड र बैंक तथा वित्तीय संस्था बैंकर्स संघ बिर्तामोडको अगुवाईमा सुरक्षा गार्डलाई प्रशिक्षण प्रदान गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

बैंकर्स संघ बिर्तामोडका अध्यक्ष दिनेशकुमार पोखरेलले चुनौतिका बीच सेवा प्रवाह गरिरहेको अवस्थामा बैंक तथा वित्तीय संस्थामा हुने अबाञ्छित गतिविधि रोक्न कार्यक्रमको आयोजना गरिएको बताएका छन् । अहिले कोरोना महामारीका बीच स्वास्थ्य सुरक्षा चाुनौति छ नै त्यसमाथि लुटपाट र चोरीका घटना रोक्न सचेतना कार्यक्रम सञ्चालन गर्नु परेको पोखरेलले बताए ।

यता सानिमा बैंक बिर्तामोडका शाखा प्रवन्धक अम्विका खतिवडाले यो समयमा वैंक तथा वित्तीय क्षेत्रमा बढी भीडभाड हुने गरेकाले जोखिम हुने बताएका छन् । उनले कोभिडको सतर्कतासहित सुरक्षा सम्वन्धि सचेतता कार्यक्रम सञ्चालन गर्नु परेको धारणा राखे ।प्रशिक्षणमा सहभागी एक्सल बैंक बिर्तामोडमा कार्यरत् सुरक्षा गार्ड रस्मिता भट्टराईले यसखाले तालिमले बैंकको सुरक्षामा सहयोग पुग्ने धारणा राखेकी छिन् । कोभिडबाट बचेर बैंकको सुरक्षा गर्नु आफूहरुको पहिलो प्राथमिकता भएको भन्दै उनले यस्ता कार्यक्रमले सबै सुरक्षा गार्डलाई सहज हुने बताइन् । अझ महिलाहरुलाई बैंक तथा वित्तीय संस्थामा सुरक्षा गार्डको भूमिका निर्वाह गर्न चुनौति रहेको भन्दै उनले चुनौतिका बीच पनि महिलाहरुले अब्बल काम गरिरहेको दावी गरिन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here