बढ्दो संक्रमण र आवश्यकता

0
475

झापा जिल्लामा कोरोना संक्रमितहरुको संख्या दिनहुँ बढ्न थालेको छ । त्यसमा पनि झापाकै आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक केन्द्र झैं बनिएको बिर्तामोडले ‘हट स्पट’ को परिचय पाउन थालेको छ । झापामा शनिबार थपिएका संक्रमित आजसम्मकै बढी थिए भने सर्वाधिक संक्रमित बिर्तामोडकै थिए । यसले हाम्रो आनी–बानी व्यवहार कतातिर लाग्दैछ भन्ने देखाएको छ । सरकारले बन्दाबन्दी अन्त्य गरेसँगै आम मानिसलाई कोरोना भय नबनेर उत्सव भएको अनुभूति गराउने हाटबजारमा देखिने उपस्थितिले पुष्टि गरेको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड अरुका लागि मात्र अनुशरण गरिएको हाटबजार, सडक तथा खुल्ला भएका पसलहरुमा हुन थालेको भिडभाडले संकेत गर्दैछ । प्रारम्भमा ‘सुरक्षित क्षेत्र’ मानिएको बिर्तामोड यथार्थमा पीसीआर परीक्षण नगराइएकै परिणाम रहेछ भन्ने आजको परिणामले सिद्ध गरिसकेको छ ।

स्वास्थ्य सेवा लिन पाउने नागरिकको मौलिक अधिकार हो । तर, अहिले नेपाली त्यो अधिकारबाट पनि वञ्चित हुन थालेका छन् । सरकारले संक्रमण विस्तार भइरहेको अवस्थामा पनि स्वास्थ्य सेवाका लागि पूर्वाधार थप्न, स्तरोन्नति गर्न, अत्यावश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउन सकेको छैन । कोभिड विशेष भनिएका अस्पतालहरुमा पनि शय्या, भेन्टिलेटर, आइसीयु होइन अक्सिजनकै अभाव भइरहेको छ । देशको राजनधानीमै रहेको यस्तो समस्यामा पनि सरकार मुकदर्शक भएको छ । संक्रमितलाई घरमै एकान्त बास बस्न निर्देशन दिएको सरकार गम्भीर अवस्थामा पुग्दा समेत शय्यामा पु¥याउन सकिरहेको छैन । त्यसकै परिणाम हो कि राजधानी कै संक्रमितहरु अस्पताल पुग्नै नभ्याई मृत्युवरण गर्दैछन् ।

स्वास्थ्य क्षेत्रका विज्ञहरुले शिक्षण अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्न सुझाव दिएका छन् । तर, सरकार सत्ताको जोड–घटाउबाट बाहिर आउनै खोज्दैन । यस्तो विषम् परिस्थितिमा झापाको बिर्तामोडमा राजधानीकै लक्षण देखिँदैछ । स्थानीय तथा प्रदेश सरकारले नै तत्कालको परिस्थितिको मूल्यांकन गरी विशेष र सुविधासम्पन्न अस्पताल सञ्चालन गर्न पहल गर्नु पर्दछ । जिल्लामा भएका सामुदायिक भवनहरु मै भए पनि सघन उपचार कक्षदेखि अक्सिजन, दक्ष जनशक्तिसहितको सेवा विस्तार गर्न स्थानीय निजी अस्पतालहरुसँग समन्वय गर्नुपर्छ । राज्यले इच्छा र अग्रसरता देखाए कम्तिमा पचास शय्याको कोभिड विशेष अस्पतालमार्फत् उपचार र परीक्षण वृद्धि गरी कोरोना नियन्त्रणमा लाग्नु पर्छ । यसतर्फ जिल्लाका मुख्य तथा विपक्षी राजनीतिक दलहरुको समेत ध्यानाकर्षण हुनुपर्दछ । त्यसो नभए बिर्तामोडले नसोचेको क्षति व्यहोर्ने अनुमान गर्न गाह्रो छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here