कोरोना कहर : खल्लो दशैं

0
2416

गत वर्षको डिसेम्बरमा विश्वको सबैभन्दा बढी जनसंख्या रहेको चीनको एक प्रान्त हुबेईको वुहान शहरबाट कोरोना भाइरस (कोभिड–१९) शुरु भएकोमा अहिले यो विश्वव्यापी महामारीको रुपमा भुसको आगो झैं फैलिरहेको छ । गरीब, विकासोन्मुख मुलुकदेखि अमेरिका, बेलायत, रुस जस्ता शक्ति सम्पन्न मुलुकहरु पनि यसको चपेटाबाट अलग रहन सकेनन् मात्र होइन, सबैभन्दा बढी आक्रान्त हुन पुगे । नेपाल पनि कोभिड–१९ को दुश्चक्रमा रुमल्लिरहेको छ । यस्तो कठिन र प्रतिकूल अवस्थामा नेपालीहरुको महान चाड दशैं आइपुगेको छ ।

तर, यस पटकको बडादशैंको माहोल त्यति सुखद् र प्रियकर छैन । दशैंको अर्थ राजनीतिक अर्थ बेग्लै होला । तर, मूल कुरा यसको सामाजिक र सांस्कृतिक महत्व नै बढी छ । पितृसत्ताको साँघुरो मानसिकताले निर्माण गरेका अनेकन अप्ठेराका बीच पनि महिलाहरुको सम्मान स्वरुप दुर्गामाताको पूजा आराधना गरिने र देवीको स्तुतिगान गरिने चाडको रुपमा दशैं उपस्थित छ हाम्रासामु । दशैं पर्वले नेपालीहरूलाई आफ्नो दुःख–सुख साट्न र रिसइबी छोडेर एक आपसमा आत्मीयता बढाउन अभिप्रेरित गर्दछ । घृणाभाव त्यागेर सद्भावना बढाउन यो स्वर्ण अवसर हो, दशैंले एकता र मिलापका लागि उपयुक्त अवसर प्रदान गर्छ । नेपालमा रहेका हुन् वा नेपाल बाहिर रहेका हुन्, सबै नेपालीले आफ्नो पहिचान तथा नेपाली बन्धुत्वभावलाई कायम राखेर नेपाल राष्ट्र एवम् नेपाली राष्ट्रियताप्रति समर्पण र प्रतिबद्घ हुन दशैंले सार्थक प्रेरणा दिन्छ । विजयादशमीको रुपमा पनि परिचित यो पर्वले नछुने थोरै नेपालीहरु छन् ।

उत्साह, उमँग र हर्षका साथ विविध रमाइला क्रियाकलापसहित मनाइने यो पर्व राष्ट्रिय एकताको पर्व भएको छ । युगीन आलोकमा चिन्तनको महापर्व हो यो । सामाजिक भोगाइको वर्तमान सन्दर्भमा यो पर्व धनीमानी र हुनेखानेको लागि मात्र हो कि भन्ने तीतो परिवेश छ । महँगीले आकाश चुलिएको समय हो यो । सामान्य नागरिकको आम्दानी र बजार भाउबीचको तालमेलमा गडबडी छ । असहज परिस्थितिमा सीमित खर्चले दशैं मान्नुपर्नेछ नेपालका बहुमत परिवारका लागि । दशैं मान्दाको पीडा वर्णन गरी साध्य छैन । वैदेशिक रोजगारमा रहेका हजारौं युवायुवतीहरु वेरोजगारीको मारले थिल्थिलिएका छन् र रोजगार छोडेर आफ्नो घरपरिवारसँग जोडिन आइपुगेका छन् । तसर्थ, आज आम नेपालीको क्रयशक्ति घटेको छ । यो बुझिदिने को छ ?

हुन त यो चाडलाई हिन्दूहरुको चाड मानिन्छ, तर वास्तवमा यसमा राम र रावण, देवी र दानवको मात्र कथा जोडिएको छैन, यसमा त नेपालको विशिष्ट अन्तरजातीय र बहुधार्मिक यथार्थ पनि प्रतिबिम्बन भएको पाइन्छ । जातीय विविधताकाबीच साँचो अर्थमा राष्ट्रिय पहिचानको सुन्दर झण्डा बोकेर उभिएको छ हाम्रोसामु यो दशैं । नेपाली जनताको बलियो एकताको सन्देश दिन बडादशैं सफल भएको छ । तर, सधैँको दशैं झैं यसपटक दशैंको खुशीयाली छैन । १५ दिनसम्म मनाइने यो पर्व सबै नेपालीको साझा पर्व हो । यसको सामाजिक र सांस्कृतिक महत्व पनि छ । यो पर्व मनाउन देश–विदेशबाट आफ्ना अभिभावक र घरपरिवारसँग भेटघाटका लागि घर फिर्ने क्रम बढेको छ ।

शक्तिको मूल स्रोत, दयाको मूल स्रोत, क्षमा र करुणाको मूल स्रोत मातृशक्तिको आराधना गरिने यो पर्व आसुरी शक्तिको नाश गर्दै सद्विचार र सत्कर्ममा जोड दिन मनाइन्छ । आसुरी शक्ति भनेको कुनै क्षेत्र, रंग, रुप, छाला, जात, धर्म र राजनीति दर्शनको भेद होइन, यो त प्रवृत्ति हो । बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक, बहुजातीय हाम्रो मुलुक विविधताका बीच एकताको मूलमन्त्रलाई आत्मसात गर्छ । विविधताका पाटाहरुलाई संयोजन गर्दै सांस्कृतिक घुलनशीलताको अनुपम उदाहरणको रुपमा देखा परेको छ दशैं नेपालमा । यो हिमाल, पहाड र तराई–मधेश सबै क्षेत्रमा बसोबास गर्ने नेपालीबीचको एकतालाई बलियो बनाउने चाडको रुपमा विकास भइरहेको छ ।

तर, यस सालको दशैंको अर्थशास्त्र बेग्लै छ, यस पटकको दशैंको सन्देश फरक छ । यस पटकको दशैंको समाजशास्त्रीय ब्याख्या फरक छ । हुन त जीवन दुःख र सुखको संगम हो । आखिर जीवन भनेको दुःखै–दुःख मात्र पनि होइन । मुटुभरि सयौं विषादका चोटहरु बोकेर पनि, विभेदीकरण, अन्याय, अत्याचार र शोषणका कहालीलाग्दा कहर सहेर पनि, आँखामा सदैव आँशु साँचेर बाँच्न बाध्य भएर चाड मनाउनुपर्ने बाध्यतामा छन् नेपाली । सांस्कृतिक चाडको रुपमा रहेको यो पर्व समस्त नेपालीका लागि यो पर्व विजयको प्रतिक हो र यो बिम्ब हो ।

नेपालीहरुको एउटा अचम्मको गुण छ–जस्तासुकै दुःखकष्टका बेला पनि नेपालीहरु दुःखलाई बिर्सेर खुशीयालीको माहौलमा सरिक भएर मनका पीडाहरुलाई निकास दिन सक्छन् र भोलिको सुनौलो सपना आँखामा सजाएर आशा बोकेर बाँच्न सक्छन् । हामीभित्रका आसुरी शक्तिलाई चिनेर मिल्काउन सके यो पर्वको सार्थकता रहन्छ व्यक्तिगत रुपमा र मुलुकका लागि पनि । अहंकार, असहिष्णुता र अशिष्टता असुरत्व हुन् । अहिले बाहिरको शत्रु कोभिड–१९ को रुपमा महिषासुर बनेर उभिएको छ, तर मूल शत्रु हामीभित्रै छन् । हामीभित्रका शत्रुलाई चिन्न सके, हाम्रा मनभित्र गुजुल्टिएर बस्दै अलि–अलि गर्दै खाइरहने रिसराग, द्वेष, अहंकार र वैरभावलाई हटाउन सके कति राम्रो हुन्थ्यो होला । नेपाल हाल हत्या, बलात्कार, हिंसा, अभाव, महंगी, असुरक्षा, अविश्वासको बाहुल्यका बीचमा छ । राजनीतिक गतिविधिको चरित्र परपीडक छ, स्वार्थकेन्द्रित छ र अहंकारले भरिएको छ । सरकारले अघि सार्ने अपेक्षा गरिएका जनपक्षीय कामहरुले जनताको दैनन्दिन जीवनलाई छुन सकेका छैनन् ।

कोभिड–१९ को महामारीका बीच भ्रष्टाचार, जनतामाथिको बेइमानी, अपराधलाई सामान्यीकरण, सत्तालिप्सा, राज्य दोहन हँुदै नैतिक पतनका श्रृंखलाबाट अघि बढ्दै जाँदा जनतामा निराशाको बढोत्तरी भएको छ । पद र व्यक्तिगत स्वार्थले वशिभूत भएर आस्थाका धरोहर ढल्दै गएका छन् । सत्तापक्ष कुर्सीका लागि दुई तिहाइ बराबरको मतादेशको वर्खिलापमा स्वार्थको द्वन्द्वमा छ भने प्रमुख प्रतिपक्ष गरुडको छायाँमा परेको लाचार सर्पजस्तो छ । यस्तो बेलामा नेपाल शान्त, एकताबद्ध र समृद्ध बन्ने बाटोमा अघि बढ्न यो बडादशैंले नेपालीका मनमा सुनौलो क्षितिज उघार्न आम जनतालाई पिरोल्ने स्थितिबाट मुक्ति पाउनसके कति राम्रो हुन्थ्यो होला ।

यसपटकको दशैं खल्लो भए पनि जीवन रहे आउँदा दशैं र अन्य आफ्ना धर्मसंस्कृतिले दिएका चाडपर्व मनाउन पाइने नै छ । दशैंको माहोलमा कोरोना महामारीलाई बिर्सनै हुँदैन । विश्वलाई आक्रान्त पारेको कोभिड–१९ को श्रृंखला नेपालमा यो दशैंको बेलामा बढ्ने देखिएको छ । मानिसहरुको बढी आवत–जावत हुने भएकाले जोखिम बढ्ने निश्चित छ । तसर्थ, दशैं र दशैंपछिका तिहार, नेपाल सम्वत्, म्हः पूजा, छठ पूजा लगायतका चाडवाडहरु सजग, सतर्क र प्रतिकात्मक रुपमा मात्र मनाउनु श्रेयस्कर हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here