नेकपाको शक्ति संघर्ष ः एक म्यान, दुई तरबार

0
1598

म्यान एक, तरबार दुई : 

नेपाली समाज खासगरी राजनीतिमा प्रचलित उखान छ, एउटा म्यानमा दुईवटा तरबार अटाउँदैनन् । तरबार राख्ने भाँडोलाई म्यान भनिन्छ । खुकुरी राख्ने भाँडोलाई दाप भनिए जस्तै । म्यान एउटै तरबार मात्र अटाउने गरी बनाइएको हुन्छ र बनाउनु पनि पर्छ । तरबार भनेको शक्तिको प्रतिक हो । पहिला पहिला तरबारबाटै राजा–महाराजाहरुले युद्ध लड्थे । त्यसैबाट हारजीत हुन्थ्यो ।

त्यसैले तरबार र म्यान राजनीति र शक्ति संघर्षसँग सम्बन्धित छन् । तरबार चलाउने कला हुन्छ । तरबार चलाउने प्रशिक्षण पनि हुन्छ । अहिले पनि सबै हातहतियार सकिएपछि वा प्रयोग गर्ने अवस्था रहेन भने युद्धमा जानेहरुले आफूले बोकेको तरबार निकाल्छन् र युद्ध गर्छन् ।

त्यसैले अहिले पनि सेनासँग तरबार रहेको हुन्छ भने तरबारको प्रशिक्षण सेनाले लिनु अनिवार्य नै हुन्छ । यसर्थ यस आलेखमा पंक्तिकारले शीर्षकलाई पुष्टि गर्न तरबार र म्यानको चर्चा गरेको हो । यस चर्चाको अर्थ पनि नेकपाभित्रको शक्ति संघर्षलाई प्रष्ट गर्नु हो । दुईवटा कम्युनिष्ट नामधारी राजनीतिक पार्टीको एकीकरण स्वागतयोग्य, प्रशंसनीय, उदाहरणीय, चमत्कारिक र आवश्यकीय हुँदाहुँदै पनि एकीकृत भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपामा समानान्तररुपमा दुई अध्यक्ष राख्नु नै अनवरत शक्ति संघर्षको कारण हो जो शुरुदेखि अहिलेसम्म जारी छ र अझै रहन्छ । यसैलाई एक म्यानमा दुई तरबार भनिएको हो ।

दुई कार्यशैलीको ह्यांगओभर (धङ्धङी):

नेकपा मालेबाट एमाले हुँदै अहिले नेकपा भएको पार्टी वैचारिक हिसाबबाट कम्युनिष्ट भए पनि यसका नेताहरुमा बन्दुकको राजनीति छोडेपछि विविध सोचाईको विकास भएको छ । कम्युनिष्ट वैचारिक पृष्ठभुमिकै र एउटै स्कुलिङबाट आए पनि अलग–अलग कार्यशैली सञ्चालन गरेर अहिलेको नेतृत्वको जिम्मेवारीमा आइपुगेका हुन् ।

अहिलेका अध्यक्ष केपी शर्मा ओली २०४७ सालअघिसम्म बन्दुककै बोली बोल्ने गर्थे । तर, २०४७ सालपछि भने उनी शान्तिपूर्ण राजनीतिबाट पनि परिवर्तन गर्न सकिन्छ भन्ने कार्यशैली लिएर अहिलेसम्म त्यही कार्यशैली अपनाई आएका छन् । उनमा २०२८ सालको झापा हत्याकाण्डको धङ्धङी सकिए पनि डिक्टेटर बन्ने सपनाको धङ्धङी कायम छ ।

त्यसैले उनी आफ्नो आलोचना सहन सक्तैनन् । आफूले गरेको जे पनि ठीक ठान्छन् । ठीक भएपछि किन आलोचना भन्ने उनको सोच नै डिक्टेटरको सपना हो । ओली रिजिड छन् । तर, पुष्पकमल दाहाल प्रचण्डले हत्याहिंसाको राजनीति अर्थात् बन्दुकको नालबाट मात्र सत्ता परिवर्तन हुन्छ भन्ने कार्यशैली छोडेको डेढदशक बिते पनि उनमा जनयुद्धकै कार्यशैलीको धङ्धङी सकिएको छैन । उनी पनि अरुको आलोचना खुलेर गर्छन् । आफ्नो आलोचना सहन सक्तैनन् ।

उनको राम्रो पक्ष भनेको डायनाइजम हो । उनी अगाडि सर्न र पछाडि सर्न दुबै कुरामा माहिर छन् । अहिलेका घटनाक्रमले त्यही देखिएको छ । यति भएर पनि प्रचण्डमा रिजिडपना कम छ । घुमाई फिराई आफ्नो लाभ हुने भएपछि सम्झौतामा पुग्छन् । यही विशेषताले माओवादीलाई जनयुद्ध छोडाउन उनी सफल भए । तर, धेरै साथी छुटे । त्यसको पीडा भने उनमा छ ।

अहिलेको विवाद :

दुई अध्यक्ष, दुई कार्यशैली । म्यान एउटा । यही नै अहिलेको शक्ति संघर्षको मुख्य कारण हो । एउटै कार्यशैली र एउटै अध्यक्ष भएका पार्टीमा त भावी नेतृत्वका लागि विवाद हुन्छ भने वर्तमानमै दुई अध्यक्ष भएपछि विवाद हुनु ओनौठो होइन ।

तर, यसले एकीकरण भए पनि एकीकरणको आभाष दिन सकेन । पार्टी एक भए पनि नेता कार्यकर्ताहरु आ–आप्mनै पार्टीप्रति नै लोयल भए र छन् । एकीकरणका करीब ३१ महिनाको अवधिमा गरिएका सबै काम पूर्व एमाले र पूर्व माओवादीकै बीचको भागबण्डाबाट चलिरहेको छ । यो नै विवादको चुरो हो । महाधिवेशन नभएसम्म यस्तै रितले पार्टी चल्ने भएकोले विवादहरु भइरहन्छन् । पछिल्लो विवाद राजदूत नियुक्ति र मन्त्रीमण्डल हेरफेर हो भने त्यसअघिको विवाद शक्तिको प्रयोग कसले गर्ने भन्नेका लागि हो ।

त्यसैगरी कर्णाली प्रदेशको विवाद पनि पूर्व एमाले र पूर्व माओवादीबीचकै कार्यशैलीको विवाद हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माओवादीकालकै जनसरकार चलाए जसरी सरकार चलाए भन्ने पूर्व एमालेका प्रदेश नेता यमलाल कँडेलको आरोप छ । कँडेललाई ओलीको र शाहीलाई प्रचण्डको समर्थन देखिएको छ । यसो भएपछि विवाद नभए के हुन्छ । अरु पनि धेरै कुरा छन् । यो संकेत मात्र हो । तर, आजको आलेखमा यत्ति नै उल्लेख गरौं जस्तो लाग्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here