शक्तिपीठ र मन्दिर परिसर सुनसान

0
813

बनेपा,

दशैँभरि बढी भीडभाड हुने काभ्रेपलाञ्चोकका शक्तिपीठ तथा मन्दिर अहिले सुनसान बनेका छन् ।

कोरोना भाइरसको सङ्क्रमण जोखिम हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यहाँका शक्तिपीठ तथा मन्दिरमा दर्शन तथा पूजा गर्न जाने दर्शनार्थीलाई प्रवेशमा निषेध गरेपछि सुनसान बनेका हुन् ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सार्वजनिक सूचना जारी गरी नेपालीहरुको महान् चाड बडादशैँमा घटस्थापनादेखि नवरात्रभर जिल्लाका विभिन्न शक्तिपीठ तथा मन्दिरका साथै स्थापना गरिने दुर्गा भवानीको पण्डलामा समेत सर्वसाधारणको भीड अत्यधिक हुन गई कोरोना सङ्क्रमणको सम्भावित जोखिम हुने भएकाले त्यहाँ दर्शनका लागि सर्वसाधारणको प्रवेशमा निषेध गरिएको छ ।

सो क्रममा शक्तिपीठ तथा मन्दिरमा नित्यपूजा मात्रै गर्न पाउने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । सो अवधिमा सूचनाको बर्खिलाप गर्ने जोकोहीलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ ।

विगतका वर्षहरुमा काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी र नाला भगवतीलगायतका मन्दिरमा दशैँमा दर्शनार्थीहरुको भीड लाग्ने गरेका थिए । तर यसपटकको दशैँमा कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रशासनले दर्शन गर्न रोक लगाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here